ऋषि सुनक: 'राजाभन्दा धनी' ब्रिटेनका नयाँ प्रधानमन्त्रीको सम्पत्तिबारे हामीलाई के थाहा छ?

ऋषि सुनक र अक्षता मूर्ति

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यूकेका प्रधानमन्त्री सुनकले लिने निर्णयले त्यहाँका दशौँ लाख मानिसको आर्थिक अवस्थामा असर पार्नसक्छ

एशियाली मूलका पहिलो ब्रिटिश प्रधानमन्त्री ऋषि सुनक र उनको परिवारको आर्थिक मामिला अहिले सूक्ष्म निगरानीमा परेको छ।

यति धेरै धनी मान्छेले कसरी जीवनयापन खर्चको सङ्कट बेहोरिरहेको यूकेका औसत सर्वसाधारणहरूका लागि कठोर आर्थिक निर्णय लिन सक्छन् भन्ने प्रश्न कतिपय मानिसहरूले गरेका छन्।

कन्जरभेटिभ पार्टीको नेता बन्ने अभियानमा लागेपछि उनका आर्थिक गतिविधिबारे शृङ्खलाबद्ध खुलासाहरू भए। त्यसपछि मानिसहरूले सुनकको सम्पत्ति कति छ भनेर सोधखोज सुरु गरे।

यद्यपि "निष्ठावान् र विनम्र भएर काम गर्ने" वाचा गर्दै सुनकले यो पदका लागि आफू उपयुक्त व्यक्ति भएको र "ब्रिटिश जनताका लागि दिनरात काम गर्ने प्रतिबद्धता" गरेका छन्।

सुनक र उनको परिवारको सम्पत्ति कति छ र यसले पार्न सक्ने फरकबारे हामीलाई के थाहा छ?

'राजपरिवारभन्दा धनी?'

राजा चार्ल्स तृतीयले यूकेका नयाँ प्रधानमन्त्रीलाई शपथ गराइरहँदा सामाजिक सञ्जालमा मानिसहरूले यी दुई जनाको जोडी कति धेरै धनी होला भन्दै प्रतिक्रिया जनाइरहेका थिए।

सुनकले आफ्नो कुल सम्पत्तिबारे खुलाएका छैनन्।

सण्डे टाइम्सले प्रकाशन गर्ने धनी व्यक्तिहरूको सूची अनुसार पूर्व ब्याङ्कर सुनक र भारतीय प्रविधि कम्पनीको उत्तराधिकारी उनकी श्रीमती अक्षता मूर्ति करिब ८३ करोड अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन्।

चार्ल्स र सुनक

तस्बिर स्रोत, Getty Images

जबकि आफ्नी आमाको अधिकांश सम्पत्तिको उत्तराधिकारी रहेका नयाँ राजामा आउनेछ।

दिवंगत हुनुअघि महारानी एलिजाबेथ द्वितीया लगभग ४२ करोड अमेरिकी डलरको मालिक रहेको सण्डे टाइम्सको उक्त सूचीमा जनाइएको छ।

अक्षता मूर्तिको सम्पत्ति

अक्षता मूर्तिको सम्पत्ति र आर्थिक मामिलाबारे गत अप्रिलपछि मानिसहरूमा चासो बढेको थियो।

आफ्ना श्रीमान्‌माथिको राजनीतिक दबाब कम गर्न उनले विदेशमा हुने आफ्नो कमाइको पनि यूकेमा कर तिर्ने घोषणा गरिन्।

त्यसबेला अर्थमन्त्री रहेका सुनकले आफ्नो आर्थिक पारदर्शिता र कर व्यवस्थापनबारे आलोचना खेपिरहेका थिए।

अक्षता

तस्बिर स्रोत, Getty Images

आफूले नियम पालना गरिरहेको दाबी सुनकले गरे पनि विपक्षी लेबर पार्टीले उनले जवाफ दिनुपर्ने अरू विषयहरू पनि रहेको बताएको थियो।

