बोरिस जोनसनः यूकेका प्रधानमन्त्रीमाथि लागेको आरोप के हो र अब के हुनसक्छ

बोरिस जोनसन

तस्बिर स्रोत, Getty Images

लकडाउनका बेला प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रीटमा भोजहरू आयोजना गरेको आरोपबारे छानबिन प्रतिवेदन छापिने समय नजिकिँदै गर्दा ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको राजनीतिक भविष्य दाउमा छ।

कोभिड नियन्त्रणका लागि बनाइएका कानुन उल्लङ्घनका सम्बन्धमा प्रहरीले फौजदारी अपराध सरह अनुसन्धान सुरु गरेको छ।

प्रधानमन्त्री जोनसनले यस विषयमा संसद्‌मा झूटो बोलेको प्रमाणित भएमा उनी आफ्नो पदबाट राजीनामा दिन बाध्य हुनसक्छन्।

प्रधानमन्त्रीका रूपमा बोरिस जोनसनको कार्यकाल थुप्रै काण्डले भरिएको छ। दुई वर्षभन्दा बढी समय नेतृत्व गर्दा उनले ब्रेक्जीट सम्पन्न गराए- जसबाट युरोपेली सङ्घबाट यूके औपचारिक रूपमा बाहिरियो।

त्यस्तै विश्वव्यापी कोभिड-१९ महामारीबीच देशलाई चलायमान राख्ने क्रममा आफ्ना निकटतम सल्लाहकारहरूबाट उनले विद्रोह र राजीनामाको सामना समेत गरे।

यद्यपि पछिल्लो कथित "पार्टीगेट" नाटकीय घटना हो जुन ब्रिटिश राजनीतिमा चर्चामा छ र उक्त घटनाले लन्डनका पूर्वमेयर समेत रहेका जोनसनलाई सत्ता गुमाउने सम्भावनाको नजिक पुर्‍याएको छ।

तर उनीमाथि लागेको आरोप के हो त?

भोजमा प्रधानमन्त्रीको पत्नी क्यारी पनि सहभागी भएको बताइएको छ

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, भोजमा प्रधानमन्त्रीको पत्नी क्यारी पनि सहभागी भएको बताइएको छ

के हो ‘पार्टीगेट’?

सञ्चारमाध्यममा सार्वजनिक विवरणहरूका अनुसार डाउनिङ स्ट्रीटमा कम्तीमा १७ वटा जमघट कथित रूपमा आयोजना भएका थिए- जहाँ प्रधानमन्त्री बस्छन् र काम गर्छन्।

कोरोनाभाइरस महामारीबीच प्रधानमन्त्री कार्यालयमा मात्र नभई अन्य सरकारी विभागमा समेत जमघट भएको आरोप छ।

ती भोज तथा जमघट हुँदा यूकेमा विभिन्न चरणको लकडाउन जारी थियो। त्यतिबेला कोठाभित्र दुईभन्दा बढी व्यक्तिको भेला र खुला स्थानमा हुने कार्यक्रमहरू प्रतिबन्धित थिए।

सन् २०२० को मे महिनामा डाउनिङ स्ट्रीट परिसरमा सामाजिक दूरी कायम राख्दै पिउने कार्यक्रम आयोजना गरिएको थियो जहाँ करिब १०० जनालाई ‘आफ्नो लागि आफैँ रक्सी लिएर आउनूस्’ भन्ने आग्रहसहित निमन्त्रणा गरिएको थियो।

प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार जोनसन र उनकी तत्कालीन हुनेवाला श्रीमती क्यारी साइमन्ड्स त्यस कार्यक्रममा उपस्थित ३० जनामध्ये थिए।

प्रधानमन्त्रीले आफू त्यहाँ २५ मिनेटका लागि रहेको पुष्टि गरे। तर त्यो कार्यक्रम कामसँग सम्बन्धित रहेको उनको दाबी छ।

जन्मदिन विशेष भोज

उक्त पेय कार्यक्रमको ठिक एक महिनापछि प्रधानमन्त्रीको जन्मदिन थियो। उनको जन्मदिन विशेष कार्यक्रम डाउनिङ स्ट्रीटको क्याबिनेट कक्षमा केक काटेर मनाइएको बताइएको छ।

प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूका अनुसार उक्त कार्यक्रम "दश मिनेटभन्दा कम" समयभित्र सम्पन्न भएको थियो।

