सुरेन्द्रन पटेल: अमेरिकी न्यायाधीश जो कुनै बेला भारतमा बिँडी बनाएर हुर्के

सुरेन्द्रन पटेल

तस्बिर स्रोत, SURENDRAN K PATTEL

हालसालै जब भारतीय मूलका वकिल सुरेन्द्रन के पटेलले एक अमेरिकी अदालतमा जिल्ला न्यायाधीशको रूपमा पदको शपथ लिए, त्यतिबेला उनको प्रेरणादायी जीवन यात्रा भारतमा समाचारको शीर्षक बन्यो।

बीबीसी हिन्दीका इमरान कुरेशीले भारतमा हातले बेरेर बिँडी बनाउने व्यक्ति अमेरिकामा न्यायाधीश बन्दासम्मको कथा बताएका छन्।

भारतको दक्षिणी राज्य केरलाका ५१ वर्षीय पटेल टेक्ससको फोर्ट बेन्ड काउन्टीको २४० औँ न्यायिक जिल्ला अदालतमा न्यायाधीश नियुक्त भएका छन्।

अमेरिकी नागरिक बनेको पाँच वर्षपछि, यही ज्यानुअरी १ मा उनले शपथ लिएका हुन्। आफ्नो जीवन यात्रा "कडा परिश्रम, दृढ सङ्कल्प र सङ्घर्ष" केन्द्रित भएको पटेल बताउँछन्।

"मेरो जीवनको हरेक पाइलामा मलाई साथ र सहयोग दिने धेरै मानिसहरू छन्," उनी भन्छन्। ती मानिसहरूको शीर्षस्थानमा उनकी आमा छिन् जसलाई उनी "त्यागको प्रतीक"का रूपमा चिनाउँछन्।

पटेलको बाल्यकाल गरिबीमा बित्यो। उनका आमाबुबा छ जना सन्तानलाई खुवाउन न्यून दैनिक ज्यालामा मजदुरी गर्थे।

बाल्यकालमा पटेलले काँचो सुर्तीलाई पातमा हातैले बेरेर परम्परागत बिँडी बनाउने काम गर्थे। "हामीले दिनमा तीन छाक खानाको जोहो गर्ने त्यस्तो काम गर्नु पर्थ्यो।"

"मेरी जेठी दिदी र म राति अबेरसम्म त्यो काम गर्दै बस्थ्यौँ," उनले सुनाए।

किशोरावस्थामा परीक्षामा राम्रो अङ्क नआएपछि उनले विद्यालय जानै छोडे। १५ महिनाकी छोरी भएकी दिदी बित्दा उनले जीवनमा हरेक परिस्थिति स्वीकार गर्न सिकिसकेका थिए।

घटनाबारे विस्तृत जानकारी नदिई उनले बीबीसीसँग भने, "त्यो घटनालाई आत्महत्या भनेर भनियो। तर मलाई न्याय नपाएको महसुस भयो। त्यस घटनाले मलाई अझै सताउँछ।"

त्रासदीपूर्ण त्यस घटनाले उनलाई आफ्नो भविष्यबारे सोच्न प्रेरित तुल्यायो। र, उनी पुनः विद्यालयमा भर्ना भए र धेरै मेहनत गरेर पढे। कलेज भर्ना हुनुअघिको दुई वर्षे प्रि-डिग्री कोर्स पढ्दै गर्दा उनले काम गरेर पैसा कमाउनु पर्ने बाध्यताका कारण कतिपय कक्षाहरू छाड्नु पर्थ्यो।

पहिलो वर्षमा पर्याप्त हाजिरी नभएकै कारण अन्तिम परीक्षामा सामेल हुन नपाउने स्थिति आएपछि उनले त्यसका लागि शिक्षकहरूसँग निकै आग्रह गर्नुपरेको थियो।

"मैले उनीहरूलाई आफू अभावका कारण कक्षामा उपस्थित हुन नसकेको कुरा बताउन चाहिनँ। किनकि मलाई सहानुभूति चाहिएको थिएन," उनले भने।

अदालतमा सुरेन्द्रन

तस्बिर स्रोत, SURENDRAN K PATTEL

यद्यपि, शिक्षकहरूले उनलाई एक मौका दिए। उनीहरूले केही समयपछि पटेलका साथीहरूमार्फत उनीसँग काम गर्न जानुबाहेक अन्य विकल्प नभएको थाहा पाएका थिए।

अन्तिम परीक्षाको नतिजामा कक्षाभरका विद्यार्थीहरूमध्ये दोस्रो भएर पटेलले सबैलाई चकित पारे।

उनले त्यति बेलै आफ्नो भविष्य कानुनी क्षेत्रमा बनाउने निर्णय गरे। "मैले अरू केही गर्न चाहिनँ। म यस विषयलाई लिएर भावनात्मक रूपमा नै निकै गम्भीर छु," उनी भन्छन्।

