तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस नेपाल: एकै दिन सर्वाधिक ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, थप दुई जनाको मृत्यु
नेपालमा विगत २४ घण्टामा थप ६७१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
यो अहिलेसम्मको सर्वाधिक दैनिक वृद्धि हो।
यो वृद्धिसँगै बिहीवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ७,८४८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन्।
तीमध्ये १,१८६ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमण देखिएका एक पुरुषको मृत्यु भएको र मृत्यु भएकी अर्की एक महिलामा पनि सङ्क्रमण देखिएको बताएको छ।
सरकारले बुधवार एकै दिन सर्वाधिक ५८६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बताएको थियो। मङ्गलवार पुष्टि भएको सङ्क्रमितको सङ्ख्या ३८० थियो।
अहिले फेला परेका सङ्क्रमित व्यक्तिहरू विभिन्न जिल्लाका हुन्।
को हुन् मृतक?
बिहीवार मन्त्रालयले पुष्टि गरेका दुई मृतकमध्ये एक महिला र एक पुरुष छन्। उनीहरू कैलालीका हुन्।
तीमध्ये ४६ वर्षीय पुरुषलाई जेठ ३१ गते नै सङ्क्रमण पुष्टि भएको थियो।
अस्पतालमा भर्ना भएका ती व्यक्तिको असार ३ गते बेलुका मृत्यु भएको डा. गौतमले बताए।
त्यसैगरी जेठ ३१ गते टाउकोमा चोट लागी अस्पताल भर्ना भएकी ४३ वर्षीया महिलाको शल्यक्रिया गर्नुअघि असार २ गते परीक्षण गर्न नमुना सङ्कलन गरिएको थियो।
तर उनको निधन भएपछि आएको परीक्षणमा उनमा पनि कोरोनाभाइरस देखिएको मन्त्रालयले जनाएको छ।
के छ अरू तथ्याङ्क?
मनाङमा पनि सङ्क्रमित भेटिएपछि ७७ मध्ये ७४ जिल्लामा कोभिड-१९ पुगेको पुष्टि भएको छ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,७४६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै कोरोनाभाइरस सङ्क्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको सङ्ख्या १,५५,५१८ पुगेको छ।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले सङ्क्रमितको सङ्ख्या बढेको सरकारी अधिकारीहरूको भनाइ छ।
अहिले देशभरि १,१६,२०० भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन्। तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन्।
सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र प्रदेश नं २ मा सर्वाधिक सङ्ख्यामा मानिसहरू क्वारन्टीनमा छन्।
अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्ख्यामा कोभिड-१९ भएका व्यक्ति भेटिएका छन्।
तराईका जिल्लामा कोभिड-१९ तेस्रो चरण पुगेको अर्थात् सङ्क्रमण स्थानीय स्तरमा फैलिएको तथ्याङ्कले देखाएको विशेषज्ञ डा. प्रभात अधिकारीले मन्त्रालयको नियमित प्रेस ब्रीफिङमा बताए।
"काठमाण्डू उपत्यका र अन्य पहाडी क्षेत्रमा सङ्क्रमण पहिलो चरणबाट दोस्रो चरणमा गएको देखिन्छ," उनले भने।
को हुन् सङ्क्रमित?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितहरू विभिन्न उमेर समूहका छन्। तर तीमध्ये पुरुष र युवाको सङ्ख्या अधिक छ।
काठमाण्डू उपत्यकाका तीन जिल्लामा थप छ जनामा सङ्क्रमण देखिएको छ।
अर्घाखाँची, दैलेख र डडेलधुरामा धेरै सङ्क्रमित फेला परेका हुन्। हिमाली जिल्ला मनाङमा पनि एक जनामा सङ्क्रमण देखा परेको छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