राजकुमारी डायनासँग अन्तर्वार्ताका लागि बीबीसीले गरेको छलका कारण मेरो बुबाआमाको सम्बन्ध थप बिग्रियो: राजकुमार विलियम

चार्ल्स विलयम डायना र ह्यारी

तस्बिर स्रोत, PA Media

    • Author, डग फल्कनर र जोजफ ली
    • Role, बीबीसी न्यूज

ब्रिटेनका ड्यूक अफ केम्ब्रिजले उनकी आमा राजकुमारी डायनासँग गरिएको अन्तर्वार्ताका सम्बन्धमा बीबीसीबाट भएका कमजोरीहरू उनकी आमामा मानसिक तनाव बढाउनुकासाथै बुबा र आमाबीचको सम्बन्ध झन् खराब तुल्याउने कारक बनेको दोष लगाएका छन्।

राजकुमारी डायनासँगको बहुचर्चित अन्तर्वार्ताका सम्बन्धमा भएको एक छानबिनले सो अन्तर्वार्ताका सम्बन्धमा बीबीसी आफ्ना स्थापित मान्यताहरूबाट चुकेको भन्ने निर्णय दिएपछि राजकुमार विलियमले यस्तो अभिव्यक्ति दिएका हुन्।

विलियमले भने कि उनकी आमाले उक्त अन्तर्वाताका लागि उनीसँग छल गरिएको थियो भनेर कहिल्यै थाहा पाउन सक्ने छैनन्।

उनले भनेका छन् कि उनकी आमालाई "नियमहरूको अवज्ञा गर्ने पत्रकार" ले मात्र होइन बीबीसीका उच्च पदस्थ अधिकारीहरूले समेत धोका दिएका हुन्।

ड्यूक अफ ससिक्स राजकुमार ह्यारीले उनको आमाको मृत्युमा पनि विषालु मिडिया संस्कृति जिम्मेवार रहेको टिप्पणी गरेका छन्।

बीबीसीले राजकुमारहरू विलियम र ह्यारीलाई पत्र लेखेर क्षमायाचना गरेको छ।

राजकुमारी डायनाका पूर्वपति प्रिन्स अफ वेल्स र डायनाका भाइ अर्ल स्पेन्सरलाई पनि क्षमायाचना पत्र लेखिएको छ।

ढिलो र अपर्याप्त

राजकुमारी डायनासँगको बहुचर्चित अन्तर्वार्ता हासिल गर्न नक्कली कागजातहरू प्रस्तुत गरिएको भनेर सबैभन्दा पहिले चिन्ता व्यक्त गर्ने ग्राफिक डिजाइनर म्याट वीसलरले बीबीसीको रेडिओ फोरको टुडे कार्यक्रममा बोल्दै क्षमायाचना पत्र प्राप्त गरेको तर त्यो "निकै अबेर प्राप्त र अपर्याप्त" भएको बताएका छन्।

अवकाशप्राप्त न्यायाधीश लर्ड डाइसनले गरेका स्वतन्त्र छानबिनले राजकुमारी डायनासँग अन्तर्वार्ता गरेका पत्रकार मार्टिन बशिरले उक्त अन्तर्वार्ता हासिल गर्न नक्कली कागजात बनाएको र "छल गर्ने" क्रियाकलाप गरेको निष्कर्ष निकालेको थियो।

सन् १९९६ मा पनि यो विषयमा बीबीसीका तत्कालीन न्यूज एन्ड करेन्ट अफेयर्स विभावका प्रमुख लर्ड हलले गरेको अनुसन्धान पनि "दुःखदायी रूपमा नै अप्रभावकारी" रहेको यो नयाँ छानबिनले ठहर गरेको छ।

उक्त अन्तर्वार्ताकार बशिरले आफूले नक्कली कागजात तयार गर्नु "मूर्खतापूर्ण कार्य" भएको स्वीकार गरेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, राजकुमारी डायना 'हृदयकी रानी'

उनले त्यसका लागि दुःख व्यक्त गरेका छन्। उनले गत वर्ष नै स्वास्थ्यका कारण देखाएर बीबीसीबाट राजीनामा दिइसकेका छन्।

तर उनका अनुसार अन्तर्वार्ताका लागि राजी हुने डायनाको निर्णयसँग उनको त्यस्तो गतिविधिको कुनै सम्बन्ध छैन।

सो स्वतन्त्र छानबिन गत वर्ष बीबीसीले नै गराएको थियो।

त्यसअघि अर्ल स्पेन्सरले उनकी दिदीसँगको अन्तर्वार्ताको व्यवस्था कसरी गरिएको थियो भन्ने सार्वजनिक रूपमा नै आरोप लगाएका थिए।

सो छानबिनको निष्कर्ष बिहीवार प्रकाशित गरिएको हो।