ब्रिटेन एलिजाबेथः गणतन्त्र बन्ने बढ्दो चाहनामाझ क्यारिबिअन क्षेत्रमा अझै छन् महारानीका प्रशंसक

तस्बिर स्रोत, Courtesy of Andrea Garcia-Riveroll
- Author, हेरीएट ओरेल
- Role, बीबीसी विश्व सेवा
ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाले शासन गरेको ७० वर्ष मनाउँदै गर्दा कमनवेल्थ अर्थात् राष्ट्रमण्डल समूहका सदस्य राष्ट्रका केही अधिकारीहरूले उनलाई राष्ट्र प्रमुखबाट हटाउने मनसाय सार्वजनिक गरेका छन्।
तर सबैले उनलाई हटाइएको हेर्न चाहेका छैनन्।
कमनवेल्थ, राष्ट्रमण्डल, संयुक्त अधिराज्यका अतिरिक्त विभिन्न ५३ राष्ट्रहरूको समूह हो जसमा विश्व जनसङ्ख्याको एक तिहाइ समावेश छ।
लगभग ती सबै राष्ट्रमा कुनै समय ब्रिटिश साम्राज्यको अङ्गका रूपमा लन्डनबाट शासन हुने गरेको थियो।
हाल ती मध्ये अधिकांश राष्ट्रहरू यूकेबाट स्वतन्त्र बनेर गणतन्त्रका रूपमा स्थापित भइसकेका छन्।
तर १४ राष्ट्रको राष्ट्राध्यक्षमा महारानी एलिजाबेथ द्वितिया कायम छिन्।
सन् २०२१ को नोभेम्बरमा बार्बेडोसले ब्रिटेनकी महारानी एलिजाबेथलाई आफ्नो देशको राष्ट्रप्रमुखको पदबाट औपचारिक रूपमा हटाउँदै विश्वको कान्छो गणतन्त्र बनेको थियो।
बार्बेडोसकै पदचाप पछ्याउनुपर्ने आवाज पनि बढिरहेको छ।
तर केही देशका नागरिक भने महारानीलाई मान्यता दिइएको प्रथा अझै रुचाउँछन्।
''म महारानी बिनाको बेलीज कल्पना गर्न सक्दिन,'' जोर्डाना रीभेरोल भन्छिन्।
''मलाई लाग्छ कि उनी हाम्रो देशको अभिन्न अङ्ग हुन्।''
''म जन्मिँदा देखि नै उनी महारानी थिइन् र बेलीजको मनबाट उनलाई छुट्ट्याउन गाह्रो छ।''
महारानीका लागि नृत्य

तस्बिर स्रोत, Courtesy of Vanesa Vasquez Rancharan
झन्डै तीन दशक अघि ९ वर्षका हुँदा जोर्डाना र अन्य प्रस्तोताले महारानी एलिजाबेथका लागि एउटा परम्परागत नृत्य प्रस्तुत गरेका थिए।
सन् १९९४ मा महारानी बेलीज भ्रमणमा गएकी थिइन्।
झन्डै तीन दिन लामो उक्त भ्रमणलाई व्यापक रूपमा सफल भएको मानिएको थियो।
आफ्नी महारानी बेलीज सहर पुग्दा त्यहाँका झन्डै ९० प्रतिशत सर्वसाधारणले स्वागत गरेको अनुमान गरिएको थियो।

तस्बिर स्रोत, Courtesy of Andrea Garcia-Riveroll
१० वर्षको हुँदा महारानीका लागि नृत्य गर्ने भानेसा भास्केज रान्चरन आफूहरूलाई प्रस्तुतिका क्रममा कुनै कुरा नबिगार्न भनिएको सम्झिन्छन्।
''हामीले यति धेरै भिन्न प्रकारका प्रस्तुति दियौँ कि त्यस बेला यो कुनै सामान्य कार्यक्रम थिएन भन्ने कुरा मैले साँच्चै बुझेको थिइनँ,'' उनले भनिन्।
''प्रस्तुति राम्रो होस् भनेर हामीलाई राम्रो देखिने गरी उनीहरूले तयार पारिदिएको म सम्झन्छु।''

तस्बिर स्रोत, PA Media
बेलीज सहरको स्मारक आमन्त्रित अतिथि र उनीहरूका परिवारले भरिएको थियो। बाँकी सर्वसाधारण महारानीलाई हेर्न रुख अनि नजिकै रहेका घरका छतमा चढेका थिए।
तर यसै वर्ष ड्यूक र डचिस अफ केम्ब्रीजले बेलीज भ्रमण गर्दा भने त्यस्तै उत्साह देखिएन।
''जब राजकुमार विलियम आए र प्रदर्शनहरू भए … मलाई लाग्छ यस्तो ९० को दशकमा हुने थिएन,'' आन्द्रेयाले भनिन्।
''तर अहिले छलफल [गणतन्त्र बन्ने विषय बारे] महारानीले भ्रमण गरेको बेला भन्दा बढी छ।''
गणतन्त्रको चाहना

