प्यारातेक्वान्दोमा उदाउँदै नेपालकी पलेशा गोवर्धन

पलेशा गोवर्धन
    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्युज नेपाली

पलेशा गोवर्धनको उज्यालो मुहारमा धेरै कुरा मिसिएको छ।

पलेशाका व्यवहार, मेहनत, आत्मविश्वास अनि सफलताका कथाहरू उनको अनुहारमा देख्न सकिन्छ।

जब उनी प्याराएशियाली खेलकुदका लागि छानिइन्, कतिपयलाई विश्वास थियो कि पलेशाले नयाँ इतिहास बनाउन सक्छिन्।

आखिर भयो पनि त्यस्तै।

चीनको हान्झाउमा सम्पन्न चौथो प्याराएशियाली खेलकुदमा तेक्वान्दोको के ४४ विधाको ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै पलेशाले कांस्य पदक प्राप्त गरिन्।

र, नेपालको पहिलो ऐतिहासिक पदक विजेता बनेर कहिल्यै नमेटिने इतिहास आफ्नो नाममा राख्न सफल भइन्।

'जित नेपालीहरूलाई समर्पित'

पलेशा

के ४४ भनेको "एउटा हातको कुहिनाभन्दा तलको भाग नहुने" खेलाडीको विधा हो। पलेशाको बायाँ हातका औँलाहरू पूर्ण रूपमा विकसित भएका छैनन्।

संयोग के रह्यो भने उनले विजयादशमीको दिन उक्त पदक प्राप्त गरेकी हुन्।

नेपालीहरू महान् चाड दशैँमा टिका लगाएर खुसी बाँडिरहेका बेला उनले थप खुसी थपिदिइन्।

पलेशाले भनिन्, " यो जित म सम्पूर्ण नेपालीहरूलाई समर्पित गर्न चाहन्छु।"

जुन सहरमा एशियाली खेलकुदको आयोजना हुन्छ, सोही शहरले प्याराएशियाली खेलकुद पनि गर्नुपर्ने नियम छ।

प्याराएशियाली खेलकुद अक्टोबर २२ देखि २८ सम्म आयोजना भएको थियो।

पलेशाले क्वार्टरफाइनलमा चीनकी लिटिङ याङलाई १४-१ को प्रभावशाली जित निकालिन्। तर सेमिफाइनलमा भने काजकिस्तानकी कामिलया डास्मोलोभासँग १६-१० को स्कोरमा उनी पराजित भइन्।

त्यसपछि पलेशाले कांस्य पदकका लागि रिपेचेज चरणमा खेल्नुपर्ने थियो। तर रिपेचेजमा बाई पाएपछि उनको कांस्य पदक निश्चित भयो।

प्याराएशियाडमा नेपालबाट विभिन्न १० खेलबाट १९ जना खेलाडीले सहभागिता जनाएका थिए, जसमा अन्य खेलाडीहरू भने पदकसम्म पुग्न सकेनन्।

पलेशा गोवर्धन

नयाँ परिचय

सन् २०१० मा तेक्वान्दोमा प्रवेश गरेकी पलेशाको लागि तेक्वान्दो सुरुमा एउटा 'रहर र रमाइलो' मात्रै थियो।

बायाँ हातका औँला राम्रोसँग विकसित नभई जन्मिएकी उनका लागि पछि तेक्वान्दो साहस र आत्मविश्वासको माध्यम बन्दै गयो।

बुबा प्रदीप गोवर्द्धनले छोरीलाई तेक्वान्दो स्कुलमा भर्ना गरिदिए।

तेक्वान्दोमा घुलमिल हुँदै जाँदा उनलाई प्याराखेलकुदको अर्थ बुझिन् र तेक्वान्दोमा करिअर खोज्न थालिन्।

उनको खेल कौशल निकै राम्रो थियो। यसले उनलाई एकपछि अर्को सफलतातिर दोहोर्‍याउन थाल्यो र नेपाली खेलकुद क्षेत्रमा उनी चर्चित पात्र बन्न पुगिन्।

उनले सन् २०१७ मा लन्डनमा भएको विश्व प्यारातेक्वान्दो च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सुरुआत गरेकी थिइन्।

