काठमाण्डूको दशरथ रङ्गशाला किन हिलाम्य भइरहन्छ

दशरथ रङ्गशाला
    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

गत साता काठमाण्डूस्थित दशरथ रङ्गशालामा सम्पन्न एउटा एशियाली स्तरको क्लब च्याम्पिअनशिप ‘एएफसी च्यालेन्ज लीग २०२४/२५’ प्रतियोगिता खेलभन्दा हिलाम्य मैदानको कारण चर्चित बन्यो।

खेल शुरू हुनुभन्दा ठीक अगाडि मुसलधारे वर्षा भएपछि रङ्गशाला जलमग्न हुन पुग्यो।

त्यही अवस्थामा खेल खेलाइएपछि मैदान हिलाम्य बन्यो। कतिपय समय बल गुड्न सक्ने अवस्थासम्म बनेन।

जापानी फुटबल स्टार खेलाडी केइसुके होन्डाले मैदानलाई ‘जोक’ भनेर प्रतिक्रिया दिए।

हिलाम्य खेलका तस्बिर, भिडिओहरू भाइरल भए। अन्तर्राष्ट्रिय स्तरमै नेपाली फुटबलको आलोचना भयो। पूर्वाधारको विषयलाई लिएर नेपाली फुटबल बदनाम हुन पुगेको देखियो।

अयोग्य घोषित

यसको असर के पर्‍यो भने आइतवारबाट दशरथ रङ्गशालामा नै हुने तय भएको साफ यू-२० च्याम्पियनशिप फुटबल खेल आयोजनाका लागि रङ्गशाला अयोग्य घोषित भएको छ। उक्त खेल सातदोबाटोको टर्फ मैदानमा सुरु भएको छ।

यसअघि नै अन्तर्राष्ट्रिय फुटबल आयोजनाका लागि दशरथ रङ्गशाला मापदण्ड नपुगेको रिपोर्ट आएपछि नेपालमा विश्वकप र एशियन कप छनोटका खेलहरू आयोजना गर्नबाट अखिल नेपाल फुटबल सङ्घ विमुख भएको थियो।

मैदानको यो दुर्दशापछि एएफसी च्यालेन्ज लीग २०२४/२५ फुटबलको बहानामा खुलेको रङ्गशालाको ढोका पुन: बन्द भएको छ।

एक समय निरन्तर अन्तर्राष्ट्रिय फुटबल आयोजना हुँदै आएको दशरथ रङ्गशाला पछिल्लो समय किन अहिले अयोग्य घोषित हुँदै छ त?

खराब पूर्वाधार

दशरथ रङ्गशाला

आधुनिक फुटबलमा खेल मैदानको स्तर अत्यन्त उच्च स्तरको आवश्यकता भइसकेको छ।

दशरथ रङ्गशालाको निर्माण २०३० सालमा भएको हो। सो बेला तत्कालीन प्रविधिमा रङ्गशालाको निर्माण भएको थियो।

त्यतिबेला रङ्गशाला निर्माणको मुख्य त्रुटि के थियो भने त्यसमा ‘पानीको निकासा’ जाने ठाँउ बनाइएको थिएन।

दशरथ रङ्गशालाको निर्माण भएको २५ वर्षपछि सन् १९९८ को आठौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिताको बेला त्यसको पुनर्निर्माण भयो।

साग आयोजनाका लागि त्यति बेला चिनियाँ सरकारले सेन्थेटिक ट्रयाक र फ्लड लाइट नयाँ जडान गरिदिएको थियो भने मैदान तथा प्यारापिटको मर्मत गरिदिएको थियो। जसले गर्दा १८,००० क्षमताको प्यारापिटको क्षमता घटेर १५,००० मा सीमित भएको थियो।

त्यही बेला मैदानमा पानीको निकास हुने व्यवस्था पनि गरिएको थियो।

त्यसपछि रङ्गशालाको मर्मत गर्दै खेल आयोजना हुँदै आइरहेको देखिन्छ।

टालटुले प्रवृत्ति

दशरथ रङ्गशाला

अहिले भने मैदानको अवस्था निकै नै खराब स्थितिमा पुगिसकेको देखिन्छ।

मैदान मर्मतमा भएको लापरवाहीको कारण मैदानकोको अवस्था दयनीय भएको अखिल नेपाल फुटबल सङ्घका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा बताउँछन्।

