रेफ्रीमाथि मुक्का प्रहार भएपछि टर्किश लीगका सबै खेल स्थगित

टर्कीमा रेफ्रीमाथि आक्रमण

तस्बिर स्रोत, Getty Images

टर्कीको 'सुपर लीग' फुटबल प्रतियोगितामा एउटा खेल सञ्चालन गरिरहेका रेफ्री हालिल उमोद मेल्यारमाथि एउटा क्लबका अध्यक्षले मुक्का प्रहार गरेपछि देशभरि सबै लीगहरू निलम्बनमा परेका छन्।

आफ्नो क्लबले ९७औँ मिनेटमा गोल खाएर खेल १-१ को स्थितिमा पुगेपछि 'एमकेई आङ्कारागुजु'का अध्यक्ष फारुक कोजा दौडिँदै मैदानमा छिरेर रेफ्रीमाथि आक्रमण गरेका थिए।

"सबै लीगहरूका खेलहरू अनिश्चितकालका लागि स्थगित गरिएको छ," टर्कीको फुटबल सङ्घ टीएफएफका अध्यक्ष मेहमत बुयुकेच्चले भने।

रेफ्री हालिल उमोद मेल्यार

तस्बिर स्रोत, Reuters

'टर्कीको फुटबलमा लाजमर्दो रात'

उनले रेफ्रीमाथि भएको आक्रमणलाई "टर्कीको फुटबलमा लाजमर्दो रात"को सङ्ज्ञा दिएका छन्।

फिफाका अध्यक्षले पनि उक्त घटना "पूर्णतः अस्वीकार्य" भएको टिप्पणी गर्दै हिंसाका लागि "हाम्रो खेलकुद वा समाजमा ठाउँ" छैन भनेका छन्।

आक्रमण भएपछि भुइँमा लडेका रेफ्री मेल्यारलाई अरू व्यक्तिले पनि कुटपिट गरेका थिए।

उनी घाइते भएका छन्, उनको एउटा हड्डी पनि भाँचिएको छ।

रेफ्री हालिल उमोद मेल्यार

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, रेफ्री हालिल उमोद मेल्यारलाई अरू व्यक्तिले पनि कुटपिट गरेका थिए

आक्रमण गर्ने पदाधिकारी पनि घाइते

त्यसपछि रङ्गशालामा खेलाडी र क्लबका पदाधिकारीहरूबीच घम्साघम्सी भएको थियो।

त्यस क्रममा कोजा पनि घाइते भए। उनलाई अस्पताल लानुपरेको थियो।

टर्कीका गृहमन्त्री अलि येर्लिकायाका अनुसार उपचारपछि बल्ल कोजालाई "हिरासतमा लिने प्रक्रिया अघि बढाइने छ"।

उक्त घटनामा संलग्न भएका अरू मानिसलाई पक्राउ गरिसकिएको उनले बताए।

रेफ्री हालिल उमोद मेल्यार

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रेफ्री हालिल उमोद मेल्यारलाई राति अस्पतालमा राखिएको थियो

रेफ्रीबारे हामीलाई के थाहा छ?

सैँतीस वर्षीय मेल्यारलाई टर्कीमा उत्कृष्ट रेफ्रीमध्ये एक हुन्। उनी फिफाका लागि अन्तर्राष्ट्रिय खेलहरू पनि सञ्चालन गर्छन्।

उनी यूईएफको विशिष्ट रेफ्रीहरूको सूचीमा पनि समाविष्ट छन्।

आक्रमणमा परेर घाइते भएपछि उनलाई पनि अस्पताल लगिएको छ।

उनलाई लगिएको अस्पतालका चिकित्सक डा मेहमेद योरुबुलुदले भने, "उनको जीवनलाई त्यस्तो ठूलो जोखिम छैन। उनको देब्रे आँखा वरिपरिबाट रगत आएको छ र एउटा हड्डी अलिकति चर्किएको छ।"

"टाउकोमा चोट लागेको हुनाले हामी बिहानसम्म उनको अवस्था निगरानी गर्छौँ। आवश्यक परीक्षणहरू गरेपछि हामी उनलाई बिहान डिस्चार्ज गर्छौँ।"

