अमेरिकामा विद्यार्थीको प्रदर्शन 'हिंसात्मक' बन्दै, प्रहरीले ‘ढिला’ कारबाही गरेको भन्दै आलोचना

क्यालिफोर्निया विद्यार्थी आन्दोलन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गाजा युद्धका विषयमा अमेरिकाका कलेजहरूमा भएका केही प्रदर्शन हिंसात्मक भएका छन्

अमेरिकाको लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयमा भएको हिंसामा प्रहरीको कारबाहीप्रति क्यालिफोर्नियाका गभर्नरको कार्यालयले आलोचना गरेको छ।

मास्क लगाएका इजरेल समर्थक समूहले प्रहरी अधिकारीहरू बोलाइनुअगाडि नै प्यालेस्टिनी समर्थक विद्यार्थीको एउटा शिविरमाथि हमला गरेका थिए।

गभर्नर ग्याभिन न्यूसमका प्रवक्ताले प्रहरीको “सीमित र ढिला गरी गरिएको” कारबाही “अस्वीकार्य” रहेको बताए।

बुधवार सयौँ प्रहरी अधिकारीहरू क्याम्पस परिसर र वरिपरि तैनाथ थिए।

राज्यका अधिकारीहरू तथा विश्वविद्यालयका अधिकारीहरूले मङ्गलवार मध्यरातमा झडप हुनेबित्तिकै तत्काल सुरक्षाकर्मीलाई प्रदर्शनकारी बसेका स्थानवरपर तैनाथ गरिएको बताएका छन्।

तर घटना भएका बेला त्यस क्षेत्रमा रहेका कैयौँ मानिसले प्रहरीले तत्काल कारबाही नथालेको बताएका थिए।

किन भयो आलोचना

क्यालिफोर्निया विद्यार्थी आन्दोलनमा परिचालित प्रहरी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, विद्यार्थी आन्दोलन नियन्त्रण गर्न प्रहरी बोलाइएको छ

शिविरमा सामेल भएको एउटा समूह 'यूसी डाइभेस्ट एट एलए'ले एक विज्ञप्तिमा भनेको छ, “कानुन कार्यान्वयन गर्ने निकाय चौरको छेउमा बसेको थियो, हामी सहायताका लागि चिच्याइरहेका थियौँ तर सुरक्षाकर्मीहरू अगाडि बढेनन्।”

बीबीसीले यूसीएलए र एलएपीडीलाई प्रतिक्रियाका लागि सम्पर्क गरेको छ।

प्रदर्शनकारीहरूले हमला सुरु भएको करिब दुई घण्टापछि त्यो ठाउँ छोडेर हिँडे र प्रहरीले बुधवार बिहान भएपछि आफ्नो नियन्त्रण कायम गर्न सक्यो

गभर्नर न्यूसमले उनको कार्यालयको विज्ञप्तिबाहेक त्यहाँको हिंसाको भर्त्सना गर्दै 'एक्स'मा समेत पोस्ट गरेका छन्।

“कानुन स्पष्ट छ,” उनले भने। “अभिव्यक्ति स्वतन्त्रता भनेको हिंसा भड्काउनु, तोडफोड गर्नु र कानुनविहीन अवस्था ल्याउनु होइन।”

उनले भने, “जिम्मेवार व्यक्तिहरूलाई जबाफदेही ठहर्‍याइनुपर्छ…आपराधिक मुद्दा चलाउनु निलम्बन गर्नु या निष्कासन पनि त्यसमा पर्छ।”

कानुन कार्यान्वयनकारी स्रोतहरूलाई उद्धृत गर्दै 'द लस एन्जलस टाइम्स'ले लेखेको छ- त्यहाँ केही यूसीएलए प्रहरी अधिकारी मात्र थिए र उनीहरूभन्दा भिडको सङ्ख्या बढी भएकाले पछि हटेका थिए।

पत्रिकाका अनुसार क्यालिफोर्निया हाइवे प्याट्रोल र लस एन्जलसबाट थप फौज मगाइएको थियो अनि परिस्थिति नियन्त्रणमा लिन करिब तीन घण्टा लागेको थियो।

