श्रीराम कृष्णन्: इलोन मस्कलाई ट्विटर सञ्चालन गर्न 'सघाउने' भारतीय अमेरिकी

तस्बिर स्रोत, Getty Images
ट्विटरका नयाँ मालिक इलोन मस्कले गत साता हजारौँ कर्मचारीलाई बर्खास्त गरेपछि त्यसले तरङ्ग सिर्जना गरेको छ।
बर्खास्त गर्ने उनको तरिका विवादित समेत बनेको छ। धेरै कर्मचारीहरूले आफ्नो इमेल खोल्दा जागिरबाट निकालिएको थाहा पाएका थिए।
जसले उनीहरूमा आक्रोश, निराशा मात्र उत्पन्न गराएन मस्कविरूद्ध मुद्दा समेत दर्ता गरियो।
त्यसरी बर्खास्तमा पर्नेहरूमा केही उक्त कम्पनीका वरिष्ठ कार्यकारीहरू समेत छन्।
उनीहरूको ठाउँमा मस्कले आफ्नो एउटा सानो समूह खडा गरेको भनिएको छ जसमा उनका साथी तथा निकट व्यक्तिहरू छन्।
जसलाई उनले ट्विटरका लागि आफ्नो दृष्टिकोण कार्यान्वयन गर्न भरोसा गरेका छन्।
कृष्णन् को चर्चा किन?
जसमा श्रीराम कृष्णन् समेत छन्। उनी भारतीय मूलका सफ्टवेयर इन्जिनियर हुन् जसले कार्यकारीकै रूपमा गत वर्ष उक्त कम्पनी छाडेका थिए।
हाल ए१६जेड का नामले परिचित एक भेन्चर क्यापिटल फर्ममा काम गर्ने कृष्णन् ले ट्विट गर्दै 'मस्कलाई अस्थायी रूपमा सहयोग गरिरहेको' बताएका थिए।
त्यसयता उनको नाम भारतमा चर्चामा छ जहाँ धेरै जना रूखो तरिकाले पूर्व प्रमुख कार्यकारी पराग अग्रवाल र अन्य भारतीय मूलका कर्मचारीहरूलाई हटाएकोमा क्रुद्ध छन्।
कृष्णन् कुन हैसियतमा ट्विटरमा जोडिन्छन् भन्ने तत्काल स्पष्ट छैन।
बीबीसीले प्रतिक्रियाका लागि उनलाई सम्पर्क समेत गरेको थियो।
तर उनले "यतिखेर ट्विटरसँग सम्बन्धित कुनै कुरामा सहयोगी बन्न नसक्ने" बताए।
मस्कसँगको सम्बन्ध
उनको मस्कसँगको सम्बन्ध कति घनिष्ठ हो भनेर समेत यतिखेर ठम्याउन कठिन छ।

तस्बिर स्रोत, Getty Images
तर खबरहरूमा उनी "भित्री समूह" मध्ये पर्ने भएको व्याख्या गरिएको छ।
सन् २०२१ मा सिलिकन भ्याली गर्ल नामको एक युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा कृष्णन् ले आफू र आफ्नी श्रीमती आर्थी रामामूर्तीले केही वर्षअघि पहिलो पटक मस्कलाई 'ट्विटरसँग सम्बन्धित केही काममा' सघाउँदा भेट भएको जनाउँदै त्यससँगै सम्बन्ध विकास गरेको जनाएका थिए।
द न्यूयोर्क टाइम्स पत्रिकाका अनुसार उक्त दम्पतीले 'कैयौँ वर्षअघि' स्पेस एक्सको मुख्यालयमा एउटा निजी भ्रमणका क्रममा समेत मस्कलाई भेटेको थियो।
तर सबैभन्दा उल्लेख्य अन्तर संवाद भने सन् २०२१ को फेब्रुअरीमा भयो जतिखेर उक्त दम्पतीले क्लबहाउसमा सञ्चालन गरेको एउटा संवादमा मस्क देखा परे।
