कतार विश्वकप: फ्रान्सका सुपरस्टार एम्बाप्पेबारे ७ रोचक तथ्य

तस्बिर स्रोत, Getty Images
शनिवारको क्वार्टर फाइनल खेलमा इङ्ग्ल्याण्डको भेट फ्रान्ससँग हुँदैछ - अनि सबैको मनमा एकजना खेलाडी विशेषरूपमा गढेका छन्।
फ्रान्सको पीएसजी क्लबका अग्रपङ्क्तिका खेलाडी किलियान एम्बाप्पेअहिलेका शायद विश्वकै उत्कृष्ट खेलाडी हुन्।
बीबीसी स्पोर्ट्सले एम्बाप्पेबारे ७ रोचक किस्सा पस्किएको छ जसले उनको चामत्कारिक उदयबारे बताउँछ।
१. विश्वका दोस्रा सबभन्दा महँगा खेलाडी
सन् २०१७ मा एम्बाप्पे पीएसजी क्लबमा आबद्ध भएका हुन्। सुरुमा मोनाको क्लबले उनलाई ‘उधारो’मा उपलब्ध गराएकोमा एक वर्ष पछि १८ करोड युरोमा स्थायी रूपमै उनी त्यहाँ सरे।
त्यो विश्वकै दोस्रो सबभन्दा महँगो खेलाडी ‘ट्रान्सफर’ हो।
पहिलो नम्बरमा चाहिँ सन् २०१७ मा ब्रजिलका खेलाडी नेयमार २२ करोड युरोमा बार्सिलोनाबाट पीएसजीमा लगिएको ट्रान्सफर रहेको छ।
फ्रान्सको उक्त च्याम्पियन क्लबमा नेयमार तथा आर्जेन्टिनाका महान खेलाडी लियोनेल मेस्सीका साथै एम्बाप्पे खेल्छन्।
सो क्लबका निम्ति एम्बाप्पेले २३७ खेल खेलेर १९० गोल हानेका छन्।
२. शृङ्खलाबद्ध विजय
गत सात वर्षका दौरान एम्बाप्पेले यी उपाधि जितिसकेका छन्:
- सन् २०१८ विश्वकप
- २०२०-२१ युएफा न्याशन्स लिग
- पाँच लीग उपाधि (पीएसजीमा ४ र मोनाकोमा १)
- तीन फ्रेन्च कप
- दुई फ्रेन्च लीग कप
व्यक्तिगत रूपमा उनले सन् २०१७ मा गोल्ड बोय उपाधि पनि जिते जुन उपाधि २१ वर्ष मुनिका युरोपका उत्कृष्ट युवा खेलाडीलाई दिइन्छ।
दुई पटक उनी फ्रेन्च प्लेयर अफ द यर घोषित भएका छन् भने लिग १ प्लेयर अफ द यर अनि तीन पटक यङ् प्लेयर अफ द यर भएका छन्।
सन् २०१८ को विश्वकपमा उनी उत्कृष्ट खेलाडी ठहरिएका थिए। लीग १ मा चार सिजनमा उनले सबभन्दा धेरै गोल गरेका छन्।
अनि उनले सन् २०२० मा पहिलो पटक पीएसजीलाई च्याम्पियन्स लीग फाइनलमा पुर्याउन मद्दत गरे। तर सो फाइनल खेलमा बायर्न म्युनिखले उपाधि जित्यो।
३. विश्वकपमा चम्किलो प्रदर्शन
सन् २०१८ मा रुसमा भएको विश्वकप प्रतियोगितामा फ्रान्सले उपाधि जित्यो। त्यसबेला जम्मा १९ वर्ष उमेरका एम्बाप्पेले ४ गोल गरे।
फाइनल खेलमा क्रोएशियालाई ४-२ ले हराउँदा उनले पनि गोल गरे। सन् १९५८ मा ब्राजिलका पेलेपश्चात् किशोर उमेरमै विश्वकपको फाइनलमा गोल गर्ने उनी दोस्रा खेलाडी हुन्।
कतारमा जारी विश्वकपमा हालसम्म धेरै गोल गर्नेहरूको सूचीमा एम्बाप्पे अगाडि छन्। क्वार्टर फाइनल नपुग्दै उनले पाँच गोल गरिसकेका छन्।
