बोरिस जोनसनको राजीनामा: ब्रिटेनको ‘अलिखित’ संविधान के हो र के लिखित संविधान भएको भए अहिलेको सङ्कट टार्न सकिन्थ्यो?

तस्बिर स्रोत, Getty Images
- Author, फेर्नान्डो डुआर्टि
- Role, बीबीसी विश्व सेवा
केही दिनको उतारचढावपूर्ण राजनीतिक घटनाक्रमका माझ यूकेका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो मन्त्रिपरिषद् र दलभित्रको दबाबसामु झुक्दै कन्जर्भेटिभ दलको नेताबाट राजीनामा दिएका छन्।
तर जोनसनको बहिर्गमन अवज्ञाकारी चरित्रको रह्यो, उनले कन्जर्भेटिभ दलले आगामी शरद ऋतुसम्ममा नयाँ नेता नचुनेसम्म नै आफू पदमा रहने बताएका छन्।
अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्य मन्त्री साजिद जाविद सहित एकपछि अर्का मन्त्रीहरूले राजीनामा दिएर र उनीप्रति विगतमा वफादार रहेका कैयौँ सांसदहरूले उनले तत्कालै पद छाड्नुपर्ने माग गरेका अवस्थामा समेत उनको त्यस्तो प्रदर्शन रह्यो।
तर यहाँ उल्लेखनीय कुरा के छ भने जोनसनले तत्कालै पद छाड्नुपर्ने कानुनी बाध्यता छैन। तर त्यस्तो अवस्थामा रहेका प्रधानमन्त्रीहरूले साधारणता राजीनामा दिने गर्छन्।
सन् २०२० मा अमेरिकी चुनावमा राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनसँग पराजित भएको मान्न अस्वीकार गर्दा राजनीतिक टिप्पणीकारहरूले तत्कालै संविधानको २० औँ संशोधनलाई उद्धृत गरेका थिए।
त्यसमा राष्ट्रपतिहरूबीच शक्ति हस्तान्तरण कसरी र कहिले हुन्छ भन्ने बारे विस्तृतमा खुलाइएको छ।
तर संयुक्त अधिराज्य 'अलिखित संविधान' भएको देशका रूपमा चिनिन्छ।
विश्वका धेरै देशहरूमा रहेको व्यवस्थाभन्दा भिन्न संयुक्त अधिराज्यका सबै कानुनहरू एउटै दस्ताबेजमा समेटिएका छैनन्। विश्वका एकदमै थोरै देशहरू जस्तै न्यूजिल्याण्ड र इजरेलमा मात्रै यस्तो प्रणाली छन्।
त्यही भएर सत्ता हस्तान्तरण कानुन भन्दा पनि परम्परा र सम्झौताका आधारमा निर्धारण हुन्छ।
यसको राजनीतिक अर्थ के हुन्छ?
केम्ब्रिज विश्वविद्यालयको सार्वजनिक कानुनकी प्राध्यापक एलिसन योङ भन्छिन् 'अलिखित संविधान' भएको देशमा कुनै नेताको बहिर्गमन औपचारिक कानुन भन्दा पनि नेताको जिम्मेवारीपनमा निर्भर रहन्छ।
उनले बीबीसीसँग भनिन्, "उदाहरणका लागि हामीसँग प्रधानमन्त्रीलाई नियुक्त गर्ने वा पदबाट हटाउने कानुन छैन।"
उनले थपिन्, "यस्तो अवस्थामा हामीले आफूले सही काम गर्नुपर्छ भन्ने राजनीतिज्ञको सुझबुझ हुन्छ भन्ने विश्वास गर्नुपर्छ।"

तस्बिर स्रोत, Getty Images
ब्रिटेनको राजनीतिक इतिहासकार लर्ड पिटर हेनसी यो सिद्धान्तलाई 'द गुड च्याप थिओरी' भन्छन्।
त्यही भएर ब्रिटेनका प्रधानमन्त्रीले आफ्नै दलभित्रको ठूलो तप्का र संसद्को बहुमतको समर्थन गुमाउँदा तत्कालै राजीनामा दिनुपर्ने बाध्यकारी व्यवस्था गर्ने कुनै कानुन छैन।
तर उनका दुई जना तत्कालैका पूर्ववर्तीहरू डेभिड क्यामरन र टरिजा मेको हकमा पनि त्यस्तै भएको थियो।
पदबाट राजीनामा दिने घोषणा गरेपनि कन्जर्भेटिभ दलले नयाँ नेता नचुन्दासम्म उनीहरू नै प्रधानमन्त्री रहेका थिए।
"जोनसनको राजीनामाले यो गम्भीर राजनीतिक सङ्कटलाई समाप्त पारिसकेको छैन," बीबीसी विश्व सेवाका यूके राजनीतिक मामिला संवाददाता रब वाट्सन बताउँछन्।
"अहिलेको सबैभन्दा ठूलो सवाल कहिले जोनसनले पद छाड्दैछन् भन्ने हो। कन्जर्भेटिभ दलले उनीहरूले अर्को नेता चयन गर्दासम्म उनी सत्तामा नै बसिरहन मिल्छ अथवा अर्को अन्तरिम व्यवस्था गर्नुपर्छ भन्ने निर्णय लिनु पर्ने हुन्छ।"
यूकेको अलिखित संविधान के हो?
संविधान भनेको एउटा कानुनी दस्ताबेज हो जसले कुनै देश वा राज्य कसरी सञ्चालन गरिन्छ भन्ने निर्धारण गर्छ।
तर यूकेमा संविधानको काम शताब्दिऔँ देखि विकास भएका कैयौँ अलिखित प्रणालीहरू, विभिन्न खालका कानुनहरू, परम्परा र सन्धिहरूले गर्छन्।
समर्थकहरूले त्यसले ठूलो व्यापक लचकताको अवसर दिने तर्क गर्छन्। त्यसलाई उन्नत बनाउँदै समाजका परिवर्तनका आधारमा स्वीकार गर्न सकिन्छ। कतिपयले विश्वका सबैभन्दा दमनकारी सत्तामध्ये धेरैमा लिखित संविधान भएको तर्क गर्ने गरेका छन्।
आलोचकहरूले अलिखित संविधान भएमा त्यो अस्पष्टताका लागि खुला हुने र त्यसको धेरैथरी व्याख्या गर्न सकिने बताउँछन्।
त्यसको एउटा उदाहरण, सन् २०१९ मा ब्रिटेन युरोपेली सङ्घबाट अलग हुने प्रक्रिया ब्रेक्जिट सङ्कटका बेला संसद् निलम्बन गरिनुपर्छ कि पर्दैन भनेर गरिएको सरकार र सर्वोच्च अदालतले गरेको परस्पर विरोधी व्याख्या हो।