विश्वका सबैभन्दा धनी व्यक्ति त्यसरी आमन्त्रितहरू मात्र सहभागी हुने एपमा देखा पर्दा उक्त शो अचम्म गरी चर्चित बन्यो।
केही मिनेटमा उक्त च्याटरूममा एक समयमा सहभागी हुनसक्ने अधिकतम ५,००० सङ्ख्या पुग्यो।
उक्त कार्यक्रममा मस्कले मङ्गल ग्रहमा जीवन, बाह्य ग्रहका जीव एलिअनको सम्भावना र कसरी उनको एउटा कम्पनीले बाँदरको दिमागले 'आफ्नो दिमागसँग भिडिओ गेम खेल्नेगरी काम गरिरहेको' जस्ता विषयमा कुरा गरे।
'टेक पावर' दम्पती
'द गुड टाइम शो' नामको उक्त कार्यक्रम त्यसयता अन्य अनलाइन मञ्चहरूमा सरेको छ र त्यो अमेरिकामा निकै चर्चित बनेको छ।
इन्टरनेट संस्कृति, राजनीति र सिलिकन भ्यालीका पछिल्ला विकासजस्ता एक आपसमा जोडिने विषयवस्तु उक्त पडकास्टमा उपलब्ध हुन्छ जसमा कृष्णन् र रामामूर्ती परिचित अनुहार हुन्।
ए१६जेडका सह-संस्थापक मार्क एन्ड्रिसेनले आफ्नो कम्पनीको वेबसाइटमा जनाए अनुसार कृष्णन् "सम्भवतः विश्वका एक मात्र त्यस्ता व्यक्ति हुन् जसले हाम्रो समयका तीनवटा ठूला सोसल मञ्चमा प्रोडक्ट सम्बन्धी वरिष्ठ पद सम्हालेका छन्।"
३७ वर्षीय उनले विगतमा ट्विटरबाहेक माइक्रोसफ्ट, याहु, स्नाप र फेसबुकमा काम गरेका छन्।
त्यसैगरी श्रीमती रामामूर्तीले समेत आफ्ना दुई कम्पनी सुरु गर्नुअघि फेसबुक र नेटफ्लिक्समा काम गरेकी छन्।
उनीहरूले संयुक्त रूपमा आफूलाई राम्रोसँग एक अर्कालाई बुझ्ने 'टेक पावर' दम्पतीका रूपमा व्याख्या गरेका छन्।
पृष्ठभूमि
दक्षिण भारतीय सहर चेन्नईमा जन्मिएका कृष्णन् ले आफूलाई 'निकै परम्परागत' मध्यम आय भएको परिवारबाट आएको रूपमा चिनाउँछन्।
आफ्ना बुवालाई सन् १९९० को दशकको अन्त्यतिर, उतिबेला बिलासी मानिने, एउटा कम्प्युटर किन्न मनाएसँगै उनको जीवन फेरियो।
"त्यसको मूल्य झण्डै ६० देखि ७० हजार भारतीय रुपैयाँबिचमा परेको हुनसक्छ जुन मेरो बुवाको आम्दानीको ठूलो हिस्सा थियो," उनले सन् २०२१ को अन्तर्वार्तामा भनेका छन्।
"मैले बुबालाई पढाइमा त्यसको उपयोग गर्ने भनेको थिएँ।"
तैपनि उनीसँग इन्टरनेट थिएन। त्यसबेलाको डायल-अप कनेक्सन थेगिनसक्नुको निकै महँगो थियो।

तस्बिर स्रोत, SRIRAM KRISHNAN/INSTAGRAM
त्यसैले उनले कोडिङ सम्बन्धी किताबहरू किने र हरेक रात आधारभूत कुराहरू आफैँ सिक्ने र अभ्यास गर्ने काम गरे।
कृष्णन् ले रामामूर्तीलाई सन् २००२ मा इन्जिनियरिङ पढ्दा अनलाइनमा भेटे।
त्यसबेलासम्म उनी सफ्टवेयर इन्जिनियर बन्ने बाटोमा लागिसकेका थिए।
रामामूर्ति समेत सोही कलेजमा त्यही बाटोमा थिइन्।
