अफगानिस्तान: दुई वरिष्ठ तालिबान नेताबीच राष्ट्रपति भवनमा 'चर्काचर्की, समर्थकबीच झगडा'

अफगानिस्तान

तस्बिर स्रोत, AFP

तालिबान नेताहरूबीच अफगानिस्तानमा नयाँ सरकारको संरचनाको विषयमा एउटा ठूलो विवाद उत्पन्न भएको वरिष्ठ तालिबान नेताहरूले बीबीसीलाई बताएका छन्।

राष्ट्रपति भवनमा उक्त लडाकु समूहका सहसंस्थापक मुल्लाह अब्दुल गनी बरादर र एक मन्त्रीबीच चर्काचर्की परेको उनीहरूले बताएका हुन्।

बरादर सार्वजनिक रूपमा देखा नपरेकाले तालिबान नेतृत्वमा मतभेद रहेको अपुष्ट विवरण आएको थियो।

तर यसलाई औपचारिक रूपमा भने अस्वीकार गरिएको छ।

गत महिना तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गरेको थियो।

त्यसपछि उक्त अतिवादी इस्लामिक समूहले देशलाई "इस्लामिक इमिरात" घोषणा गरेको छ।

नवगठित अन्तरिम मन्त्रिपरिषद्‌मा सबै सदस्य पुरूष छन्। सरकारमा वरिष्ठ तालिबान नेताहरू छन्। तीमध्ये केही विगत दुई दशकमा अमेरिकी सेनामाथि गरिएका आक्रमणका लागि कुख्यात मानिन्छन्।

एकजना तालिबान स्रोतले बीबीसी पाश्तोलाई बताए अनुसार बरादर र हक्कानी लडाकु समूहका प्रभावशाली नेता एवं शरणार्थी मामिला हेर्ने मन्त्री खलिल उर-रहमान हक्कानीबीच चर्काचर्की भएको थियो।

इस्लामाबादस्थित बीबीसी संवाददाता खुदाई नूर नसरका अनुसार उनीहरूका समर्थकबीच पनि त्यहाँ झगडा भएको बताइन्छ।

कतारमा रहेका एकजना वरिष्ठ तालिबान सदस्य र विवादमा संलग्न पक्षसँग सम्बन्ध भएका अर्का एक स्रोतले त्यस्तो चर्काचर्की गत साताको अन्त्यतिर भएको पुष्टि गरेका छन्।

विवादको कारण के हो?

स्रोतहरूका अनुसार त्यस्तो विवाद नयाँ उपप्रधानमन्त्री बरादर अन्तरिम सरकारको संरचनासँग असन्तुष्ट भएसँगै सिर्जना भएको बताइएको छ।

बरादर

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, बरादर अमेरिकी राष्ट्रपतिसँग सीधा सम्पर्क गर्ने पहिलो तालिबान नेता हुन्

अफगानिस्तानमा तालिबानको जितको श्रेय कसलाई दिने भन्ने विषयमा विवाद सुरु भएको बताइएको छ।

बरादरले आफूजस्ता व्यक्तिले कूटनीतिमा लगाएको जोडबल त्यसको कारण भएको ठानेको बताइएको छ।

यद्यपि केही वरिष्ठ तालिबान नेताहरूले नेतृत्व गरेको हक्कानी समूहका सदस्यहरू र तिनका समर्थकहरू त्यस्तो सफलता युद्धबाट भएको बताउँछन्।

बरादर अमेरिकी राष्ट्रपतिसँग सीधा सम्पर्क गर्ने पहिलो तालिबान नेता हुन्।

उनले सन् २०२० मा डोनल्ड ट्रम्पसँग टेलिफोन संवाद गरेका थिए।

त्यसअघि उनले अमेरिकी फौज फिर्ता गर्ने विषयमा दोहा सम्झौतामा तालिबानका तर्फबाट हस्ताक्षर गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगानिस्तान: तालिबानको लागि पन्जशिर उपत्यका हात पार्नु किन महत्त्वपूर्ण?

हक्कानी सञ्जाल अफगानिस्तान र पश्चिमा देशका सेनामाथि भएका केही घातक आक्रमणहरूमा संलग्न हुने गरेको थियो। अमेरिकाले उक्त संस्थालाई आतङ्ककारी सङ्गठन मानेको छ।

उक्त समूहका नेता सिराजुद्दिन हक्कानी अहिले आन्तरिक मामिला मन्त्री छन्।

बरादर सार्वजनिक रूपमा बाहिर देखा पर्न छोडेपछि गत सातादेखि तालिबान नेतृत्वमा विवाद उत्पन्न भएको चर्चा चलेको थियो। सामाजिक सञ्जालमा उनको मृत्यु भएको हो कि भन्ने संशय पनि व्यक्त भएको थियो।

तालिबान स्रोतले बीबीसीलाई बताएअनुसार विवादपछि बरादर काबुलबाट निस्किएर कान्दहार सहर गएका थिए।

सोमवार सार्वजनिक गरिएको बरादरको एउटा श्रव्य वक्तव्यमा उनले आफू यात्रामा बाहिर गएको भनेको सुनिन्छ। उक्त सामग्री तालिबानका विभिन्न वेबसाइटहरूमा राखिएको छ।

"अहिले म जहाँ छु हामी सबै जना ठिक छौँ," उनले भनेको सुनिन्छ।

यद्यपि बीबीसीले उक्त सामग्रीको आधिकारिकता पुष्टि गर्न सकेको छैन।

तालिबानको संरचना
Presentational white space

के भन्छ तालिबान?