सन् २०२० को डिसेम्बरमा लन्डनमा कडा प्रतिबन्धहरू लगाइँदा कन्जरभेटिभ पार्टीको मुख्यालयमा भने "अनधिकृत भेला"सहित थुप्रै उत्सवपूर्ण भोजहरू कथित रूपमा आयोजना भए।

जुन २१ तारिखमा जन्मदिन केकसहित प्रधानमन्त्री

तस्बिर स्रोत, Andrew Parsons / No 10 Downing Street

तस्बिरको क्याप्शन, जुन २१ तारिखमा जन्मदिन केकसहित देखिएका प्रधानमन्त्री जोनसन

हालसालै राजकुमार फिलिपको अन्तिम संस्कारभन्दा अघि, १६ अप्रिल २०२१ मा डाउनिङ स्ट्रीटका कर्मचारीहरूले दुईवटा जमघटको आयोजना गरेका थिए।

कार्यक्रममा पति गुमाएकी रानी, ​​एक्लै बसिरहेको दृश्य देखिएको थियो। त्यतिबेला कोभिड-१९ नियन्त्रणका लागि प्रतिबन्धहरू लागु गरिएका थिए।

त्यस समय देश राष्ट्रिय शोकमा रहेका कारण आधिकारिक झन्डा आधा झुकाइएको थियो। १६ अप्रिलका ती जमघटमध्ये भने कुनैमा पनि जोनसन उपस्थित थिएनन्।

यी घटनाबारे कस्ता प्रतिक्रिया आएका छन्?

कथित जमघटहरूका कारण प्रधानमन्त्रीले कडा आलोचनाको सामना गर्नुपरेको छ र संसद्‌मा विपक्षी नेता सर केयर स्टार्मरले नियमित रूपमा आलोचना गरिरहेका छन्।

जमघटसम्बन्धी घटनाहरू बाहिरिएपछि सबैभन्दा सुरुवातमा सरकारको प्रेस सचिव एलेग्रा स्ट्र्याटन प्रभावित भएकी थिइन्।

डिसेम्बरमा पहिलो पटक विवरणहरू सार्वजनिक हुँदा डाउनिङ्ग स्ट्रीटले कुनै पनि जमघट भएको अस्वीकार गरेको एक सातापछि स्ट्र्याटनले पत्रकारहरूका प्रश्नको सामना कसरी गर्ने भन्ने तयारी गरिरहेको भिडिओ सार्वजनिक भएको थियो।

सेन्ट जर्ज च्यापलमा महारानी एलिजाबेथ

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, सेन्ट जर्ज च्यापलमा महारानी एलिजाबेथ

त्यसको भोलिपल्टै उनले दुःखद वक्तव्यसहित पदबाट राजीनामा दिएकी थिइन्।

त्यही महिनाको अन्त्यतिर कन्जरभेटिभले अति सुरक्षित मानिएको नर्थ स्रोप्सहायरको सिट उपनिर्वाचनमा लिबरल डेम्रोक्रेटसँग हार्‍यो। यसले पनि जोनसनको सरकारलाई विवादमा ल्याउने वातावरणको प्रारूप तयार गर्‍यो।

त्यस महिनाको सुरुवातमा अर्का कन्जरभेटिभ सांसद क्रिस्चियन वेकफोर्डले पार्टी परित्याग गरी प्रतिद्वन्द्वी लेबर पार्टीको सदस्यता लिने घोषणा गरेका थिए। यद्यपि उनले यो निर्णय पार्टीगेट घटनाभन्दा अघि नै घोषणा गरेका थिए।

'ईश्वर लागि राजीनामा दिनूस्'

कन्जरभेटिभ पार्टीभित्र र बाहिरका अन्य थुप्रै सांसदले प्रधानमन्त्रीको राजीनामा माग गरिरहेका छन्। विशेषगरी पूर्व टोरी ब्रेक्जीट सचिव डेभिड डेभिसले उनको राजीनामामा जोड दिएका छन्।

उनले सन् १९४० मा संसद्को एक टोरी सदस्यलाई उद्धृत गरे जसले तत्कालीन प्रधानमन्त्री नेभिल चेम्बरलेनलाई दोस्रो विश्वयुद्धको प्रारम्भिक सैन्य पराजयपछि राजीनामा दिन आह्वान गरेका थिए।

