स्पेनलाई पहिलोपटक महिला विश्वकप फुटबलको उपाधि

तस्बिर स्रोत, Reuters
महिला विश्वकप फुटबल २०२३ स्पेनले इङ्ल्यान्डलाई १-० ले जितेको छ। अस्ट्रेलियाको सिड्नीमा निकै प्रतिस्पर्धात्मक बनेको आइतवारको खेल संसारभरबाट करोडौँ मानिसहरूले हेरेका थिए।
स्पेन यस प्रतिस्पर्धाको नवौँ संस्करणमा पाँचौँ देशका रूपमा विश्व विजेता बनेको हो।
खेलको पछिल्लो समयमा इङ्ल्यान्डको दबाबमा परे तापनि स्पेनले पहिलो हाफमै गरेको एक गोलको अग्रता अन्त्यसम्म नै कायम राख्न सक्यो।
यो नै स्पेनको 'ला रोखा' टोलीको तेस्रो विश्वकप फुटबल यात्रा हो।
मेडल लिने क्रममा स्पेनका प्रत्येक खेलाडीले ट्रफीलाई चुम्मन गरेका थिए।
यसअघि उनीहरूले अत्यन्तै प्रतिस्पर्धात्मक बनेको सेमिफाइनल खेलमा अन्तिमका केही मिनेटमा गोल गरेर स्वीडनलाई पराजित गरेका थिए।
यसअघि संयुक्त राज्य अमेरिकाले चार पटक, जर्मनीले दुई पटक र नर्वे अनि जापानले एक-एक पटक महिला विश्वकप फुटबल उपाधि जितेका छन्।
इङ्ल्यान्डले भने सन् १९६६ मा पहिलो पटक पुरुष विश्वकप फुटबलको उपाधि जितेयता यस पटक सिनिअर समूहमा विश्वकप उपाधि जित्ने आशा गरेको थियो।
युरोपेली विजेता समेत रहेको इङ्ल्यान्डले आइतवारको फाइनलमा जित निकालेर एक वर्षभित्र दोस्रो इतिहास रच्ने समेत सोचेको थियो। तर उसको चाहना उपविजेतामै सीमित रह्यो।
इङ्ल्यान्ड र स्पेन महिला विश्वकपमा आमान्ने सामुन्ने भएका थिएनन्।

तस्बिर स्रोत, Reuters
ला रोखाको उपाधिसम्मको यात्रा

तस्बिर स्रोत, Reuters
अस्थिरता, कलह र समूह चरणमा जापानबाट ४-० को हारका बाबजुद स्पेनको महिला टोलीले उत्कृष्ट पुनरागमन गर्दै उपाधिसम्मको यात्रा तय गरेको हो।
टोलीका प्रशिक्षक र खेलाडीहरूबीचको कलहबारेका विवरण यो प्रतियोगिता चलिरहेको समयमा पनि आइरहेको थियो।
तेस्रोपटक विश्वकप फुटबल खेलिरहेको स्पेनले यसअघि स्विटजरल्यान्ड,नेदरल्याण्ड र स्वीडेनलाई हराएको थियो।
उक्त टोलीका अधिकांश खेलाडी च्याम्पिअन्स लिग विजेता क्लब बार्सिलोनाबाट खेल्छन्।
अलेक्सिया पुटेअस सन् २०२१ र सन् २०२२ को उत्कृष्ट महिला फुटबल खेलाडी घोषित भएकी थिइन्।
तर फाइनलअघि इङ्ल्यान्डको महिला टोलीले स्पेनसँग खेलेका कूल १३ मध्ये ७ मा जीत र चारमा बराबरीको नतिजा निकालेको थियो।
इङ्ल्यान्डको फाइनल यात्रा

तस्बिर स्रोत, Reuters
इङ्ल्यान्डको युरो २०२२ यात्रा लगभग एउटा लयमा थियो तर यो विश्वकपमा उनीहरूको टोलीले कैयौँ उतारचढाव व्योहोर्नुपर्यो।
प्रतियोगिताका अगाडि नै उनीहरूले आफ्ना तीन जना स्टारहरू -लीहा विलियमसन, बेथ मेइड र फार्न किर्बी—लाई घुँडाको चोटका कारण गुमाउनुपरेको थियो।
यो प्रतियोगितामा टोलीका महत्त्वपूर्ण सदस्य किएरा वाल्सको चोट अनि लरेन जेम्सलाई दुई खेलको प्रतिबन्ध लागेपछि त्यसले उक्त टोलीमा केही दबाब परेको थियो।
नाइजिरियाविरूद्ध पेनाल्टी सुटआउटमा जित हासिल गरेर अघि बढेको इङ्ल्यान्डले कोलम्बियासँगको खेलमा सात मिनेट पछाडि परेको थियो तर गोल फर्काउँदै जित हासिल गरेर सेमिफाइनलसम्म पुगेको थियो।
सेमिफाइनलमा भने अस्ट्रेलियाविरुद्ध शानदार ३-१ को गोलसाथ जित इङ्ल्यान्डले हासिल गरेको थियो।























