अनिता बस्नेतको दुर्लभ 'ओलिम्पिको' गोल

तस्बिर स्रोत, Courtesy of Anita Basnet
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
त्यो खेलको १३औँ मिनेटको समय थियो। सिरियाविरुद्ध नेपालले कर्नरको मौका पायो। 'डेथ बल स्पेशलिस्ट' अनिता बस्नेत कर्नरका लागि आइन्।
अनि उनले कर्नरमा यसरी बल घुमाइन् कि बल अविश्वसनीय रूपमा सीधै गोलमा परिणत हुन पुग्यो। टोलीमा अपार खुसी छायो।
योसँगै नेपाली फुटबलमा नयाँ इतिहास रच्दै कर्नरमा गोल गर्ने बस्नेत पहिलो महिला खेलाडी बनिन्।
उक्त गोल साउदी अरेबियाको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्भ स्टेडियममा गत फागुन ८ गते भएको हो।
त्यसबेला नेपाली महिला टोली पश्चिम एसियाली फुटबल महासङ्घको वाफ महिला च्याम्पियनसिपमा सिरियाविरुद्ध खेल्दै थियो।
दुर्लभ
'जिरो एङ्गल' हुने भएकाले फुटबलमा कर्नरबाटै गोल हुनुलाई दुर्लभ मानिन्छ।
विश्व फुटबलमा निकै कम हुने यस्तो गोललाई 'ओलिम्पिको गोल' नामकरण गरिएको छ।
सन् १९२४ मा आर्जेन्टिनाका सिसे ओन्जारियोले तत्कालीन ओलिम्पिक च्याम्पिअन उरुग्वेविरुद्ध कर्नरबाटै पहिलो पटक सीधै गोल गरेको थियो।
त्यस बेलादेखि कर्नरबाट हुने गोललाई ओलिम्पिको भन्ने गरिएको इतिहास छ।

तस्बिर स्रोत, WAFF
आखिर आर्जेन्टिनाका लियोनल मेसीजस्ता खेलाडीले पनि अझैसम्म कर्नरबाट गोल गर्न सकेका छैनन्। डेभिड वेकह्यामले करिअरमा जम्मा एक पटक मात्र यस्तो गोल गरेका छन्।
नेपालबाट यसअघि कर्नरबाट गोल गरेर एक्लो इतिहास बनाएका खेलाडी धिरेन्द्र प्रधान हुन्।
सन् १९८८ को ओलिम्पिक छनोट अन्तर्गत काठमान्डुको दशरथ रङ्गशालामा भएको पाकिस्तानविरुद्ध खेलमा प्रधानले त्यस्तो दुर्लभ गोल गरेका थिए।
सोही गोलको मदतले पाकिस्तानलाई १-० पराजित गर्दै नेपाल ओलिम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल भएको थियो।
रक्षापङ्क्तिबाट खेल्ने प्रधान सन् १९ ८० को दशकमा लामो र तगडा प्रहारका लागि कहलिएका खेलाडी थिए।
स्मरणीयमध्येको एक
अनिता बस्नेतले कर्नरको यो गोललाई आफ्नो करिअरको मिठो मध्येको एक गोल भन्न रुचाउँछिन्।
उनी भन्छिन्, "त्यो समयबारे भन्नै गाह्रो। कहिलेकाहीँ सोचेजस्तै भइदिने।"
साउदी अरेबियाको जेद्दास्थित किङ्ग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्भ स्टेडियममा नेपालले वाफ महिला च्याम्पियनसिपको पहिलो खेल खेल्दै थियो।
नयाँ ठाउँ, नयाँ रङ्गशाला र नयाँ प्रतिद्वन्द्वीबीच पश्चिम एसियाको फुटबल प्रतियोगितामा आमन्त्रित टोलीको रूपमा सहभागिता जनाएको नेपाली महिला टोलीको लागि हरेक कुरा नयाँ हुने नै भयो।
आखिर पश्चिम एसियासँग नेपालको फुटबल साइनो जोडिने कम मात्रै अवसर हुने गर्छ।
सिरियाविरुद्ध खेल्नु अगाडि नेपाली खेलाडीहरूले मैदान निरीक्षण गर्न जाँदा अनिताले कर्नर लाइनमा पनि पुगेकी थिइन्।
उनलाई कता कता त्यो दिन कर्नरबाट गोल हुने अवसर जुर्लाकि जस्तो लागेछ।
अनि साथीहरूसँग जिस्किँदै उनले भनेछिन्, "आज कर्नरबाटै गोल हानिन्छ की क्या हो।"
नभन्दै भइदियो त्यही नै।
"मेरो बल हान्ने शैली कर्भ नै हो। त्यसबेला हावा पनि चलिरहेको थियो। सेकेन्ड बारमा लक्षित गरेर हानेको थिएँ। टार्गेटमा लागेछ," अनिता भन्छिन्।
अनिताको उक्त गोल सहित नेपालले सिरियालाई ३-१ ले हराउँदै प्रतियोगिताको सही सुरुआत गरेको थियो।
'गोल नम्बर आठ'
सशस्त्र प्रहरी बल एपिएफकी पनि भरपर्दा मिडफिल्डर अनिता बस्नेतले राष्ट्रिय टोली खेल्न थालेको १० वर्ष भयो।
तेह्रथुममा जन्मिएकी अनिताले राष्ट्रिय टोलीमा पुग्दासम्म गरेको सङ्घर्षको कथा रोचक छ।
सन् २०१४ को महिला साफ च्याम्पियनसिपबाट राष्ट्रिय टोलीमा बिताएको एक दशककाबिचमा उनले कुल ८ गोल गरेकी छिन्।
त्यसक्रममा मालदिभ्स र भारतबाट व्यावसायिक फुटबल पनि खेलेकी छिन्।
पहिलो अन्तर्राष्ट्रिय गोल उनले सन् २०१९ मा भएको हिरो गोल्ड कपमा इरानविरुद्ध गरेकी थिइन्।