प्रधानमन्त्रीको आन्तरिक साजसज्जा डिजाइनर पनि समारोहमा सहभागी भएको बताइएको छ

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, प्रधानमन्त्रीकी आन्तरिक साजसज्जा डिजाइनर पनि समारोहमा सहभागी भएको बताइएको छ

डेभिसले भने: "तिमीले गरेका हरेक कुशल कामका लागि लामो समय पदमा बस्यौ। अब ईश्वरका लागि राजीनामा देऊ।"

अहिले सबैको ध्यान वेस्टमिन्स्टरमा केन्द्रित छ। किनकि सबैजना वरिष्ठ निजामती कर्मचारी सु ग्रेद्वारा नेतृत्व लिइएको कथित उल्लङ्घनहरूको अनुसन्धानको नतिजा पर्खिरहेका छन्।

को हुन् सु ग्रे?

सु ग्रे वर्तमान क्याबिनेट कार्यालयमा दोस्रो स्थायी सचिव हुन्। यूकेको वरिष्ठ निजामती कर्मचारी साइमन केसले पार्टीगेटसम्बन्धी अनुसन्धान नगर्ने भएपछि ग्रेर्ले जिम्मेवारी लिएकी हुन्। निजामती कर्मचारीले सरकारलाई नीति पालन गराउन सघाउँछन्।

घटनासम्बन्धी अनुसन्धानका लागि केस जिम्मेवार थिए। यद्यपि उनले जाँचको जिम्मेवारी ग्रेलाई सुम्पिँदै आफू पन्छिए।

सन् २०२० को एक क्रिसमस भोज उनकै कार्यालयमा आयोजना भएको खबर बाहिरिएपछि उनले छानबिनको जिम्मेवारी ग्रेलाई दिएका हुन्।

ग्रेले कथित जमघटहरूको प्रकृति र उद्देश्यबारे अनुसन्धान गर्नेछिन्। साथै ‘तत्काल जारी निर्देशन पालनाको सन्दर्भमा’ ती जमघटमा कोको सहभागी थिए भन्ने जाँच हुनेछ।

सु ग्रे

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, सु ग्रे

प्रतिवेदनमा घटनाबारे तथ्यपरक विवरण उल्लेख हुने आशा गरिएको छ। तर ग्रेले कुनै पनि निर्देशन उलङ्घन भएको थियो या थिएन भन्ने घोषणा गर्ने छैनन्।

यो एक स्वतन्त्र अनुसन्धानभन्दा बढी आन्तरिक छानबिन हो जसका लागि १० डाउनिङ सेन्टद्वारा निर्देशन दिइएको थियो। यो जाँचका क्रममा ग्रे निष्पक्ष हुनु आवश्यक छ।

प्रधानमन्त्री कार्यालयले छानबिनको पूरा नतिजा सार्वजनिक गर्ने योजना रहेको बताएको छ। तर उक्त नतिजाले कथित जमघटबारे प्रहरी अनुसन्धानलाई प्रभावित नगर्ने समेत जनाइएको छ।

प्रहरीले के अनुसन्धान गरिरहेको छ?

प्रहरीले कति वटा जमघटबारे अनुसन्धान गरिरहेको छ भन्ने स्पष्ट छैन।

अहिलेसम्म लन्डनको प्रहरी बल मेट्रोप्लिटन प्रहरीले "कोभिड-१९ का नियमहरूको सम्भावित उल्लङ्घन गर्दै विगत दुई वर्षमा डाउनिङ स्ट्रीट र ह्वाइ टहलमा भएका घटनाहरूको" अनुसन्धान गरिरहेको बताएको छ।

अनुसन्धान सुरु गर्ने निर्णय सु ग्रेको अनुसन्धान समूह र "अधिकारीहरूले गरेको मूल्याङ्कन"को परिणाम भएको बताइएको छ।

कोरोनाभाइरस ऐनअन्तर्गत कोभिड-१९ का नियम उल्लङ्घन गरे बापत जरिवानाद्वारा दण्डित हुनुपर्छ।

कोभिड सुरक्षासम्बन्धी प्रेस ब्रिफिङका क्रममा जोनसन

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, कोभिड सुरक्षासम्बन्धी प्रेस ब्रिफिङका क्रममा जोनसन

