यूरो कपमा लमिन यमालले जितसँगै रचेको इतिहास

तस्बिर स्रोत, PA Media
- Author, इम्लिन बेग्ली
- Role, बीबीसी खेल संवाददाता
लमिन यमालको उमेरमा पेलेको ६६ वर्ष पुरानो विश्व कीर्तिमान तोड्नु सायद लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोका लागि सपना मात्र थियो।
लमिन यमालले गत वर्षदेखि फुटबलको क्षेत्रमा तहल्का मच्चाएका छन् भन्नु अनुचित हुँदैन। शनिवार यूरो कप जितेसँगै त उनी त्यसको शिखरमै पुगे। उनी यो तथा विश्वकपको उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। उपाधि उचाल्दै गर्दा यमाल केवल १७ वर्ष एक दिनका थिए।
यी बार्सिलोनाका आक्रामक 'फर्वार्ड'ले इङ्ग्ल्यान्डविरुद्धको फाइनल खेलमा २–१ को जित निकाल्ने क्रममा निको विलियम्सका लागि पहिलो गोलको अवसर तयार पार्नुका साथै विपक्षी गोलरक्षक जोर्डन पिक्फोर्डलाई दुई पटक आच्छुआच्छु पारे।
यमालले यूरो २०२४ मा एक गोल गरे भने चार वटामा सघाए।
सन् १९८० मा रेकर्ड सुरु भएयता एउटै यूरोपिअन च्याम्पिअन्शिपमा कसैले पनि उनले जति गोलका निम्ति निर्णायक स्थिति पैदा गरेको थिएन।
प्रतियोगिताको क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेलमा यमालले उपलब्धि हासिल गर्नुअघि कुनै पनि खेलाडी यति प्रत्यक्ष संलग्न थिएनन्।
त्यसैले उनलाई 'प्रतियोगिताको युवा खेलाडी'को उपाधि दिइएकोमा अचम्भीत हुन परेन।
"म एकदम खुसी छु। यो मेरो सपना हो," उनले भने, "म अब स्पेन फर्केर आफ्ना प्रशंसकहरूसँग खुसीयाली साट्नेबारे सोच्दै छु। यो मेरो जन्मदिनको आजसम्मकै सबैभन्दा सुन्दर उपाहर हो।"
इङ्ग्ल्यान्डका पूर्वडिफेन्डर रिओ फर्डिनान्डले यमाललाई 'सनसनीपूर्ण' र 'स्तरीय खेलाडी'को सङ्ज्ञा दिए।
"प्रतियोगिताअघि उनी स्टार थिए। अहिले सुपरस्टार भएका छन्," उनले भने।
केही सातायता यमाल यूरो कपमा भाग लिने कान्छा खेलाडी, गोल गर्न सघाउने खेलाडी र गोल गर्ने खेलाडी बनेका छन्।
सम्भावनाको कुरा मात्र होइन, उनी विश्वकै सबैभन्दा आकर्षक खेलाडीमध्येका बनिसकेका छन्।
बीबीसी वनका निम्ति काम गरिरहेका स्पेनका पूर्वमिड्फिल्डर जुआन माता भन्छन्, "म हिजो साँझ जाभी (बार्सिलोनाका व्यवस्थापक)सँग खाना खाइरहेको थिएँ। उनले आफूले यमालजत्तिको गुणस्तरीय खेलाडी आफूले नदेखेको बताए।"
ती तिनै जाभी हुन् जो बार्सिलोनामा मेस्सीसँगै खेल्ने गर्थे।
"म खेलाडीहरूको बीचमा वा मेस्सीसँग तुलना गर्न त चाहन्न, तर यमाललाई कुनै सीमाले रोक्न सक्दैन," माताले थपे।
शनिवार १७ वर्ष टेकेका बार्सिलोना 'फर्वार्ड' यमालले अहिलेसम्मको करिअरमा केके हासिल गरे र यो किन विशेष छ?
यमालको सफलता कति दुर्लभ रह्यो?

तस्बिर स्रोत, EPA
सत्र वर्ष लाग्नुअघि यमालले बार्सिलोनाका निम्ति ५१ पटक खेले, जसमा सात गोल गरे भने सातमा सघाए।
स्पेनका निम्ति यो उनको १४ औँ उपस्थिति हो। स्पेनका लागि उनले अहिलेसम्म तीन गोल र सात सहयोग गरेका छन्।
तुलनै गर्नुपर्दा यस पुस्ताका दुई महान् खेलाडीमध्ये न त मेस्सीले न रोनाल्डोले नै १६ वर्षको उमेरमा देश वा क्लबका निम्ति पहिलो समूहगत खेल खेलेका थिए।
'बालन डोर'का निम्ति मेस्सी र रोनाल्डोलाई प्रतिस्थापित गर्न सक्ने खेलाडीहरूलाई हेरियो भने फ्रान्सका किलियान एम्बाप्पे र नर्वेका अर्लिङ हल्यान्ड देखा पर्छन्। यो उमेरमा उनीहरूको आँकडालाई यमालसँग तुलना गर्न मिल्दैन।
एम्बाप्पेले १७ वर्ष लाग्नुअघि मोनाकोका निम्ति चार खेल खेलेका थिए र एक गोलमा सहयोग गरेका थिए। त्यहीँ हल्यान्डले नर्वेमा ब्रिअन र मोल्डका निम्ति २३ खेल खेल्नुका साथै एक गोल गरेका थिए।
यमालले तोडेका क्लब रेकर्डहरू