तस्बिर स्रोत, Courtesy of Anita Basnet
खेलको ४१औँ मिनेटमा गरेको त्यो पहिलो गोललाई अनिता कहिल्यै बिर्सन नसक्ने बताउँछिन्।
सोही साल विराटनगरमा भएको पाँचौँ साफ महिला च्याम्पिअनसिपमा उनले श्रीलङ्काविरुद्ध करिअरको दोस्रो गोल गरिन्।
त्यस्तै सन् २०२० मा किर्गिस्तानमा भएको नादेज्दा कपमा अनिताले किर्गिस्तानविरुद्ध २ गोल गरिन्।
त्यसको २ वर्षपछि काठमान्डुको दशरथ रङ्गशालामा भएको महिला साफ च्याम्पिअनसिपमा सावित्रा भण्डारी र अनिता बस्नेतको २/२ गोलको मदतले भुटान ४-० ले पराजित भएको थियो।
सोही प्रतियोगिताको फाइनलमा बाङ्ग्लादेशले नेपालविरुद्ध २-० ले अग्रता लिइरहेको बेला अनिताले ७०औँ मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन्।
त्यो अनिताको राष्ट्रिय टोलीबाट सातौँ गोल थियो।
यद्यपि समग्रमा बाङ्ग्लादेशले खेल ३-१ ले जितेपछि नेपालको फाइनल हारको पीडा थपिएको थियो।
वाफ महिला च्याम्पियनसिपको कर्नर गोल उनको आठौँ हो।
फाइनलमा उपविजेतामा सीमित हुनुको पीडा त छँदै छ तर जेद्दामा खेल हेर्न आएका हजारौँ नेपाली समर्थकमाझ खुसी साट्न नपाएकोमा उनी अझ दुःख लागेको बताउँछिन्।
यद्यपि उनको अन्तर्राष्ट्रिय फुटबल यात्रा जारी नै छ।
त्यसैले उनको आगामी लक्ष्य भने गोलसहित देशलाई उपाधि दिलाउने रहेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