निन्दा

टर्कीका राष्ट्रपति रेजेप ताइयीप एर्दोआनले उक्त घटनाको निन्दा गरेका छन्।

“साँझको खेलपछि रेफ्री हालिल उमोद मेल्यारमाथि भएको आक्रमणको म निन्दा गर्छु र उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।”

“खेल भनेको शान्ति र भ्रातृत्वका लागि हो। हिंसासँग यसले मेल खाँदैन। टर्किश खेलकुदमा हिंसा हुन हामी कहिल्यै दिँदैनौँ।”

घरेलु क्लब एमकेई आङकारागुजुले आफ्ना अध्यक्षको व्यवहारलाई लिएर दुःख व्यक्त गरेको छ। उसले एक विज्ञप्तिमा भनेको छ: "यस साँझ भएको घटनालाई लिएर हामी दुखित छौँ।"

"हामी टर्किस फुटबल जगत् र समग्र खेल समुदायसँग इर्यामन रङ्गशालामा जाइकुर रिजिस्परविरुद्धको खेलमा भएको यस दुखद घटनालाई लिएर माफी माग्छौँ।"

जाइकुर रिजिस्परले मेल्यारप्रति आफ्नो साथ रहेको बताउँदै दुःख व्यक्त गरेको छ।

उसले भनेको छ: "हामीले आज आङकारागुजुविरुद्ध खेलेको खेलमा भएको अनपेक्षित घटनाको कडा रूपमा निन्दा गर्छौँ।"

"हामीले समग्र रेफ्री समुदायप्रति र खासगरी हालिल उमोद मेल्यारप्रति सद्भाव प्रस्तुत गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ।"

टीएफएफले टर्की फुटबललाई सुरक्षित बनाउने आशामा निर्णायक कदम चाल्ने निर्णय गरेको जनाएको छ।

टीएफएफका अध्यक्ष मेहमत बुयुकेच्च थप्छन्: "फुटबल खेलहरू कुनै युद्ध होइन, त्यसको अन्त्यमा मृत्यु हुँदैन। सबै टोली एकै समयमा च्याम्पियन बन्न सक्दैनन्। यो कुरा हामी सबैले बुझ्न जरुरी छ। हामी सबैलाई जिम्मेवारी लिन आग्रह गर्छौँ।"

उनी थप्छन्: "[आङकारागुजु] र त्यसका व्यवस्थापकहरूलाई सबैभन्दा कडा सजाय दिइनेछ।"

उनले सजायबारे सम्बन्धित निर्णय गर्ने समितिमा छलफल गरिने र त्यो मङ्गलवारबाट सुरु हुने बताए।

एक विज्ञप्तिमा त्यसलाई "अमानवीय र लज्जाजनक हमला" भन्दै टिएफएफले भनेको छ: "क्लबका अध्यक्ष, व्यवस्थापक, प्रशिक्षक र टेलिभिजनका टिप्पणीकारहरूका रेफ्रीहरू लक्षित गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले आजको यस भयानक हमलाको लागि बाटो बनायो।"

"हामी राज्यसँगको समन्वयमा यस अमानवीय आक्रमणका जिम्मेवार र उक्साउनेहरूविरुद्ध सबै फौजदारी कारबाही प्रक्रिया सुरु भएको छ। जिम्मेवार क्लब, यसका अध्यक्ष, व्यवस्थापकहरू र मेल्यारमाथि आक्रमण गर्ने सबै अपराधीहरूलाई कडा भन्दा कडा सजाय दिइनेछ।"

टर्कीको एउटा ठूलोमध्येको क्लब गालातसरायले यसअघि त्यहाँ आइरहेका खेलसँग सम्बन्धित बढ्दो समस्यालाई लिएर एउटा आपत्कालीन बैठकको आह्वान गरेको छ।

द एसोसिएसन अफ एक्टिभ फुटबल रेफ्रिज् एन्ड अब्जर्भर्स अफ टर्कीले सबै रेफ्रीहरूलाई खेल मैदानमा नजान आह्वान गरेको छ।

द टर्किस सुपर लिग प्रोफेसनल फुटबल क्लब्ज फाउन्डेसनले उक्त हमलाको निन्दा गर्दै क्लबहरू "हिंस्रक घटनाहरू रोक्न सबै कदमहरू चाल्न तयार रहेको" जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।