मेस्सी र लमिन यमालबीच १६ वर्षअघि भएको त्यो दुर्लभ भेट

तस्बिर स्रोत, Joan Monfort/AP
- Author, जोर्ज राइट
- Role, बीबीसी न्यूज
सन् २००७ मा लिओनेल मेस्सीले बार्सिलोना फुटबल क्लबको रङ्गशाला 'क्याम्प नू'को ड्रेसिङ रूममा एउटा परोपकारी कार्यका लागि भित्तेपात्रोमा छाप्ने उद्देश्यले एक शिशुसँग फोटो खिचाएका थिए।
त्यतिबेला मेस्सी २० वर्षका थिए र फुटबल खेलाडीका रूपमा उनले चर्चा बटुल्न थालिसकेका थिए। कालान्तरमा उनी निकै प्रतिभावान् र सफल खेलाडीका रूपमा स्थापित भए।
त्यतिबेला तस्बिर खिच्ने फोटोग्राफर वा अरू कसैले पनि ती शिशु १७ वर्षभन्दा कम अवधिमा अन्तर्राष्ट्रिय फुटबलमा प्रभावशाली खेलाडीका रूपमा उदाउँछन् भन्ने कल्पना पनि गरेका थिएनन्।
तस्बिर खिचाउन मेस्सीले काखेबालक लमिन यमाललाई नुहाएदिएका थिए। तिनै यमालले अहिले जारी यूरो कपमा निकै चर्चा कमाएका छन्।
यूरोमा लमिन यमाल र कोपा अमेरिकामा मेस्सी
जर्मनीमा जारी यूरो कप फुटबलको सेमिफाइनलमा यमालले मङ्गलवार फ्रान्सविरुद्ध गोल गरे। उक्त गोलको दशकौँसम्म चर्चा हुने छ किनकि उनले यूरो कपको इतिहासमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडीको इतिहास बनाएका छन्।
गोल गर्दा यमाल १६ वर्ष ३६२ दिनका थिए।
फ्रान्सले एक गोल गरेपछि पछाडि परेको स्पेनलाई यमालले बराबरीको स्थितिमा पुर्याए। दानी ओल्माले गरेको अर्को गोलको सहयोगमा स्पेन विजयी भयो। तीनवटै गोल खेलको पूर्वार्धमा भएका थिए।
यूरो कपको फाइनल खेल जुलाई १४ आइतवार राति (नेपाली समयानुसार मध्यरातपछि) हुने छ।

तस्बिर स्रोत, Getty Images
अहिले कोपा अमेरिका पनि चलिरहेको छ। बुधवार भएको सेमिफाइनल खेलमा क्यानडालाई हराउँदै आर्जेन्टिना प्रतियोगिताको फाइनलमा पुगेको छ।
आर्जेन्टिनाले २-० ले जितेको सो खेलमा मेस्सीले एक गोल गरेका थिए।
कोपा अमेरिकाको फाइनल खेल जुलाई १५ को दिन सोमवार हुने छ।

तस्बिर स्रोत, Getty Images
यमालले कसरी पाएका थिए अवसर
लामो समयसम्म कसैले वास्ता नगरेको तस्बिर गत साता सामाजिक सञ्जालमा देखा पर्यो।
यमालका बुवाले गत साता "दुई प्रतिभाशाली खेलाडीको थालनी" भन्ने वाक्यसहित एउटा तस्बिर इन्स्टाग्राममा पोस्ट गरे।
समाचारसंस्था एपीका लागि काम गर्ने जोन मन्फर्टले मेस्सी र यमालका तस्बिरहरू खिचेका थिए।
लमिनको परिवार बस्दै आएको मातारो सहरमा यूनिसेफले गोलाप्रथा गरेपछि ती तस्बिर खिचिएको मन्फर्ट बताउँछन्।
"उनीहरूले बार्साका एक खेलाडीसँग क्याम्प नूमा तस्बिर खिच्न पाउने अवसरका लागि नाम दर्ता गरेका थिए। अनि उनीहरूले जिते," मन्फर्टले एपीसँग भने।
उक्त काम त्यति सजिलो भने नभएको उनी बताउँछन्।
"मेस्सी निकै अन्तर्मुखी छन्, उनी लजालु छन्," उनले भने।
"उनी लकर रूमबाट बाहिर निस्किँदै थिए, अनि उनी अकस्मात् पानी भरिएको प्लास्टिकको बाटामा एउटा बच्चा राखिएको अर्को कोठामा पुगे। त्यो अलमल पार्ने खालको कुरा थियो। सुरुमा त उनलाई ती बालकलाई कसरी समात्ने भन्ने पनि थाहा थिएन।"

तस्बिर स्रोत, Joan Monfort/AP
यमालको बार्सिलोना यात्रा
मेस्सीले जसरी नै यमालले पनि बार्सिलोनाबाट खेले।
उक्त क्लबबाट खेल्ने उनी सबैभन्दा कान्छा खेलाडी र गोलकर्ता हुन्। उनी स्पेनिश लीग 'ला लिगा' मा पनि गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन्।
गत साता अनलाइन माध्यममा तस्बिर भाइरल हुन थालेपछि त्यसमा भएका शिशु यमाल भएको मन्फर्टले भेउ पाए।
"त्यति धेरै सनसनी फैलाएको कुरामा नाम जोडिनु निकै रमाइलो कुरा हो," उनले भने।
"साँच्चै भन्नुपर्दा यो निकै सुखद अनुभूति हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