पटेलले आर्थिक अभावका कारण थुप्रै चुनौतीहरूको सामना गरिरहे तर जीवनमा भेटिएका मानिसहरूको उदारताले उनलाई केही राहत दिलायो।

तीमध्ये एक थिए उत्तुप्प जसले केरलामा एउटा होटल सञ्चालन गर्थे।

"मैले उनलाई तपाईँले काम दिनुभएन भने मैले पढाइ छाड्नु पर्ने हुन्छ भनेर बताएँ। उनले मलाई आफ्नो होटलमा हाउसकिपिङ कर्मचारीको काम दिए," पटेल सुनाउँछन्।

त्यसपछि उनीहरूको सम्बन्ध उत्तुप्पको निधन नभएसम्मै रहिरह्यो।

"म न्यायाधीश बनेको खबर सार्वजनिक भएपछि मलाई उनको भाइ म्यानुअलले फोन गरेका थिए," उनले भन्छन्।

पटेलले कानुन पढ्नुअघि सन् १९९२ मा राजनीति शास्त्रमा डिग्री लिएका थिए।

चार वर्षपछि उनले वकिल पी अप्पुकुटनसँग काम गर्ने मौका पाए र केरलाको कासारगोड जिल्लाको होसदर्ग सहरमा काम गर्न थाले।

"उनी धेरै लगनशील थिए र मैले उनलाई विश्वास गरेँ। मैले उनलाई सबै किसिमका देवानी मुद्दाहरू सुम्पिएँ किनकि उनी आफ्नो जिम्मेवारी सम्हाल्न सक्षम थिए," अप्पुकुटनले बीबीसीसँग भने।

पटेलले त्यहाँ एक दशकसम्म काम गरे। पछि उनकी श्रीमती सुभाले भारतको राजधानी दिल्लीको अस्पतालमा जागिर पाइन्।

र,पटेलले उनीसँगै जाने निर्णय गरे। किनकि आफू कहिल्यै "श्रीमतीको उद्देश्यको वाधा बन्न नचाहेको” उनी बताउँछन्।

दिल्लीमा पनि उनले केही महिना सर्वोच्च अदालतका वकिलसँग काम गर्ने अवसर पाए। त्यसपछि उनकी श्रीमतीले पुनः नयाँ काम पाइन्। यस पटक अमेरिकामा।

"म आफूले गरिरहेको काम छोड्नु पर्दा खुसी थिइनँ। तर सधैँ श्रीमतीसँगै रहेँ। उनी नभएको भए म आज जहाँ छु, त्यहाँ हुने थिइनँ," पटेल भन्छन्।

सुरेन्द्रन र परिवार

तस्बिर स्रोत, SURENDRAN PATTEL

यो जोडी सन् २००७ मा टेक्सस पुग्यो । त्यहाँ पटेलले केही समय किराना पसलमा काम गरे। केही समयपछि उनले आफू टेक्ससमा बारको परीक्षा योग्य रहेको थाहा पाए र उनले अन्तर्राष्ट्रिय कानुनमा डिग्री हासिल गरे।

जब पटेलले डिमोक्र्याटिक पार्टीको तर्फबाट न्यायाधीशको पदमा उम्मेदवारी दिने निर्णय गरे तब उनले केही नमिठा अनुभवहरू सङ्गाले। जस्तै, चुनाव प्रचारप्रसारमा रहँदा भारतीय लवजका कारण आफ्नो खिल्ली उडाइएको उनी सम्झन्छन्।

"तर मलाई त्यसले असर गरेन। प्रचारप्रसार अभियानहरू कहिलेकाहीँ अप्रिय हुन सक्छन्। मलाई लाग्छ तपाईँ यहाँ कति लामो समय बस्नु भएको छ भन्ने कुराले अर्थ राख्दैन। तपाईँले कति समयसम्म समुदायको सेवा गर्नुभयो भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ," उनी भन्छन्।

आफ्ना लागि अमेरिकासम्मको यात्रा फलदायी रहेको उनको अनुभव छ। "म सन् २०१७ मा मात्रै यहाँको नागरिक भएँ र सन् २०२२ मा चुनाव जितेको हुँ। सायद कुनै पनि देशमा यस्तो हुन सक्छ भन्ने मलाई लाग्दैन।"

उनको जित व्यक्तिगत कारणले पनि विशेष छ।

टेक्ससमा वकालत अभ्यास गर्दा पटेल वरिष्ठ वकिल ग्लेन्डन बी एडम्ससँग निकट रहे।

एडम्सको मृत्युपछि उनकी श्रीमती रोजाली एडम्सले पटेललाई अन्तिम संस्कारमा उनको शव पेटिका बोक्न आग्रह गरिन्।

पटेलले आफ्नो नयाँ भूमिकामा काम सुरु गर्ने दिनको बारेमा भने “त्यो दिन अदालतको मेरो इजलास कक्षमा भएको मेरो शपथग्रहणमा मलाई रोजाली एडम्सले न्यायाधीशको औपचारिक पोसाक पहिराएकी थिइन्।"