यूके राजपरिवार: ती ब्रिटिश नागरिक जो राजतन्त्रको समर्थन गर्दैनन्

तस्बिर स्रोत, PA Media
- Author, ह्यारियट ओरल
- Role, बीबीसी विश्व सेवा
राजकुमार फिलिपको मृत्यु भएपछि पूरै राजपरिवारलाई विश्वभरिबाट सान्त्वना आयो।
शोकाकुल परिवारप्रति धेरैको समवेदना भए पनि यूकेका सबै व्यक्ति संस्थागत राजतन्त्रको पक्षमा छैनन्।
राजतन्त्रबारे सोध्दा अधिकांश मानिसहरू उनीहरू अझै राजपरिवारको परम्परा तथा प्रतीकवादलाई महत्त्व दिने बताउँछन् र यो समाप्त हुँदै गएकोमा दु:ख व्यक्त गर्छन्।
तर यूकेका नागरिकहरूको एउटा महत्त्वपूर्ण अंश संवैधानिक सुधार र निर्वाचित राष्ट्रप्रमुखलाई देख्न चाहन्छ।
गत महिना युगभ नामक संस्थाले गरेको एउटा सर्वेक्षणका अनुसार ६३ प्रतिशत जनता ब्रिटेनले भविष्यमा राजतन्त्रलाई निरन्तरता दिनुपर्ने विचार राख्छन्।
तर प्रत्येक चार जनामा एक जनाले निर्वाचित राष्ट्रप्रमुखको चाहना राखे भने १० मा एक जनाले आफूले निर्णय गर्न नसकेको बताए।
झन्डै १,००० वर्षदेखि कुनै न कुनै रूपमा शासन गरिरहेको छ ब्रिटिश राजतन्त्र अहिले ९४ वर्षीया महारानी एलिजाबेथ द्वितीयाको नेतृत्वमा छ।

तस्बिर स्रोत, PA Media
यद्यपि सन् १६०० ताका अङ्ग्रेज गृहयुद्धपछि पाँच वर्षका लागि राजतन्त्र कायम थिएन।
सर्वोच्च शासकसमक्स कैयौँ संवैधानिक कार्यहरू रहेका छन्। त्यस्ता कार्यमा कानुनहरूमा हस्ताक्षर गर्ने, प्रधानमन्त्रीको नियुक्ति, संसद् सत्रको आरम्भ गर्ने आदि पर्छन्।
तर समयसँगै धेरै शक्तिको प्रत्यायोजन भएको छ।
महारानी एलिजाबेथ ५४ वटा कमनवेल्थ देशहरूकी राष्ट्रप्रमुखका रूपमा पनि काम गर्छिन्। ती देशहरू ब्रिटिश साम्राज्यसँग जोडिएका छन्।
डार्बीकी एक विश्वविद्यालय प्रशासक कर्स्टिन जोनसन भन्छिन्, "म व्यक्तिगत रूपमा हामीलाई अब राजतन्त्र चाहिन्छ भन्ने सोच्दिनँ। मलाई थाहा छैन उनीहरूले कुन उद्देश्यको पूर्ति गर्छन्, यो उपनिवेशवाद र निकै फरक समयको अवशेष हो।"
"यदि तपाईँले एलिजाबेथ महारानी बनेको बेलाबारे सोच्नुभयो भने हामी दोस्रो विश्वयुद्धभन्दा खासै धेरै पछाडि थिएनौँ र कमनवेल्थ पनि पूर्णरूपमा फरक अवस्थामा थियो। अहिलेको भन्दा त्यस बेला यो साम्राज्यबारे धेरै थियो।"
उनी भन्छिन्, "हामीसँग अहिल्यै चुनिएका अधिकारीहरू छन् त्यसैले म वास्तवमै राजतन्त्र आवश्यक छ भन्ने देख्दिनँ।"
"सिद्धान्तत: महारानीले सबै थोकमा हस्ताक्षर गर्नुपर्छ, तर उनी नाम मात्रकी प्रमुख हुन्। अनि त्यसका लागि एकदमै महँगी।"

तस्बिर स्रोत, Kirsten Johnson
यूकेका करदाताले तिरेको रकमबाट सन् २०२० मा राजपरिवारका लागि छ करोड ९४ लाख पाउन्ड खर्च भएको थियो।
रोयल हाउसहोल्डद्वारा सार्वजनिक गरिएको विवरणअनुसार त्यो सबैभन्दा उच्च खर्च हो।
'सभ्रिन ग्रान्ट' भनिने उक्त रकम रानीको काम र उनको घरेलु खर्चका लागि प्रयोग गरिन्छ।
त्यस्ता खर्चमा औपचारिक शाही भ्रमण, दरबारहरूको स्याहारसम्भार, जीर्णोद्धार आदिका कुरा पर्छन्।
कर्स्टिन भन्छिन्, "करदाताहरूको पैसा अपेक्षाकृत रूपमा टाढाका राजपरिवारका व्यक्तिहरूलाई सहयोग गर्नमा खर्च हुन्छ, उनीहरूको पदवीका कारण उनीहरूले निश्चित काम, निश्चित आर्थिक सुरक्षा आदि पाउँछन्। तर वास्तवमा उनीहरूले देशका लागि के गर्छन् त?"
"म उनीहरूले केही गर्दैनन् भनिरहेकी छैन, तर उनीहरूले के त्यस्तो विशेष कुरा गर्छन् जुन राजतन्त्रसँग जोडिएको होस् र अरू कोह सक्षम छैनन्?"
"महारानी एलिजाबेथले लामो समय कृपापूर्वक शासन गरिन्। उनी असल महिलाजस्ती देखिन्छिन् तर मलाई अब पर्यटनका लागि बाहेक राजतन्त्रको आवश्यकता छ जस्तो मलाई लाग्दैन। र, बकिङ्घम दरबार हेर्न चाहने मानिसहरू त्यहाँ राजतन्त्र छैन भने पनि हेर्न जान्छन् नै।"

