बोरिस जोनसनः मन्त्रीहरूले राजीनामा दिएपछि राजनीतिक सङ्कटमा ब्रिटिश प्रधानमन्त्री तर पद नछाड्ने अडान

जोनसन

तस्बिर स्रोत, Getty Images

ठूलो सङ्ख्यामा मन्त्रीहरूको राजीनामा र पार्टीभित्रै भइरहेको विद्रोहका बीच ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसन आफू प्रधानमन्त्री रहिरहने कसरतमा रहेका छन्।

ब्रिटिश संसद्‌को नियमित प्रश्नोत्तर सत्रमा उनले आफूले सन् २०१९ को निर्वाचनबाट "व्यापक जनादेश" पाएको र त्यो "जारी रहने" बताए।

तर उनकै दलका मानिसहरूले सरकार वा पार्टी पदहरू छाड्ने क्रम जारी राखेका छन् र सहयोगीहरूले समर्थत फिर्ता लिइरहेका छन्।

जोनसनको मन्त्रिपरिषद्का एकजना प्रमुख सदस्य माइकल गोभले उनलाई राजीनामा गर्न भनेका छन्।

दलका नेताहरूको बैठक

जोनसनको भविष्यबारे प्रश्नको जवाफ खोज्न कन्जर्भेटिभ दलका प्रमुख नेताहरूले बुधवार ब्रिटिश समय अनुसार अपराह्ण ४ बजे एउटा बैठक गर्दैछन्।

जोनसनले कन्जरभेटिभ विद्रोहीहरूको धम्कीको सामना गर्नु परेको छ।

उनीहरू जोनसनमाथि अर्को अविश्वासको मतका लागि पार्टी नियमहरू परिवर्तन गर्न चाहन्छन्।

गत महिना उनी त्यस्तो मतबाट बचेका थिए र अहिलेको नियम अनुसार उनले एक वर्षका लागि अर्को त्यस्तो चुनौतीको सामान गर्नुपर्ने छैन।

मन्त्रीहरूले किन दिए राजीनामा

अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि जोनसनको प्रधानमन्त्री पद सङ्कटमा परेको हो।

साजिद जाविद र ऋषि सुनक

तस्बिर स्रोत, Twitter

यसै वर्षको सुरुमा क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयका विषयमा विवाद भएपछि उनीहरूले मङ्गलवार केही मिनेटको फरकमा राजीनामा दिएका थिए।

उनीहरूको राजीनामासँगै राजीनामाको लहर सुरु भयो र बुधवार अन्य कतिपय मन्त्रीहरूले पनि राजीनामा दिए।

प्रधानमन्त्रीका एकजना वरिष्ठ सहयोगीले बीबीसीलाई भने, "अब उनी कसरी बाहिन्छन् भन्ने प्रश्न हो।"

उनले अवस्था "उपयुक्त" नभएको बताए।

विपक्षीको भनाइ

लेबर नेता कीअर स्टार्मरले कन्जर्भेटिभ "बचाउ गर्नै नसकिनेको बचाउ गर्ने भ्रष्ट पार्टी" बनेको बताएका छन्।

संसद्‌को नियमित प्रश्नोत्तर सत्रमा बुधवार कीअर स्टार्मरले हालैका दिनमा राजीनामा दिएका मन्त्रीहरूको पनि आलोचना गरेका छन्।

उनले पहिले पद नछोड्ने निर्णयले उनीहरूमा "निष्ठाको सानो अंश"को समेत कमी रहेको देखाएको बताए।

स्टार्मरले प्रधानमन्त्रीलाई सत्तामा राखेर पदमा बसेकाहरूको खिल्ली समेत उडाएका छन्।

उनले उनीहरू "अरू कोही पनि आफूलाई अपमानित गर्न तयार नभएकाले मात्र पदमा थिए" भनेका छन्।

आफ्नै दलका सांसदहरूले समेत पदबाट जान भने पनि जोनसनले पद त्याग्न अस्वीकार गरे।

बोरिस जोनसन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, दुई वरिष्ठ मन्त्रीले राजीनामा दिएपछि बोरिस जोनसनको नेतृत्व सङ्कटमा परेको छ

उनले भने, "मलाई दिइएको जनादेश पूरा गर्ने कुरा जारी राख्नेछु।"

"व्यापक जनादेश दिइएको छ भने कठिन परिस्थितिमा पनि प्रधानमन्त्रीको काम भनेको आफ्नो कार्य जारी राख्नु हो। र, म त्यो गर्न गइरहेको छु।"

संसद्को प्रश्नोत्तर सत्रमा आफ्नो राजीनामा मन्तव्यमा जाविदले "निष्ठा र इमानबीच कसिलो बाटो हिड्न" हालैका महिनाहरूमा "असम्भव" भएको बताएका छन्।

उनले भने, "कुनै बिन्दुमा हामीले अति भयो भन्ने निष्कर्षमा पुग्नुपर्छ। मलाई लाग्छ त्यो बिन्दु भनेको अहिले नै हो।"

जोनसनले दुर्व्यवहारको आरोपबारे सचेत हुँदाहुँदै पनि पिन्चरलाई नियुक्त गर्नु आफ्नो "खराब गल्ती" भएको स्वीकारेका छन्।

अब के हुन्छ

आलोचकहरूले जोनसनका लागि अब सबै कुरा "सकिएको" बताएका छन् भने विपक्षी लेबर पार्टीले जोनसनको नेतृत्वमा रहेको दल "भ्रष्ट" भएको टिप्पणी गरेको छ।