तस्बिर स्रोत, Getty Images
त्यो सन्दर्भमा यूकेको 'कोर्ट अफ अपिल'ले संसदका सबै गतिविधि निलम्बन गर्ने प्रधानमन्त्रीको योजना अवरुद्ध पारिदिएको थियो।
देश युरोपेली सङ्घबाट अलग हुने योजनाको परीक्षणमा सांसदहरूलाई रोक लगाउने प्रधानमन्त्रीको कदमलाई लिएर आलोचना भएका थिए।
चर्चित लेखिका डेम हिलारी मान्टलले उक्त सङ्कटले 'उद्दण्ड प्रधानमन्त्रीलाई गैरकानुनी रूपमा संसद्को कारबाहीमा हस्तक्षेप गर्नबाट रोक्न' लिखित संविधानको आवश्यकता उजागर गरेको बताएकी थिइन्।
के औपचारिक लिखित संविधानले यूकेलाई राजनीतिक सङ्कटको घडीमा समाधान खोज्न मद्दत गर्छ?
तर अरू कानुनी तथा संवैधानिक विज्ञहरूले सरकारका निकायबीचको लडाइँले अहिलेको 'अलिखित' प्रणालीको शक्ति प्रदर्शित गरेको बताएका छन्।
युनिभर्सिटी कलेज लन्डनका सरकार तथा संविधान विषयका प्राध्यापक रोबर्ट हेजल भन्छन्, "यसले प्रणालीले काम गर्छ भन्ने पुष्टि गरेको छ।"
प्राध्यापक हेजलका अनुसार अहिलेको सङ्कटको यूकेको कानुनी ढाँचासँग कुनै साइनो छैन।
उनले भने, "यूकेको राजनीतिक प्रणाली यस्तो छ जसमा प्रधानमन्त्रीले संसद्मा विश्वासको मत कायम राख्नुपर्छ वा त्यहाँबाट हटाइनुपर्छ। संसदीय प्रणाली भएका अरू देशमा र लिखित संविधान भएका भारत वा डेनमार्क जस्ता देशमा पनि यस्तै व्यवस्था छ।"
"यसमा 'अलिखित संविधान' भएको कुराको कुनै सम्बन्ध छैन। एक जना प्रधानमन्त्री लामो समय पदमा रहन चाहने हुनसक्छन् तर पार्टी वा संसदीय दलले त्यो स्वीकार्य छ कि छैन भन्ने निर्णय गर्नुपर्ने हुन्छ।"
रब वाट्सन त्यसमा सहमत छन्। उनका अनुसार कन्जर्भेटिभ सांसदहरू वा संसद्का सबै सदस्यहरू सम्मिलित विश्वासको मत प्रक्रियाबाट जोनसनको बहिर्गमन द्रुत बनाउन सकिन्छ। यदि प्रधानमन्त्री पराजित भएको खण्डमा त्यसको परिणाम मध्यावधि चुनाव गराउनुपर्ने हुनसक्छ।
"त्यसपछि पनि निर्वाचन हुनुपर्छ। तर अहिलेका लागि हेर्दा कन्जर्भेटिभ दलले त्यसलाई छल्न खोज्ने प्रयास गर्ने जस्तो देखिन्छ।"
तर आफ्नो राजीनामा सम्बोधनमा बोरिस जोनसनले आफूसँग थोरै मूल्यवान् समर्थन बाँकी रहेको बताएका थिए।
उनले आफ्ना अङ्गरक्षकहरूले मात्र उनलाई कहिल्यै पनि नछाड्ने भनेर टिप्पणी गरेका थिए।
तर ब्रिटेनमा जसरी सुस्त ढङ्गले काम अगाडि बढ्छ भनेर भनिन्छ त्यस्तै भयो भने उनको टेन डाउनिङ्ग स्ट्रिटको बसाइ केही समय लम्बिनसक्छ।
त्यसका लागि केही दिन, हप्ता वा महिनौँसम्म लाग्नसक्छ।