सन् २०२० को गर्मीयाममा मेट प्रहरीसँग कोभिड-१९ को नियम पहिलो पटक उलङ्घन गर्दा मानिसहरूलाई १३० अमेरिकी डलर जरिवाना तिराउने अधिकार थियो। उक्त जरिवाना १४ दिनभित्र भुक्तान गरेमा ६५ डलर तिर्नु पर्याप्त हुन्थ्यो।

त्यसपछि दोहोरिने गल्तीहरूका लागि जरिवाना ४,१६० डलरसम्म दोबर हुन सक्थ्यो।

प्रधानमन्त्रीले प्रहरीको उद्घोषलाई स्वागतयोग्य भएको बताएका थिए। प्रहरीको घोषणाले "जनतालाई आवश्यक स्पष्टता दिन मद्दत गर्ने" बताएका थिए।

उनका प्रवक्ताका अनुसार जोनसनलाई आफूले कानुन उलङ्घन गरेको जस्तो लागेको छैन।

के बोरिस जोनसनले राजीनामा देलान्?

ग्रेको अनुसन्धान प्रतिवेदन र कुनै पनि आपराधिक अनुसन्धानको नतिजाको पर्खाइ रहेको अवस्थामा त्यहाँ सम्भावनाका थुप्रै ढोका खुला छन्।

जोनसनले गल्ती गरेको र झूट बोलेको आरोपको सामना गर्दै गर्दा समेत आफ्ना सांसदहरूलाई सामान्य अवस्थामा जस्तै प्रतिवेदन प्रकाशनका लागि पर्खन आग्रह गरेको छन्।

जोनसनको राजनीतिक जीवन ख्याल-ठट्टाका घटनाले भरिपूर्ण छ, लन्डनको मेयर हुँदा उनी जिपको तारमा अल्झिन पुगेका थिए

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, जोनसनको राजनीतिक जीवन ख्याल-ठट्टाका घटनाले भरिपूर्ण छ, लन्डनको मेयर हुँदा उनी जिपको तारमा अल्झिन पुगेका थिए

उनले श्रीमान्‌को अन्तिम संस्कारको समयमा समेत कोभिड-१९ का नियमहरू पालना गरी एक्लै बसेकी रानीसँग आफ्नो कर्मचारीले देखाएको व्यवहारका लागि माफी मागेका छन्।

धेरैले पार्टीगेटको आँधीबेहरी सकिएपछि उनी पदमा रहिरहने सम्भावनाको आकलन गरेका छन्।

तर प्रतिवेदनको नतिजाको आधारमा उनले आफैँ प्रधानमन्त्री जिम्मेवारी जारी राख्न नसक्ने निर्णय गर्न सक्छन् र सत्तारुढ कन्जरभेटिभ पार्टीभित्र नेतृत्वको चुनावका कारणले राजीनामा दिनुपर्ने हुनसक्छ।

के अविश्वासको मतसम्म पुग्ला?

जोनसनलाई प्रधानमन्त्री र दलको नेताबाट हटाउन उनकै पार्टीका वरिष्ठ नेताहरूले माग गरेका छन्। तसर्थ यदि उनले स्वेच्छिक रूपमा पद त्याग गरेनन् भने अविश्वासको मतको सामना गर्नुपर्ने हुनसक्छ।

अविश्वासको मत एक गोप्य मतदान हो जहाँ प्रधानमन्त्रीले सत्तामा टिकिरहन आफ्नै पार्टीका सांसदहरूबाट साधारण बहुमत प्राप्त गर्नुपर्छ।

प्रधानमन्त्री कार्यालय

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्रीविरुद्ध निर्णयका लागि कम्तीमा १५ प्रतिशत वर्तमान सांसदले आफूहरूलाई प्रधानमन्त्रीमाथि विश्वास नरहेको प्रस्ट्याउनुपर्छ अर्थात् हाल रहेका ३५९ कन्जरभेटिभ सांसदमध्ये ५४ सांसदको अविश्वासको प्रस्ताव अघि सार्न आवश्यक हुन्छ।

पन्ध्र प्रतिशतको थ्रेसहोल्ड नकटेसम्म १,९२२ समितिका अध्यक्ष सर ग्राहम ब्राडीबाहेक अरू कसैलाई कति अविश्वासका पत्रहरू पठाइएको छ भन्ने थाहा हुँदैन।

यद्यपि उक्त थ्रेसहोल्ड पुग्यो भने अध्यक्षले प्रधानमन्त्रीलाई अविश्वासको मतको तालिका बनाउन आग्रह गर्नुपर्छ।