एसियाली राष्ट्रहरूको 'अविस्मरणीय विश्वकप'

तस्बिर स्रोत, Getty Images
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
साउदी अरेबियाले लियोनल मेस्सीको आर्जेन्टीनालाई पराजित गर्दा भनिएको थियो - कतार विश्वकपको सबैभन्दा ठूलो झट्का यहि हो।
तर एसियाली राष्ट्रहरू यतिमा रोकिने पक्षमा थिएनन्। एसियाली उलटफेरको एकपछि अर्को कथाले कतार विश्वकपमा गजबको चर्चा पायो।
इङग्ल्याण्डसँग ६ गोल खाएको इरानले अर्को खेलमा उसको छिमेकी वेल्सलाई २ गोलले पराजित गर्यो।
दक्षिण कोरियाले क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई इन्ज्युरी समयमा गरेको 'काउन्टर एट्याक' गोल र विजय विश्व चर्चाको विषय बन्यो।
विश्वकपका दुई पूर्व विजेता जर्मनी र स्पेनलाई हराएको जापानको त झन कुरै बेग्लै।
एसियाली राष्ट्रको समूहबाट चयन भएर खेलिरहेको अस्ट्रेलियाले डेनमार्कलाई रोक्दै प्रि क्वार्टर फाइनलमा प्रवेश गर्ने टोली नै बन्यो।
लागिरहेको थियो, यसपाली एसियाली राष्ट्रले कतारमा फरक कथालाई जारी राख्नेछन्। तर राउण्ड अफ १६ मा तीनवटै टोलीको प्रभाव सोचिए जस्तो हुन सकेन।
यद्यपि ९२ वर्षको इतिहासमा पहिलो पटक एसियाबाट ३ राष्ट्रले लिग चरण पार गर्न सके। यो सुनौलो इतिहास लेखाउन जर्मनी र युरुग्वे जस्ता महारथी राष्ट्रलाई लिग चरणबाट घर फर्काउन उनीहरूको जिम्मेवारी रह्यो।
त्यसैले कतार विश्वकप एसियाली राष्ट्रले फुटबलमा शक्ति प्रदर्शन गरेको विश्वकप हो, जसको फुटबलका हस्ती राष्ट्र भनिएकाहरूले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।
एसिया कहाँ?
कतार विश्वकपमा सहभागी ६ टोलीको प्रदर्शन पछि फुटबल विश्लेषक ग्राहम आर्नोल्डले भनेका छन् - "एसियाले निकै चाँडै प्रगति गर्दैछ। अब फुटबल समर्थकहरूले घरमा बसेर साउदी अरेबिया वा जापान राम्रो छैन होला भनेर अनुमान गर्ने दिन गए।"
विश्वकपको इतिहास पल्टाउने हो भने त्यहाँ युरोपेली र दक्षिण अमेरिकी राष्ट्रहरूकै दबदबा रहेको पाइन्छ।
विश्वकप २१ औँ संस्करणसम्म आइपुग्दा २ पटक बाहेक बाँकीमा यी दुई महादेशका राष्ट्रहरूले मात्र सेमिफाइनलका खेलहरू खेलेका छन्।
सन् १९३० को पहिलो विश्वकपमा अमेरिका (जहाँ १३ राष्ट्रले मात्र भाग लिएको थियो) र त्यसपछि सन् २००२ मा दक्षिण कोरियाले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।
एसियाली राष्ट्रहरूले अन्य महादेशको दाँजोमा प्रायजसो कमजोर प्रदर्शन गरेका छन्।
सन् १९८६ यता कुनै न कुनै अफ्रिकी (सन् २०१८ छोडेर) र उत्तर अमेरिकी टोलीले लिग चरण पार गरिरहेकै छ। जबकी पछिल्लो ९ विश्वकपमा एसियाली राष्ट्रहरू ५ वटामा लिग चरणमै खुम्चिएका छन्।
एसियाली खेलाडीहरूकै कुरा गर्ने हो भने विश्वका ठूला युरोपेली लिगहरूमा अफ्रिकी र उत्तर अमेरिकी खेलाडीहरूको दाँजोमा कमैमात्र मौका पाएका छन्।
यद्यपि एसियाबाट राम्रा खेलाडीहरूले चर्चा नकमाएका भने होइनन्।
दक्षिण कोरियाका जी सुङ पार्क सन् २००० ताका म्यानचेस्टर युनाइटेडमा छाएका थिए।
त्यसताका जापानका सुनसुके नाकामुरा पनि ग्लास्गोमा आफ्नै खेलकौशलका कारण चर्चित भएका थिए।
इरानका अलि दाई पनि थिए, जो अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गर्ने एसियाली बनेका थिए। जापानका हिडेतोसी नाकाता सन् २००६ ताका इटालियन सिरी ए मा चम्किएकै हुन्।
आजको दिनमा सन ह्युङ मिन ले इङलिस प्रिमियर लिगमा टोटनमबाट तहल्का मच्चाइरहेका छन्।