तस्बिर स्रोत, Reuters
यमालले सबै सफलता १६ वर्षकै उमेरमा पाएका होइनन्। उनी बार्सिलोनाका निम्ति खेल्न थाल्दै गर्दा उनी अझै कान्छा थिए।
'ला लिगा एरा'का निम्ति बार्सिलोनाका कान्छा खेलाडीका रूपमा मैदान छिर्दै गर्दा उनी १५ वर्ष २९० दिनका थिए। उक्त खेलमा उनले खेल सकिन छ मिनेट बाँकी छँदा गाभीलाई प्रतिस्थापन गरेका थिए। सन् २०२३ को २९ एप्रिलमा भएको उक्त खेल बार्सिलोनाले ४–० ले जित्यो।
सोही वर्षको २० अगस्टमा क्याडिजविरुद्ध २–० को जित हासिल गरिरहँदा उनी १६ वर्ष ३८ दिनको उमेरका थिए। यसरी उनी सन् १९३९ यताकै ला लिगा खेल्ने कान्छा खेलाडी बने।
त्यसको एक सातामै उनी एक्काइसौँ शताब्दीमा ला लिगामा गोल गर्न सघाउने सबैभन्दा कान्छा खेलाडी बने। त्यस बेला उनले गाभीलाई हेडमार्फत् गोल गर्ने मौका मिलाएका थिए। उक्त खेलमा उनीहरूले भिलेरिअलविरूद्ध ४–३ को जित निकाले।
उनी १६ वर्ष ८३ दिनको उमेरमा च्याम्पिअन्स लीग खेल्न सुरु गर्ने कान्छा खेलाडी बने। अक्टोबर ४ मा भएको उक्त खेलमा पोर्टो १–० ले हार्यो।
त्यसको चार दिनमा उनले ला लिगामा स्कोर गर्ने कान्छा खेलाडीका रूपमा इतिहास रचे। उनले मध्यान्तरअघि गरेको गोलका कारण ग्रानडासँगको खेल २–२ को बराबरीमा रोकियो।
उनी 'अल क्लासिको' खेल्ने कान्छा खेलाडी समेत हुन्। त्यस्तै उनी १६ वर्ष १५३ दिनको उमेरमा एनट्र्रोएपमा भएको च्याम्पिअन्स लीगमा गोलका निम्ति सघाउने कान्छा खेलाडी हुन् भने स्प्यानिश सूपर कपमा गोल गर्ने कान्छा खेलाडीसमेत हुन्।
उनी यो शताब्दीमा स्प्यानिश लीगमा गोल गर्ने कान्छा खेलाडी हुन्। त्यस्तै ला लिगामा दुई गोल गर्ने कान्छा खेलाडी पनि हुन्। यमाल उक्त च्याम्पिअन्शिपको नकआउट तथा क्वार्टरफाइनल खेल्ने कान्छा खेलाडीसमेत हुन्।
सबैभन्दा कम उमेरमा बार्सिलोनाका निम्ति ५० पटक मैदानमा उत्रने खेलाडीको कीर्तिमान पनि उनकै नाममा छ भने च्यापिअन्शिपका १० खेल खेल्ने कान्छा खेलाडीको कीर्तिमान पनि उनकै नाममा छ।
यद्यपि यमाल अर्मान्ड मार्टिनेज सेगीको रेकर्डको हाराहारी भने छैनन्। मार्टिनेज बार्सिलोनाका निम्ति गोल गर्ने आजसम्मै कान्छा खेलाडी हुन्। सन् १९२० मा कातालान च्याम्पिअन्शिपमा गोल गर्दै गर्दा उनी केवल १४ वर्षका थिए। यो स्पेन न्याश्नल लीग सुरु हुनुभन्दा नौ वर्षअघिको कुरा हो।
उनले च्याम्पिअन्शिप लिगमा गोल गर्नै बाँकी छ तर अब उनीसँग सन् २०१९ मा बार्सिलोनाका निम्ति इन्टर मिलानविरुद्ध १७ वर्ष ४० दिनको उमेरमा गोल गरेका अन्सु फातीको कीर्तिमान तोड्ने मौका भने उपलब्ध छैन।
यमालले स्पेनमा कुनकुन रेकर्ड तोडे?