प्यारातेक्वान्दोमा पलेशाको चर्चा पहिलो पटक सन् २०१८ मा भएको थियो, जुन बेला उनले भियतनाममा सम्पन्न चौथो एशियाली पारा तेक्वान्दो च्याम्पियनशिपमा कांस्य पदक जितेकी थिइन्।

त्यसपछि सन् २०१९ मा भएको पाँचौँ एशियाली प्याराखुला तेक्वान्दो च्याम्पियनसिप, सोही वर्ष टर्कीमा भएको आठौँ विश्व प्यारातेक्वान्दोमा नवौँ स्थानमा रहिन्।

साउदी अरेबियामा भएको विश्व प्यारातेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी उनले २०१९ मै टोकियो प्यारालिम्पिक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन्।

सन् २०२१ मा बहराइनमा सम्पन्न एशियाली यूथ पारा गेम्समा ऐतिहासिक स्वर्ण पदक जितेपछि पलेशाको चर्चा चुलिएको हो।

पलेशासँग लगातार तीन एसियन च्याम्पियनशिप र दुई विश्व च्याम्पियनसिपको अनुभव छ।

गत २०२१ टोकियो प्याराओलिम्पिकमा पलेशा पदकको नजिक नजिक पुगेर चुकेकी हुन्।

कांस्य पदकका लागि खेलेको भिडन्तमा खेल सकिनु ९ सेकेन्डसम्म उनी खेलमा अगाडि थिइन्। तर त्यसपछि सम्हालिन नसक्दा उनी पदकबाट वञ्चित हुन पुगिन्।

यद्यपि सो प्रतिस्पर्धामा दुई खेल जितेर उनले नयाँ इतिहास रचेकी थिइन्।

रोल मोडल

पलेशा गोवर्धन

यसमा शङ्का छैन, पलेशा नेपालको प्याराएथलेट दुनियाँकी रोल मोडल हुन्।

मेहनत, साहस र सफलताबाट उनी अरू थुप्रै 'प्यारा'हरूका पथप्रदर्शक बनिसकेकी छिन्।

उनले 'प्यारा' खेलाडीहरू र अन्य 'प्यारा' व्यक्तिहरूलाई अँध्यारोमा नबस्न र विभिन्न गतिविधिमा संलग्न हुन सुझाव दिइरहन्छिन्।

उनी भन्छिन्, "अधिकांश 'प्यारा' व्यक्तिहरू आफूलाई कमजोर ठान्छन् र गर्न सक्ने योग्य कामहरूबाट पनि पछि हट्ने गर्छन्। तर त्यसो होइन। हामीले अँध्यारो बाट उज्यालो तिर पाइला सार्नैपर्छ।"

आफ्नै उदाहरण अगाडि सार्ने उनी भन्छिन्, " म पहिले आफूलाई लुकाउन खोज्थेँ। तर त्यसो होइन, हामी जे छौँ त्यसैमा आफूलाई अगाडि बढाउनुपर्छ।"

खास गरी पढाइमा निरन्तर लाग्नुपर्ने उनको सुझाव छ।

उनी आफैँ पनि अहिले पढाइका लागि विदेशमा छिन्।

चीनको पढाइ र संयोग

पलेशा गोवर्धन

पलेशा चीनको शाङ्घाईस्थित टोङजी विश्व विद्यालय कलेज अफ आर्किटेक्चरमा अध्ययन गर्न उनी चीन पुगेकी हुन्। उनले पढाइ सुरु गरिसकेकी छिन्।

पढाइमा केन्द्रित हुने भएपछि पलेशाले एक समय तेक्वान्दोबाट टाढिने मनस्थितिमा थिइन्।

तर नेपाल तेक्वान्दो सङ्घले शाङ्घाईमा पनि प्रशिक्षणको व्यवस्था मिलाएपछि उनी प्याराएशियाली खेलकुदको लागि तयार भएकी हुन्।

शाङ्घाईमा प्रशिक्षण लिएर उनी हान्झाउ खेल्न पुगेकी हुन्।

ऐतिहासिक पदक जितेर अहिले पलेशा नेपाल फर्किएकी छिन्।

सारा नेपालीले अहिले यो ऐतिहासिक पदकको खुसियाली मनाइरहेका छन्।

स्वयं पलेशाले भने अब तेक्वान्दो करिअरलाई निरन्तरता दिने हो कि होइन त्यसको जबाफ दिएकी छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।