तस्बिर स्रोत, Getty Images
हाल महारानी एलिजावेथ क्यारिबिअन क्षेत्रका आठ देशकी राष्ट्राध्यक्ष हुन्।
बेलीज सहित कम्तीमा ६ वटा राष्ट्रले उनलाई त्यस्तो मान्यताबाट हटाएर गणतन्त्र बन्ने चाहना व्यक्त गरेका छन्।
ब्रिटिश राजपरिवारका सदस्य महारानीको शासनकालको 'प्लेटिनम महोत्सव' मनाउनका लागि उक्त क्षेत्रमा भ्रमण गर्दा यस बारे चर्चा झन् बढेको छ।
भ्रमणका सन्दर्भमा केही समर्थनका आवाजहरू नउठेका होइनन् तर प्रदर्शनकारीहरूले कमनवेल्थ राष्ट्रहरूमा माफी माग्न अनि परिवारलाई दासत्वबाट कसरी फाइदा भयो भन्ने कुरा स्वीकार गर्न माग गर्दै आफ्नो आवाज सुन्न बाध्य पारेका थिए।
बेलीजमा सार्वजनिक सेवा, संवैधानिक एवम् राजनीतिक सुधार सम्बन्धी मामिला हेर्ने मन्त्री हेनरी चार्ल्स अशरले देशको शासन पद्धतिबारे विस्तृत समीक्षा गर्नका लागि रकम विनियोजन गरेको घोषणा गरेका छन्।
''क्यारिबिअन क्षेत्रलाई उपनिवेशीकरणको पक्रियाले ढाक्दै लगेको छ,'' संसद्मा उनले भने।
''सायद यो बेलीजका लागि आफ्नो स्वन्त्रताको वास्तविक स्वामित्वका लागि अर्को कदम चाल्ने समय हो।''
त्यस्तै जमैका, द बाहामास, ग्रेनेडा, एन्टीगा एन्ड बार्बुडा र सेन्ट किट्स एन्ड नेभिसले पनि महारानी एलिजाबेथलाई राष्ट्राध्यक्षका रूपमा हटाउने रूपरेखा तयार गर्दैछन्।
बदलिँदो समय

तस्बिर स्रोत, 7News Belize
हालैको राजपरिवार सदस्यको बेलीज भ्रमणका बेला भएका विरोध प्रदर्शनका कारण उनीहरूले आफ्नो पहिलो औपचारिक कार्यक्रम रद्ध गर्न बाध्य भएका थिए।
उनीहरूले ककाउ खेती गरिएको फार्म भ्रमण गर्ने कार्यक्रम थियो।
केन्सिङ्टन दरबारका प्रवक्ताका अनुसार त्यो भ्रमण ''एउटा समुदायसँग सम्बन्धित संवेदनशील मुद्दाहरू ''का कारणले रद्ध गरिएको थियो।
त्यस बेला बेलीजका प्रधानमन्त्री जोन ब्रीसेनोले देशको शासन र लोकतन्त्रलाई नजिकबाट हेर्ने समय आएको टिप्पणी गरेका थिए।
''हामी, समय, वस्तुहरू परिवर्तन हुन्छन् तर हामी अघि बढि रहनुपर्छ,'' उनले भने।
सन् १९८१ मा यूकेबाट स्वतन्त्र भएको बेलीजका सर्वसाधारणहरूले महारानी एलिजावेथलाई राष्ट्राध्यक्षका रूपमा मान्ने कुराबारे उनीहरूले के महसुस गर्छन् भन्ने कुरा अभिव्यक्त गर्ने अवसर पाएका छैनन्।
बेलीजको संविधान अनुसार महारानीलाई राष्ट्राध्यक्षबाट हटाउन जनमत सङ्ग्रहको आवश्यकता पर्दैन। हाउस अफ रिप्रेजेन्टेटिभ्स अर्थात् संसद्को तल्लो सदनको दुई तिहाइ बहुमतले त्यस्तो प्रस्ताव पारित गर्न सक्छ।
सन् १९९४ सम्झँदा

तस्बिर स्रोत, PA Media
तर कमनवेल्थ राष्ट्रहरूमा प्लेटीनम महोत्सवको उमङ्ग सुरु हुँदै गर्दा जोर्डाना, भानेसा अनि आन्द्रेयाभने महारानी एलिजावेथलाई सकारात्मक रूपमा स्मरण गर्छन्।
हाल तीनै जना आमा बनिसकेका छन् र आफ्ना छोराछोरीसँग महारानीका लागि प्रस्तुति दिएको दिनको कथा सुनाइसकेका छन्।
'यस विषयमा कुरा गर्दै गर्दा म विगतमा फर्किए जस्तो अनुभूति गरिरहेको छु र त्यो पूरै अनुभव सम्झिरहेको छु,'' आन्द्रेयाले भनिन्।
''मैलै आफ्ना बच्चाहरूलाई भनेँ, 'के तिमीहरूलाई थाहा छ … मैले महारानीसामू नृत्य गरेकी थिएँ' र यो त्यस्तो कुरा हो जुन मैले यसअघि कहिल्यै भनेकी थिइनँ।''
''महारानीका लागि नृत्य गरेको अनुभवका बारे धेरै मानिसले बयान गर्ने अवसर पाउँदैनन्।''










