ऋषि सुनक: 'भारतीय मूल'का हिन्दू प्रधानमन्त्रीका पूर्वजहरू अफ्रिका हुँदै कसरी यूके पुगे

ऋषि सुनक (बायाँबाट दोस्रो) आफ्ना भाई र आमाबुवासँग
    • Author, ह्यारिएट ओरल
    • Role, बीबीसी विश्व सेवा

यूकेमा नयाँ सरकार गठन भएसँगै अल्पसङ्ख्यक समुदायबाट पहिलो पटक प्रधानमन्त्री बनेका ऋषि सुनकको पारिवारिक पृष्ठभूमि र पूर्वजको इतिहासबारे चर्चा भइरहेको छ।

ऋषि सुनक यूकेको प्रधानमन्त्री हुने पहिलो एशियाली मूलका व्यक्ति मात्र नभई पहिलो हिन्दू धर्मावलम्बी पनि हुन्।

सुनक अहिले नेतृत्वमा रहेको कन्जर्भेटिभ पार्टीबाट श्वेत वर्णबाहेकका व्यक्ति महत्त्वपूर्ण पदहरूमा पुगेको इतिहास धेरै पुरानो होइन। त्यसमाथि प्रधानमन्त्रीनै चुनिएको यो पहिलो अवसर हो।

निश्चित वर्ग, जाति, उपनिवेश र ब्रिटिश साम्राज्यको संरचनाकै सूत्रबाट चलिरहेको टेन डाउनिङ स्ट्रीट भनिने यूकेको प्रधानमन्त्री कार्यालयमा सुनक पुग्दासम्मको इतिहास रोचक छ।

रातो रेखा

सुनक परिवारको विगत

दक्षिणी बन्दरगाह सहर साउथ्याम्प्टनमा सन् १९८० मा जन्मिएका सुनकका बुवा यशवीर र आमा उषा दुवै पञ्जाबी मूलका हुन्। यद्यपि उनीहरू पूर्वी अफ्रिकास्थित ब्रिटिश उपनिवेशबाट यूके आएका थिए।

उनकी आमा हालको तान्जानियामा जन्मिएकी थिइन् भने बुवा तात्कालिक ब्रिटिश उपनिवेश रहेको केन्यामा जन्मिएका र हुर्किएका थिए।

सुनकका घरका र मावलका हजुरबुबा ब्रिटिश इन्डियाको पन्जाब प्रान्तबाट पूर्वी अफ्रिका पुगेका थिए।

सुनक परिवार भारत र पाकिस्तान विभाजित हुनुअघिनै सन् १९३० मा पञ्जाबबाट अफ्रिका पुगेर बसोबास गर्न थालिसकेको थियो।

अफ्रिकी देशहरूले ब्रिटिश उपनिवेशबाट स्वतन्त्रता पाउन थालेपछि भारतीय मूलका मानिसहरू पनि त्यहाँबाट अन्यत्रै बसाइँ सरे। तीमध्ये धेरै यूकेतर्फ गएका थिए।

सुनक प्रधानमन्त्रीमा चुनिएपछि दक्षिण एशियाली समुदायमा उत्साह छाएको छ

तस्बिर स्रोत, Getty Images

हालै प्रकाशित सुनकको जीवनीअनुसार उनको मावलकी हजुरआमा सरक्षाले बिहेको गहना बेचेर सन् १९६० को दशकमा यूके जाने खर्च जुटाएकी थिइन्।

तात्कालिक ब्रिटिश इन्डियादेखि अफ्रिकी उपनिवेश हुँदै जाने बाटोबाट हजारौँ मानिसहरू यूके पुगेका छन्। तर यसको इतिहास कस्तो छ?

रातो रेखा

भारतीय मूलका मानिसहरू कसरी अफ्रिका पुगे?

उन्नाइसौँ शताब्दीमा ब्रिटिश उपनिवेशहरूमा तीव्र गतिमा औद्योगिकीकरण भयो। दासत्व उन्मूलन पनि त्यही समयमा गरिएका कारण कामदारको अभाव भएको वैश्विक इतिहासकी शिक्षिका इमिली ग्लान्कर बताउँछिन्। यो अभावबारे उनले बनाएका भिडिओहरू टिकटकमा भाइरल भएका छन्।

त्यहाँ एउटा रिक्तता भएको र भारतीय कामदारहरू रेल तथा सडक लगायतका संरचना निर्माणका लागि सस्तो कामदारका रूपमा प्रयोग भएको उनी बताउँछिन्। तीमध्ये कतिपयले ऋण तिर्न नसकेर रोजगारीका सम्झौतामा फसेको उनको भनाइ छ।

