फ्रान्समा नयाँ पेन्सन योजना विरुद्ध लाखौँ मानिस सडकमा

आगो निभाउँदै अग्निनियन्त्रक

तस्बिर स्रोत, Getty Images

    • Author, आन्द्रे रोडेन-पल, लन्डन र हग स्कोफिल्ड, प्यारिस
    • Role, बीबीसी समाचार

पेन्सन पाउने उमेर बढाउने योजनालाई लिएर फ्रान्सेली आन्दोलन जारी रहँदा बोर्डो टाउन हलमा आगो लागेको छ।

बिहीवार फ्रान्सभरि १० लाखभन्दा बढी मानिस सडकमा उत्रिएका थिए जसमध्ये एक लाख १९ हजार मानिस प्यारिसमा रहेको आन्तरिक मन्त्रालयको तथ्याङ्क छ।

त्यहाँ प्रहरीले प्रदर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको थियो। प्रदर्शनको क्रममा देशभरबाट ८० जना पक्राउ परेका छन्।

सेवा निवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ वर्ष पुर्‍याउने कानुनविरुद्ध प्रदर्शन सुरु भएको हो।

एक दिनको विरोध र झडपपछि बिहीवार साँझ दक्षिण पश्चिमी सहर बोर्डोको टाउन हलको मूल ढोकामा आगो लागेको थियो।

दमकलको सहायतामा आगो तत्काल निभाइएको थियो। यद्यपि, कसका कारण आगो लाग्यो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन।

प्यारिसमा सामान्यतया शान्तिपूर्ण प्रदर्शनहरू हुँदा पसल तथा सडकका सामग्रीहरू तोडफोड हुने तथा प्रदर्शनकारी र प्रहरीहरू बीच झडप हुने गरेको रोएटर्स समाचार संस्थाले जनाएको छ।

दङ्गाको क्रममा बेहोस भएका एक प्रहरी अधिकारीलाई उनकै सहकर्मी अधिकारीहरूले सुरक्षित स्थानमा पुर्‍याएका थिए।

redline
redline

प्रहरीले अश्रु ग्यास प्रयोग गर्दा उनीहरूमाथि वस्तु तथा पटका प्रहार भएको र त्यस्तो घटनामा संलग्न ३३ जना राजधानीबाट पक्राउ परेको एएफपी समाचार संस्थाले उल्लेख गरेको छ।

"म पेन्सनबारे कानूनी परिवर्तनको विरोध गर्छु र प्रजातन्त्रको अब कुनै अर्थ रहँदैन भन्ने कुरामा विश्वास गर्दिन," एक प्रदर्शनकारीले रोएटर्ससँग भने।

“जनताको प्रतिनिधित्व भएको छैन। त्यसैले हामी थाकेका छौँ।"

"हामीसँग अन्य तरिकाले कानुनमा भएको परिवर्तन सुधार्ने छुट छैन। यसरी विरोध गरेपछि नै हाम्रो आवाज सुनिनेछ," अर्का एक प्रदर्शनकारीले एएफपी समाचार संस्थालाई भने।

विरोध प्रदर्शनका कारण रेल सेवा, तेल प्रशोधन केन्द्रहरू पनि अवरुद्ध भएका थिए। त्यस्तै प्यारिसको एक विमानस्थलका कर्मचारीहरू र शिक्षकहरू पनि आफ्नो काम छोडेर निस्किएका थिए।

उत्तरी सहर रुएनमा एक युवती हातमा गहिरो चोटसहित भुईँमा लडेकी थिइन्।

प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनकारीहरूलाई हटाउन प्रहरीले प्रहार गरेको 'फ्ल्यास-बल' भनिने ग्रिनेडका कारण उनले औँला गुमाएकी हुन्।

पश्चिमी सहरहरू नान्टेस, रेनेस र लोरिएन्टमा पनि झडपहरू भएका थिए।

"फ्रान्सको सडकमा एक किसिमको वैधानिकता छ," नान्टेसस्थित एक प्रदर्शनकारीले भने, "यदि राष्ट्रपति माक्रोँले यो ऐतिहासिक वास्तविकतालाई सम्झिन सक्दैनन् भने, मलाई थाहा छैन उनी यहाँ के गर्दै छन्।"

विभिन्न सङ्घहरू र राजनीतिक वामपन्थीहरूले हिजोको दिन सफल भएको ठानेका छन् तर अब परिस्थिति कस्तो बन्छ भन्ने प्रश्न उठेको छ।

प्रदर्शनकारी

तस्बिर स्रोत, Getty Images

सरकारले आन्दोलनले समयसँगै ऊर्जा गुमाउने र आन्दोलनको क्रममा हुने हिंसात्मक विस्फोटहरूले मानिसहरूलाई प्रदर्शनमा सामेल हुन वा समर्थन गर्न निरुत्साहित गर्ने आशा गरेको छ।

यद्यपि, विपक्षीले विरोध कम नहुने तर युनियनहरूले आगामी दिनहरूमा बिहीवार जस्तै घटनाक्रम दोहोरिने वाचा गर्नुको साटो कसरी अघि बढ्ने भन्नेबारे रणनीति बनाउनु पर्ने बताएका छन्।

ज्यानुअरी यता त्यहाँ नौ दिन विरोध प्रदर्शन भइसकेको छ र फ्रान्सेली सङ्घहरूले अर्को मङ्गलवार थप हडतालहरू सहित दशौँ दिनको कार्यक्रम आह्वान गरेका छन्।

सोही दिन राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमणको अन्तिम दिन हो र त्यस दिन उनी बोर्डो पुग्ने कार्यक्रम छ।

प्यारिसका फोहोर सङ्कलन गर्ने कामदारहरूले मार्च ६ मा पेन्सनबारे नयाँ योजनाविरुद्ध हडताल सुरु गरेका थिए र यो आगामी सोमवारसम्म जारी रहने छ।

फ्रान्समा अवकाश पाउने र पेन्सन पाउन सक्ने उमेर बढाउने कानुन बनाउने सरकारको योजनाका कारण समस्या निम्तिएको हो।

तर निर्णयको पक्षमा मतदान गर्न संसद्मा पर्याप्त समर्थन छैन।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले यसलाई पारित गर्नु महत्त्वपूर्ण ठानेका छन्।

प्रधानमन्त्री एलिजाबेथ बोर्नले भने भविष्यमा आर्थिक समस्याबाट जोगिन यस्ता परिवर्तनहरू आवश्यक भएको बताएका छन्।