लिज ट्रस: ब्रिटिश प्रधानमन्त्रीको ४५ दिने शासन छोटो समय पदमा रहेका संसारका अरू नेताहरूसँगको तुलनामा कति हो?

तस्बिर स्रोत, Getty Images
- Author, फर्नान्डो डुआर्टे
- Role, बीबीसी विश्व सेवा
लिज ट्रसको बहिर्गमनपश्चात् अब यूकेमा विगत छ वर्षमा (कम्तीमा) पाँच फरक प्रधानमन्त्री नियुक्त भइसकेका छन्। त्यो त कुनै विश्व कीर्तिमान नै होइन र?
तर होइन।
आर्जेन्टिनाका मानिसलाई सोध्नुभयो भने उनीहरूले भनिदिनेछन् त्यहाँ एकताका पाँच भिन्नाभिन्नै राष्ट्रपति नियुक्त भएका थिए… जम्मा दुई साताभित्र!
हो, ट्रसको ४५ दिने कार्यकाल भनेको ब्रिटिश राजनीतिक इतिहासमा सबभन्दा छोटो हो। तर विश्वका अन्य नेताहरूसँग तुलना गर्दा यो त निकै लामो कार्यकाल लाग्न सक्छ।
एक रातका निम्ति नियुक्त भएका एक जर्मन नाजी चान्सलर

तस्बिर स्रोत, Getty Images
जोसेफ गोयबल्स नाजी शासनअन्तर्गतको जर्मनीमा सन् १९३३ देखि १९४५ सम्म १२ वर्षसम्म प्रोपागान्डा मन्त्री रहे। तर थोरै मात्र मानिसलाई थाहा छ कि उनी चान्सलरको पदमा पनि पुगेका थिए - तर केवल एक दिनका लागि।
युरोपमा द्वितीय विश्वयुद्धका अन्तिम दिनहरूका बेला सन् १९४५ को एप्रिल ३० मा बर्लिनस्थित भूमिगत बङ्करमा एडल्फ हिटलरले आत्महत्या गरे।
उनी पछिको कमान्डमा रहेका गोयबल्स चान्सलर भए। तर लगत्तै गोयबल्स र उनकी पत्नीले तिनका छ जना सन्तानलाई साइनाइड नामक विष दिएर मारे अनि आफूले पनि आत्महत्या गरे।
ह्वाइट हाउसमा केवल एक महिना

तस्बिर स्रोत, Getty Images
विलियम हेनरी ह्यारिसन (१७७३-१८४१) को नाममा दुईवटा नमिठा कीर्तिमान छन्।
आफ्नो कार्यकालकै बेला निधन हुने अनि सबभन्दा छोटो समय अमेरिकाको राष्ट्रपति हुने रेकर्ड उनको रह्यो।
भूतपूर्व सैन्य अधिकृत ह्यारिसनलाई ६८ वर्षको उमेरमा निमोनिया भयो र कार्यकाल सम्हालेको ३२ दिनमै उनको निधन भयो।
कासा रोसाडाको रोचक शृङ्खला

तस्बिर स्रोत, Getty Images
सन् २००१ को डिसेम्बरमा आर्जेन्टिनाको परिस्थिति नराम्रो थियो: गम्भीर आर्थिक सङ्कटले सडकमा चर्को विरोध प्रदर्शन हुँदा कम्तीमा २५ जनाको ज्यान गयो।
राजनीतिक अस्थिरताका माझ राष्ट्रपति फर्नान्डो डे ला रुआले राजीनामा दिए।
त्यसपछि भएका घटनाक्रम अचम्म पार्ने खालको थियो: डे ला रुआलाई सिनेटका बहुमतप्राप्त नेता रामोन प्योर्टाले विस्थापित गरे किनभने उपराष्ट्रपतिको पद पहिलेदेखि नै खाली थियो।
दुई दिनपछि प्योर्टा पनि हटे किनभने संसद्ले राष्ट्रपतिको निवास कासा रोसाडाको नेतृत्व गर्न एडोल्फो रोद्रिगेज सा लाई निर्वाचित गर्यो।
तर उनले पनि एक हप्ता नबित्दै राजीनामा गर्नुपर्यो किनभने उनको आपत्कालीन आर्थिक एजेन्डाप्रतिको समर्थन बिलायो।