तस्बिर स्रोत, Reuters
सन् २०२३ अक्टोबार ८ मा यमाल यूरो कप छनौटको सोही खेलका निम्ति स्पेनको सबैभन्दा कान्छा गोलकर्ता बने, जुन खेलमा उनको समूहले जोर्जालाई ७–१ ले हरायो। मध्यान्तरअघि डानी ओल्मोलाई प्रतिस्थापित गर्दै गर्दा उनको उमेर १६ वर्ष ५७ दिनको थियो।
नर्वेका मार्टिन ओडेगार्ड मात्र उनीभन्दा कम उमेरमा यूरोपिअन च्याम्पिअन्शिप खेल्ने खेलाडी हुन्, जसको उमेर त्यतिखेर १५ वर्ष ३०० दिनको थियो।
ग्रीष्मकालीन फाइनलमा त यमालले तोड्न बाँकी जति लगभग सबै कीर्तिमान तोडेका छन्, भलै उनी खाली समयमा विद्यालयको गृहकार्य गरिरहेका किन नहोऊन्।
उनी पुरुष यूरो कप खेल्ने पहिलो १६ वर्षे किशोर हुन्। उनले क्रोएशियाविरुद्धको खेलबाट यसको सुरुवात गरेका थिए।
उनले ३–० ले स्पेनको पक्षमा आएको उक्त खेलमा डानी कार्भजल्सलाई गोलका निम्ति सघाएर यूरो कप इतिहासकै कम उमेरमा गोलका निम्ति सघाउने खेलाडीको कीर्तिमान राखे।
सेमिफाइनलमा फ्रान्सविरुद्ध गोल गरेर उनले यूरोपिअन च्याम्पिअन्शिप इतिहासकै कान्छा गोलकर्ताको कीर्तिमान राखे। त्यतिखेर उनी केवल १६ वर्ष ३६२ दिनका थिए।
उक्त खेलमा उनले सन् १९५८ देखि कायम रहँदै आएका पेलेका दुई कीर्तिमानलाई पछाडि छाडिदिए। पहिलो – यूरो वा विश्वकपमा गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडी। दोस्रो – दुईमध्ये कुनै पनि प्रतियोगिताको सेमिफाइनलमा पुग्ने कम उमेरको खेलाडी।
त्यसपछि उनले कुनै एउटा प्रतियोगिताको फाइनलमा पुग्ने सबैभन्दा कम उमेरको खेलाडीका रूपमा कीर्तिमान बनाउँदै पेलेलाई पछाडि छाडे।
उनी थोरैले चुकेको भनेको यूरोकपमा स्कोर गर्ने पहिलो १६ वर्षीय तथा पहिलो १७ वर्षीय खेलाडीको रेकर्ड राख्न मात्रै हो।
उनी यस पटकको फाइनलको एक दिनअघि मात्रै १७ वर्ष पूरा गरेका थिए। यसअघिका यूरो कपमा कान्छा गोलकर्ता जोहान भोलेन्थन थिए, जसले १८ वर्षको उमेरमा गोल गरेका थिए।
सन् २०२३ मा डेब्यू गरेयता तीन गोल र सहयोगसहित यमाल अन्य खेलाडीभन्दा धेरै गोलमा संलग्न हुने खेलाडी बनेका छन्।
अनि त्यो तस्बिर

तस्बिर स्रोत, JOAN MONFORT/AP
सन् २००७ मा बार्सिलोनाको 'क्याम्प नू'मा एउटा च्यारिटी क्यालेन्डर फोटोशूटका क्रममा लिइएको एउटा तस्बिर अहिले चर्चामा छ।
उक्त तस्बिरमा त्यो बेला २० वर्षीय मेस्सीले यमाललाई नुहाउन मद्दत गरिरहेका छन्।
युनिसेफले एउटा चिट्ठा कार्यक्रम चलाउँदै गर्दा उक्त फोटो लिइएको थियो। यमालको परिवार त्यतिखेर त्यहाँ बसोबास गर्दथ्यो।
फोटोग्राफर जोन मन्फर्टले गत सातामात्रै तस्बिरमा देखिएका बालक यमाल हुन् भन्ने थाहा पाएका थिए। उनी एपीका निम्ति स्वतन्त्र रूपमा फोटो खिच्छन्।
"उनी (मेस्सी) लकर कोठाबाट बाहिर निस्कँदै थिए, उनले अचानक अर्को लकर कोठामा पानीले भरिएको एउटा प्लास्टिकको टबमा एउटा बालकलाई देखे। अप्ठ्यारोअप्ठ्यारो थियो। उनले सुरुमा त बच्चालाई कसरी समात्ने भन्ने पनि मेसो पाएनन्," मन्फर्टले सम्झिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








