इजरेल-प्यालेस्टाइन तनावः 'पूर्ण युद्धतर्फ धकेलिन सक्ने' चेतावनी

गाजामा हमलापछिको एक दृश्य

तस्बिर स्रोत, Reuters

संयुक्त राष्ट्रसङ्घका मध्यपूर्व शान्तिदूतले इजरेल तथा प्यालेस्टिनी विद्रोहीबीच गाजामा चर्किरहेको सङ्घर्षले अवस्थालाई पूर्ण युद्धतर्फ धकेलिरहेको चेतावनी दिएका छन्।

चर्किएको हिंसापश्चात् टोर वेन्स्ल्यान्डले उक्त टिप्पणी गरेका हुन्।

इजरेल तथा प्यालेस्टाइनबीच तनाव चर्किँदै गर्दा विद्रोहीहरूले इजरेली सहर तेल अभिभमा रकेट हमला गरेका छन्।

इजरेलले हवाई हमला गरेर गाजा क्षेत्रमा एउटा भवन ध्वस्त पारिदिएको बताइएको छ।

तनाव चर्किएपछि इजरेलले लोड सहरमा सङ्कटकाल घोषणा गरेको छ।

तनाव झन् बढ्दो

गाजामा एउटा भवन परिसर ध्वस्त पारिएपछि प्यालेस्टिनी विद्रोहीहरूले इजरेली सहर तेल अभिभमा १३० वटा क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।

भवनमा बसिरहेका मानिसहरू तथा स्थानीय बासिन्दालाई त्यहाँबाट अन्यत्र जान चेतावनी दिएको डेढ घण्टापछि गाजास्थित १३ तले भवनमा हमला गरिएको रोयटर्स समाचारसंस्थाले जनाएको छ।

इजरेली सेनाका अनुसार विद्रोहीहरूले यसअघि गरेका रकेट हमलाको प्रतिधोधस्वरूप उक्त भवनमा हमला गरिएको हो।

वर्षौँयता भएका यी सबैभन्दा खराब हमलाहरूमा कम्तीमा ३१ जनाको ज्यान गइसकेको बताइएको छ।

बस

तस्बिर स्रोत, EPA

अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई तनाव अन्त्य गर्न आह्वान गरिरहेका छन्।

विद्रोहीहरूले जेरुसलेम तथा अन्य क्षेत्रमा गरी सयौँ रकेट प्रहार गरिसकेका छन्।

इजरेली क्षेत्रमा तीन जनाको ज्यान गएको छ भने प्यालेस्टिनी क्षेत्रमा २८ जनाको निधन भइसकेको छ।

झडपबाट आरम्भ

इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले वर्षौँयता पहिलो पटक जेरुसलेममा रकेट प्रहार गरेर विद्रोही समूह हमासले लक्ष्मणरेखा नाघेको आरोप लगाएका थिए।

गाजाको नियन्त्रण गरिरहेको हमासले चाहिँ जेरुसलेमस्थित अल अक्सा मस्जिदलाई 'इजरेलको ज्यादती तथा आतङ्कबाट रक्षा गर्न' उसले कारबाही गरिरहेको बताएको छ।

उक्त स्थल मुस्लिम तथा यहुदी दुवैका निम्ति पवित्र मानिन्छ।

उद्धार

तस्बिर स्रोत, Reuters

त्यहाँ सोमवार भएका झडपमा सयौँ घाइते भएका थिए।

गत केही दिनमा सन् २०१७ यता जेरुसलेममा सबैभन्दा खराब हिंसा भइरहेका छन्।

अधिनस्थ पूर्वी जेरुसलेमबाट यहुदी बासिन्दाले आफ्ना परिवारलाई विस्थापित गर्न खोजेको प्रति प्यालेस्टीनीहरूमा तीव्र आक्रोश फैलिएको थियो।