"हामीबीचको एक जना साथीले कोडिङ सम्बन्धी एउटा काम सुरु गर्न खोजे र उनले आफूले नजिकबाट जानेका हामी दुई जनालाई बोर्डमा राखे," उनले सन् २०२१ मा सिलिकन भ्याली गर्ललाई दिएको अन्तर्वार्तामा भनेका छन्।
उक्त सहकार्यले काम गरेन तर उनको र रामामूर्तीको सम्बन्धले भने काम गर्यो।
प्रत्यक्ष रूपमा भेट्नुअघि यी दम्पतीले याहु म्यासेन्जरमा एक वर्षसम्म संवाद गरेका थिए।
त्यसपछिका महिनाहरूमा उनीहरूले इन्टरनेटकै जगमा बनेको सम्बन्धका भरमा सिलिकन भ्यालीमा कुनै दिन पुगेर काम गर्ने सपना देख्न थाले।
"हाम्रो सुरुवाती डेटमध्ये एउटामा मेरो सानो कोठामा सन् १९९९ को एउटा कम्पनीबारेको बीट-टोरेन्टको फिल्म हेरिएको थियो," उक्त अन्तर्वार्तामा कृष्णन् ले भनेका छन्।
जसको केही महिनामा माइक्रोसफ्टमा कृष्णनको एउटा ब्लग पोस्टमा उक्त कम्पनीका एक कार्यकारीको आँखा पर्यो र सन् २००५ मा उनले उक्त दम्पतीलाई नियुक्त गरे।
सन् २००७ मा कृष्णन् अमेरिका गए र त्यसको ६ महिनापछि उनकी श्रीमती त्यहाँ पुगिन्।
सिलिकन भ्याली र ट्विटर
उनीहरूलाई त्यहाँको जीवनमा अभ्यस्त हुन केही समय लागे तापनि उनीहरू काम गरिरहे।
माइक्रोसफ्टमा काम गरेपछि उक्त दम्पती अन्य ठूला प्रविधि कम्पनीमा समेत सर्यो।
उनीहरूले सन् २०१७ मा अमेरिकी नागरिकता पाए। त्यस क्षणलाई कृष्णनले आफ्नो विवाह र आफ्नी पहिलो छोरी जन्मँदाको जस्तो विशेष बताउँछन्।
गत डिसेम्बरमा उनीहरूले पडकास्टका सञ्चालकको रूपमा आफ्नो करिअर सुरु गरेका हुन् जुन महामारीका बेला निकै चर्चित बनेको थियो। अन्तर्वार्तामा विज्ञका समीक्षा देखि सामान्य गफगाफ समेत हुन्छन्।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
जसमा फेसबुकका सह-संस्थापक मार्क जकरवर्ग समेत आएका छन्। फेसन डिजाइनरहरू समेत पाहुना बन्छन्।
मस्कसँगको कृष्णनको साइनो धेरै थाहा नभए तापनि उनी ट्विटरका मालिकलाई "प्रेरणादायी व्यक्ति र छाप छाड्न सफल संस्थापक"को रूपमा व्याख्या गर्छन्।
उनले ट्विटरबारे मस्कको दृष्टिकोणलाई खुला रूपमा साथ दिएका छन्। र माइक्रोब्लगिङ वेबसाइटमा कसैलाई बहिस्कार गर्ने कुराको समेत आलोचना गरेका छन्।
अनुमान के पनि छ भने मस्कले कृष्णनलाई क्रिप्टोकरेन्सी विज्ञका रूपमा बोर्डमा ल्याउँदै आफ्नो क्रिप्टोकरेन्सीलाई ट्विटरसँग जोड्न चाहन्छन्।
उनी ट्विटरको नयाँ टेकनोकिङ् (सीइओका लागि मस्कको वैकल्पिक नाम) बन्छन् कि बन्दैनन् भन्ने समयले देखाउनेछ। तर उनी उक्त सोसल प्लेटफर्मको केन्द्रमा भने हुनेछन्।









