रङ्गशाला फर्किएको दर्शकको भीड र नेपाल फुटबल लीगले देखाएका ४ आशालाग्दा कुरा

दशरथ रंगशाला

तस्बिर स्रोत, Prashant Aryal

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

शनिवार सकिएको फ्रेञ्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लीग एनएसएलको फाइनल हेर्न दशरथ रङ्गशाला भरिने गरी दर्शक देखेपछि प्रफुल्लित बन्नेमध्येमा अखिल नेपाल फुटबल सङ्घका पूर्वअध्यक्ष गणेश थापा समेत थिए।

फाइनलको भोलिपल्ट उनले फेसबुकमा एक पोस्ट लेखे: "१० वर्ष अगाडि सहिद स्मारक लीग फुटबलमा दशरथ रङ्गशालामा जसरी दर्शकको उपस्थिति हुने गर्दथ्यो, हिजो नेपाल सुपर लिगमा पुनः दर्शकहरूको उपस्थिति देखेर निकै खुसी लागेको छ।"

१० वर्ष अगाडिको सहिद स्मारक ए डिभिजन लीगमा समेत यसरी नै दर्शकले रङ्गशाला भरिएको तस्बिर समेत उनले राखेका छन्।

खेल हेर्न पुगेकाहरू समेत मानिसहरूको ठेलमठेल भीड देखेर चकित हुँदै आपसमा "दर्शक हराएको रहेनछ" भनेका सुनिए।

दशरथ रङ्गशाला

हुन पनि पछिल्लो समय नेपालमा क्रिकेटको क्रेज निकै धेरै छ।

फुटलबको माहोल बनाउने जिम्मेवारीमा रहेको अखिल नेपाल फुटबल सङ्घ एन्फा आन्तरिक विवादमै धेरै अल्झिरहेको छ।

प्रायोजकहरू पहिलेजसरी पैसा खर्चन हिचकिचाइरहेका छन्।

र केही समयदेखि त्यसको छनक मैदानमा देखिन थालिसकेको अवस्था छ।

गत वर्ष सम्पन्न सहिद स्मारक ए डिभिजन लिग हेर्न निकै कम दर्शक मात्र रङ्गशाला पुगेका थिए।

तर शनिवार सम्पन्न ललितपुर सीटी एफसी र धनगढी सीटी एफसीबीचको एनएसएल फाइनलमा जेजस्तो भीड रङ्गशालामा देखियो त्यसले नेपालमा फुटबलको क्रेज कत्ति पनि नघटेको धेरैको विश्लेषण सुनिन थालेको छ।

दर्शकसँगै एनएसएलले अरू थुप्रै सन्देशहरू पनि नेपाली फुटबललाई दिएको छ।

नामसँगै सहरहरूको अपनत्व

एएसएल
तस्बिरको क्याप्शन, ललितपुर सीटी एफसी एनएसएलको दोस्रो संस्करणको विजेता बन्यो

लीगमा सहभागी नौ टोली पूर्वको इलामदेखि सुदूर पश्चिमको धनगढीसम्म गरेर विभिन्न सहरको नाममा थिए।

यसले दर्शकहरूलाई आफ्नो भेगको नाममा रङ्गशाला आउन वा टेलिभिजनमा आफ्नो क्षेत्रको समर्थन गर्न आकर्षित गर्‍यो।

रङ्गशालामा समर्थक ल्याउन सम्बन्धित क्लबहरूले पनि विभिन्न तरिकाले मिहिनेत गरेको समेत देखियो। 

कतिपय क्लबहरूले आफै टिकट काटेर आफ्नो क्षेत्रका दर्शकहरूलाई सित्तैमा रङ्गशाला आउन निम्तो दिए।

आफ्नो क्षेत्रको पहिचान देखिने गतिविधि गर्ने क्लबहरू समेत उत्तिकै रहे। 

ललितपुर एफसीले त 'आयो लाखे'को नारा नै बनायो। र हरेक खेलमा लाखे नाच र धिमे बाचा रङ्गशालामा बजायो।

काठमान्डू रेजर्सले जीवित कुमारी देवीको प्रतिमालाई रङ्गशालामा ल्याएर टोलीको समर्थन गरेको देखियो।

सहिद स्मारक ए डिभिजन लीगका क्लबहरू उपत्यका मात्र केन्द्रित छन्।

राष्ट्रिय लीगको रूपमा सहिद स्मारक ए डिभिजन लिग चल्नुपर्छ भन्ने फुटबल क्षेत्रको लामो समयदेखिको मागलाई एनएसएलले सिर्जना गरेको माहोलले सार्थक बनाएको देखियो।

