कोरोना भाइरसः उपचारपछि बोरिस जोनसनले भने, "मलाई जे पनि हुन सक्थ्यो"

बोरिस जोन्सन

तस्बिर स्रोत, Twitter/@BorisJohnson via REUTERS

कोभिड-१९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएपछि ब्रिटिश प्रधामन्त्री बोरिस जोनसनले "मलाई जे पनि हुन सक्थ्यो" भनेका छन्।

आफ्नो जीवन बचाइदिएकोमा स्वास्थ्यकर्मीहरूलाई उनले धन्यवाद दिए।

कोरोनाभाइरस सङ्क्रमण देखिएको १० दिनपछि ५५ वर्षीय जोनसनलाई लन्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो।

बिहीवार वार्डमा सारिनुअघि उनले अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताए।

जोखिम

सामाजिक सञ्जाल ट्विटरमा राखेको भिडिओ सन्देशमा जोनसनले अस्पतालमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको आफूले "व्यक्तिगत साहस" देखेको बताएका छन्।

प्रधानमन्त्री जोनसनका अनुसार जेनी नाम गरेकी न्यूजिल्यान्डकी र लुइस नाम गरेकी पोर्चुगलकी नर्सहरूले सबैभन्दा गम्भीर ४८ घन्टा उनको सेवा गरेका थिए।

त्यसबाहेक अस्पताल बसाइका क्रममा अरू थुप्रै स्वास्थ्यकर्मीहरूले हेरचाह गरेको भन्दै उनले धन्यवाद दिए।

राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारीहरूले आफ्नो ज्यान जोखिममा पार्दै काम गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो।

Boris Johnson and Carrie Symonds

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्रधानमन्त्रीकी प्रेमिका पनि हाल एकान्तवासमा छिन्

"त्यो साहस, त्यो समर्पण, त्यो जिम्मेवारी र मायालाई धन्यवाद जसका कारण हाम्रो राष्ट्रिय स्वास्थ्य सेवा अजेय छ," प्रधानमन्त्री जोनसनले भने।

प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले आफ्नो निवासमा आराम गर्ने जनाएको छ।

"आफ्ना चिकित्सक टोलीको सुझाव अनुसार प्रधानमन्त्री तत्काल काममा फर्किनु हुने छैन। उहाँले सेन्ट टमसेज अस्पतालमा पाएको उत्कृष्ट हेरचाहका लागि सबैलाई धन्यवाद दिन चाहनुभएको छ।"

"यो रोगबाट प्रभावित सबैप्रति उहाँको सहानुभूति छ।"

नियमित

शनिवार साँझ पाँच बजेसम्म कोरोनाभाइरसका कारण यूकेमा थप ७३७ जनाको ज्यान गएको छ।

योसँगै त्यहाँ कोभिड-१९ रोगबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या १०,६१२ पुगेको छ।

स्वास्थ्यमन्त्री म्याट हान्ककले प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भई निवासमा आराम गरिरहेको खबरबाट "आनन्द महसुस भएको" बताएका छन्।

स्वास्थ्यमन्त्रीले भनेका छन्, सेन्ट टमसेज अस्पतालका स्वास्थ्यकर्मीहरूले प्रधानमन्त्रीको हेरचाह "त्यसरी नै गरेका छन् जसरी देशका अरू मान्छेहरूलाई गर्थे।"

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

प्रधानमन्त्रीलाई काममा फर्किन अझ कति समय लाग्न सक्छ भन्ने प्रश्नमा उनले भने, "त्यसबारे चिकित्सकहरूले निर्णय दिनुपर्ने हुन्छ।"

"प्रधानमन्त्रीले तय गर्नुभएकै रणनीति अनुसार सरकारले काम गरिरहेको अवस्था छ।"

विदेशमन्त्री डोमिनिक राबले हाल कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्।

उनका सहयोगीहरू चाहन्छन् कि प्रधानमन्त्री जोनसन एक महिनासम्म नियमित काममा नफर्किऊन्।

बीबीसीकी राजनीतिक संवाददाता जेसिका पार्कर भन्छिन्, अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री काममा फर्किन हतार नगर्ने हामीले पहिल्यै सुनेका थियौँ।