तस्बिर स्रोत, Getty Images
विधानत: प्योर्टा फेरि उक्त पदमा फर्कनुपर्थ्यो। तर उनले त्यसो गर्न अस्वीकार गरे। उनले सिनेटको नेताको पदबाट समेत राजीनामा दिए।
त्यसपछि पालो आयो च्याम्बर अफ डेप्यूटीजका नेता एडुवार्डो कामानोको - जो यो शृङ्खलाका चौथो राष्ट्रपति थिए।
तीन दिनपछि उनले पनि पद त्यागे।
त्यसपछि संसद्ले एडुवार्डो डुहाल्डेलाई चयन गर्यो। उनले सन् २००३ मा निर्वाचन नभइन्जेल उक्त पद सम्हाले।
भारतमा दुई साताभन्दा कम समयका निम्ति प्रधानमन्त्री बनेका थिए वाजपेयी

तस्बिर स्रोत, Getty Images
भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको नाममा सबभन्दा छोटो समय प्रधानमन्त्री भएको कीर्तिमान छ। सन् १९९६ मा चुनावपछि उनी प्रधानमन्त्री त भए तर गठबन्धनको बहुमत पुर्याउन विफल भएपछि १३ दिनमै पदबाट हट्न पुगे।
सन् १९९८ मा उनी पुन: प्रधानमन्त्री भए।
यस पटक उनको कार्यकाल १३ महिना चल्यो। त्यसपछि गठबन्धन टुट्यो र संसद् भङ्ग भयो।
तर वाजपेयीको दल बीजेपीले त्यसपछिको चुनावमा राम्रो प्रदर्शन गर्यो। अनि उनले सन् १९९९ देखि २००४ सम्म प्रधानमन्त्री भएर शासन चलाए।
सियरा लियोनको अनौठो दोहोरो रेकर्ड

तस्बिर स्रोत, Getty Images
सियरा लियोनको इतिहासमा सिआका स्टीभन्सको दोहोरो कीर्तिमान छ - सबभन्दा छोटो कार्यकालको प्रधानमन्त्री अनि सबभन्दा लामो कार्यकालको राष्ट्रपति।
सन् १९६७ मा भएको कडा प्रतिस्पर्धामा जितेका उनलाई त्यसै दिन सैन्य कूमार्फत् बर्खास्त गरियो र पक्राउ पनि गरियो।
तर एक वर्ष नबित्दै स्टीभन्स फर्किए: सैन्य शासनको अन्त्यपश्चात् उनले राष्ट्रपतिको रूपमा सन् १९७१ देखि १९८५ सम्म शासन सम्हाले।
तर उनको राष्ट्रपतिकालमा निरङ्कुश शैली तथा मानवअधिकार हननका कैयौँ आरोपहरू लागे। साथै निर्वाचनमा धाँधली गरेका आरोप पनि लाग्यो।
अर्को अनौठो कथा दक्षिण अफ्रिकाको छ: सन् २००८ को सेप्टेम्बर २४ मा थाबो एम्बेकीको राजीनामापछि तत्कालीन सञ्चारमन्त्री आइभी माट्सेपे-कासाबुरी देशको पहिलो महिला राष्ट्रपति बनिन्।
उनको निमित्त राष्ट्रपतिको कार्यकाल जम्मा १५ घण्टाको मात्र थियो। त्यसपछि दक्षिण अफ्रिकाको संसद्ले गालेमा मोतलान्थेलाई राष्ट्रपतिमा चयन गर्यो।
मेक्सिको र ब्रजिलका अति अस्थायी राष्ट्रपतिहरू