विश्वकपका खेलहरूमा उनले ९ गोल गरिसके। डिएगो म्याराडोनाले आर्जेन्टिनाको लागि गरेको ८ गोललाई उनले उछिनिसके।
सबभन्दा कम उमेरमा विश्वकप प्रतियोगिताहरूमा ९ गोल गर्ने रेकर्ड पनि उनकै छ।
४. सानो उमेरमा कीर्तिमान
एम्बाप्पेको जन्म प्यारिसको बाहिरी भेगमा भएको थियो। सानै उमेरमा स्थानीय क्लबमा खेल्न थाले।
सन् २०१५ को डिसेम्बरमा मोनाकोबाट उनले खेल्न थाले। त्यतिखेर उनी १६ वर्ष ३४७ दिन उमेर पुगेका थिए। सो क्लबको इतिहासमा उनी सबभन्दा कान्छा खेलाडी भए।
तीन महिनापश्चात् उनी उक्त क्लबका तर्फबाट गोल गर्ने सबभन्दा कान्छो खेलाडी पनि बने।
यी दुवै कीर्तिमान उनले अघिल्ला खेलाडी टिएरी अनरीको तोडेका हुन्।
५. बिजुलीको गति
पोल्याण्डलाई ३-१ ले जितेको पछिल्लो खेलमा उनको उच्च गति ३५.३ किलोमिटर प्रतिघण्टा रह्यो।
त्योभन्दा अगाडि यस विश्वकपमा जम्मा ६ खेलाडीको गति त्योभन्दा धेरै थियो।
सेप्टेम्बरमा लीग १ का बेला ३६ किलोमिटर प्रतिघण्टाको वेगले कुदेर उनले सो लिगमा उक्त सिजनकै रेकर्ड बनाएका थिए।
यसलाई अझ बुझ्नुपर्दा जमाइकाका ओलिम्पिक विजेता धावक युसेन बोल्टको सय मिटरको दौडमा रहेको सन् २००९ को ९.५८ सेकेन्डको कीर्तिमान भनेको औसतमा ३७.५८ किलोमिटर प्रतिघण्टा हुन आउँछ।
६. रियल मड्रिड जान अस्वीकार
स्पेनिस ला लिगाको अग्रणी क्लबका अध्यक्ष फ्लोरेन्टीनो पेरेजसँगको लामो निकटता अनि रियल मड्रिडले प्रस्ताव गरेको प्याकेजमा सुरुमा सहमति जनाएपनि एम्बाप्पेले अन्तत: प्यारिस नछाड्ने निर्णय लिए। उनले नयाँ ३ वर्षे सम्झौता गरे।
स्पेनका फुटबल विशेषज्ञका अनुसार उनलाई अनुबन्ध गर्नासाथ १५ करोड युरो दिन क्लबहरू तयार थिए।
तर भविष्यमा स्पेनी वा युरोपेली प्रतियोगितामा जानसक्ने सम्भावनालाई भने एम्बाप्पेले नकारेका छैनन्।
७. प्रभावशाली व्यक्तित्व
अक्टोबरमा एम्बाप्पेले सबभन्दा धेरै कमाउने फुटबलरहरूको फोर्ब्स सूचीमा नाम दर्ज गरे।
मेस्सी वा रोनाल्डोबाहेकको कुनै फुटबल खेलाडी सो सूचीमा पहिलो नम्बरमा परेको ९ वर्ष यताकै उनी पहिलो हुन्।
यो सिजनमा मात्र उनले झण्डै १३ करोड डलर कमाउँदैछन्।
उनी सामाजिक सञ्जालमा पनि लोकप्रिय छन्। फेसबुक, इन्स्टाग्राम अनि ट्वीटरमा गरी उनका १० करोड फलोवर छन्।
रोनाल्डो, मेस्सी र नेयमारसँगै उनलाई पनि २०२२ को विश्वकपमा खेल्ने सबभन्दा प्रभावशाली खेलाडी भनिएको थियो।
सन् २०१८ मा विश्वकप उपाधि जितेपश्चात् उनले आफ्नो पारिश्रमिकको पूरै ३ लाख ८० हजार पाउण्ड बालबालिकाको परोपकारी संस्थालाई दिएका थिए।