सुनकको राजनीतिक यात्रा

सुनक अफ्रिकाबाट यूके आएका भारतीय मूलका बाबु आमाबाट १९८० मा साउथह्याम्पटनमा जन्मिएका हुन्।

उनका बुबा जनरल फिजिसिअन र आमा औषधि पसल सञ्चालक हुन्।

उनले एउटा विशेष निजी विद्यालय विन्चेस्टर कलेजमा पढे र गर्मी बिदाका बेला साउथह्याम्पटनका रेष्टुराँमा वेटरका रूपमा काम गरे।

उनले अक्सफर्ड विश्वविद्यालयमा दर्शन, राजनीति र अर्थशास्त्र पढे।

क्यालिफोर्नियाको स्ट्यान्डफर्ड यूनिभर्सिटीबाट एमबीए गरेका उनले त्यहीँ पढ्दा भावी श्रीमती अक्षता मूर्तिलाई भेटे जो भारतीय अर्बपति, विशाल प्रविधि कम्पनी इन्फोशिसका सह-संस्थापक नारायण मूर्तिकी छोरी हुन्।

यी दम्पतीका दुई छोरीहरू छन्।

ऋषि सुनक

तस्बिर स्रोत, HM Treasury

सन् २००१ देखि २००४ सम्म सुनकले गोल्डम्यान स्याक्स ब्याङ्कमा विश्लेषकका रूपमा काम गरे। पछि उनी दुई वटा आर्थिक लगानी सम्बन्धी विशेष कोष हेज फन्डमा साझेदार बने।

उनी सन् २०१५ मा रिचमन्डको नर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बनेका सुनक पूर्ववर्ती टरिजा मेको सरकारमा कनिष्ठ मन्त्री बने।

बोरिस जोनसनले उनलाई अर्थ मन्त्रालयमा दोस्रो वरियतामा रहने चीफ सेक्रेटरी टू द ट्रेजरीमा नियुक्त गरे।

अन्ततः फेब्रुअरी २०२० मा उनलाई चान्सलर (अर्थमन्त्री)मा पदोन्नति गरियो।

कति तलब पाउँछन्

प्रधानमन्त्रीको रूपमा सुनकको वार्षिक आय १८५,००० अमेरिकी डलर (दुई करोड २३ लाख नेपाली रुपैयाँ बढी) हुन्छ।

उनले दुई तरिकाबाट तलब पाउँछन्। एउटा प्रधानमन्त्रीको रूपमा र अर्को सांसदको रूपमा।

सांसद र पूर्व अर्थमन्त्रीको रूपमा उनको वार्षिक आय १७१,६४० अमेरिकी डलर थियो। प्रधानमन्त्री भएपछि उनले थप १३०,१६० अमेरिकी डलर भत्ता पाउँछन्।

आम मानिसको तुलनामा उनको तलब धेरै भए पनि विश्वका कतिपय सरकार प्रमुखले पाउने तलबभन्दा उनको तलब कम हो। उदाहरणका लागि अमेरिकी राष्ट्रपतिको वार्षिक तलब ४००,००० अमेरिकी डलर (पाँच करोड २३ लाख नेपाली रुपैयाँ बढी) हुन्छ।

व्यक्तिगत सम्पत्ति कति छ

राजनीतिमा आउनुअघि सुनक उच्च नाफा कमाइरहेका दुई वटा हेज फन्डका साझेदार थिए र यूकेका सबैभन्दा धनी मध्येका सांसद भए।

द टाइम्स पत्रिकाका अनुसार उनी "२५ वर्षे उमेरको आसपासमा दशौँ करोडका धनी" बने तापनि आफूसँग भएको सम्पत्तिबारे उनले कहिल्यै सार्वजनिक रूपमा बोलेका छैनन्।

आफूले पढेको विद्यालयलाई एक लाख युरो अनुदान दिएपछि विपक्षी लेबर पार्टीले यसअघि उनको आलोचना समेत गरेको थियो।

