यूके राजनीति: बोरिस जोनसनद्वारा दलका नेताको रूपमा राजीनामा, प्रधानमन्त्री पदमा केही समय निरन्तर

बोरिस जोनसन

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले कन्जर्भेटिभ पार्टीको नेताको पदबाट राजीनामा दिएका छन्।

तर उनी अर्को प्रधानमन्त्री चयन हुनुअघि शरद ऋतुसम्म प्रधानमन्त्रीका रूपमा निरन्तर रहने छन्।

अब कन्जर्भेटिभ पार्टीमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

आगामी अक्टोबरमा टोरी दलको सम्मेलन हुनु अघिसम्म नयाँ प्रधानमन्त्रीको चयन भइसक्नेछ।

चरणबद्ध रूपमा मन्त्रीहरूले राजीनामा दिएपछि यूकेका प्रधानमन्त्री बोरिस जोनसनले चर्को दबाबको सामना गरिरहेका थिए।

यसअघि हिजो बुधवार उनले ब्रिटिश संसद्‌को नियमित प्रश्नोत्तर सत्रमा आफूले सन् २०१९ को निर्वाचनबाट "व्यापक जनादेश" पाएको र त्यो "जारी रहने" बताएका थिए।

डाउनिङ्ग स्ट्रिट

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, थप जानकारीका लागि प्रधानमन्त्री कार्यालय टेन डाउनिङ्ग स्ट्रिट बाहिर पत्रकारहरू प्रतिक्षारत रहेका छन्

सङ्कट

अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि जोनसन सङ्कटमा परेको थिए।

यसै वर्षको सुरुमा क्रिस पिन्चरलाई सहायक प्रमुख सचेतक नियुक्त गर्ने जोनसनको निर्णयका विषयमा विवाद भएपछि उनीहरूले मङ्गलवार केही मिनेटको फरकमा राजीनामा दिएका थिए।

उनीहरूको राजीनामासँगै राजीनामाको लहर सुरु भयो र बुधवार अन्य कतिपय मन्त्रीहरूले पनि राजीनामा दिए।

यसअघि जोनसनप्रति असन्तुष्टि जनाउँदै ५० भन्दा बढी कन्जरभेटिभ सांसदहरूले सरकारमा उनीहरूले निर्वाह गर्दै आएका भूमिकाबाट राजीनामा दिएका थिए।

यसअघि मंङ्गलवारमात्रै अर्थमन्त्री नियुक्त भएका नदिम जाहावीले पनि पदबाट राजीनामा दिँदै एक पत्र प्रकाशित गरेर प्रधानमन्त्री जोनसनले सरकारलाई अवमूल्यन गरिरहेको र उनी पदबाट हट्नुपर्ने बताएका थिए

एक जना वरिष्ठ कन्जरभेटिभ सांसद जुलियन स्मिथले बीबीसीसँग कुरा गर्दै जोनसनले "ट्रम्प प्रवृत्ति देखाउँदै पदमा टाँसिरहेको" र शासन चलाउने विधिलाई चुनौती दिइरहेको बताए।

हटाउने अभियान

बीबीसीका राजनीतिक संवाददाता इयन वाट्सन भन्छन् बोरिस जनसनले औपचारिक रूपमा राजीनामा दिन बाँकी रहँदै उनलाई हटाउने अभियान सुरु भइसकेको थियो।

ऋषि सुनकले अर्थमन्त्री पदबाट राजीनामा दिने क्रममा लेखेका पत्रमा प्रधानमन्त्रीसँग अर्थतन्त्रका विषयमा आफ्नो गम्भीर मतभेद रहेको उल्लेख गरेका थिए।

स्वास्थ्यमन्त्रीबाट राजीनामा दिएका साजिद जाविदले पनि राजीनामाका सम्बन्धमा संसदलाई सम्बोधन गर्ने क्रममा आफूले व्योहोर्नुपरेको अवरोधहरूबारे बताएका थिए।

पार्टी नेताको पदका लागि सुएला ब्रभारमेनले इच्छा जनाएकी छन्।

तर त्यसबाहेक पेनी मोर्डन्ट, टम टुगेनहाट र जेरेमी हन्ट पनि प्रतिस्पर्धामा छन्।

कन्जर्भेटिभ पार्टी

यो परिस्थिति कसरी आयो

जोनसनको सरकारलाई साथ दिएका उच्च अधिकारीहरूको राजीनामाको शृङ्खला एक कन्जरभेटिभ सांसद र भूतपूर्व सहायक प्रमुख सचेतक क्रिस पिन्चरसँग जोडिएको यौन दुर्व्यवहारको आरोपलाई लिएर प्रधानमन्त्रीले चालेका कदमले निम्त्याएको थियो।

मङ्गलवार कम्तीमा तीन वर्षअघि जोनसनलाई व्यक्तिगत रूपमा नै पिन्चरमाथि लागेका आरोपबारे जानकारी गराइएको विवरण आएको थियो।

कैयौँ दिनदेखि कुनै पनि त्यस्तो गुनासोबारे आफू बेखबर रहेको जोनसनको दाबी त्यसबाट गलत प्रमाणित भएको थियो।

उक्त खुलासापछि ब्रिटेनका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले पदबाट राजीनामा दिए। त्यससँगै राजीनामाको शृङ्खला नै सुरु भयो।

जोनसनको सरकार हालैका महिनाहरूमा अरू कैयौँ विवादमा परेको थियो।

उनीमाथि कोरोनाभाइरसको लकडाउनको समयमा डाउनिङ स्ट्रीटमा भोज आयोजना गरेको र त्यस विषयमा संसद्लाई ढाँटेको विषयमा प्रहरी अनुसन्धान समेत भएका थिए।