भाग्यले ब्रिटिश महारानी बनेकी एलिजाबेथको शासनको ७० वर्ष पूरा

महारानी एलिजाबेथ

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, महारानी एलिजाबेथले शासन गरेको ७० वर्ष पुगेको अवसरमा केक काटेकी छन्
    • Author, रोबर्ट लेसी
    • Role, ब्रिटिश इतिहासकार

आफ्नो जीवनको पहिलो दशक शाही भाग्यको झीनो अपेक्षामा हुर्केकी ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको बाल्यकाल घोडा र कुकुरहरूसँग खेलेर बेपर्बाह बित्यो।

उनी महारानी भएको आइतवार ७० वर्ष पुरा भएको छ। उनी २५ वर्षको उमेरमा सन् १९५२ फेब्रुअरी ६ मा ब्रिटिश महारानी बनेकी थिइन्।

राजकुमारी रहँदा एलिजाबेथ ब्रिटिश राजपरिवारमा अहिले दोस्रो मर्यादामा रहने ड्यूक अफ योर्क एन्ड्रूकी छोरी बिएट्रेसको जस्तै रोल क्रममा थिइन्। यसको अर्थ उनी महारानी बन्ने सम्भावना धेरै कम थियो।

तर सन् १९३६ को डिसेम्बरमा ब्रिटिश राजपरिवारमा एउटा नाटकीय परिवर्तन भयो।

एलिजाबेथले 'काका डेभिड' बोलाउने राजा एडवार्ड तेस्रोले अमेरिकी महिलासँग विवाहका लागि सिंहासन त्याग गरे।

यो निर्णयले १० वर्षकी एलिजाबेथलाई दरबारको उत्तराधिकारी बन्ने बाटो खोलिदियो।

उनका बुबा राजकुमार अल्बर्टलाई राजा जर्ज चौथोको उपाधि मिल्यो।

उनकी जेठी छोरी एलिजाबेथ उत्तराधिकारीको पहिलो दाबेदार बनिन्।

राजकुमारी हुँदा महारानी बन्ने कल्पना

उनीहरूको गृहनगर बाहिर मानिसहरूको अचानक होहल्लाबारे बुझाउँदै एलिजाबेथले त्यो डिसेम्बरमा आफ्नी छ वर्षकी बहिनी मार्गरेट रोजलाई भनेकी थिइन्, "बुबा राजा हुँदै हुनुहुन्छ।"

एलिजाबेथ

तस्बिर स्रोत, Universal History Archive/Getty Images

मार्गरेटको प्रश्न थियो: "त्यसो भए तिमी महारानी बन्छौ?"

जवाफमा एलिजाबेथले "हो, मलाई त्यस्तै लाग्छ" भन्दा मार्गरेटले "बिचरी" भनेको उनले त्यसको दुई दशकपछि इतिहासकार बेन पिमलोटसँग बताएकी छन्।

त्यसपछि भने एलिजाबेथले मार्गरेटलाई यसबारे केही नभनेको उनले बताएकी छन्।

त्यसो भए १० वर्षकी राजकुमारी एलिजाबेथलाई के थाहा थियो त? महारानी बन्ने कुरा कहिले थाहा पाइन् त?

एलिजाबेथको आदर्श व्यक्ति थिए उनका हजुरबुबा राजा जर्ज पाँचौँ थिए। उनी एक साधारण तर चलाख व्यक्ति थिए।

जर्ज पाँचौँलाई उनी 'हजुरबा इङ्गल्यान्ड' भन्थिन्।

यसले उनी सानै छँदा राजपरिवारको चालचलन बुझेको देखाउँथ्यो। जर्ज पाँचौँले उनलाई 'प्रिन्सेस लिलिबेट' नाम दिएका थिए।

सन् १९२९ को वसन्तमा घातक फोक्सोको उपचारपछि वृद्ध राजाले इच्छा गरेका दुई वटा कुरामध्ये एउटा तीन वर्षकी नातिनी एलिजाबेथलाई भेट्ने थियो भने दोस्रो चुरोट पिउने थियो।

यही समयमा राजाले नातिनीसँग एक दिन उनी राजगद्दीको उत्तराधिकारी बन्न सक्ने कुरा सुनाएका थिए।

"हेर्दै जाऊ तिम्रो दाजु कहिल्यै राजा हुँदैनन्," निको हुँदै गर्दा भेट्न आएका एलिजाबेथका बुबासँग राजाले भनेका थिए।

एलिजाबेथ

तस्बिर स्रोत, Alamy

यो कुरा आफूहरूलाई त्यस बेला हाँसो उठ्दो लागेको पछि रानी भएकी महारानीका आमाले बताएकी थिइन्।

