कोरोना भाइरस नेपालः एकै दिन ११ सय जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि, थप आठ जनाको मृत्यु

विगत २४ घण्टामा नेपालमा थप १,१११ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सरकारले कोरोनाभाइरस परीक्षणको विवरण सार्वजनिक थालेयता यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो। यसअघि एक चोटि सङ्क्रमितको दैनिक वृद्धि भएको सङ्ख्या १,००० नाघेको थियो।

कोरोनाभाइरस सङ्क्रमणका कारण थप आठ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। अहिलेसम्म एक चिनियाँ नागरिकसहित देशभरि १८३ जनाले कोरोनाभाइरससँग सम्बन्धित कारणले ज्यान गुमाइसकेका छन्।

अहिले देशभरि १५,२७३ जनामा सक्रिय सङ्क्रमण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।

तीमध्ये ६,२१० जना घरमै र अन्य ९,०६३ जना संस्थागत आइसोलेशनमा छन्।

अहिले फेला परेका सङ्क्रमितमध्ये काठमाण्डू उपत्यकामा ३७७ जना छन्।

यो पनि उपत्यकाका तीन जिल्लामा अहिलेसम्म पुष्टि भएका सङ्क्रमितहरूको सर्वाधिक दैनिक सङ्ख्या हो।

को हुन् मृतक?

अहिले कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएका व्यक्तिहरू काठमाण्डू, ललितपुर, बारा, पर्सा, कास्की, कपिलवस्तु, रूपन्देही र बाँके जिल्लाका हुन्।

उनीहरूमध्ये पाँच जना महिला र तीन जना पुरुष भएको मन्त्रालयले जनाएको छ।

बारा र कास्कीमा मृत्यु हुने महिलाको उमेर क्रमशः २३ र ३२ वर्ष छ।

अरूको उमेर ४८ देखि ७० वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।

को हुन् सङ्क्रमित?

सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। उनीहरू विभिन्न उमेर समूहका भए पनि अधिकांश युवा छन्।

तीमध्ये ३३४ जना महिला र ७७७ जना पुरुष भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

अहिले काठमाण्डू जिल्लामा सर्वाधिक २७० जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यसैगरी पर्सामा ८५, चितवनमा ४५, मकवानपुरमा ६३, ललितपुरमा ६६, भक्तपुरमा ४१, बाँकेमा ७५, रूपन्देहीमा ७२, धनुषामा ३९ र सुनसरीमा ३८ जनामा पनि कोभिड-१९ भेटिएको हो।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित भएका दुई प्रदेशहरू प्रदेश नं २ र वाग्मती हुन्। देशभरि भएका सङ्क्रमितमध्ये ३,९२७ अर्थात् एकचौथाइ काठमाण्डू उपत्यकामा र ७,१३४ अर्थात् ४६.७ प्रतिशत प्रदेश नं २ का जिल्लामा छन्।

के छ अरू तथ्याङ्क?

चौबीस घण्टाको अवधिमा १२,६२९ वटा नमुनाको परीक्षण गरिएकोमा ५६९ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिलेसम्म २०,०७३ सङ्क्रमितहरू निको भएका छन्।

प्रदेश नं २ मा १०,००० जनाभन्दा बढी र वाग्मती तथा प्रदेश नं ५ प्रत्येकमा ६,००० जनाभन्दा बढी र सुदूरपश्चिम प्रदेशमा ५,६०० जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

देशभरि क्वारन्टीनमा ९,४८८ जना छन्। तीमध्ये सुदूरपश्चिम र गण्डकी प्रदेशमा हुनेको सङ्ख्या बढी छ।

गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १,०१६ अर्थात् यसअघिसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।

त्यसैगरी भदौ ५ गते सरकारले ८३८ जनामा सङ्क्रमण र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८१८ थियो। भदौ ९ गते तथा भदौ १० गते ११ जनाको मृत्युसहित ८८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

यसअघि असार ४ गते ६७१, असार १० गते ६२९, असार १९ गते ७४०, साउन २७ गते ६३८, साउन ३२ गते ६४१ र भदौ ८ गते ७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

अहिले मोरङ, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाण्डू र ललितपुरमा सक्रिय सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा माथि छ।

मुस्ताङ र हुम्लामा भने उक्त सङ्ख्या शून्य छ।