प्यारिस ओलिम्पिक्स: एथ्लेटिक्समा नयाँ विश्व कीर्तिमान बनाउन गाह्रो हुँदै गएको हो

तस्बिर स्रोत, Reuters
जुलाईमा युक्रेनी खेलाडी यारोस्लाभा महुचिखले महिलातर्फको हाईजम्पमा ३७ वर्ष पुरानो कीर्तिमान भङ्ग गरिन्।
उनी अहिलेको प्यारिस ओलिम्पिक्समा धेरैको नजरमा परेकी खेलाडीमध्ये पर्छिन्।
खेल क्षेत्रका धुरन्धरहरू उनको उपलब्धिलाई विशेष मान्छन्। एथ्लेटिक्सका धेरैजसो विश्वकीर्तिमानहरू सन् १९८० को दशकमा भङ्ग भएका थिए।
महुचिखको ऐतिहासिक उपलब्धि

तस्बिर स्रोत, Getty Images
जुलाई ७ मा प्यारिस डायमन्ड लीगमा बाईस वर्षीया विश्व च्याम्पियन यारोस्लाभा महुचिखले कीर्तिमान रहने गरी २.१० मिटरको उचाइ पार गरिन्। यसअघि उक्त कीर्तिमान २.०९ मिटरको उचाइका निम्ति बल्गेरियाकी स्टेफ्का कोस्तादिनोभाको नाममा थियो।
कोस्तादिनोभाले महुचिखको नयाँ कीर्तिमान "ऐतिहासिक" भएको बताइन्। सैँतीस वर्षदेखि कायम रहँदै आएको कीर्तिमानभन्दा उत्तम भएकाले मात्रै उनले यसो भनेकी होइनन्। उनका अनुसार २.१० मिटरको रेकर्ड "मानवीय क्षमताको कुनै सीमा छैन भन्ने प्रमाण भएकाले र एथ्लेटिक्सका केही निश्चित कीर्तिमानहरू सधैँका निम्ति हुन् भन्ने केही निराशवादीहरूको दाबीलाई गलत साबित गरेकाले पनि यो ऐतिहासिक हो।"
सन् २०२२ मा युक्रेनमाथि रुसी आक्रमण सुरु भएको अर्को साता महुचिखले आफ्नो परिवार र गृहनगर निप्रो त्यागिन्।
उनलाई निप्रोबाट २००० किलोमिटरको यात्रा तय गरेर सर्बियाको बेलग्रेड पुग्न तीन दिन लाग्यो। त्यहाँ उनले वर्ल्ड इन्डोर च्याम्पिअनशीपमा २.०२ मिटरको उचाइ नाघेर स्वर्ण पदकसहितको उपाधि जितिन्।
उनी अहिले पोर्चुगलमा बस्छिन्।
आफ्नो कीर्तिमानी उफ्राइप्रति उत्साहित महुचिखले पत्रकारहरूसँग "अन्तत: युक्रेनलाई विश्व एथ्लेटिक्सको इतिहासमा सामेल गराउन सफल भएको" बताइन्।
यी युक्रेनी एथ्लीटले प्यारिस ओलिम्पिक्स २०२४ मा स्वर्ण जित्ने आशा गरेकी छन्।
एथ्लेटिक्सका पूर्व कीर्तिमानहरू

तस्बिर स्रोत, Getty Images
इतिहासकै सबैभन्दा तिव्र गतिका धावक जमैकाका उसैन बोल्ट हुन्। सन् २००८ मा बर्लिनमा भएको विश्व च्याम्पिअनशीपमा उनी १०० मिटरको दूरी ९.६ सेकेन्डभन्दा कम ९.५८ सेकेन्डमै तय गर्ने पहिलो पुरुष बने।
पन्ध्र सय मिटर र एक माइल; दुवैको विश्व कीर्तिमान हाल केन्याका फेइथ किप्येगनसँग छ। उनले क्रमश: सन् २०२४ र २०२३ मा उक्त कीर्तिमान बनाएका थिए।
त्यस्तै महिलातर्फको ट्रिपल जम्पको विश्व कीर्तिमान १५.७४ मिटरका निम्ति भेनेजुएलाकी युलिमार रोजाजसँग छ।
पत्रकार तथा युक्रेनका सैन्य अधिकृत युरी ओनुस्चेन्कोका अनुसार लामो समयसम्म पनि तोड्न नसकिएका विश्व कीर्तिमानहरू असीको दशकको उत्तरार्धमा कायम भएका थिए जुन समयलाई प्रतिबन्धित औषधिहरूको जगजगीको समय मानिन्थ्यो।