तस्बिर स्रोत, Getty Images
२००२ को एसिया
त्यो एसियाली मुलुकमा भएको पहिलो विश्वकप थियो र आयोजक राष्ट्र दक्षिण कोरियाले पहिलो पटक अन्तिम चारमा स्थान बनाएर एसियाली शान राखेको थियो।
जापानले पनि त्यो विश्वकपमा राउण्ड अफ १६ मा पाइला चाल्यो। त्यसयता जापानले सन् २०१० र २०१८ पनि त्यो इतिहास दोहोर्यायो। तर त्यहाँ भन्दा माथि उक्लिन सकेन।
दक्षिण कोरियाले यसपाली 'एसियाली मेहनत' को नमुना त पेश गर्यो। तर प्रि क्वार्टर फाइनलभन्दा माथि उक्लिने बेला नभइसकेको कुरा ब्रजिलले सम्झाइदियो।
टाइब्रेकरमा जापानको काँचो प्रहारले पनि त्यहि नै भनिरहेको थियो।
सन् २००२ को कोरियाली प्रदर्शनलाई एसियाको उच्च प्रदर्शन मान्ने हो भने त्यसपछि किन त्यस्तो अवसरहरू दोहोरिन सकेन भन्ने प्रश्नहरू उठिरहने गर्छ।
फिफा विश्वकपमा एसियाली राष्ट्रहरूलाई दिइने कोटा अपुग हुनु त्यसको एउटा कारण मान्नेहरू छन्।
४६ राष्ट्रहरू भएको एसियाले ५ वटा कोटा पाउँछ र अर्को एउटा कोटाको लागि दक्षिण अमेरिकी टिमसँग प्रतिस्पर्धा गर्नुपर्छ।
"किन कोटा कम?" विश्व फुटबलसँग यसको सहज जबाफ छ - "किनकी एसियाली स्तर युरोपेली राष्ट्रहरू भन्दा निकै तल छ।"
अर्को पक्ष पनि छ। त्यो हो फुटबलको व्यापारिकरण र व्यावसायिकरण। यी दुवै पक्षमा एसियाली राष्ट्रहरू युरोपको तुलनामा धेरै टाढा मानिन्छन्। फुटबल पूर्वाधार र खेलाडी विकास परियोजनामा एसियाली मुलुकलाई युरोपसँग दाँज्न मिल्दैन।
एसियाली लिगहरू र खेलाडी विकासका योजनाहरू स्तरिय छैनन्। अनि युरोपेली क्लबहरूको एसियाली खेलाडी खोज्ने नेटवर्क पनि राम्रो देखिएको छैन, जुन एसियाली खेलाडीहरूका लागि राम्रो पक्ष होइन।

तस्बिर स्रोत, Getty Images
बदलिएको एसिया
यी कुराहरूको जोडघटाउ भइरहेको बेला कतार विश्वकपले भने एसियाली राष्ट्रहरूको हकमा छुट्टै सन्देश दिन सफल भएको मान्न सकिन्छ।
विश्वकपको महासंग्राममा एसियाली खेलाडीहरू आत्मविश्वासपूर्ण मात्र देखिएनन्, ठूलो स्तरको लागि योग्य भएको प्रमाणित पनि उनीहरूले गरिदिएका छन्।
सन् २००२ को एसियाली विश्वकप र अहिले फेरि एसियामै फर्केको विश्वकपले त्यो सन्देश भने मज्जाले दिन सकेको देखिन्छ।
फेरि फुटबलको विश्व बजार एसियातिर आकर्षित भइसकेको छ। ठूला युरोपेली क्लबहरूमा एसियाको लगानी भित्रिएको छ र थप भित्रिने क्रममा छ।
युरोपेली बजार पछि एसियामा आर्थिक चलखेलको ठूलो सम्भावना देखेकैले नै हो, यसतर्फ युरोपले पाइला बढाएको बढायै छ।
जापानकै कुरा गरौँ न। जर्मनीलाई सनसनीपूर्ण रूपमा हराएको जापानका ८ खेलाडीहरू जर्मनीका विभिन्न क्लबहरूबाट नियमित खेलिरहेका छन्।
फुटबल विश्लेषक टोमी ओरका अनुसार एसिया र युरोपका फुटबल खेलाडीहरू बिचको दूरी क्रमश: घट्ने क्रममा छ। एसियाली खेलाडीहरूको सङ्ख्या युरोपेली लिगमा बढ्ने क्रममा छ। अर्थात् आगामी दिनमा एसिया थप सशक्त हुनेछ।
त्यसको अर्थ विश्व फुटबलको महामेलामा अब एसियाली उपस्थिति थप दरिलो हुन सक्नेछ।
फिफाले चार वर्षपछि विश्वकपको अन्तिम चरण खेल्ने राष्ट्रहरूको सङ्ख्या ४८ पुर्याइरहँदा त्यसमा एसियाको सङ्ख्या मज्जाले बढ्ने अनुमान गर्न सकिन्छ। चार भन्दा बढी।








