बोरिस जोनसन: बहिर्गमनअघि ठूलो नीतिगत परिवर्तन नगर्ने वाचा

तस्बिर स्रोत, Getty Images
- Author, पाउल सेडन
- Role, बीबीसी न्यूज
बोरिस जोनसनले मन्त्रिपरिषद्सँग प्रधानमन्त्रीको रूपमा आफ्नो बाँकी कार्यकालमा कुनै "ठूलो परिवर्तन" नगर्ने वाचा गरेका छन्।
मन्त्रीहरूको दबावका कारण कन्जर्भेटिभ पार्टीको नेताको पद छोड्न बाध्य जोनसन अर्को प्रधानमन्त्री चयन गर्नु अघिसम्म प्रधानमन्त्री कार्यालयमै रहन चाहन्छन्।
यद्यपि जोनसनको समर्थनमा कमी आएपछि दलका केही सदस्यले उनलाई तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
तर मन्त्रिपरिषद्का एक नयाँ मन्त्रीले उनी "कार्यवाहक" प्रधानमन्त्रीको रूपमा रहन सहमत भएको बताएका छन्।
कन्जर्भेटिभ पार्टीको नेतृत्वका सम्भावित उम्मेदवारहरू अर्को हप्ता नेता चयनको समय तालिकाको आधिकारिक घोषणा हुनुअघि नै पदका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
यस प्रतिस्पर्धाको लागि कुनै निश्चित अवधि तय गरिएको छैन। तर सेप्टेम्बरमा चयन हुने अपेक्षा गरिएको कन्जर्भेटिभ पार्टीका नयाँ नेता नै ब्रिटेनको प्रधानमन्त्री बन्नेछन्।
अहिलेसम्म महान्यायाधिवक्ता सुएला ब्रभारमेन र सांसद टम टुगेनहाटले मात्र पार्टी नेताको पदका लागि इच्छा देखाएको पुष्टि गरेका छन्। यद्यपि आगामी दिनहरूमा त्यो सङ्ख्या बढ्ने ठानिएको छ।
डेली टेलिग्राफमा एक लेखमार्फत आफ्नो उम्मेदवारीको इच्छाबारे जानकारी दिएका टुगेनहाटले कर कटौती र सरकारको लागि "नयाँ ऊर्जा र विचार"को वाचा गरेका छन्।
मन्त्रिपरिषद्मा रहेर जोनसनविरुद्ध विद्रोह गर्ने पूर्वस्वास्थ्यमन्त्री साजिद जाविदको र यातायातमन्त्री ग्रान्ट शाप्सले पनि उम्मेदवारीबारे विचार गरिरहेको बीबीसीसँग बताएका छन्।
विदेश सचिव लिज ट्रस, पूर्वचान्सलर ऋषि सुनक र पूर्वविदेशमन्त्री जेरेमी हन्ट पनि उम्मेदवारी दिने दौडमा छन्।
ब्रेक्जिटसम्बन्धी मामिला हेरेका पूर्वमन्त्री स्टिभ बेकरले आफू "गम्भीरताका साथ" चुनाव लड्ने विचार गरिरहेको बताए।
तर पूर्वमन्त्री माइकल गोभ र उपप्रधानमन्त्री डोमिनिक राब भने पछि हटेका छन्।
पूर्वप्रधानमन्त्री सर जोन मेजरले जोनसनलाई तुरुन्तै प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिने व्यक्तिमध्ये एक हुन्। दलले प्रतिस्थापन नगरेसम्म पदमा रहनु "मूर्खतापूर्ण" हुने उनको तर्क हो।
मेजरले नेतृत्वको लागि हुने चुनावलाई तीव्रता दिन वा उपप्रधानमन्त्री राबलाई कार्यवाहक प्रधानमन्त्री बनाउन पार्टी प्रमुखहरूलाई सुझाव दिएका छन्।

तस्बिर स्रोत, NUMBER 10 FLICKR