तस्बिर स्रोत, Getty Images
"धेरै एथ्लीटहरूले हार्मोन तथा स्टेरोइडहरूको मिश्रण सेवन गर्दथे। यो ३५–४० वर्षमा प्रविधि, पोषण र तालिमका क्षेत्रमा धेरै विकास भइसकेको छ। तैपनि आजका एथ्लीटहरूका निम्ति पुरानो कीर्तिमान भङ्ग गर्ने कुरा आकाशको फलजस्तो छ।"
"केही हदसम्म निश्चित भएर भन्न सकिन्छ र त्यसो भन्नु सही पनि हुन्छ कि त्यतिखेर बनाइएका अधिकांश कीर्तिमानहरूमा केही हदसम्म शक्तिबर्धक औषधिहरूको भूमिका थियो। ती त्यतिखेर वैध पनि थिए। तर अहिले ती औषधिहरू स्पष्ट रूपमा अवैध छन्," सफोक विश्वविद्यालयमा खेल तथा व्यायाम विज्ञान विषयका भिजिटिङ प्रोफेसर जोन ब्रुअर भन्छन्।
"प्रतिबन्धित औषधिको परीक्षण र यससम्बन्धी शिक्षण कार्यक्रम आजसम्मकै उत्तम स्थितिमा छ। साथै वर्ल्ड एन्टी–डोपिङ एजेन्सी (डब्ल्यूएडीए) को मार्गनिर्देशनमा काम गर्ने गरी हरेक देशसँग आफ्नै डोपिङ निकाय हुनेछन्।"

तस्बिर स्रोत, Getty Images
सन् १९८५ अक्टोबर ६ मा पूर्वी जर्मनीकी एथ्लीट मारिटा कोखले ४७.६ सेकेन्डमा ४०० मिटर पुरा गर्दै विश्व कीर्तिमान कायम गरिन्।
अरु कोही खेलाडी निकटसम्म समेत पुग्न नसकेपछि अष्ट्रेलियाको क्यानबेरामा आयोजित विश्वकपमा रचिएको उनको कीर्तिमान विवादमा पर्यो। उनले यस्तो समयमा प्रतिस्पर्धा गरेकी थिइन् जतिबेला पूर्वी जर्मनी आफ्नो एथ्लीटहरूलाई व्यवस्थित रूपमा डोपिङ गराउने कार्यका निम्ति चिनिन्थ्यो। भलै उनी ड्रग्स परीक्षणमा कहिल्यै असफल भइनन् र आफू निर्दोष भएको कुरालाई व्यवस्थापन गरिराखिन्।

तस्बिर स्रोत, Getty Images
अमेरिकी धावक फ्लोरेन्स ग्रिफिथ जोयनरले सन् १९८८ मा महिलातर्फको सय र दुई सय मिटरमा विश्व रेकर्ड बनाइन्। उक्त गृष्मकालिन ओलिम्पिकमा उनले निकटतम् प्रतिस्पर्धीलाई ०.३० सेकेन्डले पछि पार्दै १०० मिटरको फाइनल १०.५४ सेकेन्डमा पूरा गरिन्। उनले २१.५६ सेकेन्डको विश्व कीर्तिमान बनाइन् र त्यसलाई ०.२२ सेकेन्डले भङ्ग गर्दै फाइनलमा २१.३४ सेकेन्डमा दूरी तय गर्दै जित हासिल गरिन्।
ती दुवै कीर्तिमान आजसम्म पनि कायम छन्।
उनीमाथि पनि ड्रग प्रयोग गरेको शंका गरियो। नियमित रूपमा उनको परीक्षण नभएको होइन। सन् १९८८ मा मात्रै उनको ११ पटक परीक्षण भयो, तर रिपोर्टमा उनले प्रतिबन्धित औषधि लिने गरेको देखिएन।