यद्यपि जोनसनले मन्त्रिपरिषद् पुनर्गठन गर्दै आफू पदमा बहाल रहने योजना स्पष्ट पारेका छन्।

उनले नदिम जहावीलाई नयाँ अर्थमन्त्री नियुक्त गरेका छन् भने प्रधानमन्त्रीको "चीफ अफ स्टाफ" रहेका स्टीभ बार्क्ले नयाँ स्वास्थ्यमन्त्री बनेका छन्।

लेबर नेता कीअर स्टार्मरले आफू मध्यावधि निर्वाचनका लागि तयार रहेको बताएका छन्।

कन्जर्भेटिभ दलका सांसद तथा भूतपूर्व प्रमुख सचेतक एन्ड्रू मिचलले बीबीसी न्यूजनाइटसँग कुरा गर्दै जोनसनका लागि "सबै सकिएको" बताएका छन्।

"उनीसँग हाम्रो प्रधानमन्त्री बन्ने न त चरित्र न त स्वभाव नै," उनले भने।

के भन्छन् कन्जर्भेटिभ नेताहरू

तर कन्जर्भेटिभ सांसदहरूले जोनसनको नेतृत्वलाई चुनौती दिने घोषणा गरेका छैनन्।

बरु विदेशमन्त्री लिज ट्रस समेत केही मन्त्रीहरूले जोनसनप्रति समर्थन व्यक्त गरेका छन्। दलको नेताका रूपमा जोनसनको स्थानमा आउन सक्ने सम्भावित नेतामध्ये ट्रस पनि पर्छिन्।

आफू प्रधानमन्त्रीको समर्थनमा शत प्रतिशत भएको उनले बताएकी छन्।

डोमिनिक राब, माइकल गोभ, टरेज कोफी र बेन वालेसले पनि सरकार नछोड्ने सङ्केत गरेका छन्।

कुनै सरकारी पदमा नभएका एक टोरी सांसद ड्यान्ल काभ्चिन्स्कीले मन्त्रीहरूले राजीनामा दिँदा अन्ततः जोनसनको स्थान अझ बलियो हुने तर्क गरेका छन्।

"तिनले प्रधानमन्त्रीविरुद्ध पहिरो ल्याउन सक्थे तर ल्याएनन्," उनले भने।

कन्जर्भेटिभ पार्टी

कसरी सुरु भयो सङ्कट

जोनसनले बीबीसीलाई एउटा अन्तर्वार्ता दिएपछि मङ्गलवार साँझ राजनीतिमा नाटकीय मोड आयो।

अन्तर्वार्तामा जोनसनले क्रिस पिन्चरविरुद्ध लागेका दुर्व्यवहारसम्बन्धी आरोपबारे थाहा हुँदाहुँदै आफूले उनलाई सहायक प्रमुख सचेतक नियुक्त गर्नु "नराम्रो गल्ती" भएको स्वीकार गरेका थिए।

प्रधानमन्त्री कार्यालयले पिन्चरको नियुक्तिको विषयमा उठेको विवादका सम्बन्धमा बारम्बार कुरा फेरेको थियो।

उक्त विवादका कारण कन्जर्भेटिभ सांसदहरूले प्रधानमन्त्रीको नेतृत्व र सरकारबारे प्रश्न गर्न थाले।

केही महिनायता जोनसन सरकार विभिन्न विवादमा मुछिएको छ। कोभिड लकडाउनका बेला डाउनिङ स्ट्रीटमा नियम विपरित भोज गरिएको विषयमा प्रहरीले अनुसन्धान पनि गरेको थियो।

केही कन्जटर्भेटिभ सांसदहरूले करवृद्धि, जीवनयापन गर्न लाग्ने खर्च बढेकोमा सरकारको प्रतिक्रिया र सरकारको नीतिगत दिशाप्रति पनि असहमति व्यक्त गरेका छन्। सुनकले आफ्नो राजीनामामा अर्थतन्त्रबारे तनाव रहेको सङ्केत गरेका छन्।

जोनसन केही साताअघि मात्रै दलभित्र प्रस्तुत अविश्वासको प्रस्तावबाट जोगिएका हुन्।

कन्जर्भेटिभ पार्टी

के मध्यावधि निर्वाचन हुन सक्छ?

पार्टीको संसदीय दल भित्रको अविश्वासको प्रस्तावमा मतदान हुँदा जोनसनले ५९ प्रतिशत मत ल्याएका थिए। त्यसैले पार्टीको विधानअनुसार आगामी वर्ष जुन महिनासम्म जोनसनको नेतृत्वविरुद्ध चुनौती दिन पाइँदैन।

तर जोनसनको नेतृत्व नरुचाउने विद्रोही टोरी नेताहरूले पार्टीको विधानमा परिवर्तन गर्ने प्रयास गरिरहेका छन्।

उनीहरू शीर्ष नेतालाई चुनौती दिन नपाइने एक वर्षको समयावधिलाई घटाउन चाहन्छन्।

लेबर नेता कीअरले सरकार परिवर्तन आवश्यक भएको भन्दै मध्यावधि निर्वाचनको पक्षमा बोलेका छन्।

"यी सबै अनैतिक व्यवहार, सबै विफलतापछि यो टोरी सरकार अब ढल्दै छ," उनले भने।

अर्को आवधिक निर्वाचन सन् २०२४ मा हुने अपेक्षा गरिएको छ। तर जोनसनले चाहे भने चाँडै पनि हुन सक्छ।