अमेरिकी विश्वविद्यालयद्वारा प्यालेस्टीनी मामिलामा आन्दोलनरत विद्यार्थीहरू निलम्बन

तस्बिर स्रोत, Reuters
- Author, नोमिया इकबाल र स्याम क्याब्राल
- Role, बीबीसी
अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयले क्याम्पस हातामा खडा गरेको विरोध शिविरहरू नहटाएका कारण विद्यार्थीहरूलाई निलम्बन गर्न थालेको छ।
ती विरोध शिविर हटाउन दिइएको समयसीमालाई सयौँ प्रदर्शनकारी विद्यार्थीहरूले अटेर गरेका थिए।
दुई सातादेखि जारी त्यस्ता विरोधका गतिविधि सोमवारसम्म अन्त्य नगरिए अनुशासनको कारबाही गर्ने कलेज अधिकारीहरूले चेतावनी दिएका थिए।
सोमवारको समयसीमा नजिकिँदै गर्दा अध्यापनमा सामेल दर्जनौँ कर्मचारीहरूले विद्यार्थीहरूलाई बचाउ गर्न वरिपरि घेरा हालेका थिए।
फैलिएको विरोध
प्यालेस्टीनीहरूको समर्थनमा विद्यार्थीहरूले अमेरिकाभरिका कैयन् विश्वविद्यालयहरूमा प्रदर्शन गरेका छन्।
टेक्ससमा प्रहरीले अस्टिनस्थित युनिभर्सिटी अफ टेक्ससमा राखिएका विरोध शिविर प्रहरीले हटाइदिएको छ अनि दर्जनौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ।
त्यहाँका विश्वविद्यालयका अधिकारीहरूका अनुसार त्यहाँ प्रदर्शनकारीहरूले खडा गरेका पालहरू हटाउन उनीहरूले गरेको अनुरोधलाई बेवास्ता गरिएको थियो।
ती पालहरूभित्र ‘बेसबल आकारका ढुङ्गाहरू’ फेला परेको अनि ‘अधिकांश प्रदर्शनकारीहरू विश्वविद्यालयसँग असम्बन्धित’ भएको विश्वविद्यालयले बताएको छ।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
प्रदर्शनकारीहरूसँग काम गरेका एक जना वकिल जर्ज लबले स्थानीय सञ्चार संस्था केयूटी न्यूजसँग बोल्दै अस्टिन क्याम्पसमा सोमवार ५० भन्दा धेरै पक्राउ परेको बताए।
बीबीसीले युनिभर्सिटी तथा स्थानीय प्रहरीसँग प्रतिक्रियाको निम्ति सम्पर्क गरेको थियो।
यसै महिना प्रहरीले कोलम्बिया विश्वविद्यालयमा प्रदर्शनकारीहरूले खडा गरेको शिविर हटाइदिएपछि अमेरिकाभरि प्रदर्शन फैलिएको थियो।
कोलम्बियामा दबाव बढ्दो
न्यूयोर्कको अपर म्यानह्याटनमा रहेको प्रतिष्ठित कोलम्बिया विश्वविद्यालयको नेतृत्वमाथि या त कुनै कारबाही गर्न या त पद छाड्न दबाव बढिरहेको छ।
“कोलम्बियामा जे भइरहेको छ त्यो बिल्कुल लज्जाजनक छ,” अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाका सभामुख माइक जोन्सनले एक्समा लेखेका छन्। “क्याम्पसमा यहुदीविरोधी विद्यार्थी तथा शिक्षकसमेतको दबदबा छ।”
रिपब्लिकन पार्टीका नेता उनले सो विश्वविद्यालयका अध्यक्ष डा नेमात शफिकलाई पद छाड्न आह्वान गरे।
सोमवार प्रतिनिधिसभाका डेमोक्र्याट सदस्यहरूले कोलम्बिया विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीज [व्यवस्थापकहरू]लाई ‘निर्णायक कारबाही गर्न, शिविरहरू हटाउन, र सबै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित’ गर्न आग्रह गरे।
