फिलिप शेर्पा: ६० वर्षअघि राजकुमार फिलिपले नामकरण गरिदिएका नेपाली शेर्पा

थुक्तेन

तस्बिर स्रोत, Courtesy of Thukten Philip Sherpa

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

नेपाली शेर्पा परम्परामा शिशुको नाम प्राय: जन्मेको दिनका आधारमा राखिने गरिन्छ, त्यस हिसाबले थुक्तेन फिलिप शेर्पा एउटा दुर्लभ पात्र हुन्।

उनको नामको अर्थ खोज्न इतिहास पल्ट्याउनुपर्छ र त्यो इतिहास ब्रिटेनका राजकुमार फिलिपसँग जोडिन्छ।

साठी वर्षीय थुक्तेन फिलिप शेर्पाले आफ्नो नामको बारेमा आफ्नो आमाबुवा, प्रथम सगरमाथा आरोही सर एड्मन्ड हिलरी र सगरमाथाको काखमा रहेको आफ्नो गाउँ खुम्जुङका बूढापाकाबाट धेरै पटक सुनेका छन्।

छ दशकअघि नेपाल भ्रमणमा आएका राजकुमार फिलिपले एउटा रोचक संयोगबीच उनको पहिलो नाम राखिदिएका थिए।

अनि त्यसपछाडिको कथा थुक्तेनले बीबीसीलाई सुनाएका छन्।

कस्तो संयोग?

सन् १९६० मा सर एड्मन्ड हिलरीले हिममानव यतीको विषयमा एउटा खोज आरोहण अभियान सञ्चालन गरेका थिए।

त्यसबेला यतीबारे हिलरीले झन्डै छ महिना लगाएर सगरमाथा, मकालु र रोल्वालिङ हिमालमा वैज्ञानिक अनुसन्धान गरेका थिए।

त्यस क्रममा यतीका भनिएका पाइलाहरू रेकर्ड गरिए। तर यतीको अस्तित्व भेटिएन।

तर सगरमाथा क्षेत्रमै पर्ने खुम्जुङ गाउँको गुम्बामा यतीको अवशेषका रूपमा रहेको विश्वास गरिएको एउटा खप्पर र हात थियो।

फिलिप

तस्बिर स्रोत, Courtesy of Thukten Philip Sherpa

तस्बिरको क्याप्शन, हातमा यतीको भएको विश्वास गरिएको खप्पर लिएका एड्मन्ड हिलरी (बायाँ), बिचमा कोन्जो छुम्बी र राजा महेन्द्र (दायाँ)

"खासमा हिलरीले त्यसलाई नै भएपनि संसारका विभिन्न ठाउँमा लगेर वैज्ञानिक अनुसन्धान र प्रदर्शन गर्न चाहन्थे," थुक्तेन फिलिप शेर्पाले आफ्नो परिवारमा सुनिँदै आएको कुरा हामीलाई सुनाए।

"तर त्यो राखिएको गुम्बाले गाउँको एकजना प्रतिनिधि साथमै जानुपर्ने बताएपछि गाउँका एकजना अगुवाका रूपमा मेरो बुवा कोन्जो छुम्बी शेर्पा गाउँबाट छानिनुभएको रहेछ।"

कोन्जो छुम्बी र हिलरीसहितको टोली टोक्योदेखि जुरिखसम्म, ओस्लोदेखि वाशिङ्टनसम्म पुगेछ।

लन्डनस्थित बकिङ्घम दरबारमा बोलाइएका बेला क्रिस्मसको व्यस्तताका कारण महारानीको समय मिलेन।

अनि कोन्जो छुम्बी शेर्पाले महारानीका लागि भनेर खुम्बुबाट लगेको उपहार मात्र छाडेर फर्कनुपरेछ।

अर्को वर्ष सन् १९६१ मा महारानी एलिजाबेथ द्वितीया आफ्ना पति राजकुमार फिलिपसाथ नेपाल भ्रमणमा आइन्।

त्यस बेला काठमाण्डूस्थित ब्रिटिश दूतावासले सगरमाथाको फेदमा रहेको एउटा गाउँ खुम्जुङमा रहेका कोन्जोलाई आफ्नो परिवारसाथ महारानी दम्पतीलाई भेट्न आउनका निम्तो पठाएछ।

तर अहिलेजस्तो लुक्ला विमानस्थलले खुम्बु र काठमाण्डूको दूरी छोट्याएको थिएन त्यसबेला। लुक्ला विमानस्थल उक्त भ्रमणको तीन वर्षपछि बल्ल खुलेको थियो। खुम्जुङ गाउँबाट धेरैजसो हिँडेर राजधानी आउनका लागि साढे दुई साताजति समय लाग्थ्यो।

त्यो ऐतिहासिक भ्रमणको साथी बन्नका लागि कोन्जो छुम्बी गर्भवती रहेकी आफ्नी श्रीमती पली शेर्पालाई समेत साथमा लिएर काठमाण्डूतर्फ लागेछन्। तर दुई साताजति हिंडेपछि चरिकोट नजिकै बाटोमै पलीले छोरा जन्माइन्।

पाँच वर्षको छंदा थुक्तेन फिलिप शेर्पा आफ्ना बुवा कोन्जो छुम्बी शेर्पाका साथ

तस्बिर स्रोत, Courtesy of Thukten Philip Sherpa

तस्बिरको क्याप्शन, पाँच वर्षको छँदा थुक्तेन फिलिप शेर्पा आफ्ना बुवा कोन्जो छुम्बी शेर्पाका साथ

