फ्रान्समा चर्कँदो अराजकता: प्रहरी र प्रदर्शनकारीबीचको झडपमा अश्रु ग्यासको प्रयोग

तस्बिर स्रोत, Reuters
एक जना प्रहरी अधिकारीले गोली लागेर एक किशोरको मृत्यु भएपछि फ्रान्सेली सहर मार्सेमा जारी विरोध प्रदर्शनको पाँचौँ रात प्रहरी र दङ्गाकारीहरूबीच झडप भएको छ।
सार्वजनिक भएका भिडिओहरूमा प्रहरीले दङ्गा नियन्त्रणका लागि अश्रु ग्यासको प्रयोग गरेको देखिन्छ। अधिकारीहरूका अनुसार यस दक्षिणी सहरबाट मात्रै थप ५६ जना पक्राउ परेका छन्।
मध्य प्यारिसमा भने उल्लेखनीय सङ्ख्यामा प्रहरी तैनाथ भएकाले विरोध प्रदर्शन केही निरुत्साहित भएको बीबीसी न्यूजका जर्ज राइटले जनाएका छन्।
प्यारिस नजिकैको उपनगर नान्तेरमा भएको हत्यापछि फ्रान्सका धेरै सहरहरूमा मङ्गलवारदेखि अशान्ति फैलिएको हो।
शनिवार पुनः देशभर करिब ४५ हजार प्रहरी परिचालन गरिएको छ। त्यहाँको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्थानीय समयअनुसार आइतवार बिहानको साढे तीन बजेसम्ममा ४८६ जनालाई पक्राउ गरिएको छ।
शुक्रवार रातिसम्म १,३०० जनालाई पक्राउ गरिएको थियो भने विहीवार ९०० जना पक्राउ परेका थिए।
शनिवार साँझभर मार्से सहरमा सुरक्षा बल र प्रदर्शनकारीहरू बीच घम्साघम्सी निरन्तर चल्यो।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
राष्ट्रपतिको भ्रमण स्थगित
देशभित्र देखिएको अशान्तिमाझ फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले आफ्नो जर्मनी भ्रमण स्थगित गरेका छन्।
आइतवारबाट सुरू हुने तय भएको उक्त भ्रमण २३ वर्षपछि फ्रान्सका राष्ट्रपतिको जर्मनीमा हुने राजकीय भ्रमण भनिएको थियो।
जर्मनीका राष्ट्रपति राष्ट्रपति फ्रान्क भाल्टर स्टाइनमायरले फ्रान्सका राष्ट्रपति माक्रोँले फोन गरेर आफ्नो देशको अवस्थाबारे जानकारी गराएको र भ्रमण पछि सार्न प्रस्ताव गरेको जानकारी गराएका छन्।
उनले जारी गरेको वक्तव्यमा भ्रमण स्थगित भएकोमा दुख: व्यक्त गर्दै आफ्नो छिमेकी देशको अवस्थाबारे आफू जानकार रहेको बताएका छन्।
भ्रमणको नयाँ मिति हालसम्म तय भइसकेको छैन।
अन्तिम संस्कारमा ठूलो भीड

तस्बिर स्रोत, EPA
प्यारिस नजिकै भएको ट्राफिक जाँचको क्रममा गोली लागि मृत्यु भएका किशोरको अन्तिम संस्कारमा शनिवार मानिसहरूको ठूलो भीड जम्मा भएको थियो।
किशोर मारिएपछि अहिले फ्रान्सभरि भीषण दङ्गा मच्चिएको छ र प्रदर्शनहरू व्यापक बन्दै गएका छन्।
सत्र वर्षीय किशोर नाहेल एममाथि एक जना प्रहरी अधिकारीले गोली प्रहार गरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि घटनाले उग्र रूप लिएको हो।
घटनामा संलग्न अधिकारीले पीडितको परिवारसँग माफी मागेका छन्। यद्यपि उनीविरुद्ध गैरकानुनी हत्याको आरोप लागेको छ र अहिले उनी हिरासतमा छन्।
मृतकलाई उनी गाडीबाट निस्किँदै गर्दा ‘पोइन्ट-ब्ल्याङ्क रेन्ज’ अर्थात् निकै नजिकबाट निशाना बनाई गोली हानिएको सार्वजनिक विवरणहरूमा उल्लेख गरिएको छ।
को हुन् मृत किशोर?
मृतक अल्जेरिअन मूलका हुन् र उनको मृत्युले फ्रान्सेली उपनगरहरूमा प्रहरीले जातीय समुदायलाई लक्षित गरी गर्ने आक्रमणबारेका गुनासोलाई पुनर्जीवित गरेको छ।
यसै विषयमा आक्रोशित मानिसहरूका कारण देशभर हिंसा फैलिएको छ। बिहीवार दिउँसो ती युवककी आमाको नेतृत्वमा निस्किएको र्यालीमा पनि झडप भएको थियो।
बीबीसीका यूरोप डिजिटल सम्पादक पल किर्बीका अनुसार मृतक आमाले हुर्काएका एक्लो सन्तान हुन्। उनी ‘टेकअवे खाना’ पुर्याउने गाडी चलाउँथे र रग्बी लिगका खेलाडी समेत थिए।

