विश्वकप फुटबल २०३४ साउदी अरबमा हुने, अस्ट्रेलिया किन पछि हट्यो

तस्बिर स्रोत, Getty Images
सन् २०३४ को पुरुष विश्वकप फुटबल प्रतियोगिता साउदी अरबमा हुने भएको छ। फिफाले उक्त प्रतियोगिता आयोजना गर्न साउदी अरबको मात्र आवेदन परेको पुष्टि गरेको हो।
उक्त प्रतिस्पर्धा आयोजना गर्ने प्रस्ताव गर्न फिफाले निर्धारण गरेको समय सकिनुभन्दा केही घण्टाअघि मात्र अस्ट्रेलियाले त्यसमा सहभागी नहुने निर्णय गरेको थियो। त्यस्तो प्रस्ताव हाल्ने अन्तिम म्याद मङ्गलवार सकिएको थियो।
सन् २०३० को विश्वकप संस्करणका आयोजक मोरक्को, पोर्चुगल र स्पेन इच्छुक हुन्। उक्त विश्वकपका खेलहरू आर्जेन्टिना, पाराग्वे र यूरुग्वेमा पनि हुने छन्।
सन् २०२४ को अन्त्यमा हुने फिफाको सम्मेलनले आयोजक राष्ट्रहरूको नाम अनुमोदन गर्ने छ।
सन् २०२६ को विश्वकप भने अमेरिका, मेक्सिको र क्यानडामा हुने छ।
फिफा अध्यक्षले के भने?
फिफा अध्यक्ष जिआनी इन्फान्टिनोले इन्स्टाग्राममा लेखेका छन्, “तीनवटा संस्करण, पाँच महादेश र १० वटा देश उक्त प्रतियोगिता सञ्चालनमा संलग्न हुने छन्। त्यसले फुटबललाई वास्तवमै विश्वव्यापी बनाउँदै छ।”
"हामी तीव्र रूपमा विभाजित र आक्रामक संसारमा बाँचिरहेका छौँ तर हामीले फेरि एक पटक फुटबलले अग्रणी विश्वव्यापी खेल र एकजुटता देखाएको पाउने छौँ।"
फुटबल अस्ट्रेलियाले सन् २०२६ मा महिला एशियाली कप र २०२९ मा हुने क्लब विश्वकप आयोजना गर्न आफ्नो प्रयास केन्द्रित गर्न चाहेको बताएको छ।

तस्बिर स्रोत, PA
फिफाले सन् २०३४ को विश्वकप एशिया वा ओशिनियामा हुने बताएको थियो र अस्ट्रेलियाको सम्भावित आवेदन साउदी अरबका लागि चुनौती हुन सक्ने ठानिएको थियो।
फिफाको निर्णयको केही समयपछि मात्र साउदी अरबले विश्वकप २०३४ आयोजना गर्न आफू पनि इच्छुक रहेको घोषणा गरेको थियो।
विश्वकप फुटबल आयोजना गर्न अबको प्रक्रिया कस्तो हुन्छ?
मङ्गलवार म्याद सकिएपछि फिफाले सन् २०३० र २०३४ को विश्वकपका लागि आवेदनहरू परेको पुष्टि गरेको छ। अब प्रतियोगिताका लागि "विस्तृत आवेदन र मूल्याङ्कन प्रक्रियाहरू" हुने बताएको छ।
"पूर्ण, व्यापक आवेदन प्राप्त भएको सुनिश्चित गर्न र फिफा परिषद्ले अनुमोदन गरेको आयोजनाका लागि न्यूनतम आवश्यकताहरू मूल्याङ्कन गर्नका लागि अब आवेदकहरूसँग संवाद हुने छ,” फिफाले भनेको छ।
त्यस्ता संवादहरू प्राथमिकताका क्षेत्रहरू, पूर्वाधार, सेवा, प्रायोजन, दिगोपन र मानवाधिकारजस्ता विषयमा केन्द्रित हुने फिफाले जनाएको छ।
साउदी फुटबल महासङ्घका अध्यक्ष यासेर अल मिसेहलले भने, "हाम्रो युवा राष्ट्रको खेलप्रतिको ठूलो जोसबाट प्रेरित साउदी अरब फुटबल महासङ्घ आवेदनका आवश्यकताहरू पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध छ।"
उनले प्रतियोगिताको आयोजनाले "विश्वलाई समृद्ध फुटबल संस्कृतिको अनुभव गर्न खुल्ला निमन्त्रणा" प्रदान गर्ने पनि बताए।
साउदी अरबको आलोचना किन?
