प्यारिस आक्रमण: १३० जनाको ज्यान गएको आतङ्ककारी हमलाका दोषीलाई फ्रान्सकै ठूलो सजाय

तस्बिर स्रोत, BENOIT PEYRUCQ/AFP
सन् २०१५ नोभेम्बरमा फ्रान्सको राजधानी प्यारिसमा भएको आक्रमणको एक मात्र जीवित आक्रमणकारीलाई अदालतले आतङ्कवाद र हत्याको आरोपमा दोषी ठहर गरेको छ।
एक सय ३० जना मानिसको ज्यान गएको उक्त घटनाका लागि सलाह अब्दस्लामलाई दुर्लभ किसिमको पूर्ण आजीवन कैदको सजाय सुनाइएको छ।
अदालतले आक्रमणमा संलग्न मृत छ जनासहित १९ जनालाई दोषी ठहर गरेको छ।
सो घटनाबारे फ्रान्सको आधुनिक इतिहासमा सबैभन्दा ठूलो सुनुवाइ गत सेप्टेम्बरमा सुरु भएको थियो।
दोस्रो विश्वयुद्धपछि फ्रान्समा भएको सबैभन्दा ठूलो हमलाबारे बुझ्न नौ महिनाभन्दा लामो समय पीडित, पत्रकार र मृतकका परिवार प्यारिसमा विशेष रूपले निर्मित अदालतबाहिर उपस्थित भएका थिए।
सन् २०१५ नोभेम्बर १३ मा प्यारिसका बार र रेस्टुराँहरू, राष्ट्रिय फुटबल रङ्गशाला र साङ्गीतिक स्थलमा भएका आक्रमणहरूमा सयौँ अन्य व्यक्ति पनि घाइते भएका थिए।
सुनुवाइ सुरु हुँदा सलाहअब्दस्लामले आफूलाई इस्लामिक स्टेट समूहको "सैनिक" भएको बताउँदै विद्रोही भावमा प्रस्तुत भएका थिए।

तस्बिर स्रोत, Reuters
के भने अभियुक्तले?
तर पछि अब्दस्लामले पीडितहरूसँग माफी माग्दै अदालतलाई आफ्नो अन्तिम जबाफमा आफू "हत्यारा नभएको" बताउँदै आफूलाई हत्यारा ठहर गर्नु "अन्याय हुने" बताएका थिए।
सुनुवाइको समयमा उनले आफूले लगाएको आत्मघाती बम नपड्काएको र सहरबाहिर फ्यालेको दाबी गरेका थिए।
तर अदालतले उनले लगाएको बममा समस्या रहेको प्रमाण बुझेको थियो जसले गर्दा उनले अन्तिम समयमा मन परिवर्तन गरेको दाबीलाई मानेन।
उनको पूर्ण आजीवन कैदको अर्थ ३० वर्षपछि पनि उनी जेलबाहिर हुने सम्भावना ज्यादै न्यून छ।

तस्बिर स्रोत, BELGIAN/FRENCH POLICE
यो कस्तो सजाय हो?
फ्रान्समा अपराधीलाई दिइने यो सबैभन्दा कडा सजाय हो र अदालतले विरलै यो सजाय सुनाएको इतिहास छ।
आक्रमणमा घाइतेमध्ये एक इडिथ सेउरटले बीबीसीलाई सुनुवाइले आफ्नो पीडा कम नगरेको र आफू असन्तुष्ट भएको बताइन्।
"हाम्रा घाउ र दुःस्वप्न अझै बाँकी छ," उनले भनिन्। "हामीले त्यो बोझ दिएर बाँच्नुपर्छ।"
आक्रमणमा मृत्यु भएका एक व्यक्तिका पिता स्टेफन सारार्डले बीबीसीलाई लामो सुनुवाइले आफूलाई घटनाबारे बुझ्न सघाएको बताए।
"यी नौ महिना भयानक थिए," उनले भने। "हामीले कुर्नुपर्यो र त्यो घटनाको विवरण जान्न विस्तृत कुरा सुन्नुपर्यो।"
उनले यसले आफूलाई छोराबिना बाँच्न सहज बनाउने अपेक्षा गरे।
अरू फैसला कस्तो
अदालतले १९ जनालाई आक्रमणका लागि दुई वर्षदेखि पूर्ण आजीवन कैदसम्म जेल सजाय सुनाएको थियो।
- केही हमलाकारीलाई प्यारिससम्म गाडीमा ल्याएको स्वीकारेका ३७ वर्षीय मोहम्मद अब्रिनीलाई कम्तीमा २२ वर्ष जेल बस्नेगरी आजीवन कैदको सजाय
- हमलामा संयोजनकारी भूमिका निर्वाह गरेका मोहम्मद बाक्कालीलाई "आक्रमणका लागि सामग्री जुटाउन प्रमुख भूमिका खेलेकोमा" ३० वर्षको जेल सजाय। उनले ब्रसल्समा आक्रमणकारीलाई लुकाउन घर भाडामा लिएका थिए
- स्वीडनका ओसामा क्रायेम म र ट्यूनिशियाका सोफिएन आयारीलाई एम्स्टर्डम विमानस्थलमा आक्रमण गर्ने योजना बनाएकोमा ३० वर्षको जेल
- मुहम्मद उस्मान र अदेल हाड्डाडीलाई कम्तीमा दुईतिहाई समय झ्यालखानामा बिताउनुपर्ने गरी १८ वर्षको जेल
अन्य छ प्रतिवादीहरू आक्रमणमा मारिएको विश्वास गरिएकाले उनीहरूको अनुपस्थिमै सुनुवाइ भएको थियो।