गत एक सातामा ती शिविरहरू यहुदी विद्यार्थीहरूमाथि आक्रमणको कारखाना बनेको ती २१ जना सांसदले लेखेका छन्: “कुराकानीको समय सकियो; अब कारबाहीको समय हो।”

तस्बिर स्रोत, Reuters
बहसको केन्द्रविन्दु
कोलम्बिया विश्वविद्यालयमा अन्डर ग्र्याजुएट तहका विद्यार्थीहरूले वार्षिक ट्यूसन तथा अन्य शुल्क गरी करिब ९० हजार डलर तिर्नुपर्छ – अमेरिकी विश्वविद्यालयहरूमाझको सबैभन्दा महँगो मध्ये एक।
गाजा युद्ध तथा इजरेलप्रति अमेरिकी समर्थन, अनि यहुदी विरोधी भावनाले यहुदी विद्यार्थीहरू जोखिममा परेका विषयमा अमेरिकाभर भइरहेको बहसको केन्द्रमा अहिले उक्त विश्वविद्यालय छ।
एप्रिल १८ मा क्याम्पसको मध्य भागमा खडा गरिएको प्यालेस्टीनी समर्थकहरूको शिविरमा प्रहरी घुस्यो र एक सय जनाभन्दा धेरै विद्यार्थी पक्राउ गर्यो।
तर अभियानकर्मीहरूले फेरि अर्को शिविर बनाए र विश्वविद्यालय अध्यापनको मिश्रित मोडल [विद्यार्थीको भौतिक उपस्थितिमा हुने पठनपाठनका साथसाथ अनलाइन पढाइ] अवलम्बन गर्न बाध्य हुनु पर्यो।
सप्ताहान्तमा ‘लकडाउन गरिन लागेको वा क्याम्पसबाट विद्यार्थीहरूलाई निष्कासन गर्न लागिएका’ हल्लाहरूलाई विश्वविद्यालयले अस्वीकार गरेको थियो। उसले ‘यतिखेर’ प्रहरीलाई फेरि डाक्ने आफ्नो कुनै योजना नभएको बताएको थियो।
कस्तो कारबाही?
सोमवार बिहान डा शफिकले एक विज्ञप्ति जारी गर्दै भनिन्, “बुधवारदेखि नै प्राज्ञिक नेताहरूको एक सानो टोलीले विद्यार्थी आयोजकहरूसँग रचनात्मक कुराकानी गरिरहेका थिए ता कि शिविर हटाउने गरी कुनै निकास निस्कियोस्।”
“दुर्भाग्यवश हामी कुनै सहमतिमा पुग्न सकेनौँ,” उनले भनिन्।
शिविर बनाएर बसेका प्रदर्शनका आयोजकहरूलाई बाँडिएको पत्रमा कलेजले ‘विश्वविद्यालयका कैयन् नीतिहरू उल्लंघन गरिएकाले अनुशासनका प्रक्रिया थाल्न आवश्यक भएको’ चेतावनी दिएको थियो।
स्थानीय समय दिउँसोको २ बजेसम्ममा त्यहाँबाट हटेका विद्यार्थीहरूलाई तिनको सेमेस्टर पूरा गर्न दिइने बताइएको थियो।
तर समयसीमा नाघेको कैयन् घण्टापश्चात् विश्वविद्यालयका सार्वजनिक मामिलासम्बन्धी उपाध्यक्षले विद्यार्थीहरूलाई निलम्बन गर्न थालिएको, तिनलाई अस्थायी रूपमा क्याम्पस आउनमा निषेध गरिएको र ग्र्याजुएट हुन लागेका विद्यार्थी अब त्यसो गर्न अयोग्य हुने बताए।
मे १५ मा हुन लागेको ग्र्याजुएशन समारोहमा कुनै गडबडी नहोस् भनेर निलम्बनको कारबाही गरिएको बताइएको छ।
विरोध प्रदर्शन गर्दै आएको एउटा मुख्य समूह कोलम्बिया स्टुडेन्ट्स फर जस्टिस इन प्यालेस्टाइनले एक्समा टिप्पणी गर्दै कारबाही नमान्ने भन्दै ‘शिविरको रक्षा गर्न’ अभियानकर्मीहरूलाई आह्वान गरेको छ।

तस्बिर स्रोत, Getty Images
प्रदर्शनकारी विद्यार्थीहरूले “क्रान्ति!”को नारा लगाउँदै, ड्रम बजाउँदै शिविर वरपर मार्च गरे।