एशियाली फुटबल महासङ्घबाट समर्थन पाए पनि साउदी अरबलाई विवादास्पद आयोजकका रूपमा हेरिने छ।
मानवाधिकार उल्लङ्घनका कारण साउदी अरबको आलोचना हुने गरेको छ।
गत वर्ष एकैदिन ८१ जनालाई साउदी अरबमा मृत्युदण्ड दिइएको थियो।

तस्बिर स्रोत, Reuters
महिलाहरूको अधिकार हनन, समलैङ्गिक सम्बन्धलाई अपराध मान्ने कानुन, अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध र यमनमा युद्धमा उसको संलग्नताजस्ता विषयमा पनि साउदी अरबको आलोचना हुने गर्छ।
सरकारको प्रमुख आलोचकका रूपमा चिनिएका र अमेरिकामा रहेका साउदी पत्रकार जमाल खशोग्गीको सन् २०१८ मा भएको हत्याले साउदी अरबको अन्तर्राष्ट्रिय छविमा गम्भीर क्षति पुगेको थियो।
मानवाधिकार अभियानकर्ताहरूले साउदी सरकारले लामो समयदेखि उसको प्रतिष्ठामा पुगेको क्षतिलाई पूर्ति गर्न खेलकुदको प्रयोग गरिरहेको बताएका छन्।
उनीहरूले साउदी सरकारले "खेलले छवि सुधार्ने" प्रयत्न गरेको टिप्पणी गरेका छन्।
अधिकारवादीहरू के भन्छन्?
गत साता मात्र ह्यूमन राइट्स वाचले भनेको थियो, "फिफाले मानवाधिकारको डरलाग्दो रेकर्ड भएको र अनुगमनको लागि ढोका बन्द गरिएको भए पनि साउदी अरबलाई सन् २०३४ को विश्वकप आयोजना गर्न दिन सक्ने सम्भावनाले फिफाको मानवाधिकारप्रतिको प्रतिबद्धता एउटा छल हो भन्ने कुरालाई उजागर गर्छ।"
मङ्गलवार एम्नेस्टी इन्टर्न्याश्नलले फिफालाई साउदी अरबबाट "स्पष्ट र बाध्यकारी प्रतिबद्धता" गराउन आह्वान गरेको थियो।
"प्रतियोगिता आयोजना गर्नेबारे अन्तिम निर्णय गर्नुअघि मानवाधिकारसम्बन्धी प्रतिबद्धताहरूमा सम्भावित आयोजकहरू सहमत हुनुपर्छ,” एम्नेस्टी इन्टर्न्याश्नलले भनेको छ।
"फिफाका लागि श्रमिकहरूको अधिकारको रक्षा, अभिव्यक्तिको स्वतन्त्रताको सुनिश्चितता र विश्वकपसँग जोडिएको भेदभाव रोक्नको लागि बाध्यकारी प्रतिबद्धताहरू प्राप्त गर्ने उत्तम अवसर आयोजक छनोटको चरण हो, आयोजकहरू छानिएपछि र प्रतियोगिताको तयारी सुरु भएपछि होइन।"
कतारले सन् २०२२ को विश्वकप आयोजना गर्दा समलैङ्गिक सम्बन्ध, उसको मानवाधिकारसम्बन्धी रेकर्ड र आप्रवासी कामदारहरूप्रतिको व्यवहारका कारण आलोचना भएको थियो।
फिफाले सहआयोजक अस्ट्रेलिया तथा न्यूजील्यान्ड, खेलाडी र प्रायोजकको प्रतिक्रियापछि सन् २०२३ को महिला विश्वकपको प्रायोजन गर्ने साउदी अरबको योजनालाई स्थगित गरिदिएको थियो।
तर साउदी अरबले गत वर्ष महिला टोली बनाएपछि सन् ३०३५ मा महिला विश्वकप प्रतियोगिता आयोजना गर्न पनि इच्छुक छ।
विश्वकप २०३४ कुन बेला होला?
