पलेसा गोवर्धन बनिन् प्यारालिम्पिक्समा प्रतिस्पर्धाबाट छनोट हुने पहिलो नेपाली खेलाडी

पलेशा गोबर्धन

तस्बिर स्रोत, Kabiraj Negi

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

पारा खेलकुदमा एकपछि अर्को इतिहास रच्दै आएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले फेरी अर्को इतिहास रचेकी छिन्।

चीनको ताइयाङमा आइतबार भएको प्यारालिम्पिक्सको एशिया छनोटमा स्वर्ण पदक जित्दै उनी पेरिस प्यारालिम्पिक्समा छनोट भएकी हुन्।

यो सँगै पलेशा ओलिम्पिक्समा प्रतिस्पर्धा गरेर छानिने पहिलो नेपाली पारा खेलाडी बनेकी छिन्।

नेपाली खेलकुदमा सन् २००४ मा तेक्वान्दोकै संगिना वैद्य र सन् २००८ मा दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलिम्पिक खेलेका थिए।

पलेशा हालै चीनमा सम्पन्न पारा एशियाली खेलकुदमा कांस्य पदक जित्दै पारा एशियालीमा पदक जित्ने पहिलो खेलाडी बनेकी थिइन्।

उनले गत टोकियो प्यारालिम्पिकमा पनि भाग लिएकी थिइन्। तर त्यो बेला उनी आयोजकले प्रदान गर्ने कोटा 'वाइल्ड कार्ड' मार्फत ओलिम्पिक्स पुगेकी थिइन्।

कसरी छानिइन् ?

पलेशा गोबर्धन

पारा ओलम्पिक्सको एशियन छनोटमा पलेशाले के-४४ अन्तर्गत महिला ५७ केजी मुनी तौल समूहमा स्वर्ण जितेकी हुन्।

के-४४ कुहिना भन्दा तलको भाग नभएका खेलाडीहरूको विधा हो। पलेशाको बायाँ हात छैन।

पलेशाले सेमिफाइनलमा उज्बेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८-२ को फराकिलो अन्तरले पराजित गरेकी थिइन्।

त्यसपछि फाइनलमा इरानकी लेल्ला मिर्जाईलाई प्रतिस्पर्धात्मक खेलमा ५-४ स्कोरले पराजित गरिन्।

एशियाबाट स्वर्ण विजेता खेलाडीले मात्र प्यारालिम्पिक्समा छनोट हुने प्रावधान छ।

उनको सफलता बारे ओलिम्पियन तेक्वान्दो खेलाडी दीपक विष्टले भने," यो नेपाली खेलकुदको अर्को सफलताको दिन हो। पलेशा निकै प्रतिभाशाली खेलाडी हुन्। मलाई विश्वास छ उनी ओलिम्पिक्समा पनि पदक जित्न सक्छिन्। "

को हुन् पलेशा ?

पलेशा गोबर्धन

पलेशा प्यारालिम्पिक्समा एकपछि अर्को अन्तर्राष्ट्रिय सफलता प्राप्त गरेकी पारा तेक्वान्दो खेलाडी हुन्।

उनको पारा तेक्वान्दोको सफलता ग्राफ लोभलाग्दो देखिने जानकारहरू बताउँछन्।

पाँच महिना अगाडि चीनको हान्झाउमा भएको पारा एशियाली खेलकुदको कांस्य पदक उनको पछिल्लो ऐतिहासिक उपलब्धि थियो।

किनकि पारा एशियनमा यसअघि कुनै नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन्।

सन् २०२१ मा जापानको टोकियो प्यारालिम्पिक्स सहभागितामा पनि पलेशाको प्रदर्शनले चर्चा पाएको थियो।

दुई जना खेलाडीलाई पराजित गरेपछि पदक पाउने खेलमा अन्तिम नौ सेकेन्ड सम्हालिन नसक्दा उनी पदकबाट विमुख हुन पुगिन्।

यद्यपि दुई बाउट जित्ने खेलाडीको रूपमा पनि त्यो नेपालको ऐतिहासिक सफलता थियो।

सन् २०२१ मा पलेशाले बहराइनमा सम्पन्न एशियाली यूथ पारा गेम्समा स्वर्ण पदक जितेकी थिइन्। त्यसले उनलाई चर्चाको चुलीमा पुर्‍याएको थियो।

त्यसअघि उनले पारा एशियाली यूथ गेम्समा कांस्य जितेकी थिइन्।

पारा तेक्वान्दोकी सर्वाधिक सफल खेलाडी पलेशाले तीन एशियाली च्याम्पिअनसिप र दुई विश्व च्याम्पिअनसिपमा भाग लिइसकेकी छिन्।

अब पेरिसमा हुने प्यारालिम्पिक्स उनको दोस्रो ओलिम्पिक सहभागिता हुनेछ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।