यूके राजसंस्था: ब्रिटिश महारानीले कहाँ कहाँबाट वार्षिक रूपमा आय आर्जन गर्छिन्?

तस्बिर स्रोत, Getty Images
- Author, टम एजिङटन
- Role, बीबीसी न्यूज
ब्रिटेनको राजपरिवारले गत वर्ष ब्रिटेनकी महारानीले कति रकम कहाँकहाँबाट प्राप्त गरिन् र के के मा खर्च गरिन् भन्ने कुरा सार्वजनिक गरेको छ।
महारानीले कति रकम पाइन् र कहाँ कहाँबाट पाइन्?
सरकारबाट महारानीले के पाउँछिन्?
"सोभरिन ग्र्यान्ट" शिर्षकमा ब्रिटिश सरकारले महारानीलाई हरेक वर्ष निश्चित रकम उपलब्ध गराउँछ।
सोभरिन ग्र्यान्ट अन्तर्गत गत वर्ष उनलाई ८ करोड ५९ लाख पाउन्ड दिइएको थियो त्यो भनेको यूकेको हरेक व्यक्तिका भागमा १.२९ पाउन्ड पर्न आउँछ।
"सोभरिन ग्र्यान्ट" के मा खर्च हुन्छ?
त्यो महारानी र राजपरिवारका अन्य सदस्यले औपचारिक राजकीय भूमिका निर्वाह गर्दा हुने खर्चमा प्रयोग गर्छन्।
त्यसले विभिन्न दरबारको हेरचाह र व्यवस्थापनको खर्च पनि धान्छ।
- बकिङ्घम प्यालेस
- सेन्ट जेम्सेज् प्यालेस
- केन्सिङटन प्यालेस
- द रोयल म्यूज एन्ड रोयल प्याडक्स एट ह्याम्पटन कोर्ट
- विन्ड्सर क्यासल
गत वर्ष औपचारिक गतिविधिहरूमा ५ करोड १५ लाख पाउण्ड खर्च भएको थियो त्यसमा कर्मचारीहरूको पारिश्रमिक र यात्रा तथा सम्पत्ति रेखदेखमा लागेको खर्च पनि समावेश छ।
बाँकि ३ करोड ४४ लाख पाउण्ड बकिङ्घम प्यालेसमा भइरहेको मर्मत सम्भार र साजसज्जाको काममा खर्च भएको थियो।
सोभरिन ग्र्यान्टमा कहाँबाट पैसा आउँछ?
महारानीलाई उपलब्ध गराइने "सोभरिन ग्र्यान्ट" "द क्राउन इस्टेट" भनिने महारानीको स्वामित्वमा रहेको तर स्वतन्त्र रूपमा सञ्चालित दरबार, भवन, खेत, बगैँचा जस्ता अचल सम्पत्तिको व्यवसायिक उपयोगबाट प्राप्त नाफामा आधारित हुन्छ।
क्राउन इस्टेटमा लण्डनको प्रशिद्ध व्यापारिक केन्द्र रिजन्ट स्ट्रीट र बर्कशायरस्थित घोडादौड हुने अर्को प्रशिद्ध खेलमैदान एस्कट पनि पर्दछन्।
द क्राउन इस्टेट एउटा व्यवस्थापकीय बोर्डले नियन्त्रण गर्छ, जसको मुख्य जिम्मेवारी "राज्यको वित्तिय कोषलाई फाइदा पुर्याउनलागि" उक्त सम्पत्तिको हेरचाह गर्नु र मूल्य वृद्धि गर्नु हो।
क्राउन इस्टेट महारानीको निजी सम्पत्ति होइन- यो गद्दीमा रहेको राजा वा रानीको शासनकालमा उनीहरूको मातहतमा मात्र रहन्छ।
त्यसको अर्थ महारानीले द क्राउन इस्टेट विक्री गर्न पाउँदिनन् र त्यसबाट प्राप्त हुने कमाइ पनि आफूले राख्न पाउँदिनन्।
द क्राउन इस्टेटको इतिहास के छ?
द क्राउन इस्टेट प्रारम्भमा राजाको स्वामित्वमा रहेको जग्गाजमिनको नाम थियो- र यो "नोरमन कङ्क्वेस्ट" भनिने नोरमनहरूले लडाईँ जितेर राज्य स्थापना गरेको समयदेखि चलेको व्यवस्था हो।