सन् २०२२ को पुरुष विश्वकप प्रतियोगिताजस्तै सन् २०३४ को संस्करण पनि सम्भवत: जाडो मौसममा आयोजना हुने छ। गर्मीमा अत्यधिक गर्मी हुने भएकाले पनि त्यस्तो सम्भावना रहेको हो।
यद्यपि नयाँ रङ्गशालाहरू निर्माण गर्नुको सट्टा अवस्थित पूर्वाधारलाई आधुनिकीकरण र सुधार गर्दा साउदी अरबले कतारभन्दा बढी पर्यावरणमैत्री ढङ्गले प्रतियोगिता सञ्चालन गर्न सक्छ।
साउदी अरबको पब्लिक इन्भेस्टमन्ट फन्ड (पीआईएफ)ले सन् २०२१ मा न्यूकाशल यूनाइटेडलाई पूर्ण रूपमा अधिग्रहण गरेको थियो।
त्यसका प्रबन्धक एडी होवले भने, "रियाद र जेद्दाहमा हाम्रो यात्रामा नितान्त भिन्न अनुभव भयो।"
"हामी जहाँ गए पनि त्यो ठाउँ व्यवस्थित थियो। हामीलाई राम्रोसँग ख्याल गरिएको थियो। यदि त्यो विश्वकप कस्तो देखिन्छ भन्ने सङ्केत हो भने संरचनात्मक रूपमा त्यो साँच्चै राम्रो हुने छ।"
फुटबल अस्ट्रेलियाका प्रमुख कार्यकारी जेम्स जोन्सनले विश्वकपको आवेदन अस्ट्रेलियाका लागि उपयुक्त नभएको बताएका छन् ।

तस्बिर स्रोत, Reuters
उनले भने, "साउदी अरब एउटा बलियो दाबेदार हो। उनीहरूसँग धेरै स्रोत छ र ती स्रोत सन् २०३४ को विश्वकपका लागि मात्र होइननन्।"
"उनीहरूले धेरै डलर तिरेर युरोपेली फुटबलमा बाधा पुर्याइरहेका छन्। यो बजारमा अवरोध हो र यसले साउदीलाई बलियो स्थानमा राखेको छ। सरकारदेखि तलसम्म उनीहरूले फुटबलमा लगानीलाई प्राथमिकता दिइरहेका छन्। त्योसँग प्रतिस्पर्धा गर्न गाह्रो छ।"
साउदी खेलकुदका लागि के हो नयाँ कोसेढुङ्गा हो?
साउदी अरबले सन् २०१८ देखि फुटबल, फर्मुला वन, गल्फ र बक्सिङसहित धेरै प्रमुख खेलका प्रतियोगिता आयोजना गरेको छ। आगामी डिसेम्बरमा साउदी अरबमै क्लब विश्वकप आयोजना हुने लागेको छ।
साउदी अरबले आयोजना गर्ने विश्वकप उसका लागि खेलकुदको क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि बन्ने छ।
साउदी खेलकुदमन्त्री राजकुमार अब्दुलअजीज बिन टर्की बिन फैसलले यो आवेदन "फुटबलप्रति लगाव भएको देशको रूपमा हाम्रो यात्रामा महत्त्वपूर्ण र स्वाभाविक कदम हो" भनेका छन्।
पीआईएफले साउदी प्रो लीगमा देशका शीर्ष चार क्लबहरू अल-अहली, अल-हिलाल, अल-इतिहाद र अल-नासरलाई आफ्नो नियन्त्रणमा राखेको छ।
क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा र नेमारजस्ता विश्वचर्चित खेलाडीहरूलाई पनि उसले लिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








