गौतम अडानी: एसियाकै धनी व्यक्तिको उच्च जोखिमयुक्त यात्रा

तस्बिर स्रोत, Getty Images
सन् २००८ को नोभेम्बर २६ को रात त्यति बेलाका भारतका १० औँ धनी व्यक्ति मुम्बईको ताजमहल होटेलमा रात्रिभोज खाँदै थिए। त्यतिनैबेला बन्दुकधारीहरू एक्कासि भित्र छिरेर जताततै गोली र ग्रिनेड चलाइरहेका थिए।
धेरै हतियार बोकेका १० पाकिस्तानी लडाकुहरू त्यो साँझ समुद्रबाट आएर समूहहरूमा बाँडिएका थिए। गाडीहरू कब्जा गरेर दुई उच्च कोटीका होटेलसहित आफ्ना निशानाहरूमा तिनले हमला गरे। ६० घण्टाका लागि कब्जा गरिएको सहरमा १६६ जनाको ज्यान गयो र उक्त घटनाले भारत र पाकिस्तानबीचको सम्बन्ध थप अमिल्यायो।
पछि अडानीले इन्डिया टुडे म्यागेजिनमा बोल्दै होटेलका कर्मचारीले खाना खाइरहेकाहरूलाई हतारहतार बेसमेन्टमा केही घण्टाका लागि राखेको र बाहिर रक्तपातपूर्ण अवस्था भइरहँदा आफूहरूलाई माथिल्लो तलाको हलमा सारेको बताएका थिए।
१०० जना अतिथिहरू रहेको हल भरिभराउ थियो - "कोही सोफामुनि लुकिरहेका थिए, अन्य जीवनका लागि प्रार्थना गर्दै उम्किन खोजिरहेका थिए।"
अडानी आफू सोफामा बसिरहेको सम्झन्छन्। त्यहाँ फसेका अतिथिहरूलाई आफूले भगवानमा विश्वास राख्न भनेको पनि सम्झन्छन्। उनले त्यहीँबाट ५०० किलोमिटर टाढा पर्ने अहमदावादस्थित पिडामा रहेका परिवारलाई फोन गरे। त्यतिबेला उनका सुरक्षाकर्मी र सवारी चालक भयभीत अवस्थामा बाहिर कारमा कुरिरहेका थिए।
होटेलको उक्त हलमा एकरात बिताएपछि अडानी र उनीसँगै बन्धक बनेकाहरूलाई भोलिपल्ट बिहान होटेलको पछिल्तिरको द्वारबाट सेनाको घेराबन्दीमा बाहिर निकालिएको थियो।
"मैले १५ फिट मात्रैको दूरीमा मृत्यु देखेँ," त्यही दिन अबेर आफ्नो निजी विमानमा अहमदावाद फर्किएपछि उनले संवाददाताहरूसँग भने।

तस्बिर स्रोत, Google
उक्त घटनाको करिब १४ वर्षपछि ६० वर्षीय अडानी विश्वका तेस्रा धनी व्यक्ति बनेका छन्। इलोन मस्क र जेफ बेजोसपछि उनी विश्वमा सबैभन्दा धेरै धनी व्यक्ति हुन्।
उनको आधिपत्य बन्दरगाहदेखि ऊर्जासम्मका क्षेत्रमा छ। त्यहाँ उनले २३ हजार कर्मचारीलाई रोजगारी दिएका छन् र उनको व्यवसायको बजार मूल्य २३० अर्ब डलरभन्दा बढी रहेको छ।
भारतको सबैभन्दा प्रतिष्ठित समाचार नेटवर्क एनडीटिभी किन्न लागेको भनेर उनी यो साता समाचारहरूमा चर्चाको विषय बने। उनले सञ्चार क्षेत्रमा उठाएको यो पहिलो महत्त्वपूर्ण जोखिम हो।
विद्यालयको शिक्षा छोडेर व्यापारमा लागेका उनी धेरै अगाडि नै अर्बपति बनेका थिए र उनमा उच्च जोखिम मोल्नसक्ने उत्कट क्षमता छ।
