आधा जनसंख्या जत्तिकै धनी आठ अर्बपति

तस्बिर स्रोत, AP
संसारका आठजना सर्वाधिक धनाढ्य व्यक्तिहरुसँग विश्वको गरिब आधा जनसंख्या बराबर सम्पत्ति रहेको एउटा अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामले जनाएको छ।
आलोचकहरुले प्रश्न उठाएका उक्त जानकारी सुधारिएको तथ्यांकबाट प्राप्त भएको उक्त संस्थाले जनाएको छ र धनी र गरिबबीचको खाडल पहिले आशंका गरिएभन्दा निकै धेरै रहेको बताएको छ।
सबैभन्दा धनी ती आठ व्यक्तिहरुमा बिल गेट्स, मार्क जकरबर्ग र वारेन बफेट लगायतका धनाढ्यहरु पर्दछन्।
इन्स्टिट्यूट अफ इकोनोमिक एफेएर्सले भनेको छ, अक्सफामले त्यस्ता तथ्यांकहरुमा भन्दा आर्थिक वृद्धि गराउने उपायहरुमा ध्यान केन्द्रित गर्नु श्रेयस्कर हुनेछ।
अचम्म
"एक 'गरिबी विरोधी' परोकारी संस्थाका रुपमा नाम कमाएको अक्सफाम अचम्मसँग धनीहरुको चियो चर्चामा अलमलिएको छ," उक्त खुला बजार मामिला थिंक ट्यांकका महानिर्देशक मार्क लिटलवुडले टिप्पणी गरेका छन्।
एडम स्मिथ इन्स्टिट्यूटमा अनुसन्धान मामिला प्रमुख बेन साउथवुडका अनुसार संसारका धनाढ्यहरुसँग भएको सम्पत्तिभन्दा विश्वका गरिबहरुको हित ज्यादा महत्वपूर्ण विषयहरुको र त्यसमा वर्षेनी सुधार देखिएको छ।
अक्सफामको प्रतिवेदन स्विट्जरल्याण्डको डाभोसमा हुन लागेको विश्व आर्थिक मञ्चको आरम्भका बेला सार्वजनिक भएको छ।
उक्त वार्षिक भेलामा संसारका अग्रणी राजनीतिक तथा व्यापारिक नेताहरुको जमघट हुने गर्दछ।
अक्सफामको विश्वव्यापी बाह्यसम्पर्क प्रमुख केटी राइट भन्छिन्, उक्त प्रतिवेदनले सो संस्थालाई संसारका "राजनीतिक तथा आर्थिक सम्भ्रान्तहरुलाई" चुनौती दिन मद्दत पुर्याएको छ।
नियमन

उनका अनुसार आर्थिक असमानताले राजनीतिमा समेत ध्रुवीकरणलाई मलजल गरिरहेको छ र त्यसका लागि उनले अमेरिकामा डोनल्ड ट्रम्पको निर्वाचन र ब्रिटेनमा ब्रेक्जिटका पक्षमा भएको जनमत संग्रहको परिणामलाई प्रस्तुत गरेकी छन्।
उक्त परोपकारी संस्थाले "अझ बढी मानवीय अर्थतन्त्र" को माग गरेको छ र सरकारहरुलाई कम्पनीका प्रमुखहरुको तलबलाई नियमन गर्न, कर छली रोक्न र धनीहरुमाथि उच्चदर कर लगाउन पनि आग्रह गर्ने गरेको छ।
सो संस्थाले व्यापारिक नेताहरुलाई पनि "उचित दरमा कर तिर्न" आग्रह गर्दै कम्पनीहरुले आफ्ना कामदारलाई "जीवन धान्न पुग्ने तलब" प्रदान गर्न पनि भनेको छ जुन सरकारले निर्धारण गरेको राष्ट्रिय तलबमानभन्दा बढी रहेको छ।
अक्सफामले विगत चार वर्षदेखि यस्तो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ।
सन् २०१६ मा उसले ६२ जना धनाढ्यसँग संसारको गरिब आधा जनसंख्यासँग भएको बराबरको धन रहेको जनाएको थियो।
अहिले त्यस्तो संख्या झरेर आठ जनामा सीमित भएको छ।
यसपटक पहिलेभन्दा सहि तथ्यांक हासिल भएकाले यो पछिल्लो प्रतिवेदनको नतिजा आएको अक्सफामले जनाएको छ।
संसारका आठ सर्वाधिक धनी अर्बपतिहरु
१.बिल गेट्स (अमेरिका): माइक्रोसफ्टका सह-संस्थापक (सम्पत्ति ७५ अर्ब डलर)
२.आमान्थ्यो ओर्टेगा (स्पेन): जारा फेसन कम्पनीको मालिक इन्डिटेक्सका संस्थापक (सम्पत्ति ६७ अर्ब डलर)
३.वारेन बफेट (अमेरिका): बर्कशाएर ह्याथवेमा सबैभन्दा ठूलो शेयरधनी (सम्पत्ति ६०.८ अर्ब डलर)
४.कार्लोस स्लिम हेलु (मेक्सिको): ग्रुपो कार्सोका मालिक (सम्पत्ति ५० अर्ब डलर)
५.जेफ बेजोस् (अमेरिका): एमजनका संस्थापक तथा प्रमुख कार्यकारी (सम्पत्ति ४५.२ अर्ब डलर)
६.मार्क जकरबर्ग (अमेरिका): फेसबुकका सह-संस्थापक तथा प्रमुख कार्यकारी (सम्पत्ति ४४.६ अर्ब डलर)
७.ल्यारी एलिसन (अमेरिका): ओर्याकलका सह-संस्थापक तथा प्रमुख कार्यकारी (सम्पत्ति ४३.६ अर्ब डलर)
८.माइकल ब्लुमबर्ग (अमेरिका): ब्लुमबर्ग एलपीका मालिक (सम्पत्ति ४० अर्ब डलर)
स्रोत: फोर्ब्स अर्बपति सूची, मार्च २०१६








