यूके आमचुनाव: मध्यावधि निर्वाचन कसरी घोषणा गरिन्छ?

मतदान केन्द्र बाहिर प्रधानमन्त्री बोरिस जनसन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रधानमन्त्री जनसनलाई पदबाट राजीनामा गर्न दबाब परिरहेको छ

चरणबद्ध रूपमा मन्त्रीहरूले राजीनामा दिएपछि यूकेका प्रधानमन्त्री बोरिस जोनसनले पार्टी नेताको पदबाट राजीनामा दिने भएका छन्। तर उनी अझै केही समयसम्म प्रधानमन्त्री पदमा भने रहिरहने बताइएको छ।

यसै सन्दर्भमा अब यूकेमा मध्यावधि चुनाव हुने हो वा होइन भन्ने विषयमा पनि चर्चाहरू हुन थालेका छन्।

यूकेमा कुन परिस्थितिमा मध्यावधि निर्वाचन हुनसक्छ र यसबारे कसले निर्णय लिन्छ त?

अब अर्को आम चुनाव कहिले हुँदैछ?

यूकेमा ६५० जना सांसद चुनिने ब्रिटिश संसदको तल्लो सदन हाउस अफ कमन्सको चुनाव पाँच वर्षको अन्तरालमा हुने गर्छ।

समय अगावै अर्को चुनावका लागि आह्वान नगरिएको खण्डमा आमनिर्वाचन सन् २०२५ को ज्यानुअरी अघि हुनेछैन।

मध्यावधि निर्वाचन कसले आह्वान गर्नसक्छ?

साधारणता मध्यावधि चुनावको निर्णय गर्ने अधिकार प्रधानमन्त्रीमा निहित रहन्छ।

तर केही समयअघिसम्म अवस्था त्यस्तो थिएन।

सन् २०११ मा प्रधानमन्त्रीले मध्यावधि चुनाव गर्नसक्ने अधिकार रहेको एउटा कानुन खारेज गर्दै प्रतिनिधिसभा हाउस अफ कमन्सलाई त्यस्तो शक्ति दिइएको थियो।

उक्त नियम अनुसार दुई तिहाइ सांसदहरूले सहमति जनाएको जस्ता निश्चित अवस्थामा मात्रै मध्यावधि चुनाव आयोजना गर्न सकिन्थ्यो।

तर सन् २०१९ मा निर्वाचनमा विजय हासिल गरेसँगै कन्जर्भेटिभ दलले नयाँ कानुन ल्यायो जसले निर्वाचन सम्बन्धी त्यसअघिको व्यवस्थालाई खारेज गरिदियो।

उक्त कानुनले आफूले चाहेको समयमा मध्यावधि चुनाव घोषणा गर्न पाउने प्रधानमन्त्रीको परम्परागत अधिकारलाई पुनर्स्थापित गरिदिएको छ।

कसरी मध्यावधि चुनाव घोषणा गरिन्छ?

यदि प्रधानमन्त्रीले मध्यावधि चुनाव गर्न चाहेको अवस्थामा उनले महारानी समक्ष संसद् विघटनका लागि 'अनुरोध' गर्नुपर्छ।

चुनाव आयोजनाका लागि त्यसरी संसद्लाई उसको पूर्ण कार्यकाल अघि नै खारेज गरिने गरिएको हो।

निर्वाचन घोषणा गरिएपछिबाट २५ दिन उता मतदान हुने अपेक्षा गरिन्छ।

यो विन्दुमा सांसदहरूले आफ्नो पदीय हैसियत गुमाउनेछन् र पुन: निर्वाचनका लागि चुनावी अभियानमा सक्रिय हुनेछन्।

के महारानीले मध्यावधि चुनावको सिफारिस अस्वीकार गर्न सक्छिन्?

प्रधानमन्त्रीले महारानीलाई स्वीकृतिको 'अनुरोध' गर्नुपर्ने व्यवस्था भएकाले सैद्धान्तिक रूपमा उनले अस्वीकार गर्न सक्छिन्।

तर कुन परिस्थितिमा उनले त्यस्तो गर्न सक्छिन् त्यो अलिकति अस्पष्ट छ। 'विघटनका सिद्धान्त' बारे उल्लेख गरिएको सरकारी दस्ताबेजमा प्रधानमन्त्रीले निर्धारित समय अगावै चुनावको मिति तोक्न पालना गर्नुपर्ने सर्तहरू उल्लेख गरिएको छ। त्यसमा रहेका व्यवस्था यस्ता छन्:

  • प्रधानमन्त्रीले सरकारको नेताको रूपमा समर्थन पाइरहेको हुनुपर्ने
  • महारानीलाई दलभित्रको राजनीतिमा तान्न नहुने

त्यही भएर सैद्धान्तिक रूपमा मध्यावधि चुनावको अनुरोध अस्वीकार गर्ने शक्ति महारानीसँग भए पनि, त्यसलाई कहिल्यै पनि परीक्षण नगरिएको एउटा अनुसन्धान संस्था इन्स्टिच्युट फर गभर्मेन्टकी क्याथरिन हाड्न बताउँछिन्।।

"अनौपचारिक रूपमा दरबारले उनलाई हुँदैन भन्न सक्छ। तर प्रश्न के हो भने त्यो अनौपचारिक सुझावको विपक्षमा गएर उनले चुनाव गराऔँ भन्न सक्छन् जसले महारानीलाई एकदमै राजनीतिक निर्णयको अवस्थामा पुर्‍याउनसक्छन्।"

यूकेकी महारानी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यूकेकी महारानीलाई राजनीतिमा तान्न नमिल्ने मत विज्ञहरूको छ

कन्स्टिच्युस्नल युनिटकी निर्देशक मेग रसल त्यसमा सहमत छिन्।

उनले भनिन्, "केही नभनीकन के स्वीकार गरिएको छ भने दरबारको केही भूमिका छ। तर कुन परिस्थितिमा महारानीले त्यसलाई रोक्न सक्छिन् भन्ने प्रश्न छ र त्यो राजनीतिक रूपमा समस्याकारी बन्नसक्छ।"

हाड्नका अनुसार यदि संसद्का बहुमतले वैकल्पिक सरकार बन्नसक्ने अवस्था रहेको पुष्टि गरेमा महारानीले त्यसो गर्न दिनसक्ने उल्लेख गरिन्।

उदाहरणका लागि यदि कन्जरभेटिभहरूले नयाँ नेता चुन्ने तयारी गरेको अवस्थामा त्यसैलाई आधार मानेर मध्यावधि गर्ने प्रस्ताव गरिएको खण्डमा वैकल्पिक सरकार चाँडै गठन हुने भन्दै महारानीले अस्वीकार गर्न सक्नेछिन्।

"तपाईँले महारानीलाई राजनीतिमा तान्न पाउनुहुन्न। पदबाट हटाइनेछ कि भनेर चुनावको आह्वान गर्नु सीमा नाघ्नु जस्तै हो," हाड्न भन्छिन्।

के नयाँ प्रधानमन्त्रीले मध्यावधि चुनाव घोषणा गर्नुपर्छ?

यदि प्रधानमन्त्री जोनसनले राजीनामा दिए भने कन्जरभेटिभ दलले नयाँ नेता चुन्नु पर्ने हुन्छ। उक्त व्यक्ति नै नयाँ प्रधानमन्त्री बन्छ।

त्यस्तो परिस्थितिमा मध्यावधि चुनाव गर्नका लागि नयाँ प्रधानमन्त्री बाध्य हुँदैनन् तर यदि उनले चाहे त्यस्तो गर्न पनि सक्छन्।