लेबर दलले पनि संसद्को अविश्वासको मतमार्फत जोनसनलाई तुरुन्तै हटाउने प्रयास गर्ने धम्की दिएको छ। तर यस प्रयास सफल हुन सत्तारुढ दलको ठूलो सहयोग आवश्यक पर्छ।
प्रधानमन्त्री कार्यालयका अनुसार यसअघि मन्त्रिपरिषद्को बैठकमा जोनसनले "प्रमुख नीतिगत परिवर्तनहरू" लागु गर्ने वा "महत्त्वपूर्ण वित्तीय निर्णयहरू" लिने प्रयास नगर्ने बताएका थिए।
"अहिले नै प्याडलबाट आफ्नो खुट्टा हटाउन आवश्यक छैन," उनले मन्त्रीहरूसमक्ष भने।
"किनकि प्रधानमन्त्री कार्यालयले कट्टरपन्थी नीतिहरू पछ्याउन बाध्य पार्दैन भन्ने आशा छ।"
जोनसनले शृङ्खलाबद्ध रूपमा राजीनामा दिएका मन्त्रीहरूको रिक्त पदपूर्ति गर्न आएका नयाँ मानिसहरू समेत रहेको बैठकमा ठट्टा गर्दै भने: "यो हालसम्मकै उत्कृष्ट क्याबिनेट हो।"
बीबीसी न्यूजनाइटसँग पदभार ग्रहण गरेका वेल्ससम्बन्धी मामिला हेर्ने मन्त्री रोबर्ट बक्ल्यान्डले जोनसन "कार्यवाहक" प्रधानमन्त्रीको रूपमा रहन सहमत भएको जानकारी दिए।
"त्यो कुरा प्रस्ट छ र आजको क्याबिनेट बैठकले पनि त्यही कुरा स्थापित गरेको छ," उनले थप भने।
एक कन्जरभेटिभ सांसद र भूतपूर्व सहायक प्रमुख सचेतक क्रिस पिन्चरसँग जोडिएको यौन दुर्व्यवहारको आरोपलाई लिएर जोनसनले चालेका कदमका कारण उनीविरुद्ध मन्त्रीहरूले ठूलो विद्रोह गरे।
सुरुमा राजीनामाको मागको प्रतिरोध गरे पनि उनले आफ्नो विरोध गरेका मन्त्रीहरूलाई प्रतिस्थापन गरेपछि पार्टीको विश्वास गुमाए र नेताको रूपमा निरन्तरता पाउन सकेनन्।
लकडाउनको समयमा भोज आयोजना गरेर नियमहरू भङ्ग गरेका कारण जरिवाना गराउनु र त्यसबारे संसद्लाई ढाँटेको आरोप लाग्नुजस्ता शृङ्खलाबद्ध अनियमितताका कारण आफ्नै सांसदहरूबीच उनको अधिकार कमजोर बनेको छ।
जोनसनको सरकार हालैका महिनाहरूमा अरू कैयौँ विवादमा परेको थियो।
यसअघि आफ्नो राजीनामा मन्तव्यमा जोनसनले सन् २०१९ को चुनावमा आफूलाई "अविश्वसनीय मत" प्राप्त भएको बताउँदै आफ्नो पद नत्याग्ने प्रारम्भिक निर्णयलाई उचित ठहराएका थिए।
उनले आफ्नो प्रस्थानका लागि "भिडको प्रवृत्ति"लाई दोष दिए र भने,"थुप्रै विचार र परियोजनाहरू" पूरा नगर्नु "पीडादायी" हुने बताए।
उनले बेलायतलाई ईयूबाट निकाल्नु र कोभिड खोप अभियानलाई आफ्नो कार्यकालको उपलब्धिको रूपमा व्याख्या गरे।
त्यस्तै युक्रेनी जनताहरूलाई सम्बोधन गर्दै उनले भने: "तपाईँहरूको स्वतन्त्रताको लडाइलाई जति समय लाग्छ, त्यस अवधिभर हामी यूकेबाट समर्थन गरिरहनेछौँ।"
जोनसनले युक्रेनका राष्ट्रपति भ्लोलोदोमिर जेलेन्स्कीसँग पनि कुराकानी गरेका छन् र उनलाई आफ्नो उत्तराधिकारी युक्रेनप्रति प्रतिबद्ध रहने आश्वासन दिएका छन्।








