बोरिस जोनसन: डाउनिङ स्ट्रीट फर्किएका नेता के ब्रेक्जिट प्रधानमन्त्री बन्लान्

तस्बिर स्रोत, Getty Images
बोरिस जोनसन ब्रिटिश प्रधानमन्त्रीका रूपमा डाउनिङ स्ट्रीट फर्कने निश्चित भएको छ।
बिहीवार भएको निर्वाचनमा उनको कन्जर्भेटिभ पार्टीले संसद्मा स्पष्ट बहुमत सङ्ख्या पुर्याइसकेको छ।
'नम्बर टेन' भनेर चिनिने प्रधानमन्त्री कार्यालयमा यसअघि उनी टरिजा मेलाई विस्थापित गर्दै आएका थिए।
कन्जर्भेटिभ पार्टीको नेताको रूपमा उनी त्यसबेला एक लाख ६० हजार पार्टी सदस्यहरूमार्फत् मात्र छानिएको भनेर आलोचना हुनेगर्छ।

बिहीवार सम्पन्न आमनिर्वाचनमार्फत् अहिले भने उनलाई, उनको दललाई र उनले लिएको नीतिलाई मतदाताहरूले छानेका छन्।
जोनसनले विभाजित विचार र उत्तेजनात्मक विवादहरूका बीचबाट आफ्नो करिअर तय गरेका हुन्।
पहिले उनी पत्रकार थिए र पछि नेता भए।
पार्टीको नेतृत्वमा जित हासिल गरेपछि धेरैले उनलाई शक्तिमा रहिरहन पर्याप्त दक्षता नहुने सोचेका थिए।
तर जोनसनले त्यसलाई गलत साबित गरिदिए।

तस्बिर स्रोत, Reuters
टर्किस वंश र ब्रसल्सको जीवन
बोरिस जोनसनले आफूलाई यूरोसेप्टिक भनिने युरोपेली एकताको विरोधीका रूपमा व्याख्या गर्छन्।
तर त्यसो भएपनि उनलाई पृथकतावादीको श्रेणीमा राख्न समेत कठिन हुन्छ।
टर्किस पत्रकारका पनाती जोनसन आफ्ना कूटनीतिज्ञ बुवा र कलाकार आमाको सन्तानको रूपमा न्यूयोर्कमा जन्मिए।
संयुक्त अधिराज्यमा फर्कनुअघि उनको परिवार अमेरिका र ब्रसल्समा बसेको थियो।
कुलीनहरूका सन्तान पढ्ने इटन बोर्डिङ् स्कुलमा उनी पढेका थिए।
त्यही उनले अहिलेको अव्यवस्थित र सनकी व्यवहारहरू विकास गरे।
उनी अक्सफोर्ड विश्वविद्यालय गए र अक्सफोर्ड युनियन डिबेटिङ सोसाइटीका अध्यक्ष भए।

तस्बिर स्रोत, Reuters
विवादबीच रमाउने उनको स्वभाव पत्रकार हुँदा नै देखिएको हो।
एउटा भनाइको गलत उद्धरण गरेका कारण उनी द टाइम्स पत्रिकाबाट हटाइएका थिए।
त्यसपछि उनी कन्जर्भेटिभ विचारप्रति ढल्किएको द डेली टेलिग्राफ पत्रिकाको ब्रसल्स संवाददाता भए।
"उनको पत्रकारितामा यूरोसेप्टिक आख्यानमा कलात्मक तरिकाले तथ्य मिसाइएको हुन्थ्यो," बीबीसीका सहायक राजनीतिक सम्पादक जोन पाइनर भन्छन्।
ती कथाको सम्बन्ध उनले जीवनमा उत्तरार्धमा लिएका युरोपेली संघविरोधी नेतृत्वकर्ताका निर्णयहरू रूपमा जोडियो।
उत्तेजक स्तम्भकार