आधा दिनजसो मात्र आराम गरेर उनीहरू ब्रिटिश राजदम्पतीलाई भेट्न काठमाण्डू आइछाडे।

काठमाण्डूमा उनीहरूको भेटघाट पनि विमानस्थलमा मात्र जुट्यो। त्यतिखेर कोन्जोले बख्खुको गोजीमा पाँच दिनको छोरालाई राखेर राजदम्पतीलाई भेटेका रहेछन्।

केही अस्वाभाविक महसुस गर्दै राजकुमार फिलिपले जिज्ञासा राखेपछि बल्ल उनीहरूले आफ्नो छोरा भएको बताएछन्।

फिलिपले नाम सोधेपछि बल्ल उनीहरूले बाँकी कहानी सुनाएछन्। शेर्पा परम्पराअनुसार जन्मेको पाँच दिनमा नाम राखिँदैनथ्यो। त्यसमाथि उनीहरू बाटोमै जन्मिएको छोरालाई लिएर हतारहतार हिँडेका मान्छे।

"त्यो सुनेपछि प्रिन्सले उसको नाम फिलिप राख्नू, म उसको गडफादर (धर्मपिता) हुन्छु भन्नुभएको रहेछ," हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका थुक्तेन फिलिपले टेलिफोनमा बीबीसीलाई सुनाए।

सम्बन्ध

थुक्तेन फिलिप २५ वर्ष जतिको पुग्दा ब्रिटिश महारानी एलिजाबेथ द्वितीयाको राजकुमार फिलिपका साथ दोस्रो पटक नेपाल भ्रमण भएको थियो।

त्यस बेला तेन्जिङ नोर्गेका साथ पहिलो पटक सगरमाथा आरोहण गरेका सर एड्मन्ड हिलरी भारतका लागि न्यूजील्यान्डका उच्च आयुक्त थिए। हिलरीको जिम्मेवारीमा नेपाल पनि पर्थ्यो।

सन् १९८६ को फेब्रुअरीमा भएको राजकीय भ्रमणका बेला चितवनमा पुगेका राजकुमार फिलिप, तत्कालीन राजकुमार ज्ञानेन्द्र शाहसँग

तस्बिर स्रोत, Lisa Choegyal

तस्बिरको क्याप्शन, सन् १९८६ को फेब्रुअरीमा भएको राजकीय भ्रमणका बेला चितवनमा पुगेका राजकुमार फिलिप नेपालका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहसँग

भेटघाटका लागि लैनचौरस्थित ब्रिटिश दूतावास पुगेको सम्झिँदै थुक्तेन फिलिपले भने, "राजकुमारसँग केही बेर सामान्य हालखबर सोध्ने काम भयो। महारानीसँग भने भेट्ने अवसर जुरेन।"

त्यो समय राजकुमार फिलिप विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) को संस्थापक र संरक्षणकर्मीको रूपमा निकै चर्चा र प्रसिद्धिमा थिए।

हिलरीले समेत खुम्बुमा आफ्नो संस्थामार्फत् संरक्षणका गतिविधिलाई विस्तार गरिरहेका थिए।

हिलरीले भनेको सम्झँदै थुक्तेन फिलिप भन्छन्, "वहाँले मलाई वनविज्ञान पढ्नका लागि प्रिन्सलाई पत्र लेख, म पनि भनिदिऊँला भन्नुभयो।"

त्यसअघि नै उनले एसएलसीपछिको दुई वर्ष स्विट्जरल्यान्ड गएर रेन्जरको तालिम लिएका थिए।

खुम्जुङबाट काठमाण्डू आउन सन् १९६१ मा साढे दुई साताजति समय लाग्थ्यो

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन, खुम्जुङबाट काठमाण्डू आउन सन् १९६१ मा साढे दुई साताजति समय लाग्थ्यो

उनी सम्झन्छन्, "मैले राजकुमारलाई पत्र त लेखेँ। तर वनविज्ञान नभई पाइलट पढ्न सहयोग मिल्छ कि भनेर।"

त्यसको जबाफ उनले कहिल्यै नपाएको र उनीहरूबीच त्यसबाहेक पछि कहिल्यै भेटघाट र सम्पर्क पनि नभएको शेर्पाले बताए।

"तर एक दिन हिलरीले म बुझौँ त भनेर सोध्नुभएको थियो," उनले भने।

"मैले वहाँको सुझावलाई नमानेर अर्कै कुरा लेखेको मलाई मात्र थाहा थियो, त्यसैले मैले पर्दैन नगरौँ भनेँ।"

थुक्तेन फिलिप शेर्पाको नागरिकतामा भने फिलिप नाम उल्लेख छैन।

तर एड्मन्ड हिलरी र नेपालसहित यस क्षेत्रबारे कैयौँ पुस्तक लेखेका खोजकर्ता एवं कलाकार डेस्मन्ड डोइग लगायतले आफ्ना लेखहरूमा उनलाई थुक्तेन फिलिप शेर्पाकै रूपमा उल्लेख गरेका छन्।

नेपालमा पर्वतारोहण र पदयात्रालाई व्यवसायकै रूपमा चलाउने प्रारम्भिकमध्येको एउटा कम्पनी थुक्तेन फिलिपको परिवारको छ।

उनले समेत पदयात्रामै आफ्नो सक्रिय जीवन बिताए।