उनी भन्छन्, “मैदान मर्मत गर्न आधुनिक प्रविधि बुझ्न जरुरी छ। हामीले रङ्गशालाको पानी बग्ने ढलको मर्मत गर्थ्यौँ। बेलाबेला मर्मत नगरे त्यो टालिन्छ। माटो र बालुवाको मिश्रण मिलाउँथ्यौँ र त्यही अनुसार मैदानको सतह बनाउथ्यौँ।”

“यहाँसम्म कि ठूलो पानी पर्ने बेला त्रिपुरेश्वर सडकको पानीसमेत मैदानमा छिर्ने हुँदा त्यसलाई पनि रोक्ने काम गरेका थियौँ। मैदान मर्मत भनेको घाँस उमार्ने मात्र होइन नि। अहिलेकाले त्यो बुझ्न जरुरी छ।”

गत साता आधा घण्टा पानी पर्दा रङ्गशाला पोखरी जस्तो बन्यो। पानी निकास हुने बाटो नै थिएन। मैदानको सतह पनि उबडखाबड देखिएको थियो।

मर्मतको नाममा रङ्शालाको जुन भागमा खाल्डो देखियो त्यहाँ माटो भर्ने काम भएको कतिपयको आरोप छ।

राखेप र एन्फाबीच जुहारी

एएफसीले दशरथ रङ्गशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य घोषित गरेपछि गत चैत र जेठ महिनामा एन्फाले आयोजना गर्नुपर्ने विश्वकप छनोट २०२६ र एशियन कप २०२७ का दुई मुख्य खेल दशरथ रङ्गशालामा हुन सकेन।

त्यसले गर्दा राष्ट्रिय टोलीले घरेलु भूमिमा खेल्न नपाँउदा खेलाडीहरूको प्रदर्शनमा असर पुगेको थियो भने दर्शकहरूले ठूलो खेल प्रत्यक्ष हेर्ने अवसर गुमाउन पुगेका थिए।

चैतमा अयोग्य भएपछि जेठमा हुने अर्को खेलको समयसम्म एन्फाले मैदान राम्रो बनाउने समय थियो।

तर दोस्रो पटक पनि रङ्गशाला अयोग्य भएपछि खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद्‌ र एन्फाबीच खटपट भयो।

मैदानको मर्मतसम्भारको जिम्मा पाएको एन्फाबाट त्यो अधिकार खोस्दै राखेप आफैँले त्यसको जिम्मा लियो। तर पनि मैदानको हालत उस्तै देखियो।

एन्फाका पूर्वअध्यक्ष शेर्पाले भने जस्तै रङ्गशाला मर्मतमा हेलचेक्र्याइँ भएकै हो त?

मर्मतसम्भारको जिम्मा पाएको माउन्ट एभरेन्ट स्पोर्ट्स एन्ड इभेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत थमन भुसाल पुरानो प्रविधिमा बनेको रङ्गशालामा पानी परेपछि त्यसलाई बनाउन सकिने अवस्था नरहेको दाबी गर्छन्।

दशथ रङ्गशाला

उनी भन्छन्, “नयाँ प्रविधिमा हिलो नहुने, पानी सोस्ने, नजम्ने बालुवामैत्री माटो हुन्छ। त्यसमा छिटो ड्रेनेज हुन्छ। मैदानमा हिलो हुँदैन। तर माटोले भरिएको पुरानो मैदानमा त्यो गाह्रो छ।”

आलोचनापछि अहिले राखेप र एन्फाले मिलेर त्यसलाई व्यवस्थापन गर्नेबारे छलफल गरेका छन्।

एन्फाका प्रवक्ता सुरेश शाह भन्छन्, “योग्य प्राविधिक राखेपसँग भएनन्। राखेप र एन्फाबीचको कम्युनिकेशन पनि टाढिएकोले समस्या भएको हो। तर अब हिजो एन्फालाई दोष र अहिले राखेपलाई दोष दिएर मात्र यसको समाधान हुन्न। लामो योजना नबनाई छोटो उपायमात्र खोज्ने हो भने फेरि पनि देशको बेइज्जतबाहेक केही हुनेवाला छैन।”

एन्फाका पूर्वअध्यक्ष शेर्पा दशरथ रङ्गशालाको पूर्ण रूपमा मर्मतसम्भार गर्न अनिवार्य भइसकेको बताउँछन्।

उनी भन्छन्, “मैदानको पूर्ण मर्मतसम्भार मात्र होइन, फ्लड लाइटको मर्मत जरुरी भइसकेको छ। यसमा ढिलाइ नगरौँ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।