सन् १९९८ को ज्यानुअरीमा, उनी र उनका सहयोगीलाई अहमदावादमा पुरुषहरूको एउटा समूहले बन्दुक देखाएर फिरौतीका लागि कारबाटै अपहरण गरेको बताइएको छ।
अडानी र उनका सहयोगीलाई अदालतले बयानका लागि पटक पटक बोलाउँदा पनि उनीहरू नगएपछि उक्त अपहरणको अभियोग लागेका दुई पुरुषहरू सन् २०१८ मा रिहा भए।
खासै चर्चामा आउन नचाहने 'लो प्रोफाइल' का भनेर चिनिने अडानी यस्ता घटनाहरूबारे बोल्दैनन्। तर एक पटक उनले एकजना पत्रकारलाई “मेरो जीवनमा दुई तीन वटा असाध्यै दुर्भाग्यपूर्ण घटनाहरू घटेका छन्” भनेका थिए।
१६ वर्षको उमेर हुँदा विद्यालयको शिक्षा छोडेका उनी व्यापारमा हात हाल्न मुम्बई गए। उनी त्यति बेला हिराको व्यापार गर्थे। तर त्यो त्यति लामो समय टिकेन।
दुई वर्षपछि उनी गृह राज्य गुजरात फर्किए र आफ्ना भाइले चलाइरहेको उद्योग चलाउन थाले।

तस्बिर स्रोत, Getty Images
अडानी गुजरातमा कोइलाबाट चल्ने भारतै निजी ऊर्जा केन्द्रका मालिक हुन्।
कपडाको व्यापार गर्ने एक मध्यमवर्गीय परिवारमा जन्मिएका अडानीले सन् १९९८ मा सामानहरू व्यापार गर्ने आफ्नो कम्पनी खोलेपछि पछाडि फर्किएर हेर्नुपरेको छैन।
त्यसपछिको २४ वर्षमा उनको ऋणले भरिएका कम्पनीहरूले बन्दरगाहदेखि खानी, रेल्वे, पूर्वाधार, ऊर्जा र घरजग्गा कारोबारसम्म हात हालेका छन्।
त्यस्तो जोखिम मोल्नुलाई एक टिप्पणीकार व्याख्या गर्दै भन्छन्, "भारतको नयाँ पुस्तको सबैभन्दा आक्रामक व्यवसायी सायद उनी नै हुन्।"
अहिले अडानी भारतका पूर्वाधारसम्बन्धी सबैभन्दा ठूला व्यवसायी हुन् भन्नेमा दुई मत छैन।
उनी भारतको दोस्रो ठूलो सिमेन्ट उद्योग, १३ बन्दरगाह र सात विमानस्थलका सञ्चालक हुन्। उनी अहिले दिल्ली र मुम्बईबिचको देशकै सबैभन्दा लामो द्रुतमार्ग बनाइरहेका छन्।
कोइलाबाट चल्ने ६ वटा ऊर्जा केन्द्रसहित अडानी भारतको ऊर्जा क्षेत्रमा सबैभन्दा ठूला निजी व्यवसायी हुन्।
त्योसँगै उनले हरित हाइड्रोजनमा पनि ५० अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएका छन् र ८ हजार किलोमिटर लामो प्राकृतिक ग्यास पाइपलाइन सञ्चालन गरेका छन्।
उनले इन्डोनेशिया र अस्ट्रेलियामा पनि कोइला खानी किनेका छन्।
सन् २०३० सम्ममा नवीकरणीय ऊर्जा उत्पादनमा आफू विश्वकै उच्च व्यक्ति बन्ने उद्देश्य उनले राखेका छन्।
अडानीको व्यावसायिक विस्तारको गति र मात्रा विगतका ठूला उद्योगीहरूसँग तुलनायोग्य भएको नीति विश्लेषकसमेत रहेका लेखक जेम्स क्र्याबट्री बताउँछन्।