फैलँदो प्रदर्शन

गाजा युद्धको विपक्षमा कोलम्बियामा भएको विरोध प्रदर्शन अरू साना र ठूला तथा सार्वजनिक र निजी विश्वविद्यालय र कलेजमा पनि सरेको छ। उनीहरूले इजरेल तथा युद्धमा नाफा कमाउने कम्पनीहरूसँग ती संस्थाहरूले आर्थिक सम्बन्ध विच्छेद गर्नुपर्न माग गरेका छन्।

बीबीसीका टम बेट्म्यानले बुधवार राज्यका फौजले टेक्सस विश्वविद्यालय ड्यालसमा १७ युद्ध विरोधी प्रदर्शनकारी गिरफ्तार गरेको र एनवाईपीडीले फोर्डाम विश्वविद्यालयबाट १५ जना गिरफ्तार गरेको बताएका छन्।

यूसीएलएले उसको क्याम्पसभित्र उत्पन्न तनाव साम्य पार्न प्रयत्न गरिरहेका क्रममा बुधवारका कक्षाहरू रद्द गरेको थियो ।

कस्तो थियो प्रदर्शन

विश्वविद्यालयले उसको रोयस हलनजिकै जम्मा भएका प्यालेस्टीनी समर्थकको समूहलाई अवैधानिक घोषणा गरेको थियो।

प्राप्त अनलाइन फुटेजका अनुसार मध्यरात हुनै लाग्दा मङ्गलवार इजरेल समर्थक एउटा ठूलो समूह कालो लुगा र सेतो मास्क लगाएर क्याम्पस प्रवेश गरेको थियो।

क्याम्पसमा विरोध प्रदर्शनमा बसेकाहरू कैयौँले कालो चस्मा र हेल्मेट लगाएका थिए। अन्यले प्ल्याकार्ड र छाता बोकेका थिए अनि आफूहरू बसिरहेको ठाउँ नछोड्न र्‍याली गरेका थिए।

त्यसपछि दुई समूहबीच झडप भएको थियो।

एक प्यालेस्टीन समर्थक विद्यार्थी अभियानकर्मीले बीबीसीलाई भने, “आजको रात तनाव अर्कै तहमा पुग्यो र हिंसा उत्पन्न भयो। ”

विद्यार्थीहरूको पत्रिका 'डेली ब्रुइन'का एक संवाददाता डाइलन विन्वार्डले प्रदर्शनकारीका विरोधीहरूले "पटाका, स्कूटर, पानीका बोतल र अश्रुग्यास प्रहार गरेका” बताए।

ब्रुइनले सोशल मिडियामा भनेअनुसार अन्य चार संवाददाताहरूमाथि पनि हमला भएको थियो र उनीहरूमाथि केही पदार्थ छर्किइएको थियो।

प्रदर्शन नियन्त्रण गर्न दबाव

आन्दोलनरत विद्यार्थीहरू

तस्बिर स्रोत, EPA

यूसीएलएकी उपकुलपति मेरी ‌ओसाकोले प्रहरीहरूलाई हिंसा भएको ठाउँमा बुधवार बिहानै बोलाइएको बताइन्।

“हामी यो संवेदनहीन हिंसाबाट वाक्क भइसकेका छौँ र यो अन्त्य हुनुपर्छ,” उनले भनिन्।

त्यसै गरी लस एन्जलसका मेयरले पनि झडपको निन्दा गर्दै यो “घृणित र अक्षम्य” भएको बताए।

बिहानसम्ममा त्यहाँ कडा सुरक्षा व्यवस्था कायम गरिएको थियो।

रातमा भएको अराजकतामा कति मानिस संलग्न थिए भन्ने स्पष्ट छैन।

देशभर फैलिरहेको प्यालेस्टाइन समर्थक विरोध प्रदर्शन नियन्त्रणमा लिन कलेज नेतृत्वहरूमाथि दबाव बढिरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।