तस्बिर स्रोत, EPA
उनको शैक्षिक पृष्ठभूमि व्यवस्थित थिएन। उनी आफू बस्ने ठाउँबाट नजिकै एक कलेजमा इलेक्ट्रीशियन बन्ने तालिमका लागि भर्ना भएका थिए तर निकै कम उपस्थित हुन्थे।
नाहेललाई चिन्ने मानिसहरूले उनी मायालु स्वभावको भएको बताए। उनी आफ्नी आमा मोनियासँगै बस्थे र आफ्नो बुबासँग सम्पर्कमा थिएनन्।
प्रहरीले उनको कुनै आपराधिक घटनामा संलग्नता नदेखिएको जनाएको छ।
उनले घटना भएको दिन काममा निस्कनुअघि चुम्बन दिँदै भनेका थिए, "आई लभ यू मम (म तिमीलाई माया गर्छु आमा)।"
बढ्दो दङ्गा
दङ्गा नियन्त्रणका लागि शुक्रवार साँझदेखि नै ४५,००० प्रहरी अधिकारीहरूलाई तैनाथ गरिएको हो। सरकारले क्षेत्रीय अधिकारीहरूलाई रातभर सार्वजनिक सवारी सेवाहरू बन्द गर्न आह्वान गरेको थियो। त्यस्तै अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई प्रदर्शनहरूबाट जोगाउन भनिएको छ।
फ्रान्सका आन्तरिक मामिला मन्त्री डार्मानिनका अनुसार दङ्गाको चौथो रातमा अशान्तिका कारण "आर्थिक तथा अन्य गतिविधिमा असर" परेको छ।
थुप्रै फ्रान्सेली सहरहरूबाट थप हिंसाका विवरणहरू आएका छन्। ती स्थानहरूमा सवारी साधनमा आगो लगाइएको भिडिओहरू सार्वजनिक भएका छन्।


यस्ता आन्दोलनहरूबाट १३ वर्षसम्मका किशोरहरूलाई समेत हिरासतमा लिइएको छ। पक्राउ परेकाहरूको औसत उमेर १७ वर्ष रहेको मन्त्री डार्मानिनले बताए।
फ्रान्सेली फुटबल स्टार किलियान एम्बाप्पेले भनेका छन्, "हिंसाले कुनै पनि समस्या समाधान गर्दैन।" उनले यस स्थितिलाई "शोक, संवाद र पुनर्स्थापना"को बाटोबाट सुधार्न आग्रह गरेका छन्।
सरकारको प्रतिक्रिया कस्तो?

तस्बिर स्रोत, Getty Images
फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले प्रदर्शनकारीहरूले घटनाको फाइदा लिइरहेको आरोप लगाएका छन्। उनले हिंसाको निन्दा गर्दै नाहेलको मृत्युपछिको अवस्थालाईहिंसात्मक गतिविधि गर्न प्रदर्शनकारीहरूले प्रयोग गरेको आशङ्का गरेका छन्।
उनले हिंसा नियन्त्रणका लागि थप अधिकारीहरू खटाइने बताए पनि देशमा आपत्कालीन अवस्था घोषणा गरिएको छैन।
माक्रोँले दङ्गामा सहभागी किशोरकिशोरीलाई घरमै राख्न सम्बन्धित अभिभावकलाई आग्रह गरेका छन्। उनले भने,”उनीहरूलाई घरमै राख्नु आमाबुबाको जिम्मेवारी हो।”
उनले सामाजिक सञ्जाल सेवा प्रदायकहरूलाई केही सामग्रीहरू हटाउन समेत आह्वान गरेका छन्।
उनले "संवेदनशील प्रकारका सामग्रीहरू" हटाउन र हिंसाजनक प्रदर्शन आयोजना गर्न त्यस्ता सञ्जाल प्रयोग गर्ने व्यक्तिहरूको नाम अधिकारीहरूलाई उपलब्ध गराउन आग्रह गरेका छन्।
स्न्यापच्याटका एक जना प्रवक्ताले उक्त एपले हिंसा र घृणालाई बढवा दिने सामग्रीप्रति "शून्य सहनशीलता"को नीति अपनाउने र स्थितिलाई नजिकबाट अनुगमन गरिरहने बताएका छन्।
सार्वजनिक सडकमा ३ हजार ८८० भन्दा बढी आगजनीका घटना भएको त्यहाँको आन्तरिक मन्त्रालयको आँकडा छ।
विभिन्न ठाउँमा प्रदर्शनकारी र दङ्गा नियन्त्रणमा खटेका प्रहरीबीच झडप भएको छ। कतिपय स्थानमा कर्फ्यु लगाइएको छ।