तर दासत्व अन्त्य भएपछि धेरै मानिसहरू भारतमै फर्किए पनि कतिपयलाई ब्रिटिशले आर्थिक समृद्धि र राम्रो जीविकाको वाचासहित पूर्वी अफ्रिकामै बस्न निम्तो दिएको थियो।

उनीहरूले त्यहाँ ब्रिटिश र रैथाने अफ्रिकी समुदायबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको उनी बताउँछिन्।

अफ्रिकी उपनिवेशहरूमा ब्रिटिशहरू सबैभन्दा माथिल्लो र अफ्रिकीहरूलाई सबैभन्दा तल्लो दर्जा दिइएका कारण भारतीयहरूले उनीहरूका बीचमा रहेर काम गर्दा आर्थिक उन्नतिको सम्भावना देखेको ग्लेन्कर बताउँछिन्।

यो समयमा अफ्रिकी भारतीयहरूले थप शक्ति आर्जन गरेका थिए। उदाहरणका लागि, १९२० को दशकमा युगान्डाका अश्वेत जातिका मानिसहरूले आफ्नो नाममा जमिन राख्न पाउँदैनथे तर भारतीय मूलका मानिससँग त्यस्तो अधिकार थियो।

रातो रेखा

अफ्रिकी स्वतन्त्रता

सन् १९६० र ७० को दशकमा आइपुग्दा ब्रिटिश साम्राज्य खुम्चिँदै गएको थियो र अश्वेत जातिका अफ्रिकी नेताहरूलाई नेतृत्व हस्तान्तरण गरेर ब्रिटिश शासनले ती देशलाई स्वतन्त्रता दिँदै गयो।

यससँगै भारतीय मूलका मानिसहरू पनि अफ्रिकी उपनिवेशबाट बसाइँ सर्न थाले।

सन् १९७२ मा युगान्डाका तात्कालिक राष्ट्रपति इदि अमिनले आफ्नो देशमा बसोबास गरिरहेका एशियाली मूलका सबै मानिसलाई ९० दिनभित्र देश छोड्न निर्देशन दिए।

यसरी नै आफू र परिवारका अरू १५ जनासहित युगान्डाबाट भागेर यूके आउनेमध्येमा भक्ति कन्सारा पनि थिइन्।

भक्ति कन्सारा

तस्बिर स्रोत, BBC/handout

तस्बिरको क्याप्शन, भक्ति कन्सारा

बुवा र दाजुले परिवारका सबैलाई यूके जानुपर्ने कुरा सुनाएको र आफू अन्य कुरा थाहा नपाए पनि त्यसले खुसी बनाएको उनले बीबीसीलाई भनिन्।

"म के सम्झिन्छु भने आमा दुःखी हुनुहुन्थ्यो। म ठिकै थिएँ, खुसी नै थिएँ। मलाई 'म लन्डनमा जान लागेकी छु' भन्ने लागेको थियो तर के भइरहेको थियो भन्ने मलाई पटक्कै थिएन।"

"हामी दुईवटा कारमा निस्किएका थियौँ र विमानस्थलसम्म सेनाले सुरक्षा दिएको थियो। हामी लन्डन जाँदै गर्दा सेनाको सुरक्षामा निस्किनुपरेपछि केही गडबड चाहिँ पक्कै छ भन्ने लागेको थियो," उनले भनिन्।

उनीहरू अन्य ब्रिटिश उपनिवेश रहेका अफ्रिकी देशबाट आएका मानिसजस्तै शरणार्थी बनेर यूके पुगेका थिए।

यूकेमा राम्रोसँग नयाँ घरमा बस्न पाए पनि शरणार्थीहरूले बेलाबेलामा रङ्गभेदको सिकार हुनुपरेको र भागेर आउँदाको आघातसहित बाँच्नुपरेको थियो।

रातो रेखा

यूकेमा जीवन

सुनककी आमाले औषधि पसल चलाउँथिन्

तस्बिर स्रोत, Rishi Sunak campaign video via PA

तस्बिरको क्याप्शन, सुनककी आमाले औषधि पसल चलाउँथिन्

भक्तिकी छोरी रेहा अहिले बीबीसी संवाददाताको रूपमा काम गर्छिन्। उनले युगान्डाबाट निष्काशित मानिसबारे शृङ्खलाबद्ध वृत्तचित्र बनाएकी छन्।

उनका अनुसार उनीहरूलाई त्यसअघि नै मध्यमवर्गीय मानिसहरूका रूपमा स्वीकार गरिएका कारण यूकेमा घुलमिल हुन कुनै समस्या परेन।

मध्यस्थकर्ताको भूमिकामा काम गरेका कारण उनीहरूको अङ्ग्रेजी भाषा समेत राम्रो थियो र थप सजिलो भयो।