"भारतको जर्जर खालको पूर्वाधारमा भर पर्न नसकेर उनले आफ्नै निजी रेल्वे र उर्जा लाइनहरू बनाए। घरेलु कोइलामा पहुँच सहज नभएपछि उनले इन्डोनेशिया र अस्ट्रेलियामा खानीहरू खरिद गरे र आफ्ना बन्दरगाहमार्फत् सामग्रीहरू भारत ल्याए," क्र्याबट्रीले भने।
विवादको घेरा
यहाँसम्म आउँदा अडानीको प्रचुर मात्रामा विवाद पनि भएको छ।
नरेन्द्र मोदी पहिला गुजरातको मुख्यमन्त्री भएका बेला उनीसँग अडानीको निकट सम्बन्ध सुरु भएको थियो र अहिले प्रधानमन्त्री हुँदा पनि त्यो जारी छ। त्यसैले पनि कतिपय आलोचकले उनको व्यवसायको साम्राज्यलाई दलाल पूँजीवादको उदाहरण भनेका छन्। उनीहरूको सम्बन्ध राम्रो छ।
"यी दुईले आफ्नो पेशामा एकअर्काको सहयोगको फाइदा लिएका छन्। मोदीको व्यापारसहयोगी नीतिले अडानीलाई आफ्नो व्यापार विस्तार गर्न मद्दत गरेको छ। अडानीको आफ्नो कम्पनीहरूले पनि यसैबीचमा मोदीको “गुजरात मोडल” को विम्ब दिने थुप्रै बृहत् परियोजनाहरू बनाएका छन्। ती परियोजनाहरूले पूर्वाधारमा लगानी, विदेशी पूँजी आकर्षित गर्ने विषयलाई जोड दिएका छन्," क्र्याबट्रीले भनेका छन्।
अस्ट्रेलियाको क्वीन्सल्याण्डमा रहेको अडानीको कोइला खानीमा सन् २०१९ मा निर्माणकार्य सुरु हुनुअघि वातावरणीय विषयमा स्वीकृति नपाउँदा वर्षौसम्म अड्किएको थियो र त्यसको पक्ष र विपक्षमा समूहहरू बनेका थिए।
अस्ट्रेलियामा रहेको गैरनाफामूलक संस्थाले चलाएको अडानीवाच नामक वेबसाइटले “अडानी समूहले विश्वभर गरेका कुकर्मको खुलासा” गर्ने बताउँछ। अडानी समूहले अस्ट्रेलियामा कानुन तोडेको आरोपहरू अस्वीकार गरेको छ।
सन् २०१९ मा अस्ट्रेलियामा अडानीको कोइला खानीको विषयलाई लिएर क्वीन्सल्याण्डमा प्रदर्शनहरू भएका थिए।
सन् २०१२ मा भारतको सरकारी लेखा परीक्षकले त्यतिबेलाका गुजरातका मुख्यमन्त्रीमाथि अडानी र अन्य व्यापारीहरूलाई राज्यसञ्चालित ग्यास कम्पनीबाट सस्तोमा इन्धन उपलब्ध गराएको आरोप लगाएका थिए।
सन् २०१७ मा एकजना पत्रकारले अडानीको कम्पनीले मोदीको निगरानीमा अनुकूल व्यवहार पाएको दाबी गरेर श्रृङ्खलावद्ध रूपमा समाचारहरू लेखेका थिए। अडानीको कम्पनी र मोदी सरकारले त्यस्ता आरोपहरू निरन्तर रुपमा अस्वीकार गर्दै आएका छन्।
अडानीको जीवनी लेखेका आरएन भास्करले अडानीको सम्बन्ध बनाउन र कायम राख्नसक्ने क्षमताले उनलाई व्यापार वृद्धि गर्न मद्दत गरेको बताए।
धेरै राजनीतिक र सामाजिक नेताहरूसँग उनको असल सम्बन्ध रहेको उनले बताए।
अडानीको केरलास्थित बन्दरगाह परियोजना अहिलेको मुख्य विपक्षी कंग्रेस पार्टी सत्तामा रहँदा स्वीकृत भएको थियो र अहिले त्यहाँ कम्युनिस्टले राज्य चलाइरहँदा उनीहरूले पनि उनलाई समर्थन गरेका छन्।








