आर्जेन्टिनालाई विश्वकप जिताउने मेस्सी के सर्वकालिक महान् फुटबल खेलाडी हुन्

तस्बिर स्रोत, Reuters
- Author, फिल मक्नल्टी
- Role, प्रमुख फुटबल लेखक, लुसैल रङ्गशाला, दोहा
कतारको लुसैल रङ्गशालामा आइतवार लियोनेल मेस्सी सबैको आकर्षणको केन्द्रमा थिए। आफ्नो लोभलाग्दो खेलजीवनमा पाउन नसकिरहेको एउटा उपाधि अन्ततः उनले त्यहाँ हात पारे।
परम्परागत अरबी पहिरनमा यी ३५ वर्षीय आर्जेन्टिनी नायकले आफ्नो खेलजीवनमा निकै प्रतीक्षा गरिएको विश्वकप उचाल्नुअघि आफ्ना हत्केला रगडे।
आतसबाजी भइरहेको बेला उनले विश्वकप उचालेर हर्षोल्लास मनाए।
मेस्सीले आफ्नो सपना पूरा गरे। धेरैले विश्वकप इतिहासमै हालसम्मकै उत्कृष्ट भनिरहेको फाइनलमा उनले कपहरूको सङ्कलनमा रहेको अभावलाई पूर्ति गरे।
सातवटा ब्यालोन डोर, चारवटा च्याम्पीअन्स लीग, एउटा कोपा अमेरिका, स्पेनी क्लब बार्सिनोलाबाट १० वटा ला लिगा र पीएसजीबाट फ्रान्सेली लीगको उपाधिसँगै विश्वकप पनि उनको उपलब्धिको सूचीमा थपिएको छ।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, Reuters
महान् खेलाडी
यो उपाधिलाई मेस्सीका करोडौँ समर्थकहरूले उनी फुटबलका सर्वकालिक महान् खेलाडी हुन्न भन्ने प्रमाणका रूपमा प्रस्तुत गर्नेछन्।
विश्वकपको पन्ध्र इन्च अग्लो स्वर्ण ट्रफीका कारण धेरैले मेस्सी महान् रहेको बताउनेछन्। अनि त्यस तर्कमा विमति राख्नेहरूलाई आफ्नो तर्क पेस गर्न कठिन हुनेछ।
अब मेस्सीलाई पेले र आइतवार लुसैल रङ्गशालामा धेरै आर्जेन्टिनीहरूले बोकेको ब्यानरमा देखिएका अर्का खेलाडीकै पङ्क्तिमा राखिनेछ भन्नेमा कोही असहमत हुन सक्नेछैन।

तस्बिर स्रोत, Getty Images

तस्बिर स्रोत, Reuters
म्याराडोनासँग तुलना
प्रसिद्ध खेलाडी तथा उनका पूर्ववर्ती डिएगो म्याराडोनालाई उत्कृष्ट खेलाडीको श्रेणीमा एउटा स्वाभाविक बलियो पात्रका रूपमा हेरिन्छ।
आइतवारअघिसम्म उनीहरू दुईबीच एउटा भिन्नता थियो - म्याराडोनाले ३६ वर्षअघि मेक्सिकोमा विश्वकप हात पारेका थिए तर मेस्सीले त्यसो गर्न सकेका थिएनन्।
सर्वकालिक महान् खेलाडीबारेको कुराकानीमा मेस्सी सधैँ रहनेछन्।
विश्वभरि खेलिने यो खेलको उच्च सम्मान हात पारेकाले यसबारेको बहसमा अब मेस्सीको उनको खेलकौशल जत्तिकै बलियो चर्चा हुनेछ।

तस्बिर स्रोत, Reuters
सकस र सफलता
सफलताको यो उच्चबिन्दुमा मेस्सी कसरी पुगे? आर्जेन्टिनालाई विश्वकप जिताउने र मेस्सीको नाम सदाका लागि जोडिनेगरी भएको प्रतिस्पर्धाको उत्कर्षलाई कसरी हेर्ने?
मेस्सीले पक्कै आफू सहभागी भएको सन् २००६ को पहिलो विश्वकपदेखि सन् २०१४ को फाइनलमा जर्मनीसँग पराजित हुँदासम्मको विगतका कारण अहिलेको उपाधि सहजै जितिने खालको नभएको थाहा पाएको हुनुपर्छ।
त्यसैले निकै सकसपछि लुसैल रङ्गशालाको पछिल्लो दर्शनीय रातमा मेस्सीले आर्जेन्टिनाको लागि तेस्रो विश्वकप जिताउँदा त्यो झन् आकर्षक बनेको थियो।
अनि त्यो सबै फ्रान्सका २३ वर्षीय प्रतिभाशाली खेलाडी किलियान एम्बाप्पेको उपस्थितिमा भएको थियो।
यदि अहिले भइसकेको छैन भने पनि उत्कृष्ट खेलाडीको बहसमा आगामी दिनमा एम्बाप्पेको नाम मेस्सीसँगै आउने नै छ।
मेस्सीको विश्वकप यात्राको अन्तिम अध्याय बनेको फ्रान्सविरुद्धको खेलमा सुरुदेखि नै रहस्य र रोमाञ्च देखा परे। निकै उतारचढावहरू आए।
अविस्मरणीय बनेको आइतवार राति उक्त अध्याय निकै राम्ररी समापन भयो।











