नेपाली महिला फुटबल टोलीलाई पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने अवसर

नेपाली महिला फुटबल

तस्बिर स्रोत, WAFF

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली

पश्चिम एशिया विमिन्स च्याम्पिअनशिप (वाफ) २०२४ को फाइनलमा बिहीवार राति प्रतिस्पर्धा गर्दा नेपाल र जोर्डन दुवै टोलीको उद्देश्य फरक हुने छ।

साबिक विजेता जोर्डनको ध्याय उपाधि जोगाउनुसँगसँगै पश्चिम एशियाको महिला फुटबलमा आफ्नो वर्चस्वलाई पुन: प्रमाणित गर्नु पनि हुने छ।

चर्चित र सफल खेलाडी सावित्रा भण्डारी 'साम्बा' बिना मैदानमा जान लागेको नेपालको उद्देश्य पश्चिम एशियाको भूमिमा पुगेर पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जित्नु हुने छ।

वाफ विमिन्स च्याम्पिअनशिपका अहिलेसम्मका संस्करणमा वाफबाहिरका टोलीको हातमा उपाधि पुगेको छैन।

महिला फुटबलको लामो इतिहासमा धेरै पटक फाइनलमा पुगेको भए पनि नेपाल अहिलेसम्म कुनै पनि प्रतियोगिताको विजेता बन्न सकेको छैन।

नेपाली समयानुसार राति पौने १० बजे साउदी अरबको जेद्दाहस्थित प्रिन्स अब्दुल्लाह अल-फैसल स्पोर्ट्स सिटी रङ्गशालामा यी दुई टोलीबीच हुने भिडन्त विभिन्न कारण निकै रोचक हुने देखिन्छ।

जोर्डन कति बलियो

जोर्डन महिला फुटबल

तस्बिर स्रोत, WAFF

जोर्डन फिफा वरीयताको ७४ औँ तथा नेपाल १०५ औं स्थानमा छन्। साबिक विजेता जोर्डन स्पष्ट रूपमा नेपालभन्दा बलियो देखिन्छ।

वाफ विमिन्सको इतिहास खोतल्ने हो भने पनि त्यसमा जोर्डनको एकछत्र वर्चस्व रहँदै आएको देखिन्छ। जोर्डन यसअघिको लगातार तीन संस्करण (सन् २०१४, २०१९, २०२२) को विजेता हो। उसले सन् २००५ र २००७ मा पनि उपाधि हात पारेको थियो।

जोर्डन महिलाको गर्विलो इतिहास भनेकै वाफ च्याम्पिअनशिपमा पाँच पटक विजेता बन्न सफल हुनु हो। बाँकी दुई संस्करण यूएईले (सन् २०१० र २०११ ) जितेको थियो।

अहिले जोर्डनी टोलीको चाहना छैटौँ पटक पनि उपाधि हात पार्नु हो। लीग र नकआउट गरी सबै खेलमा अपराजित रहेर उसले आफ्नो दाबेदारी प्रस्तुत पनि गरिसकेको छ।

नेपाल भने पहिलो पटक पश्चिम एशियाको फुटबल खेल्न गएको हो।

आयोजक साउदी अरबले यसपालि आठ राष्ट्रलाई प्रतियोगितामा समावेश गराउँदा दक्षिण एशियाबाट नेपाल र पूर्वी एशियाली राष्ट्रको रुपमा गुआमलाई निम्त्याएको थियो।

यसपालि यो प्रतियोगितामा सर्वाधिक आठ राष्ट्र सहभागी भएका हुन्। साउदी अरबले पनि पहिलो पटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना गरेको हो।

यूएई, बाहरेन, ओमान, कुवेत, कतार र यमन यसपालि सहभागी भएनन्।

नेपाल उत्साहित तर साम्बा छैनन्

नेपाली समर्थक

तस्बिर स्रोत, WAFF

नेपालको वाफ च्याम्पिअनशिपको यात्रा निकै प्रभावकारी रह्यो। लीगका तीन खेल र सेमिफाइनलमा नेपाली खेलाडीहरूले निकै राम्रो खेले।

कर्नरबाटै दुर्लभ गोल गर्ने अनिता बस्नेत, नौ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेकी सावित्रा भण्डारी 'साम्बा' र सेमिफाइनलको अन्तिम समयमा गोल गरेर प्रीति राईले खेल विश्लेषक र दर्शकहरूको मन जितेका छन्।

यद्यपि टोलीकी मुख्य खेलाडी साम्बा महत्वपूर्ण खेलमा उपलब्ध नहुँदा नेपाललाई ठूलो असर पर्ने निश्चित देखिन्छ।

व्यावसायिक खेलाडी साम्बा आफू अनुबन्धित फ्रान्सेली क्लबमा खेल्न फ्रान्स फर्किसकेकी छन्।

फिफाको विन्डोभित्र समावेश प्रतियोगिता खेल्न राष्ट्रिय टोलीका खेलाडीलाई क्लबले दिनुपर्ने अनिवार्य नियम छ। तर वाफ च्याम्पियनशिपको सेमिफाइनल र फाइनल खेल फिफाको विन्डोभित्र नपरेकोले उनी फ्रान्स फर्किन बाध्य भएकी हुन्।

साम्बाको विकल्प

सावित्रा भण्डारी

तस्बिर स्रोत, WAFF

साम्बाको अनुपस्थितिमा नेपालको अग्रपङ्क्ति चुस्त नहुन सक्छ। उनी नहुँदा नेपाली टोलीलाई मनोवैज्ञानिक दबाव पर्ने पनि देखिन्छ।

उनको विकल्पमा अग्रपङ्क्तिमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ र सबिता राना मगर छन्।

लेबनानविरुद्ध भएको सेमिफाइनलमा रश्मी घिसिङले वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेर राम्रै प्रभाव छोडेकी थिइन्। सबिता राना मगर पनि फर्ममा छिन्।

त्यसो हुँदा यी दुईमध्ये एक जनाले साम्बाको स्थान लिन सक्छन्,।

जेद्दाहमा नेपाली टोलीले दर्शकको उत्साहवर्धक समर्थन पाएको छ। लीग चरण र सेमिफाइनलमा जस्तै फाइनलमा पनि त्यहाँ रहेका नेपालीहरूले महिला खेलाडीहरुलाई हौस्याउने पक्का छ।

कठिन परिस्थितिमा पनि विदेशी भूमिमा दर्शकहरूबाट प्रत्यक्ष हौसला पाउँदा नेपाली महिला टोलीलाई इतिहासकै पहिलो उपाधि जित्ने अवसर पनि छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।