तस्बिर स्रोत, Getty Images
यूकेमा द टेलिग्राफ पत्रिकाका लागि स्तम्भकार भएका उनी पछि दक्षिणपन्थी म्यागेजिन स्पेक्टेटरको सम्पादक समेत भए।
उनले त्यसबेला अफ्रिकीहरू र एकल महिलाका सन्तानलाई व्याख्या गर्न 'नराम्ररी हुर्काइएका, अज्ञानी, क्रुद्ध र अवैध'जस्ता अपमानजनक शब्दहरू प्रयोग गर्दै आफ्ना एकखाले पाठकहरूबीच आधार बनाए।
त्यसले स्पेक्टेटरको वितरण बढायो। बीबीसीको एउटा कार्यक्रम "ह्याभ आइ गट न्यूज फर यु?"मा नियमित देखिन थालेपछि उनलाई झन् धेरैले चिन्न थाले।
बीबीसीको उक्त कार्यक्रममा पाहुनाहरूले साताभरका समाचारमाथि टेकेर ठट्टाहरू गर्ने गर्थे।
उनका शब्द र विचारले आलोचना निम्त्याए पनि त्यसले उनलाई प्रसिद्ध समेत बनायो। त्यसमै टेकेर उनी राजनीतिमा प्रवेश गरे।
बोरिस शैली

तस्बिर स्रोत, Getty Images
सन् २००१ मा जोनसन अक्सफोर्ड नजिकैको कन्जर्भेटिभहरूको झुकाव बढी भएको क्षेत्रबाट सांसद भए।
सन् २००७ मा लण्डन शहरको नगरप्रमुख भएपछि त उनलाई विश्वले चिन्यो।
सन् २०१२ मा उक्त शहरले ओलिम्पिक्स आयोजना गर्दा जोनसन त्यस प्रतियोगिताको राजदूतजस्तै भए।
'बोरिस बाइक' साइकलसम्बन्धी उनको एउटा लोकप्रिय यातायात कार्यक्रम थियो।
सन् २०१० मा सुरु गरिएको उक्त कार्यक्रमले उनको राजनीति र प्रसिद्धीको मिश्रित झलक दिन्छ।
भाडामा साइकल लिने कार्यक्रमलाई प्रोत्साहन गर्दै उनी आफैले समेत त्यसको प्रयोग गर्थे।
तर आलोचकहरूले भने त्यो उनको पूर्ववर्ती मेयरको घोषणा रहेको बताउने गरेका छन्।

तस्बिर स्रोत, Getty Images
ब्रेक्जिट अभियान
सन् २०१५ को आमनिर्वाचन मार्फत् जोनसन पुन: संसद्मा फर्किए।
सन् २०१६ को ब्रेक्जिटसम्बन्धी जनमत सङ्ग्रहअघि उक्त मुद्दामा जोनसनको विचार अस्पष्ट थियो।
उनले कुनैबेला यूके ईयूबाट बाहिरिनुपर्ने भनेर लेख लेखेका छन् भने कतिखेर ईयूमै बस्नुपर्ने भनेर।
अन्तत: उनी पार्टीका नेता प्रधानमन्त्री डेभिड क्यामेरोनविरूद्ध उभिएर ईयूबाट आफ्नो देश बाहिरिनुपर्ने पक्ष लिए।
बर्हिगमनकै बिषयले जित हासिल गरेपछि उनले आफूलाई कन्जर्भेटिभ पार्टीको नेताका रूपमा देख्न थाले।
तर त्यसमा टरिजा मे विजयी भइन्। तर बहिर्गमन अभियानमा रहेको योगदानका कारण भन्दै जोनसनलाई विदेशमन्त्री बनाइयो।

तस्बिर स्रोत, PA Media
जोनसनले मे नेतृत्वको मन्त्रिपरिषद् छाड्दै ब्रसल्ससँग वार्ता गर्नका लागि प्रधानमन्त्रीले 'थप हिम्मत' देखाउनुपर्ने बताए।
पार्टी नेता र प्रधानमन्त्री भएसँगै जोनसनले विनासम्झौता ईयू छाड्ने सम्भावनालाई कहिल्यै अस्वीकार गरेका छैनन्।
उनले निर्वाचन अगाडि कन्जर्भेटिभ्सले बहुमत ल्याएमा यूकेले सन् २०२० को २१ ज्यानुअरीभित्र युरोपेली सङ्घ छाड्ने बताएका छन्।
ब्रेक्जिटमय भएको ब्रिटेनमा बलिया विचारहरू र अनेक प्रदर्शनहरूले मतदाताको मनमा लामो छाप छाड्न सक्छन्।
आफ्नो जीवनभर नै जोनसनले यी दुवै कौशलमा आफूलाई अब्बल साबित गरेका छन्।