तस्बिर स्रोत, Getty Images
महिलातर्फको लङ–जम्पको कीर्तिमान पनि अझै कायम छ। पूर्व सोभियत संघकी गेलिना चिस्त्याकोभाको नाममा उक्त कीर्तिमान छ। सन् १९८८ को ११ जुनमा लेनिनग्रादमा उनले ७.५२ मिटर फड्किइन्।
एथ्लेटिक्सको सबैभन्दा पूरानो ट्र्याक कीर्तिमान जर्मिला क्रात्चोभिलोभाको नाममा छ। सन् १९८३ मा उनले १:५३:२८ को समयमा ८०० मिटर पूरा गर्दै विश्व कीर्तिमान भङ्ग गरेकी हुन्।
मानव प्रदर्शनका सीमा
प्राध्यापक ब्रुअरका अनुसार विश्व एथ्लेटिक्सको कीर्तिमानहरू भङ्ग गर्न कठिन हुँदै गइरहेको छ।
"प्रत्येक वर्षका आयोजनाहरूमा प्रदर्शनहरू सुधारिएका छन्, तर अन्तत: मान्छेको शरीर यसले प्रदर्शन गर्न सक्ने सीमासम्म पुग्नेछ," उनले भने।
"समयक्रममा हामीले समयमा तथा प्रदर्शनमा ठुल्ठुला सुधार भएको देख्यौँ। तर मानिसको शरीर उसको क्षमताको अन्तिम सीमामा पुगेसँगै सुधारहरू बिस्तारै स्थिर हुन थाल्नेछन्।"
"तथापि मेरो विचारमा तालिम र प्रशिक्षण तथा खेलकुद विज्ञान र प्रविधिमा भएको विकासमार्फत् हामी भोलिका आयोजनाहरूमा सुधारको निरन्तर खोजी गर्नेछौँ। यद्यपि सुधारको गति क्रमिक रूपले कम हुँदै जानेछ। हामीले धेरै खेलहरूमा त्यसो भएको देखिराखेका छौँ।"
ट्र्याकको विकास तथा दौडिँदा लगाउने कार्बन फाइबर जुत्ता प्राविधिक प्रगतिका राम्रा उदाहरण भएको प्राध्यापक ब्रुअर बताउँछन्। "तीनले जमिनमा खुट्टा ठोक्किँदा पर्ने प्रभावलाई कम गरिदिन्छन् र धावकलाई अघि बढ्न मद्दत गर्छन्।"
"धावकहरू कम उर्जा र कम प्रयत्नमा छिटो दौडन सक्षम हुन्छन्, यसको अर्थ उनीहरू लामो समयसम्म तीव्र गतिमा दौडिन सक्नेछन् भन्ने हो," उनले थपे।

तस्बिर स्रोत, Getty Images
खेल मनोविद् तथा ल्याटिट्युड पर्फमेन्सकी संस्थापक सोफी ब्रुसका अनुसार प्रविधिको सहारामा एथ्लीटहरूको खेल प्रदर्शन मापन गर्न सकिए पनि उनीहरूको प्रेरणा, मनोदशा र उनीहरूलाई अघि धकेल्ने तत्वको मापन गर्न कठिन हुन्छ।
"जब तपाईँ उत्कृष्ट प्रदर्शनलाई सही समयमा सही मान्छे र यी (माथि उल्लेखित) सबैको सङ्गमका रूपमा बुझ्नुहुन्छ, तपाईँ कीर्तिमान भङ्ग गर्न कति कठिन छ भन्ने बुझ्न थाल्नुहुन्छ," उनी भन्छिन्।
"रेकर्डहरू केवल तोडिनका निम्ति बन्दैनन्। ती प्रगति र विकासका सङ्केत पनि हुन्।"
"तिनले इतिहासका ती उत्कृष्ट क्षणहरूको प्रतिनिधित्व गरेका हुन्छन् जहाँ असम्भव कुरा सम्भव भएको हुन्छ र एथ्लीटहरूले असाधारण उपलब्धि हासिल गरेका हुन्छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








