बोरिस जोनसन: ब्रिटिश प्रधानमन्त्रीको बहिर्गमन निश्चित भएपछि मस्को दङ्ग

जोनसन

तस्बिर स्रोत, UKRAINE GOVERNMENT

रुसी आक्रमण विरुद्धको लडाइँमा युक्रेनलाई लगातार ब्रिटिश सहयोग कायम राखेका प्रधानमन्त्री बोरिस जोनसनको बहिर्गमन हुने निश्चित भएपछि मस्कोले उनीप्रति कटाक्ष गरेको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले जोनसनले "वास्तवमै हामीलाई मन पराउँदैनन् र हामी पनि उनलाई मन पराउँदैनौँ" भनेका छन्।

उनले लन्डनमा "संवादमार्फत् निर्णय लिनसक्ने अधिक सूझबुझपूर्ण व्यक्तिहरू" आउने आशा व्यक्त गरे।

यसैबीच रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले सञ्चारकर्मीहरूलाई जोनसन "आफैँले चालेको र आफैँलाई प्रत्युत्पादक हुने" कदमको निसानामा परेको बताएकी छन्।

उनले त्यसको नैतिक शिक्षा भनेको "रुसलाई सिध्याउन नखोज्नु" भन्ने रहेको बताइन्।

युक्रेनले के भन्यो?

समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनी राष्ट्रपतिले जोनसनलाई "सबैभन्दा कठिन समयमा" साथ दिएकोमा धन्यवाद दिएका छन्।

राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले जोनसनलाई बिहीवार उनले पार्टीको नेताबाट राजीनामा घोषणा गरेपछि फोन गरेका थिए।

उक्त टेलिफोन कुराकानीमा जेलेन्स्कीले राजीनामाको खबर सुनेपछि आफूलाई "दुःख" लागेको कुरा व्यक्त गरेको किएभका अधिकारीहरूले बताएका छन्।

युद्ध सुरु भएदेखि जोनसनसँग युक्रेनी राष्ट्रपति जेलेन्स्कीले नजिकको सम्बन्ध बनाएका थिए।

जेलेन्स्कीका सल्लाहकार मिखायो पोडोल्याकले ट्विटरमा "क्षेप्यास्त्र आक्रमणका बावजूद किएभमा आइपुगेका पहिलो व्यक्ति" र "युक्रेनलाई समर्थन गर्न सधैँ अगाडि रहेको" भन्दै जोनसनलाई धन्यवाद दिएका छन्।

यद्यपि धेरैजसो अन्तर्राष्ट्रिय नेताहरूले जोनसनको आसन्न बहिर्गमनलाई सम्बोधन गरेका छैनन्।

सम्भवतः उनीहरू त्यो पुष्टि नभएसम्मका लागि पर्खिरहेका छन्।

तर संसारभरिका समाचार संस्थाहरूले ब्रिटेनका नाटकीय राजनीतिक घटनाहरूको खबर दिइरहेका छन्।