सुनकका हजुरबुवा हालको तान्जानियामा कर अधिकारी थिए। यूके आएपछि पनि उनले कर कार्यालयमा काम पाए।

सुनकका आमाबुवा दुवै जना स्वास्थ्यसम्बन्धी पेसामा थिए।

बुवाले न्याश्नल हेल्थ सर्भिसमा डाक्टरको रूपमा काम गरे र आमाले औषधि पसल सञ्चालन गरिन्। सुनकले पनि सुरुमा त्यही पसलमा काम गरेका थिए।

यूकेमा बिस्तारै ब्रिटिश-एशियाली समुदाय बढ्दै गए पनि अन्य समुदायसँग केही उल्लेखनीय भिन्नताहरू देखा पर्न थाले।

सुनकको परिवार आए जस्तो औपनिवेशिक कालको मार्गबाहेक सीधै पनि आप्रवासीहरू आउन थाले।

सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिएपछि ब्रिटेन पुग्ने धेरै ग्रामीण क्षेत्रमा मानिस थिए। तीमध्ये धेरै मुस्लिम थिए। उनीहरू सबैसँग पर्याप्त आम्दानी गर्न आवश्यक भाषाको र पेसागत दक्षता थिएन।

रातो रेखा

यूकेका पहिलो भारतीय मूलका प्रधानमन्त्री

डाउनिङ स्ट्रिट बाहिर सुनक

तस्बिर स्रोत, Getty Images

सुनक प्रधानमन्त्री बनेपछि यूकेको कन्जर्भेटिभ पार्टीका सांसदहरूले आफ्नो पार्टी अग्रगामी भएको दाबी गरिरहेका छन्।

उनीहरूले सन् १८७४ मा पहिलो यहुदी मूलका बेन्जामिन दिस्रेलीलाई प्रधानमन्त्री निर्वाचित गरेका थिए भने त्यसको १०० वर्षभन्दा केही समयपछि सन् १९७९ मा मार्गरेट थ्याचर प्रथम महिला प्रधानमन्त्री बनेकी थिइन्।

फेरि त्यसको ५० वर्षपछि उनीहरूले पहिलो पटक "पर्सन अफ कलर" अर्थात् श्वेत वर्णबाहेकका व्यक्तिलाई प्रधानमन्त्री चयन गरेका छन्।

पछिल्लो समय कन्जर्भेटिभ पार्टीको मन्त्रिपरिषद्सहित ब्रिटेनको राजनीति थप विविधतायुक्त बनेको छ। उदाहरणका लागि, अहिलेकी गृहमन्त्री सुएला ब्राभर्मन र पूर्वगृहमन्त्री प्रीति पटेल दुवैका आमाबुवा पूर्वी अफ्रिकाबाट यूके आएका थिए।

सुनक प्रधानमन्त्री बन्नु यूकेका लागि महत्त्वपूर्ण क्षण हो।

भारतीय मूलका सुनक प्रधानमन्त्री बनेकोमा खुसी हुने र नहुनेबीच पनि विभाजन रहेको रेहा बताउँछिन्।

परिवारको पूर्वी अफ्रिकी पृष्ठभूमिका कारण कतिपयले उनले आफ्नो प्रतिनिधित्व नगर्ने धारणा राखेको आफूले पाएको उनको भनाइ छ।

"मलाई पनि त्यस्तो भनिएको छ," उनी भन्छिन्।

"भारतमा मलाई कति हिन्दू राष्ट्रवादीले प्राविधिक रूपमा म भारतीय नभएको बताए किनभने मेरा पूर्वज विभाजनअघि नै अफ्रिका गएका थिए। त्यस बेला भारत अस्तित्वमा नै नरहेकाले मेरो भारतीय पृष्ठभूमि नहुने उनीहरूको भनाइ छ।"

उनले आफ्नो पहिचानका बारेमा आफू ढुक्क रहेको उल्लेख गर्दै ब्रिटिश, भारतीय र अफ्रिकी तीनवटै पहिचान एकैचोटि हुन सक्ने बताइन्।

"यस्ता बहसहरू चलिरहन्छन्। तर कसको परिवार कहाँबाट यूके आयो भन्ने आधारमा उसको विरासतलाई नीचो देखाउनु अन्ततः हानिकारक छ। यद्पि दक्षिण एशियाली समुदायका केही मानिस सुनक भारतीय मूलको भएकोमा उत्साहित छन्।"

"उनी पहिलो 'ब्राउन' पुरुष हुन्, पहिलो हिन्दू हुन् जो हाम्रो इतिहासमै पहिलो पटक यूकेका प्रधानमन्त्री बन्न सफल भएका छन्।"

रातो रेखा

यो पनि पढ्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, ७५ वर्षअघि छुट्टिएका दाजुभाइको भेट
रातो रेखा