कोलम्बियाका अधिकारीहरूसँग वार्तामा सामेल एक जना विद्यार्थी महमुद खलिलले बीबीसीसँग बोल्दै प्रहरीलाई फेरि शिविर भत्काउन बोलाइन लागेको आफूहरूलाई लागेको बताए।
“विद्यार्थीहरू डटिरहेका छन्। हटेका छैनन्,” आफूलाई सिरियामा हुर्किएको एक प्यालेस्टीनी शरणार्थी बताउने खलिलले भने।
कैयन् प्रदर्शनकारी विद्यार्थीहरूले आफ्नो पहिचान हुने र कारबाहीमा परिने डरले मुहार ढाकेको बीबीसीलाई बताए।
कोलम्बिया विश्वविद्यालयका प्रशासकहरूले कसरी कारबाही गर्ने भन्ने निर्क्योल गर्दै गर्दा देशभरि त्यस्ता कैयन् प्रदर्शन भइरहेका छन्।
कम्तीमा २२ अन्य राज्य र वाशिङ्टन डीसीमा विरोध प्रदर्शन तथा क्याम्पसभित्र शिविर बनाइएका विवरण बीबीसीले पाएको छ।
भर्जिनिया टेकमा प्रहरीले ९१ जनालाई निषेधित क्षेत्रमा प्रवेश गरेको भन्दै आइतवार राति पक्राउ गर्यो। तिनमा ५४ जना हाल उक्त कलेजमा पढिरहेकाहरू छन्।
सोमवार जर्जिया युनिभर्सिटीमा पक्राउहरू गरिए। न्यूयोर्ककै कोर्नेल विश्वविद्यालयले सोमवार ‘पहिलो खेपको तत्काल अस्थायी निलम्बन’का आदेशहरू दियो।
युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलस (यूसीएलए)मा दुई पक्षबीच झडप हुँदा उत्पन्न तनाव अझै उच्च छ।
महिनौँदेखि इजरेल-गाजा युद्धमा युद्धविरामको माग गर्दै आएका कैयन् विद्यार्थी प्रदर्शनकारीहरूले आफू सम्बद्ध शैक्षिक संस्थाहरूलाई इजरेलबाट हुने कुनै किसिमको वित्तीय सहयोगबाट अलग्गिन माग गरेका छन्।
सोमवारको उनको विज्ञप्तिमा डा शफिकले विद्यार्थीहरूको चिन्ता सम्बोधन गर्न कोलम्बियाले विभिन्न उपायहरूबारे सोचविचार गरिरहेको भए पनि ‘इजरेली सहयोगबाट अलग्गिने’ काम नहुने बताइन्।
राजनीतिक टीकाटिप्पणी
यसैबीच केही प्रदर्शनकारीहरूबाट भएका भनिएका घृणा अभिव्यक्ति, तथा हिंसाका धम्कीहरूमाझ क्याम्पसमा आफ्नो सुरक्षाबारे यहुदी विद्यार्थीहरूले चिन्ता जनाएका छन्।
यहुदी विद्यार्थीहरूको चिन्ता सम्बोधन गर्न नसकेको विषय संसारले नियालिरहेको भन्दै न्यूयोर्ककी रिपब्लिकन कंग्रेस सदस्य एलिज स्टेफानिकले कोलम्बियाको कमजोर नेतृत्वको आलोचना गरिन्।
पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पसहित अन्य रिपब्लिकनहरूले प्रदर्शनका बेला यहुदीविरोधी नारा लागेको तथा घटनाहरू भएको उल्लेख गरेका छन्।
क्याम्पसमा भइरहेका विरोध प्रदर्शनका विषयमा ह्वाइट हाउस झन् झन् अप्ठेरोमा परिरहेको छ – उसले शान्तिपूर्ण प्रदर्शनको अधिकार र घृणापूर्ण अभिव्यक्तिको निन्दाको विषयमा सन्तुलन खोजिरहेको छ।
“हामीलाई थाहा छ यो पीडादायी क्षण हो,” ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करिन जँपियरले भनिन्।
विश्वविद्यालयको नेतृत्वले के गर्नु पर्छ भनेर बताउन अस्वीकार गर्दै उनले भनिन्: “स्वतन्त्र अभिव्यक्ति कानुनको परिधिभित्र रहनु पर्छ।”
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