विदेशी खेलाडीसँगै हेर्नलायक प्रतिस्पर्धा

एएसएल

हरेक टोलीमा छजना विदेशी खेलाडीहरूलाई राख्न पाउने र पाँचजनालाई एकसाथ खेलाउन पाउने नियम थपिएपछि एनएसएलमा खेलको स्तर निकै उच्च देखिएको धेरैको विश्लेषण रह्यो।

तिनै नियमका भरमा सहभागी क्लबहरूले स्तरीय विदेशी खेलाडी ल्याउन मिहिनेत गरेका देखिए। 

त्यसको लागि लगानी समेत बढाइयो। र त्यसको परिणाम मैदानमा भएको प्रतिस्पर्धामा देखियो।

ललितपुर सीटी एफसीलाई च्याम्पियन बनाउन अहम् भूमिका खेलेका नाइजेरियाका राष्ट्रिय टोलीबाट खेलिसकेका स्ट्राइकर इमोह इजेकेलले फाइनलमा दुई सहित कुल छ गोल गरेर सर्वाधिक गोल गर्दै गोल्डन बल जिते।

त्यस्तै ललितपुरकै फ्रान्सेली गोलकिपर जेफेरी विली मार्सेल उत्कृष्ट गोलकिपर चुनिए।

सर्वाधिक गोल गर्ने उत्कृष्ट पाँच खेलाडीहरूमा विदेशी खेलाडीहरूकै नाम छ।

खेलाडीमैत्री व्यवस्थापन

एएसएल

खेलकूदमा चुस्त व्यवस्थापनले नै प्रतिस्पर्धाको स्तर निर्धारण गर्दछ।

नेपाल सुपर लिगमा आयोजक नेपाल स्पोर्टस एन्ड म्यानेजमेन्ट प्रालिले त्यस पक्षको धेरैले प्रशंसा गरेको पाइयो।

आयोजकले सहभागी नौ टोलीलाई उनीहरूको व्यवस्थापकीय पक्षसँग जोडेर अनुशासित नियममा बाँधेर प्रतियोगिता गर्न सफल भए।

खेलाडीहरू पाँचतारे होटलमा बस्ने, रङ्गशालामा आँउदा आफ्नो छुट्टै बसमा आउने, जर्सी, मफलर, टोपी जस्ता क्लब सामग्रीहरूमा दर्शकहरू सजिने जस्ता कामले प्रतियोगितालाई अन्तर्राष्ट्रिय फुटबलको झल्को दिएको देखिन्यो।

दशरथ रङ्गशालामा फाइनल हेरेका पूर्व राष्ट्रिय खेलाडी राजुकाजी शाक्य भन्छन्, "ससाना कुरा देखि ठूला विषयसम्मले प्रतियोगिताको स्तर निर्धारण गर्ने गर्छ। एनएसएलमा ती सबै प्रयासहरू भएको देखिन्छ।"

खेलाडीको कमाई

एएसएल

एउटा मुख्य विषय भनेको चाहिँ प्रतियोगिताबाट खेलाडीहरूले प्राप्त गर्ने कमाई पनि हो।

एनएसएलमा यसपाटक मार्की सहित १२० बढी नेपाली खेलाडी तथा ५२ विदेशी खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।

जसमा 'ए' श्रेणीमा परेका खेलाडीले अधिकतम ३ लाख ५० हजार रुपैयाँ, बी श्रेणीका खेलाडीले अधिकतम १ लाख ५० हजार र सी श्रेणीका खेलाडीले अधिकतम १ लाख ३० हजार रुपैयाँसम्म कमाए।

मार्की खेलाडीको मूल्य सार्वजनिक नगरिए पनि क्लबले उनीहरूलाई १२ लाख रुपैयाँसम्ममा अनुबन्धन गरेको बताइएको छ।

त्यस्तै विदेशी खेलाडीहरूको मूल्य पनि १० लाख रुपैयाँसम्म रहेको बताइएको छ।

अर्थात् एक महिना ८ दिन चलेको प्रतियोगिताबाट नेपाली खेलाडीहरूले उल्लेख्य कमाई गरेको देखियो।

राष्ट्रिय टोली छोडेर अस्ट्रेलियालाई गन्तव्य बनाएका चार नेपाली खेलाडीहरू पनि एनएसएल खेल्न नेपाल फर्केका थिए।

यसरी एनएसएलले नेपाली फुटबल क्षेत्रमा बेग्लै छाप छोडेको छ, जसको आगामी संस्करणमा झनै व्यावसायिकता बढ्ने धेरैको विश्वास देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।