तस्बिर स्रोत, Getty Images
महारानी र उनी निकटस्थ अधिकांश राजपरिवारका सदस्यलाई 'वर्किङ रोयल्स' का रूपमा चिनिन्छ।
उनीहरू हरेक वर्ष यूके र विदेशमा गरेर २,००० भन्दा बढी आधिकारिक राजकीय कार्यमा सहभागी हुन्छन्।
सार्वजनिक र परोपकारी कार्यका माध्यमबाट उनीहरूको भूमिका राष्ट्रिय एकता र स्थिरतालाई बलियो पार्ने खालको होस् भन्ने हुन्छ।
सामी नाइट भन्छिन्, "राजपरिवारलाई म एकदमै धेरै विशेषाधिकारप्राप्त नागरिक सेवकका रूपमा देख्छु, उनीहरू आफ्नो जीवनवृत्ति लिएरै जन्मिए र त्यसलाई उनीहरूले परिवर्तन गर्न सक्दैनन्।"
क्यानडामा जन्मिएकी र अहिले ब्रिटिश नागरिक बनेकी सामी भविष्यमा यूके र कमनवेल्थमा राजतन्त्रको स्थान नहुनेमा विश्वास गर्छिन्।
"संस्थाका रूपमा राजतन्त्र रानीसँगै टुङ्गिनेछ भन्ने मेरो धारणा छ," उनी भन्छिन्, "मलाई राजमुकुटको मतलब छैन तर व्यक्तिगत तहमा उनी एकदमै असाधारण महिला हुन् जस्तो लाग्छ।"
फिलिपको निधनमा दु:ख व्यक्त गर्दै उनी एलिजाबेथ र फिलिपले आफ्नो उमेर धेरै हुँदा पनि सार्वजनिक सेवा गरेको ठान्छिन्।
"मलाई राजपरिवारका युवा सदस्य मन पर्दैनन् र मलाई लाग्छ यो ब्रिटेनले निर्वाचित राष्ट्रप्रमुखबारे सोच्ने बेला हो," उनले भनिन्।

तस्बिर स्रोत, Mathew Burton-Webster
सर्वेक्षणको विवरणलाई उमेर अनुसार वर्गीकरण गर्दा त्यहाँ पुस्ताबीच फरक पाइन्छ।
अठारदेखि २४ वर्षको उमेरका व्यक्तिहरूल यूकेमा राजतन्त्र हुनुपर्छ भन्ने पक्षमा कमै देखिन्छन् भने ६५ वर्षमाथिका व्यक्तिहरूले राजतन्त्रको पक्षमा खुलेर मत दिएका छन्।
उक्त सर्वेक्षणको नतिजामा क्षेत्रगत हिसाबले पनि सन्तुलन देखिँदैन।
स्कटल्यान्डका आधा मानिसले मात्र राजतन्त्रका लागि अनुकूल मत व्यक्त गरेका छन् जबकि अन्यत्र त्यस्तो मत व्यक्त गर्नेहरू थोरै सङ्ख्यामा छन्।
स्कटल्यान्डको पूर्वी तटस्थित किर्कार्डेका आवासीय शिशुस्याहार गर्ने म्याथ्यू बर्टन-वेब्स्टर भन्छन्, "एकजना स्टकिशका रूपमा राजतन्त्र मेरा लागि टाढाको र विदेशी लाग्नु हुँदैनथ्यो। हामीलाई उनीहरूको स्मरण हुने कुरा भनेको हाम्रो पैसा हो र यदि उनीहरूमध्ये कसैको देहान्त भयो भने हो।"
"उनीहरूले आफैँले स्कटल्यान्डका स्थानहरूको नामको स्वामित्वमा पदवी दिन्छन् र यहाँका उनीहरूका निजी घरहरूमा बिदा मनाउँछन् तर के लाग्छ भने उनीहरूले त्यसका लागि यहाँ केही पनि दिएका छैनन्। ती अर्थहीन ब्रिटिश संस्था र परम्परा हुन्। त्यसले उनीहरूबाहेक कसैलाई पनि फाइदा गरेको छैन।"

तस्बिर स्रोत, Getty Images
तर राजतन्त्र पूर्ण रूपमा अन्त्य गर्नुपर्छ भन्ने धारणा सबै जनाको हैन।
अवकाशप्राप्त राजनीतिक विशेषज्ञ स्टीभन आलिसन त्यसको साटो संवैधानिक सुधारको वकालत गर्छन्।
उनी महारानी र उनका प्रथम उत्तराधिकारीबाहेक दर्जनौँ राजकुमार र राजकुमारीको आवश्यकता नपर्ने ठान्छन्।
त्यसैले उनी राजपरिवारका केही सदस्यलाई मान्यता दिनुपर्ने तर धेरै जना आवश्यक नपर्ने तर्क गर्छन्।
केही वर्षयता ब्रिटिश राजपरिवार बहसको विषय बनेको भए पनि राजतन्त्र अन्त्य होस् भन्ने चाहने व्यक्तिहरू अल्पमतमा छन्।