तालिबानले कुनै विवाद नभएको दाबी गरेको छ। उसका अनुसार बरादर सुरक्षित छन्।

तर उनी अहिले कहाँ छन् विषयमा तालिबानले विरोधाभासपूर्ण कुरा भनेको छ।

तालिबानका एक प्रवक्ताका अनुसार बरादर तालिबानका सर्वोच्च नेतालाई भेट्न कान्दहार गएका थिए। तर पछि उनले बीबीसी पाश्तोलाई बरादर "थकित भएको र उनले विश्राम गर्न चाहेको" बताए।

सन् २०१५ मा तालिबानले आफ्ना संस्थापक नेता मुल्लाह ओमारको मृत्यु दुई वर्ष लुकाएको स्वीकार गर्‍यो। तर त्यो अवधिमा तालिबानले उनको नाममा विज्ञप्ति जारी गरिरह्यो।

स्रोतहरूका अनुसार बरादर काबुल फर्किने र क्यामराअगाडि बोल्दै कुनै विवाद नभएको बताउने अपेक्षा गरिएको थियो।

तालिबानका सर्वोच्न नेता हिबतुल्लाह अखुन्दजादाबारे पनि संशय बाँकी छ। उनी अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्।

उनी तालिबानको राजनीतिक, सैन्य र धार्मिक विषयका प्रमुख हुन्।

Presentational grey line

तालिबानको तीव्र आरोह

  • एप्रिल: अमेरिकी राष्ट्रपतिद्वारा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा। मे महिनाबाट सुरु भएर सेप्टेम्बरसम्ममा सकिने लक्ष्य राखिएको उक्त प्रक्रियाले अमेरिकाको सबैभन्दा लामो युद्ध समापन गराउने बताइएको थियो
  • मे: तालिबानद्वारा दक्षिणी हेलमन्द प्रान्तमा भीषण आक्रमण। अन्य प्रान्तमा पनि आक्रमणको सुरुवात
  • जुन: तालिबानले ३७० मध्ये ५० भन्दा बढी जिल्ला नियन्त्रणमा लिएको अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूतको भनाइ। उत्तरी भागमा तालिबानको शृङ्लाबद्ध आक्रमण
  • २१ जुलाई: एक वरिष्ठ अमेरिकी जेनरलका अनुसार लगभग आधा जिल्लाहरू तालिबानको नियन्त्रणमा
  • ६ अगस्ट: लडाकु समूहद्वारा जारान्ज कब्जा, तालिबानको पकडमा गएको पहिलो प्रान्तीय राजधानी
  • १३ अगस्ट: दोस्रो ठूलो सहर कान्दहारसहित अन्य चार प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा
  • १४ अगस्ट: उत्तरी सहर मजार-ए-शरिफमाथि तालिबानको कब्जा
  • १५ अगस्ट: युद्धबिनै प्रमुख पूर्वी सहर जलालाबाद तालिबानको कब्जामा
  • सेप्टेम्बर: तालिबानद्वारा नयाँ सरकार घोषणा
Presentational grey line
तालिबानको संरचना

अफगान युद्धको पृष्ठभूमि के हो?

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु गर्‍यो।

तर तालिबानले अमेरिकामाथि हमला गर्ने ओसामा बिन लादेन अमेरिकालाई सुम्पिन अस्वीकार गर्‍यो।

त्यसपछि अमेरिकासँग अन्तर्राष्ट्रिय गठबन्धन जोडिन पुग्यो र तालिबान तत्कालै सत्ताबाट हट्यो।

Presentational white space
काबुलमा अफगान प्रहरी

तस्बिर स्रोत, AFP

यद्यपि उक्त समूह विद्रोही फौजमा परिणत भयो र घातक हमलाहरू निरन्तर जारी राख्दै अफगान सरकारलाई अस्थिर बनायो।

अन्तर्राष्ट्रिय गठबन्धनले सन् २०१४ मा आफ्नो सैन्य अभियानअन्त्य गर्‍यो र अफगान फौजलाई तालिम दिनमा मात्रै आफूलाई सीमित राख्यो।

त्यसपछि तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गर्न खोजेको थियो। आफ्नो नियन्त्रणबाट खोसिएका क्षेत्रहरू फेरि कब्जा गर्ने प्रयास तालिबान लडाकुहरूले गरे।

तर अमेरिका भने एक्लैले हवाई हमलालगायत युद्ध कारबाही चलाएर निरन्तर सक्रिय रह्यो। तालिबानले पनि आफ्नो गतिविधि कायमै राख्यो।

के हो तालिबान?

अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो।

अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा धेरैले थाहा पाए।

साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ।

पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो।

तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो।

तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो।

टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो। अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन।

तालिबान

तस्बिर स्रोत, EPA

काबुलमा तालिबान शासन

दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो।

सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो। त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो।

राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो।

सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो।

सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो।

तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो।

तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ।

तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो। त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए।

दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, तालिबान फेरि आएपछि अफगान महिलाहरू के भन्छन्

बिन लादेनसँगको सम्बन्ध

सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो।

न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल-कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो।

सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो।

तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्‍यो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, अफगान युद्धमा ज्यान गुमाउने को हुन्?