टर्कीका सुटर युसुफ डीचेक ओलिम्पिक्समा भाइरल हुनुको कारण

तस्बिर स्रोत, Getty Images
एउटा हात खल्ती छ, विशेष प्रकारको चस्मा पनि लगाएका छैनन् र साधारण टी-सर्ट लगाएर आनन्दित शैलीमा देखिएका टर्कीका ओलिम्पिक सुटर युसुफ डीकेचको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ।
केही मानिसहरूले त्यसमा प्रतिक्रिया जनाउँदै भनेका छन्, “टर्कीले ओलिम्पिक्समा हिटम्यान पठायो।” जसको अर्थ पैसा लिएर कसैको हत्याका लागि गोली चलाउने व्यक्ति भन्ने हुन्छ।
“म चिन्ता मुक्त देखिए पनि मेरो मनस्थिति ठ्याक्कै विपरीत थियो”, आफ्नो टोलीका लागि रजत पदक जित्न सफल भएपछि उनले टर्कीका सञ्चार माध्यमहरूसँग भने।
“तर म आनन्दित देखिँदा मेरा विपक्षीहरू निराश हुन्छन्,” उनले भने।
ओलिम्पिक्स खेल आयोजकको सामाजिक सञ्जालमा डीकेच र कोरियाली सुटर किम येजीको तस्बिर शेअर गर्दै उनीहरूलाई “हामीले पहिचान नगरेका ओलिम्पिक सुटिङ खेलका स्टारहरू” भनेको छ।
यो साता उनले आफ्नो टिमका तारहानसँग टर्कीका लागि पहिलो ओलिम्पिक पदक जितेर इतिहास बनाए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
उनका विपक्षीहरूले कैयौँ विशेष उपकरण प्रयोग गरिरहेको र उनी साधारण रूपमा देखिएको कुराले सामाजिक सञ्जालमा मिमहरू बने।
उनको आनन्दित शैलीबारे गरिएको प्रश्नमा ५१ वर्षका डीकेचले आफू “स्वाभाविक सुटर” भएको प्रतिक्रिया दिए।
“कतिपय रेफ्रीले सोध्छन्, ‘तिमिसँग सुटिङको चस्मा र विशेष जुत्ता छैन?’”
“म त्यसमा जवाफ दिन्छु, ‘छैन, म स्वाभाविक सुटर हो’ अनि हामी सबै जना हाँस्छौँ।”

तस्बिर स्रोत, Getty Images
उनको हात खल्तीमा देखिनुको कारण चाहिँ उनी शान्त भएर होइन। सुटरहरूले आफ्नो राम्रो सन्तुलनका लागि यस्तो गर्छन्।
डीचेचको सुटिङ सीप खेलाडी भएका कारण मात्रै विकास भएको होइन। उनी एक सिपाही पनि हुन्।
उनी टर्कीको अर्धसैनिक बलका अवकाशप्राप्त अधिकारी हुन्।
उनी आफू २८ वर्षको हुँदा यो खेलमा आबद्ध भएका हुन्। यो पटक उनले लगातार पाँचौँ पटक ओलिम्पिक्समा प्रतिस्पर्धा गरेका हुन्। तर उनले त्यसका लागि तालिम दिने व्यक्तिसँग सिकेनन्।
“तालिममा म आफ्नो शरीरको सन्तुलनमा बढी ध्यान दिन्छु। यदि म सँग प्रशिक्षक भए भने उनले मेरो शरीरको सन्तुलन मूल्याङ्कन गरेर तालिमको कार्ययोजना बनाइदिन्छन्,” उनले भने।
प्रशिक्षकबिनै उनले सन् २०१४ मा दुई वटा विश्व च्याम्पिअन जिते, एउटा २५ मिटर स्ट्यान्डर्ड पेस्तोल र २५ मिटर सेन्टर फायर पेस्तोल प्रतिस्पर्धामा। यो पटक सन् २०२४ को ओलिम्पिक्समा उनले १० मिटर एअर पेस्तोलमा रजत पदक जिते।
उनले सातौँ पटकसम्म युरोपेली च्याम्पिअनसिप समेत जितेका छन्। सबैभन्दा पछिल्लो पटक उनको जित यसै वर्ष हङ्गेरीमा भएको थियो।

तस्बिर स्रोत, Reuters
टर्कीमा फर्किएपछि उनले अमेरिकाको लस एन्जलसमा हुने सन् २०२८ को समर ओलिम्पिक्समा प्रतिस्पर्धा गर्ने आफ्नो लक्ष्य सुनाएर। त्यसका लागि स्वास्थ्यले साथ दिने उनको विश्वास छ।
“म आजैबाट सन् २०२८ को ओलिम्पिक्सका लागि तयारी सुरु गर्छु। अनि हामीले स्वर्णपदक नजितेसम्म म त्यसलाई निरन्तरता दिन्छु। हामीले अन्तिम क्षणमा हार्यौँ त्यो दुर्भाग्य बन्यो", उनले भने।

तस्बिर स्रोत, Getty Images
"मैले (स्वर्ण जित्ने साइबेरियाली टोलीलाई) भनिसकेको छु हामीले उनीहरूलाई २०२८ मा फिर्ता गर्ने गरी मात्रै उनीहरूलाई पदक दिएका हौँ।”
उनको ओलिम्पिक्स पृष्ठमा भनिएको छ “खल्तीमा हात राखेर सफलता हात पर्दैन।।”
तर रोचक के छ भने उनको पछिल्लो पदक एउटा हात खल्तीमा राखेरै जिते। तर त्यसपछाडि उनको वर्षौँको तालिम र कठिन मेहनत छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