ऋषि सुनक र अक्षता मूर्ति

तस्बिर स्रोत, POOL

लेबर पार्टीले ट्याक्स हेभन देशहरूको प्रयोग गरेर सम्पत्ति कमाएकोबारे समेत प्रश्न उठाएको थियो।

इन्डिपेन्डेन्ट पत्रिकाले ट्याक्स हेभन भनिने ब्रिटिश भर्जिन आइल्याण्ड र केम्यान आइल्याण्डबाट सन् २०२० को नाफा लिने सूचीमा सुनक पनि रहेको विवरण प्रकाशित गरेको थियो।

सुनकका प्रवक्ताले उक्त दाबी भरपर्दो नभएको बताएका थिए।

ब्लाइन्ड ट्रष्टमा लगानी

युकेका राजनीतिज्ञहरूले सरकारी ओहोदामा पुगेपछि प्राय ब्लाइन्ड ट्रष्ट भनिने कोषमा लगानी गर्छन्। यसले उनीहरूको पैसा कहाँ लगानी भएको छ थाहा नदिई उनीहरूलाई नियमित आम्दानीको बाटो दिन्छ।

यसको उद्देश्य भनेको नीतिगत निर्णयबाट सांसदहरूलाई थप सम्पत्ति आर्जन गर्ने सम्भावित स्वार्थको द्वन्द्वबाट सांसदहरूलाई अलग्गै राख्नु हो। तर यो अभ्यास आफैँमा विवादास्पद छ।

मन्त्री हुँदा उनले यो कोषमा आफ्नो लगानी रहेको खुलाएका थिए।

सुनकले सन् २०१९ तत्कालीन अर्थमन्त्री साजिद जाभेदको सहायक भएपछि यस्तो कोषमा लगानी रहेको जानकारी गराएका थिए। तर लेबर पार्टीले भने अर्थमन्त्रीलाई लगानी गर्ने कम्पनीमा सहभागी हुन छुट दिन नहुने बताएको थियो।

विपक्षी पार्टीले उनको लगानी र सन् २०२० मा उनी मन्त्री भएयता ती लगानीबाट भइरहेको आम्दानीबारे खुलाउन माग गरेको छ।

यो कोषले भने सुनकले मन्त्रीले पालना गर्नुपर्ने नियम पालना गरेको जनाएको छ।

पूर्व प्रधानमन्त्री टरिजा मेले पनि यस्तो कोषमा लगानी गरेकी थिइन्। तर उनका पूर्ववर्ती डेभिड क्यामरुनले भने पदमा जानुअघि यस्ता सबै कोषमा भएका लगानी विक्री गर्नु उचित हुने बताउने गरेका थिए।

सुनक दम्पतीका दुई छोरी छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सुनक दम्पतीका दुई छोरी छन्

सुनकले धेरै ठाउँमा सम्पत्ति राखेको बुझिएको छ।

उनले आफ्नो निर्वाचन क्षेत्रमा सन् २०१५ मा १५ लाख युरोमा अति मूल्यवान् घर किनेका थिए।

उनले लण्डनमा पनि महँगो घर किनेका छन् जसको मूल्य सन् २०१० मै ४५ लाख परेको थियो। उनको परिवारको नाममा साउथ केन्जिङ्गनमा पनि अपार्टमेन्ट र सान्टा मानिका क्यालिफोर्नियामा प्रशान्त महासागरको दृश्यावलोकन गर्न सकिने एउटा पेन्टहाउस छ।

सुनकले यसअघि करदाताको पैसाबाट सरकारले उपलब्ध गराउने फ्ल्याट प्रयोग गरेका थिए। प्रधानमन्त्री भए पछि उनी अब डाउनिङ स्ट्रिटको नम्बर १० मा बस्न सक्नेछन्।

