राजकुमार फिलिपः ‘सौखिन सिकारीबाट संरक्षणवादी’ बनेका विशिष्ट व्यक्तिको नेपाल साइनो

तस्बिर स्रोत, Lisa Choegyal
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाले दुई पटक नेपालको राजकीय भ्रमण गर्दा साथै रहेका उनका पति राजकुमार फिलिपले दुवै पटक चितवनको भ्रमण गर्न छुटाएनन्। पहिलो पटकको भ्रमणमा चितवन राष्ट्रिय निकुञ्ज बनिसकेको थिएन।
सन् १९६१ मै विश्व वन्यजन्तु संरक्षण कोष स्थापना गर्नमा अग्रणी भूमिका निर्वाह गरेको भनिएका राजकुमार फिलिपको रुचि वन्यजन्तुमा थियो।
राजकुमार फिलिप सुरुमा सिकारका सौखिन भए पनि पछि संरक्षक बनेको धारणा वन्यजन्तुको संरक्षणबारे लामो समयदेखि अध्ययन अनुसन्धान गरेका विज्ञ डा. हेमन्त मिश्रको छ।
मिश्रको पुस्तक ‘बोन्स अफ द टाइगर’मा राजकुमार फिलिपले सन् १९६१ मा तात्कालिन राजा महेन्द्र शाहको बाघको सिकार गर्ने प्रस्ताव कसरी टारेका थिए भन्ने उल्लेख छ। यही प्रसङ्गलाई मिशल पीसेलको पुस्तक ‘टाइगर फर ब्रेकफास्ट’मा पनि उल्लेख गरिएको छ।
राजकीय भ्रमणमा महारानी एलिजाबेथ द्वितीया र राजकुमार फिलिपको चितवनको भ्रमण पहिला नै तय गरिएको थियो र त्यसमा सिकार गर्ने सुविधा पनि राखिएको थियो।
सिकार खेल्ने प्रस्ताव
राजकीय भ्रमणका बेला राजा महेन्द्रले चितवनमा राजकुमार फिलिपलाई बाघको सिकार गर्ने प्रस्ताव गरेका थिए।
मिश्रले पुस्तकमा उल्लेख गरेअनुसार त्यो त्यस्तो समय कस्तो थियो भने भारतमा राजकुमार फिलिपले सिकार गरेको बाघको अगाडि बसेर खिचेको तस्बिर सार्वजनिक भएपछि सञ्चारमाध्यमहरूमा उनको व्यापक आलोचना भएको थियो।

तस्बिर स्रोत, Lisa Choegyal
राजकुमार फिलिपले औँलामा पट्टी बाँधे
सन् १९६१ मा राजकुमार फिलिप विश्व वन्यजन्तु कोष यूकेका अध्यक्ष पनि भएका थिए। त्यही वर्षको पूर्वार्धमा उनी र नेदरल्यान्ड्सका राजकुमार बर्नार्डले सिकार नगर्ने र विश्वको खस्किँदो वन्यजन्तु संरक्षणमा सहयोग गर्ने वाचा गरेका थिए।
पुस्तकमा लेखिएको छ: राजकुमार फिलिप वन्यजन्तुको सिकारीका रुपमा नभई संरक्षकका रूपमा देखिन चाहन्थे।
जब पहिलै तय भइसकेको कार्यक्रममा राजा महेन्द्रले सिकार गर्ने प्रस्ताव गर्दा त्यसलाई अस्वीकार गर्नु राम्रो देखिँदैनथ्यो।
यो परिस्थितिले राजकुमार फिलिप अन्योलमा थिए।
बोन्स अफ द टाइगरमा लेखिएको छः कार्यक्रमअनुसार बिहानको समयमा राजकुमार फिलिप निस्किए तर उनले दाहिने हातको चोरी औँलामा पट्टी बाँधेका थिए। उनले राजा महेन्द्रलाई भने, “मेरो औँलामा चोट लागेका कारण म सिकार गर्न असमर्थ छु।”
नेपालको पहिलो राजकीय भ्रमणका बेला खिचिएका तस्बिर हेर्ने हो भने त्यतिबेला हनुमानढोकाको भ्रमण गर्दा पनि राजकुमार फिलिपले दाहिने हातको औंलामा पट्टी बाँधेको देख्न सकिन्छ।