तस्बिर स्रोत, Getty Images
सन् १७६० मा राजा जोर्ज तृतीयले क्राउन इस्टेटबाट प्राप्त आम्दानी समर्पण गर्ने गरी तत्कालिन सरकारसँग गर्ने सहमति गरेका थिए।
त्यसको बदलामा राजा र उनका उत्तराधिकारीले हरेक वर्ष निश्चित रकम प्राप्त गर्ने सहमति भएको थियो। त्यसलाई सुरुमा "द सिभिल लिस्ट" भनिन्थ्यो।
सन् २०१० मा सिभिल लिस्टलाई विस्थापन गरेर त्यसको नाम सोभरिन ग्र्यान्ट बनाइएको थियो।
सोभरिन ग्र्यान्ट कसरी तय गरिन्छ?
सामान्यत: महारानीले क्राउन इस्टेटले गत दुई वर्षमा हासिल गरेको नाफाको १५ % प्राप्त गर्छिन्।
तर सन् २०१७ देखि १० वर्षसम्म उनले २५ प्रतिशत पाउने गरी सहमति गरिएको छ। यो ३६ करोड ९० लाख लाग्ने अनुमान गरिएको बकिङ्घम प्यालेसको मर्मत सम्भार र साजसज्जा गर्न सहयोग पुगोस् भनेर गरिएको छ।
सोभरिन ग्र्यान्टको रकम खर्च भएन भने त्यो जगेडामा जान्छ। गत वर्ष २३ लाख पाउण्ड जगेडाबाट निकालेर बकिङ्घम दरबारको पुनर्निर्माणमा लगाइएको थियो।
यदि क्राउन इस्टेटको नाफा घट्यो भने के हुन्छ?
यदि क्राउन इस्टेटको नाफा घट्यो भने पनि महारानीले अघिल्लो वर्ष पाए जति नै रकम पाउँछिन्।
त्यसको अर्थ उनलाई क्राउन स्टेटको नाफाको २५ प्रतिशतभन्दा बढी रकम प्राप्त गर्न अनुमति हुनेछ।
राजपरिवारले अरू पैसा कहाँबाट पाउँछ?
सोभरिन ग्र्यान्ट जस्तै महारानीलाई "क्वीन्स प्रिभी पर्स" बाट पनि निजी आय प्राप्त हुन्छ। यो एउटा राजा वा रानी बाट अर्कोमा सर्ने पुस्तैनी सम्पत्ति हो।
यो चाहिँ अर्को निजी (इस्टेट) सम्पत्ति - डची अफ ल्यान्क्यास्टरबाट आउँछ। यो १८ हजार हेक्टर जमिनमा फैलिएको छ। यसमा ल्यान्कशायर, योर्कशायर जस्ता क्षेत्रहरू पर्दछन् र सेन्ट्रल लन्डनमा पनि यसका अचल सम्पत्तिहरू छन्।
मार्च २०२० मा डची अफ ल्यान्कास्टरले २ करोड ३० लाख पाउण्ड नाफा गरेको थियो। महारानीले उनको निजी सम्पत्ति स्यान्ड्रीङ्घम र बालमोरलबाट पनि आय आर्जन गर्छिन्।
सरकारका अनुसार महारानीले उनको निजी आम्दानीको र द डची अफ ल्यान्कास्टरबाट हुने आम्दानीको कर तिर्ने गर्छिन्।
सुरक्षाबारे के छ व्यवस्था?
खासमा राजपरिवारको खर्च त्यो भन्दा निकै बढी रहेको केहीले तर्क गर्छन्।

तस्बिर स्रोत, Getty Images
किनभने सोभरिन ग्र्यान्टबाट प्राप्त हुने रकम रानी र राजपरिवारको सुरक्षा व्यवस्थाका लागि खर्च हुँदैन त्यसको आर्थिक भार सामान्यतया मेट्रोपलिटन पुलिसले तिर्छ।
ब्रिटेनमा निर्वाचन मार्फत राष्ट्रप्रमुख नियुक्त हुनुपर्छ भनेर अभियान सञ्चालन गर्दै आइरहेको रिपब्लिक नामको संस्थाले राजपरिवारको वार्षिक खर्चमा सुरक्षा खर्च समेत जोड्दा त्यो सोभरिन ग्र्यान्टभन्दा कैयौँ गुणा बढी हुने अनुमान गरेको छ।
तर अरू परामर्शदातृ निकाय ब्र्यान्ड फाइन्यान्स जस्ता संस्थाहरू भन्छन्- राजपरिवारका निम्ति हुने सुरक्षा लगायतका खर्च राजसंस्थाले देशको पर्यटन प्रवर्धनका साथै अन्य विभिन्न उपायले ब्रिटेनको अर्थतन्त्रमा पुर्याउने योगदानको तुलनामा कम नै मान्नुपर्छ।