अक्षता मूर्तिको पृष्ठभूमि

अक्षता मूर्ति भारतीय अर्बपति नारायण मूर्तिको अरबौँ सम्पत्तिको उत्तराधिकारी हुन्।

सन् १९८० मा जन्मिएकी अक्षतालाई जन्मिएको केही समयमै उनका बुबापट्टिका हजुरबुवा र हजुरआमासँग छोडेर उनका बुबा आमा कामका लागि मुम्बई गएका थिए।

त्यसको अर्को वर्ष नारायण मूर्तिले एउटा प्रविधि सेवा प्रदायक कम्पनी इन्फोसिस सह-स्थापना गरे जसले उनलाई भारतको सबैभन्दा धनी व्यक्तिहरू मध्ये एक बनायो।

अक्षता मूर्ति अर्थशास्त्र र फ्रान्सेली अध्ययन गर्नका लागि क्यालिफोर्नियाको निजी उदारवादी क्लेरेमन्ट म्याककेन्ना कलेजमा भर्ना भइन्।

नारायण मूर्ति र उनकी श्रीमती सुधा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नारायण मूर्ति प्रविधि कम्पनी इन्फोसिसका संस्थापक हुन् भने उनकी श्रीमती सुधा परोपकारी काममा सक्रिय छिन्

डेलोइट एवं युनिलिभरमा काम र स्ट्यानफर्ड विश्वविद्यालयमा एमबीए अध्ययन गर्नुअघि अक्षताले एउटा फेसन कलेजबाट डिप्लोमा गरिन्।

ऋषि र अक्षताको भेट स्ट्यानफर्डमै भयो र सन् २००९ मा विवाह गरे।

पारिवारिक सम्पत्ति

भारतकै सबैभन्दा ठूलो मध्येको इन्फोसिस अहिले यूके सहित ५० देशमा सञ्चालनमा छ।

बङ्गलोरमा मुख्यालय रहेको यो कम्पनीले सन् २०२१ मा १३ अर्ब ५० करोड अमेरिकी डलर कारोबार गरेको छ।

मूर्तिले सन् २०११ मा यसको अध्यक्षबाट राजीनामा दिए पनि यसमा अझै उनको केही लगानी बाँकी छ। कम्पनीको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार अक्षताका बुबा नारायणको ०.३९ प्रतिशत लगानी अझै बाँकी छ।

फोर्ब्सको एउटा अनुमान अनुसार नारायणको सम्पत्ति करिब ५ अर्ब अमेरिकी डलर बराबर सम्पत्ति छ।

नारायण मूर्ति

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, नारायण मूर्ति भारतका धनी मध्येका व्यवसायी हुन्

ऋषि पत्नी अक्षताको नाममा पनि इन्फोसिसमा ०.९ प्रतिशत शेअर छ र उनले यसबाट आएको लाभ बापत यूकेमा कर पनि तिरेकी छिन्।

उनको भागको शेअर मूल्य करिब ८० करोड अमेरिकी डलर बराबर हुन्छ।

यूकेमा अन्य लगानी

उनको मुख्य व्यावसायिक चासोहरू मध्ये एक क्याटामरन भेन्चर्सको लन्डनस्थित शाखा हो जसलाई सन् २०१३ मा मूर्ति र सुनकले संयुक्त स्थापना गरेका थिए र त्यस कम्पनीले नयाँ व्यवसायहरूमा लगानी गर्छ।

कम्पनी हाउसमा मूर्ति एक जिम चेन, डिग्मे फिटनेसको निर्देशक हुन्।

कोभिड महामारीको समयमा उनको कम्पनीलाई प्रशासनिक काममा मात्र सीमित राखिएको थियो।

लिङ्क्डइनमा रहेको मूर्तिको खातामा समेत उनलाई न्यू एन्ड लिङ्वूडको निर्देशकको रूपमा चिनाइएको छ।

उक्त कम्पनीले पुरुषहरूको लागि उच्च स्तरको लुगाहरू उत्पादन गर्छ।