त्यो पट्टी वास्तवमा घाउ भएर बाँधिएको थियो वा सिकारको प्रस्ताव छल्ने जुक्ति थियो? यो प्रश्नमा लेखक तथा संरक्षणविद् मिश्रले भने, "भ्रमणका बेला बाघ सिकार गर्ने राजाको प्रस्ताव अस्वीकार गर्दा कूटनीतिक रूपमा शोभनीय नदेखिने भएकाले त्यसलाई राजकुमार फिलिपले चलाखीपूर्वक अस्वीकार गरेको हुनुपर्छ।"
“औँलामा पट्टि बाँधिएको बारेमा टाइगर फर ब्रेकफास्ट पुस्तकमा पनि उल्लेख छ र त्यतिबेला ड्यूटीमा खटिएका सेनाले पनि मलाई पछि त्यो चलाखीपूर्ण काम हो भनेका थिए,” मिश्र भन्छन्।
मिशल पीसेलको पुस्तक टाइगर फर ब्रेकफास्टमा राजकुमार फिलिपले दाहिने हातमा पट्टी बाँधेर देखा पर्नु कुनै कारण थियो वा केवल संयोग भनेर उल्लेख गरिएको छ।
राजकुमारको औँलामा सङ्क्रमण भएको र त्यसका कारण उनले सिकार गर्न नसकिने बताइएको पुस्तकमा उल्लेख छ।
यसरी नेपालको पहिलो राजकीय भ्रमणका बेला न महारानीले सिकार गरिन् न उनका पति राजकुमार फिलिपले नै।
पछि ब्रिटेनका समाचारहरूमा आएको थियो, "महारानीले आफ्नो बन्दुकले नभई ठूलो मूभी खिच्ने क्यामराले खिचिन्।" (क्वीन शट नट विथ हर गन बट विथ बिग मूभी क्यामरा।')

तस्बिर स्रोत, PA Media
गैँडाको नाम फिलिप
नेपालसँग जोडिएको राजकुमार फिलिपको अर्को एउटा घटनाले पनि उनी वन्यजन्तुबारे चासो राख्थे भन्ने देखाउँछ।
सन् १९८६ को फेब्रुअरीमा दोस्रो पटक भएको महारानीको चारदिने राजकीय नेपाल भ्रमणका बेला पनि राजकुमार फिलिप चितवन गए। यस पटकको भ्रमणमा संरक्षणविद् हेमन्त मिश्र पनि सँगै थिए।
उनको टोली त्यतिबेला गैँडाको स्थानान्तरण गर्नेबारे अनुसन्धान गरिरहेको थियो।
गैँडालाई चितवनबाट बर्दिया राष्ट्रिय निकुञ्ज स्थानान्तरण कसरी गर्ने भन्नेबारे उनीहरूले अध्ययन गरिरहेका थिए।

पहिलो राजकीय भ्रमणका बेला महारानी एलिजाबेथ द्वितीया पनि चितवन गएकी थिइन्। तर त्यतिबेला चितवन राष्ट्रिय निकुञ्ज स्थापित भइसकेको थिएन।
दोस्रो राजकीय भ्रमणका बेला भने महारानी एलिजाबेथ काठमाण्डूमै बसिन्।
राजकुमार फिलिप तात्कालिक अधिराजकुमार ज्ञानेन्द्र शाहसँग हेलिकप्टर चढेर चितवन गए। बिहानको खानापछि फिलिपलाई गैँडाबारे आफूहरूले बताएको र त्यतिबेला उनको हास्यचेतबारे आफूले थाहा पाएको मिश्र बताउँछन्।
“हामीले गैँडालाई कसरी लट्ठ्याइन्छ भनेर देखायौँ। अनि लट्ठ्याइएको गैँडाको नाम पनि फिलिप भनेर राख्यौँ,” द सोल अफ राइनो नामक अर्को पुस्तकका लेखक पनि रहेका मिश्रले बीबीसीसँग भने।
राजकुमार फिलिपको नेपाल भ्रमणले नेपालको वन्यजन्तु संरक्षणको क्षेत्रमा योगदान पुर्याएको मिश्र ठान्छन्।










