अग्रता, बराबरी, पुनरागमन, निराशा – रोमाञ्चले भरिएको खेलमा टाइब्रेकरमा पुगेर यसरी रोकियो महिला फुटबल टोली

वाफ

तस्बिर स्रोत, WAFF

तस्बिरको क्याप्शन, निर्धारित समयको अन्तिमतिर नेपालले गोल गर्दै बराबरीमा रोकेपछि टाइब्रेकर भएको थियो
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल र जोर्डनबीचको फाइनल खेलमा त्यो सबै खाले रोमाञ्च भरिएको थियो, जुन एउटा प्रतिस्पर्धात्मक फुटबलमा हुने गर्छ।

बस एउटै कुरा, नतिजा भने नेपालको पक्षमा हुन सकेन।

खेलमा अग्रता, त्यसपछि विपक्षीको बराबरी र पुनरागमन, पेनाल्टी, खेलाडी बीच झन्डै हात हालाहालको अवस्था, टाइब्रेकर र अप्रिय निर्णय।

साउदी अरेबियाको जेद्दाहस्थित प्रिन्स अब्दुल्ला अल-फैसल स्पोर्टस् सिटी स्टेडियममा बिहीवार राति यी सबै घटना भएको थियो।

तर अन्तत: निर्धारित समयमा २ -२ को बराबरीपछि भएको टाइब्रेकरमा नेपाललाई (५-३ गोल) पराजित गर्दै जोर्डनले पश्चिम एसियाली विमिन्स वाफ च्याम्पियनसिपको उपाधि जित्यो।

यो जोर्डनको छैटौं वाफ च्याम्पियनसिप उपाधि हो।

नेपाल भने फेरि एकपटक फाइनलमा पुगेर निराश हुनुपर्‍यो।

प्रतियोगिता जितेको भए यो नेपाली महिला फुटबलको पहिलो अन्तर्राष्ट्रिय उपाधि हुने थियो भने वाफ च्याम्पियनसिको इतिहासमा पहिलोपटक पश्चिम एसिया बाहिरको राष्ट्रले उपाधि लैजाने थियो।

वाफ

तस्बिर स्रोत, WAFF

तस्बिरको क्याप्शन, फाइनलमा हारेपनि नेपाली टोलीको प्रदर्शनको प्रशंसा गरिएको छ

बेमोज

हिजोको खेल नेपाली टोलीको लागि साहस र सङ्घर्षको नमुना भन्दा पनि फरक नपर्ने विश्लेषकहरू ठान्छन्।

फाइनल खेल्नु अगाडि नै टोलीले मुख्य स्ट्राइकर गुमाइसकेको थियो।

खेलको 'दोस्रो हाफ' मा 'टिमका प्ले मेकर' प्रिति राई पनि घाइते भएर मैदान छोड्नु पर्‍यो।

यद्यपि 'पहिलो हाफ'मा डिफेन्डिङ च्याम्पियनलाई नेपाली टोलीले आच्छु आच्छु पारेको थियो र २९ औँ मिनेटमा गोल गर्दै खेलमा अग्रता पनि लिएको थियो।

सावित्रा भण्डारी साम्बाको अभावमा पहिलो रोजाईकी स्ट्राइकर बनेकी सविता रानामगरले विपक्षी रक्षकले गरेको गल्तीको फाइदा उठाउँदै खुल्ला रूपमा पाएको बललाई गोलमा परिणत गरिदिएकी थिइन्।

वाफ

तस्बिर स्रोत, WAFF

तस्बिरको क्याप्शन, उपाधि पुन: आफ्नो पोल्टामा पार्न जोर्डन सफल भएको छ

तर जोर्डनले 'दोस्रो हाफ'मा खेलमा फर्किँदै बराबरी मात्र गरेन, दुई गोल ठोकेर नेपाल विरुद्ध अग्रता नै लियो।

नेपाल च्याम्पियन बन्ने दिशातिर अगाडि बढिरहेको अवस्थामा एकाएक पराजय तिर मोडिएको थियो।

जोर्डनले ७४ औँ मिनेटमा बराबरी गोल फर्काएको थियो भने खेल सकिनु एक मिनेट अगाडि दोस्रो गोल गर्दै उपाधि नजिक उभिन पुगेको थियो।

तर नेपाल हार मान्ने वाला थिएन।

खेल सकिनु अगाडिको 'इन्ज्युरी समय'मा जोर्डनका खेलाडीले पेनाल्टी एरियाभित्र हातले बल छोएपछि नेपालले पेनाल्टी प्रहार गर्ने अवसर प्राप्त गर्‍यो।

जसमा गीता रानाले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन्।

पेनाल्टी शुटआउटमा पराजय

त्यसपछि खेलको निर्णय सिधै पेनाल्टी शुटआउटबाट गरिएको थियो।

पेनाल्टीमा जोर्डनका खेलाडीहरूले गरेको पाँचवटै प्रहार गोलमा परिणत भयो।

नेपालको तर्फबाट गीता राना, दीपा शाही, हिरा भुजेल गरी तीन खेलाडीले लगातार गोल गरे।

तर चौथो पेनाल्टी प्रहार गर्न आएकी अमृता जैसीको प्रहार विपक्षी गोलकिपरले शान्दार ढङ्गले बचाइन्।

र, पहिलो पदक जित्ने नेपाल महिला टोलीको सम्भावना पुन: रोकिन पुग्यो।

पराजय भोगेपनि नेपालको प्रदर्शनको भने निकै प्रशंसा भएको छ।

सामाजिक सञ्जालहरूमा फुटबल प्रेमीहरूले फिफा वरियतामा ७४ औँ स्थानको टोलीसँग १०५ ‍औँ स्थानमा रहेको नेपालले गरेको प्रभावशाली प्रदर्शन सुखद रहेको टिप्पणी गरिरहेका छन्।

प्रतियोगिताभर ९ गोल गरेकी सावित्रा भण्डारी साम्बा 'टप स्कोरर' भएकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।