तस्बिर स्रोत, Brazilian National Library
आर्जेन्टिनाको अतिरिक्त ल्याटिन अमेरिकाका अन्य देशमा पनि छोटो समयका राष्ट्रपति देखा परे - मेक्सिकोमा सन् १९१३ मा सैन्य कूले राष्ट्रपति फ्रान्सिस मदेरो सत्ताच्युत भएका बखत पेद्रो लास्कुरेइन एक घण्टाभन्दा थोरै समयका लागि नेता नियुक्त भएका थिए।
ब्रजिलमा सन् १९५५ को नोभेम्बर ८ मा च्याम्बर अफ डेप्यूटीजका सभामुख कार्लोस लुज राष्ट्रपति नियुक्त भए। उनी अघिका राष्ट्रपति क्याफे फिल्हो गम्भीर बिरामी परेपछि उनी उक्त पदमा नियुक्त भएका थिए।
त्यतिबेला ब्रजिलले नयाँ राष्ट्रपति चयन गरिसकेको थियो। नयाँ निर्वाचित जसेलिनो कुबित्स्चेकको कार्यकाल सन् १९५६ को ज्यानुअरीमा मात्र आरम्भ हुने थियो।
तर तीन दिनपछि नै लुजले पद त्यागे। किनभने रक्षा मन्त्रालयले लुजले अस्थायी हैसियतमा रहँदाखेरि नै कुबित्स्चेकको नियुक्ति रोक्न कूको षड्यन्त्र गरेको आरोप लगायो।
बाँकी दुई महिनाको निम्ति सिनेट नेता नेरेउ रामोसले सो पद सम्हाले।
अल्पकालका राजाहरू

तस्बिर स्रोत, Getty Images
राजारानीहरूले निर्वाचन लड्नुपर्दैन। अहिलेको आधुनिक कालमा गणतान्त्रिक क्रान्तिहरूबाट पनि उनीहरू तुलनात्मक रूपमा सुरक्षित नै छन्। तर त्यसो भन्दैमा उनीहरूको शासनकाल लामो नै हुन्छ भन्ने छैन।
नपत्याए इटलीका राजा उम्बेर्टो द्वितीयलाई हेर्नुहोस्ः सन् १९४६ मा पिता भिट्टोरियो एमानुएलले गद्दीत्याग गरेपछि उनी राजा भए। देशमा विस्तार भइरहेको राजतन्त्र विरोधी मतलाई मत्थर पार्न उनले जनमतसङ्ग्रह गराए।
तर उनको निम्ति परिणाम सुखद आएन। करिब ५४% जनताले गणतन्त्रको पक्षमा मत दिए। उम्बेर्टोको शासन केवल ३४ दिनको रह्यो।
अझ छोटो अनि दुःखान्त शासन नेपालका राजा दीपेन्द्र वीर विक्रम शाहको थियो।
सन् २००१ को जुन १ मा तत्कालीन युवराजले आफ्ना मातापिता अनि राजपरिवारका अन्य सदस्यको गोली हानी हत्या गरिदिए। आफूले चाहेको महिलासँग विवाह गर्न नपाएको रिसमा उनले त्यसो गरेका आरोप लागेको छ।

तस्बिर स्रोत, Getty Images
ती हत्यापछि दीपेन्द्रले आफैँलाई गोली हानेर आत्महत्याको प्रयास गरे।
तर उनको मृत्यु तत्काल भएन। उनी कोमामा पुगे र तीन दिनपछि उनको निधन भयो। उक्त अवधिभरि प्राविधिक रूपमा उनी नेपालको राजा भए।
तर राजाहरूमध्ये सबैभन्दा छोटो कार्यकालको रेकर्ड भने सम्भवतः फ्रान्सका लुई उन्नाइसौँको नाममा छ। सन् १८३९ को अगस्ट २ मा उनका पिता राजा चार्ल्स दशौँले राजाविरुद्ध व्यापक प्रदर्शनका कारण गद्दीत्याग गरेपछि उनी राजा भए।
तर लुई उन्नाइसौँले केवल २० मिनेटपछि गद्दी त्यागे। उनले भतिज ड्यूक अफ बोर्दोका निम्ति शासन छाडिदिए।
यो पनि हेर्नुहोस्