तर जर्ज पाँचौँ आफ्नो अडानमा स्पष्ट थिए।

उनले आफ्ना जेठा छोरालाई सिंहासनको विरासत दिन चाहेनन्। माइला छोरा पनि फोक्सोको समस्याका कारण लामो समय सिंहासनमा रहने अवस्थामा थिएनन्।

वृद्ध राजाले ड्यूक अफ योर्कले पनि शाही जिम्मेवारीको भारका लामो समय चलाउन सक्ने अवस्थामा नरहनेका कारण एलिजाबेथ सानैमा सिंहासनमा पुग्ने आकलन गरेका थिए।

तर कतिपयले एलिजाबेथका काका हेनरीलाई सिंहासनको विरासत मिल्ने अनुमान पनि गरेका थिए।

तर बिरामी राजाको चाहना एलिजाबेथलाई नै महारानी बनाउने देखिन्थ्यो।

जसलाई पछि रानीको पहिलो प्रधानमन्त्री नियुक्त भएका चान्सलर विन्सटन चर्चिलले पनि समर्थन गरेका थिए।

सन् १९३६ मा जर्ज पाँचौँको शासन समाप्त हुनुअघि उनकी नातिनीलाई सार्वजनिक कार्यक्रममा उपस्थितिका लागि निमन्त्रणाको सङ्ख्या अप्रत्याशित रूपमा बढिसकेको थियो।

यसबीच उनले हजुरबा इङ्गल्यान्डबाट पनि धेरै कुराहरू सिकिसकेकी थिइन्।

एलिजाबेथलाई हेर्न टिकटको व्यवस्था

एलिजाबेथको चौथो जन्मदिन लगत्तै सन् १९३० मा सानो घोडामा बसेको उनको मैनको प्रतिमा सङ्ग्रहालयमा राखियो।

उनलाई सार्वजनिक गरिने कार्यक्रममा टिकटको व्यवस्था गरियो। उनको नाममा ठाउँकै नामकरण गरियो।

उनी पार्कमा गाडी चलाउन जाँदा समाचार बने। उनी छ वर्षको हुँदा नै उनलाई मानिसहरूले चिन्थे, बाहिर निस्कँदा टोपी र रुमाल हल्लाएर अभिवादन गर्न थालिसकेका थिए।

एलिजाबेथ

तस्बिर स्रोत, Getty Images

आफ्नो सातौँ जन्मदिनमा एलिजाबेथले चियापानको निमन्त्रणा आफ्नै नामको पत्रमा पठाइन् जसमा मुकुटमुनि उनको नामको पहिलो अक्षर थियो। जसले उनी उत्तराधिकारी बन्ने सङ्केत दिन्थ्यो।

उनको चित्र बनाउन अभिभावकले खटाएका चित्रकारले एलिजाबेथलाई 'सुन्दर, बुद्धिमान, लोकप्रिय र भविष्यको महारानीको रूपमा हेरिएकी' भनेर उल्लेख गरेका थिए।

सन् १९३४ मा अमेरिकाको एउटा पत्रिकाले उनलाई बेलायतको सिंहासनको उत्तराधिकारीलाई दिने कडा अनुशासनको शिक्षा दिइँदै गरेको कुरा सार्वजनिक गर्‍यो।

उनलाई उत्कृष्ट बाल पुस्तकहरू पढाउनुका साथै कक्षाकोठामा कम बिताएर लन्डन टावर जस्ता ठाउँहरूको भ्रमणमा पनि लगियो।

हजुरबाले उनकी शिक्षिकालाई एलिजाबेथ र मार्गरेटका अक्षर राम्रा हुनुपर्नेमा जोड दिएका थिए।

एलिजाबेथ

तस्बिर स्रोत, Ranald Mackechnie

उनकी शिक्षिकासँग एलिजाबेथले आफू महारानी भए आइतवार घोडा चढ्न नपाइने र घोडालाई आराम दिनुपर्ने कानुन बनाउने बताएकी ती शिक्षिकाले आफ्नो पुस्तकमा लेखेकी छन्।

उनलाई तत्कालीन राजारानी रहेका उनका हजुरबा र हजुरआमाले नेतृत्व क्षमता विकास गर्दै हुर्काएका थिए।

सिंहासनमा बसेपछि एलिजाबेथ द्वितीयाले आफ्ना हजुरबा र हजुरआमाबाट सिकेका ज्ञानहरूको उपयोग गरिन्।

यसबीचमा ब्रिटिश राजपरिवारमा विभिन्न उतारचढावहरू आए पनि राजतन्त्रलाई सुरक्षित राख्न उनी सफल भएकी छन्।

घोडा र कुकुरहरूसँग खेल्दै हुर्केकी एलिजाबेथ अहिले इङ्गल्यान्डसहित वेल्स, नर्दन आयरल्यान्ड र स्कटल्यान्डकी हजुरआमा भइसकेकी छन्।