राजकुमार चार्ल्सः 'प्रिन्स अफ वेल्सले कतारका पूर्वप्रधानमन्त्रीसँग १० लाख यूरो चन्दा लिएका थिए'

तस्बिर स्रोत, Getty Images
राजकुमार चार्ल्सले कतारका भूतपूर्व प्रधानमन्त्रीबाट १० दश लाख यूरो नगद भरिएको एउटा सूटकेट लिएको विवरण सन्डे टाइम्सले प्रकाशित गरेको छ।
उक्त पत्रिकाका अनुसार शेख हमाद बिन जसिमले प्रदान गरेको ३० लाख यूरो चन्दाअन्तर्गत त्यो रकम प्राप्त भएको थियो।
चार्ल्सको दरबार क्ल्यारन्स हाउसका अनुसार प्राप्त हुनसाथ उक्त चन्दा तत्कालै राजकुमारद्वारा सञ्चालित परोपकारी संस्थामा पठाइएको र यथोचित प्रक्रिया अवलम्बन गरिएको थियो।
उक्त चन्दालाई कतै पनि अवैध मानिएको छैन।
सन्डे टाइम्सका अनुसार राजकुमार चार्ल्सले सन् २०११ र २०१५ को बीचमा कतारका पूर्वप्रधानमन्त्रीबाट आफैँले तीन पटक चन्दा बुझेका थिए।
एक पटक क्ल्यारन्स हाउसमा भएको बैठकका क्रममा एउटा ठूलो झोलामा राखिएको रकम हस्तान्तरण गरिएको दाबी गरिएको छ। अर्को पटक फोर्ट्नम एन्ड मेसन डिपार्टमन्ट स्टोरबाट सामान बोक्ने झोलाहरूमा रकम राखेर दिइएको उक्त पत्रिकाले उल्लेख गरेको छ।
एक विज्ञप्तिमा क्ल्यारन्स हाउसले भनेको छ: "शेख हमाद बिन जसिमबाट प्राप्त रकम तत्काल राजकुमारको एउटा परोपकारी संस्थालाई हस्तान्तरण गरिएको थियो जसले उपयुक्त विधि कार्यान्वयन गरेको र हामीलाई सबै प्रक्रिया उचित भएको कुरामा विश्वस्त पारेको छ।"
त्यो रकम राजकुमार चार्ल्सको परोपकारी कोषले प्राप्त गरेको थियो जसको उद्देश्य संरक्षण, शिक्षा, स्वास्थ्य र सामाजिक समावेशिताको क्षेत्रमा अनुदान प्रदान गरी "मानिसको जीवन परिवर्तन र दिगो समुदाय निर्माण गर्ने" भएको जनाइएको छ।
सन्डे टाइम्सलाई कोषका सञ्चालकहरूले दाता वैध भएको निष्कर्ष निकालेको र त्यहाँका लेखापरीक्षकहरूले हस्ताक्षर गरेर अनुदान रकम स्वीकृत गरेको बताएका छन्।
पुरानो विवाद
राजकुमार चार्ल्सको एउटा संस्थाले साउदीका एक दातालाई यूकेमा सम्मान पाउन र नागरिकता प्रदान गर्न सहयोग गरेको आरोप लागेपछि उनका परोपकारी संस्थाहरू पछिल्लो समय छानबिनको दायरामा परेका छन्।
यस वर्षको आरम्भतिर प्रहरीले राजकुमारको संस्थाविरुद्ध अनर्स (प्रीभेन्शन अफ अब्यूजेज एक्ट १९२५ अन्तर्गत अनुसन्धान भरहेको बताएको थियो।
छानबिन प्रक्रियामा संस्थाले पूर्ण सहयोग गर्ने बताएको बुझिएको छ। परोपकारी संस्थालाई चन्दा दिएकै आधारमा कसैलाई सम्मान वा नागरिकता दिने प्रस्ताव गरिएको विषयमा राजकुमार चार्ल्सलाई कुनै जानकारी नभएको क्ल्यारन्स हाउसले बताएको छ।
राजकुमारका एक वरिष्ठ सहयोगी र संस्थाका प्रमुख कार्यकारी माइकल फसेटले नोभेम्बरमा संस्थाले आरोपहरूबारे छानबिन गरेपछि राजीनामा दिएका थिए।
अनुसन्धानका अनुसार उनले अर्बपति व्यापारी महफुज मारेई मुबारक बिन महफुजलाई सीबीईको उपाधि दिलाउन "फिक्सरहरू"सँग समन्वय गरेका थिए।
उनले आफूले कुनै पनि गलत काम गरेको स्वीकार गरेनन्।
तर कोष सञ्चालकहरूको पनि त्यसमा सहभागी भएको पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको अनुसन्धानको निष्कर्ष थियो।
यो पनि हेर्नुहोस्











